logo
२०८१ मंसिर १४ शुक्रवार



डडेल्धुरामा आंशिक लकडाउनः गौरा र तीज मनाउन रोक

प्रदेश |


डडेल्धुरामा आंशिक लकडाउनः गौरा र तीज मनाउन रोक


हिक्मत सिंह

डडेल्धुरा, भदौ ०४ गते । जिल्लाव्यापी रूपमा लागू हुने गरी डडेल्धुरामा आंशिक बन्दाबन्दी गरिने भएको छ । जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबारदेखि लागू हुने गरी जिल्लालाई एक साता बढी आंशिक लकडाउन गरिएको हो ।

जिल्लामा सञ्चालित अतिआवश्यक सेवा तथा वस्तुहरू बिक्री वितरण गर्ने पसलहरूबाहेक सम्पूर्ण पसलहरू बिहीबारदेखि भदौ १२ गतेसम्मका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने छन् ।

बजार क्षेत्रमा रहेको मानिसहरूको चहलपहल र भीडभाडलाई कम गर्न जिल्लामा सञ्चालित हुने मोटरसाइकलहरूलाई बिहीबारदेखि नै जोर–बिजोर प्रणाली लागू गरिने सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो ।

गौरा तथा तीज मनाउन रोक

जिल्लामा सुदूरपश्चिमेलीको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीज मनाउन रोक लगाइएको छ । कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि भीडभाड नहुनेगरी चाडपर्व मनाउन जिल्ला स्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको हो । नजिकिँदै आइरहेका तीज, गौरा पर्वलगायतका अन्य धार्मिक साँस्कृतिक कार्यक्रमहरू जिल्लामा सार्वजनिक रूपमा मनाउन निषेध गरिएको छ ।

नित्यपूजा र घरायसी पूजा बाहेक सामूहिक रूपमा गौरा र तीज जस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिक रूपमा चाडपर्व मनाउन रोक लगाइएको हो । प्रशासनले सवारी पास वितरण यसअघि नै बन्द गरिसकेको छ ।

निर्णयको उल्लङ्घन हुने क्रियाकलाप कसैबाट भए गरेमा सङ्क्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?