बेलिना थापा
लमजुङ, भदौ ३ गते । लमजुङमा बुधबारबाट पाँच दिन अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढ्दैगएको र लमजुङमा समुदाय स्तरमै कोरोना देखिएपछि बुधबारबाट ७ गतेसम्म अत्यावश्यक कामबाहेक बाहिर निस्कन, हिँडडुल गर्न प्रशासनले रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय लमजुङले भदौ ३ गते बुधबार बिहान ६ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मका लागि थप कडाइ गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार मानिसहरू जम्मा हुन, भेला भिडभाड गर्न, सभा जुलुस गर्न, दैनिक नित्य पूजा हुनेबाहेकका धार्मिक गतिविधि गर्न रोक लगाइएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३) बमोजिमका गतिविधि गर्न रोक लगाउन आदेश जारी गरिएको उहाँले बताउनुभयो ।
एम्बुलेन्स, दमकल, शववाहन, खाद्यसामाग्री तथा पशुपन्छीका दाना, तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी बोक्ने सावारी साधन, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरू, आयोजनाहरूका लागि निर्माण सामग्री ढुवानी गर्ने साधन, मालवाहक सवारी साधन अत्यावश्यक सेवा र सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरूबाहेक यात्रुवाहक तथा निजी सवारी साधनहरू सचालन गर्न रोक लगाएको छ ।
उद्योग व्यापार/व्यवसायअन्तर्गत स्वस्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरू, चाडपर्वलगायत धार्मिक साँस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरू, शैक्षिक संस्थाहरू सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर, स्वीमिङ पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, सङ्ग्रहालय सञ्चालन गर्न पनि रोक लगाइएको छ ।
जिल्लाभित्र रहेका सरकारी कार्यलय, बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रदान हुने सेवाहरू तथा विकास निर्माणका कार्यहरू, सरकारबाट जारी गरिएका स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गरेर रुपमा सञ्चालन गर्न दिइएको छ । अत्यावश्यक कामको लागि घरबाहिर निस्कँदा मास्कको प्रयोग तथा सामाजिक दूरी कायम अनिवार्य गर्ने, मध्यनेपाल नगरपालिका र राइनास नगरपलिकाभित्रका बजार क्षेत्रमा खाद्यन्न, फलफुल, तरकारी, माछा, मासु, दूध डेरीजन्यलगायत अत्यावश्यक खाद्यन्न पसलहरू बिहान ५ बजेदेखि ९ बजेसम्म बेलुकी ५ बजेदेखि ८ बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।
सुन्दरबजार नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ बजार क्षेत्र सङ्क्रमणको उच्च जोखिम रहेको कारण उक्त क्षेत्रमा सेवा प्रभाव र व्यवसाय सञ्चालन गर्दा उच्च सतर्कता अपनाउने, बिहान ६ बजेदेखि ८ बजेसम्म साँझ ६ बजेदेखि ८ बजेसम्म मात्र पसलहरू सञ्चालन गर्न दिइएको छ । प्रशासनको आदेशविपरीतका कुनै गतिविधि भएमा ऐन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।