नवीन शिशिर विक
बागलुङ, भदौ २ गते । बागलुङमा मङ्गलबार आमा छोरासहित तीन जना कोरोना सङ्क्रमणका बिरामी थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा बरेङ गाउँपालिका–२ का ६ वर्षीय बालक र २५ वर्षीय उहाँकी आमालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
साउन २७ गते भारतदेखि आएर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका उनीहरूको रिपोर्ट पोजिटिभ आएपछि बागलुङ बजारको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । यस्तै बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुषलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।
भारतदेखि आएर क्वारेन्टाइनमा बस्नुभएका बागलुङ नगरपालिका–१३ का २५ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।
यससँगै बागलुङमा कोरोना सङ्क्रमितको सङ्ख्या २७१ पुगेको छ । त्यसमध्ये २४६ जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
यसैबीच, बागलुङ नगरपालिका बागलुङले नगर क्षेत्रको समुदायस्तरमा कोरोना पुष्टि भए पछि एक हप्ता बन्दाबन्दी गर्ने निर्णय गरेको छ ।
विपद् राहत कोष उद्धार समितिको बैठकले मङ्गलबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म कायम रहने गरी बन्दाबन्दी गर्न जिल्ला कोभिड व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
समुदायमा कोरोना देखा परेपछि आम नागरिकमा त्रास फैलिएकाे र नागरिक सुरक्षाको दायित्व बोधलाई ध्यानमा राखेर लकडाउनमा जाने निर्णय भएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । बन्दाबन्दी अवधिमा नगरपालिका कार्यालय र वडा कार्यालयबाट अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय भएको छ ।
अत्यावश्यक सेवा प्रवाहको लागि सीमित कर्मचारी राख्ने निर्णय गरेको नगर प्रमुख पौडेलले बताउनुभयो । सङ्क्रमण बढदै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरपालिकाबाहिरबाट आउने नागरिकलाई क्वारेन्टाइनमा राख्नेको लागि थप क्वरेन्टाइन स्थल तयार गर्ने निर्णय गरेको छ । यसअघि बडिगाड गाउँपालिकाका जनप्रतिनिधिमा कोरोना पुष्टि भएपछि गाउँपालिका सिल गरिएको छ ।
बन्दाबन्दी खुलेपछि सङ्क्रमितको सङ्ख्या बढ्दैगएको छ । उद्योग वाणिज्य सङ्घ बागलुङले सोमबार सार्वजनिक अपिल गर्दै अत्यावश्यकबाहेक व्यापार व्यवसाय बन्द गर्न आग्रह गरेपछि बागलुङ बजार क्षेत्र मङ्गलबारदेखि नै बन्द रहेका छन् । छिटफुटबाहेक पसल बन्द रहेको उद्योग वाणिज्य सङ्घका महासचिव नरेश कँडेलले जानकारी दिनुभयो ।