नवीन शिशिर विक
बागलुङ, भदौ ५ गते । बागलुङ जिल्लाको प्रवेशद्वार तथा जिल्ला सदरमुकाम बागलुङ नगरपालिकामा निषेधाज्ञा जारी भएपछि बागलुङ जिल्ला नै सुनसान भएको छ ।
दश वटा स्थानीय तह रहेको बागलुङमा एउटा मात्रै नगरपालिकामा निषेधाज्ञा जारी हुँदा सबै स्थानीय तह सुनसान भएका हुन् । मध्यपहाडी लोकमार्गको मुख्य प्रवेश नाका बन्द भएपछि अन्य स्थानीय तहमा सवारी आवागमन बन्द भएको छ ।
बागलुङ बजारमा सवारी प्रवेश निषेध भएपछि सदरमुकाममा खाद्यन्न, दुध, एम्वुलेन्स र सरकारी सवारीबाहेक अन्य सवारी चल्न छोडेका छन् । मध्यपहाडी लोकमार्ग सुनसान भएको कोठेखोला गाउँपालिका–६ का वडाध्यक्ष युक्तप्रसाद कँडेलले बताउनुभयो । दैनिक सयौँको सङ्ख्यामा सवारी ओहोरदोहोर हुने मध्यपहाडी लोकमार्गमा अत्यावश्यक सवारी मात्र देखिन थालेको अध्यक्ष कँडेलले बताउनुभयो ।
बागलुङको बडीगाड गाउँपालिकाका दुई जना वडाध्यक्षमा कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिका क्षेत्रलाई एक हप्ता सिल गरिएको छ । दुई पालिकाबाहेक अन्य पालिकामा निषेधाज्ञा र लकडाउन घोषणा नगरे पनि जिल्ला सदरमुकाममा बन्दाबन्दी भए पनि अन्य पालिका आफैँ बन्दाबन्दीको सिर्जना भएको छ ।
बागलुङ नगरपालिकाले नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गरेको छ । जिल्ला प्रशासनले पनि नगर क्षेत्रका सरकारी, निजी तथा सामाजिक सङ्घसंस्थामा न्यून कर्मचारी राखेर अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रवाहमा रोक लगाएको छ ।
निषेधाज्ञा कडाइ गर्न प्रजिअ आफैँ गस्तीमा
बागलुङ नगरपालिकाको समुदाय तहका कोरोना फैलिएपछि जारी निषेधाज्ञा कडाइ गर्न बागलुङका प्रमुख जिल्ला अधिकारी आफैँले गस्ती सुरु गर्नुभएको छ ।
समुदायका कोरोना सङ्क्रमणको जोखिम बढेपछि नागरिकलाई घरबाहिर ननिस्कन अनुरोध गर्दा पनि अटेर गरेको कारण निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने बिहान बेलुकीको समय गस्ती गर्न थाल्नुभएको हो ।
बागलुङ नगरपालिका–३ हाडेपाखाकी २३ वर्षीय कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका छ जनामा भदौ ३ गते कोरोना पुष्टि भएको थियो । सम्पर्कमा रहेका सङ्क्रमित परिवारका दुई तथा अन्य बजार क्षेत्रका रहेका छन् ।
बागलुङमा भदौ २ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा सञ्चालन भएका १२ वटा मोटरसाईकल/स्कुटर र चार वटा जिप नियन्त्रणमा लिएर कारबाही गरेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।
नागरिकलाई विनम्रतापूर्वक अनुरोध गर्दा पनि अटेरीपन देखियो’ उहाँले भन्नुभयो, ‘कसैको सानो गल्तीले पनि जटिल परिस्थिति आउन सक्नेतर्फ ध्यान दिएर निषेधाज्ञालाई कडाइ गर्न थालेका छौँ ।
प्रशासनले दैनिक उपभोग्य तथा अति आवश्यक सामन खरिद बिक्रीको लागि बिहान सातदेखि ९ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म समयत तालिका सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारीले सुरक्षा समितिका अन्य सदस्यका साथ बिहान-बेलुकी पसल बन्द हुनेमा आफैँ गस्ती गर्न थालेको बताउनुभयो ।
‘प्रशासनको आँखा छलेर व्यापार गर्ने, सवारी चलाउने कामलाई पूर्ण रुपमा निषेध गर्न थालेका छौँ’ उहाँले भन्नुभयो, 'निषेधाज्ञामा पसल खोल्नेलाई पहिलो चरणमा आफैँ पुगेर अनुरोध गरेको छु, अटेर गर्नेलाई कारबाही हुन्छ ।'
निषेधाज्ञामा कडाइ नभएको गुनासो बढन थालेपछि प्रशासनले प्रहरी परिचालन, चेकजाँच र कारबाहीलाई समेत एकैसाथ अघि बढाएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकृत धिरेन्द्रराज पन्तले बताउनुभयो ।
एकै दिन १४ जना निको
धौलागिरी अस्पताल बागलुङका दुई स्वास्थ्यकर्मीसहित एकै दिन चौध जनाले कोरोना जितेका छन् ।
अस्पतालको आइसोलेसनमा उपचाररत स्वास्थ्यकर्मी र अस्पताल भवनको ‘सि’ ब्लक निर्माणमा आएका १२ जना सङ्क्रमित कोरोना मुक्त भएर घर फर्केका हुन् ।
आइसोलेसनमा रहेका २५ र २२ वर्षीय महिला स्वास्थ्यकर्मी तथा २१, २२, २९, २१, २०, ३५, २०, ३१, ३४ र ४१ वर्षीय मजदुर एकै दिन निको भएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो । दुवै स्वास्थ्यकर्मी धौलागिरी अस्पताल र धौलागिरी बहुमुखी क्याम्पस बागलुङको आइसोलेसनमा कार्यरत रहेका थिए भने मजदुरहरू भवन निर्माणको लागि महोत्तरीबाट बागलुङ आएका थिए ।
चाैध जना सङ्क्रमित मजदुरमध्ये एक जना यसअघि नै निको भएर घर फर्कनुभएको छ भने एक जना उपचाररत रहेको सूचना अधिकारी गौतमले बताउनुभयो । बागलुङमा हालसम्म २७९ जना सङ्क्रमित भएका छन् । तीमध्ये २६० जना कोरोनामुक्त भएका छन् ।