सिराज खान
नेपालगञ्ज, भदौ १ गते । नेपालगञ्ज उपमहानगरका एक जना वडा अध्यक्ष र एकजना चिकित्सकसहित बाँके जिल्लामा सोमबार ११ जना सङ्क्रमितहरू निको भएर घर फर्किएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजाल र नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. रोमा बोरासहित ११ जना सङ्क्रमितले कोरोना जितेपछि सोमबार डिस्चार्ज गरिएका हुन् ।
श्वासप्रश्वासको समस्या लगायतका विभिन्न लक्षणसहित गम्भीर बिरामी पर्नुभएका वडा अध्यक्ष रिजाललाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर आइसोलेसन अस्पतालमा भर्ना गरिएको थियो । निको भएपछि सोमबार बिहान वडा अध्यक्ष रिजाललाई उक्त अस्पतालका स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिले बिदाइ गर्नुभयो ।
सोही प्रकारले बिरामीको उपचार गर्दागर्दै सङ्क्रमित हुनुभएका नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. बोरा पनि निको भएपछि उहाँलाई समेत सोमबार नै डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार सोमबार डिस्चार्ज हुनेहरूमा लायन्स डेन्टल आइसोलेसनबाट पाँच जना, क्यान्सर अस्पताल आइसोलेसन खजुरा र आदर्शनगर आइसोलेसनबाट तीन तीन जना रहेका छन् ।
योसँगै हालसम्म बाँकेमा निको भएर घर फर्किनेको सङ्ख्या ४५५ जना पुगेको छ । जिल्लामा बाहिरी जिल्लाका सात जनासहित ७३७ जना सङ्क्रमित भएकोमा तीन जनाको मृत्यु भएको छ ।
समुदायमा सङ्क्रमण फैलिएपछि पछिल्लो समयमा सङ्क्रमित थपिँदै गएकोले आइसोलेसनमा अझै पनि २७२ जना सङ्क्रमित रहेका छन् ।