logo
२०८१ मंसिर १४ शुक्रवार



रित्तिँदै क्वारेन्टाइन, समुदायस्तरबाट थपिँदै सङ्क्रमित

प्रदेश |


रित्तिँदै क्वारेन्टाइन, समुदायस्तरबाट थपिँदै सङ्क्रमित


नवीन शिशिर

बागलुङ, भदौ ७ गते । बागलुङको विभिन्न स्थानी तहमा रहेका क्वारेन्टाइनहरू खाली हुँदैगएका छन् । भारतलगायत अन्य मुलुकबाट घर फर्कनेहरूको सङ्ख्या घटेलगत्तै क्वारेन्टाइन रित्तिन थालेका हुन् ।
विदेशबाट घर फर्कनेहरूको लागि लक्षित गरी स्थानीय तहहरूले आ–आफ्नो क्षेत्रमा सामुदायिक भवन, विद्यालय तथा खाली रहेका व्यक्तिगत घरमा क्वारेन्टाइन निर्माण गरेका थिए ।
दश स्थानीय तह रहेको बागलुङको बरेङ्ग गाउँपालिकामा १०, ताराखोला गाउँपालिकामा छ, जैमिनी नगरपालिकामा १३, बागलुङ नगरपालिकामा २४, तमानखोला गाउँपालिकामा एक, गल्कोट नगरपालिकामा दुई र काठेखोला गाउँपालिकाको क्वारेन्टाइनमा चार जना रहेका छन् ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार हालसम्म विभिन्न क्वारेन्टाइनमा रहेका तीन हजार ७५२ जना घर फर्केका छन् भने ६० जना अझै क्वारेन्टाइनमा रहेका छन् । भारत तथा अन्य मुलुकबाट घर फर्कनेहरूले स्थानीय तहलाई जानकारी नदिई लुकीछिपी घर आउने गरेको बागलुङ नगरपालिका–१ का वडा सदस्य सूर्य लामिछानेले बताउनुभयो ।
‘स्थानीय तहलाई सूचनाबिना घरमा बसेको जानकारी आइरहेको छ’ उहाँले भन्नुभयो, ‘रातको समयमा आँखा छलेर घर जानेहरूबाट सङ्क्रमणको जोखिम बढी हुनसक्छ ।’ आफूहरूले जानकारी पाएलगत्तै केही व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखेको उहाँले बताउनुभयो ।
पछिलो दुई सातायता बागलुङका क्वारेन्टाइन रित्तिँदै गर्दा आइसोलेसनमा भने दैनिक सङ्क्रमित थपिन थालेका छन् । साउनको अन्तिम साता र भदौको पहिलो साता फेला परेको अधिकांश सङ्क्रमित विदेशबाट आएका होइनन् ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार पछिल्लो दुई सातायता १७ जना समुदायका व्यक्तिमा सङ्क्रमण देखिएको छ । स्थानीय तह अनुसार समुदायस्तरमा देखिएको सङ्क्रमणको तथ्याङ्क अनुसार बडिगाडमा दुई, चार जना स्वास्थ्यकर्मी, बागलुङ नगरपालिकाका ८ र काठेखोला गाउँपालिकाका तीन जनामा सङ्क्रमण देखिएको थियो ।
हाल एक जना स्वास्थ्यकर्मी, तीन जना जनप्रतिनिधि, नाै जना समुदायका व्यक्तिमा फेला परेकाे र सात जना क्वारेन्टाइनमा रहेका सङ्क्रमित गरी २० जना उपचाररत रहेका छन् । बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकाको समुदायस्तरमा सङ्क्रमण फैलिएपछि निषेधाज्ञा र लकडाउन जारी गरी सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको खोजी गर्न थालिएको छ ।
बागलुङ नगरपालिका–२ की होटल व्यवसायी र वडा नम्बर–३ की कुखुरा व्यवसायीको सम्पर्कमा रहेका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गर्दा सात जना, बडिगाड गाउँपालिकाका जनप्रतिनिधिको सम्पर्कमा रहेकाको खोजी गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनीकरणको लागि बागलुङ नगरपालिकाले सङ्क्रमितको कन्ट्याक्छ ट्रेसिङअन्तर्गत ११३ जनाको स्वास्थ्य परीक्षण गर्दा छ जनाबाहेक अन्य सबैको रिपाेर्ट नेगेटिभ आएको थियो । जसमा ६१ जनाको रिपोर्ट आउन बाँकी रहेको छ भने शनिबार फेला परेका सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङको काम थालिएको छ । त्यस्तै, बडिगाड गाउँपालिकामा एक सय जनाको स्वाब सङ्कलकाे तयारी गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?