logo
२०८१ मंसिर १४ शुक्रवार



मकवानपुरमा परीक्षणदर बढाउने, निषेधाज्ञा कायम राख्ने

प्रदेश |


मकवानपुरमा परीक्षणदर बढाउने, निषेधाज्ञा कायम राख्ने


शिवकुमार काशी

हेटौँडा, भदौ ८ गते । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले साउन २६ गतेदेखि जारी राखेको निषेधाज्ञालाई भदौ १५ गतेसम्म निरन्तरता दिने भएको छ ।
कोभिड १९ नियन्त्रणका लागि जिल्लास्तरमा गठित कमाण्ड पोष्टको सोमबार बसेको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञा निरन्तरता दिन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई निरन्तरता दिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गड्तौलाका अनुसार अब भदौ १५ गते राति १२ बजेसम्म मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा पर्ने पूर्वपश्चिम राजमार्गको पाँच/पाँ सय मिटर क्षेत्रमा निषेधाज्ञा कायमै रहनेछ । उहाँका अनुसार कमाण्ड पोष्टको बैठकमा निषेधाज्ञा मात्रै समाधान नभएको भन्दै छलफलहरू चलेका थिए । सो क्रममा मनहरी बजार क्षेत्रमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढेको पाइएकाले तत्कालै स्वाब परीक्षणदर बढाउनका लागि सम्बन्धित निकायहरूले अगुवाई गर्नेबारे छलफल भएको छ । त्यसका लागि काठमाडौँ वा धुलिखेलमा रहेका ल्याबमा परीक्षणका लागि व्यवस्था मिलाउन भूमिका खेल्ने र अधिकतम स्वाब सङ्कलन गर्नेतर्फ बैठकमा छलफल भएको छ ।

अघिल्लो बैठकमा निषेधाज्ञाको विकल्प खोजी जनजीवन सहज बनाउन जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा एउटा कार्यदल निर्माण गरी प्रतिवेदन पेस गर्न भनिएको थियो । कार्यदलले सोमबारको बैठकमा प्रतिवेदन पेस गरेपनि निषेधाज्ञालाई निरन्तरता दिनुपर्नेमा अधिकांशको मत देखिएको थियो । यद्यपि प्रतिवेदनबारे भदौ १५ अघि नै थप छलफल गर्ने र बजारलाई सहज बनाउनेबारे निर्णय हुने बताइएको छ ।
मकवानपुरको थाहा नगरपालिकामा पनि तरकारी खरिद बिक्रीलाई ध्यानमा राखी निश्चित समय तोकेर यसअघि नै निषेधाज्ञा घोषित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?