logo
२०८१ मंसिर १४ शुक्रवार



बागलुङमा थप दुई जना युवामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश |


बागलुङमा थप दुई जना युवामा कोरोना सङ्क्रमण पुष्टि


नवीन शिशिर विक

बागलुङ, भदौ ८ गते । बागलुङमा सोमबार थप दुई जना युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका–३ हाडेपाखाकी २३ वर्षीय कोरोना सङ्क्रमित महिलाको सम्पर्कमा रहेका व्यक्तिहरूको क्लोज कन्ट्याक्ट ट्रेसिङअन्तर्गत बागलुङ नगरपालिका–२ का दुई जना २० वर्षीय युवामा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमित युवामध्ये एक जना बागलुङ बजारको एक हार्डवयेर पसलमा कार्यरत रहेको र अर्काे एक जना हाडेपाखामा बस्दै आएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
सोमबार थपिएका दुईसहित सङ्क्रमित महिलाको सम्पर्कमा आएका नाै जनामा कोरोना पुष्टि भएको छ । यसअघि बागलुङको बडिगाड गाउँपालिकाका एक जना जनप्रतिनिधिको सम्पर्कमा रहेका एक पुरुषमा पनि सङ्क्रमण फेला परेको थियो ।

समुदायस्तरमा कोरोना फैलिएपछि भदौ ३ गते राति १२ बजेदेखि लागु हुने गरी भदौ ९ गते राति १२ बजेसम्मको लागि बागलुङ नगरपालिकाका १४ वटै वडामा निषेधाज्ञा जारी गरिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार पछिल्लो दुई सातायता १८ जना समुदायस्तरका व्यक्तिमा सङ्क्रमण देखिएको छ । स्थानीय तह अनुसार समुदायस्तरमा देखिएको सङ्क्रमणको तथ्याङकअनुसार बडिगाडमा दुइ जना, चार जना स्वास्थ्यकर्मी, बागलुङ नगरपालिकाका एक जना र काठेखोला गाउँपालिकाका तीन जनामा सङ्क्रमण देखिएको थियो ।

हाल एक जना स्वास्थ्यकर्मी, जनप्रतिनिधि तीन जना, ११ जना समुदायस्तरमा फेला परेका र सात जना क्वारेन्टाइनमा रहेका सङ्क्रमित गरी २२ जना उपचाररत रहेका छन् । बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकाको समुदायस्तरमा सङ्क्रमण फैलिएपछि निषेधाज्ञा र लकडाउन जारी गरी सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको खोजी गर्न थालिएको छ ।

निषेधाज्ञा बढाउन नगरपालिकालाई सुझाव

बागलुङ नगरपालिकालमा जारी निषेधाज्ञा भदौ ९ गते राति १२ बजेदेखि सकिँदैछ । तर बागलुङ बजार क्षेत्रमा कोरोना फैलिएपछि निषेधाज्ञा बढाउन नागरिक तहबाट सुझाव दिइएकाे छ ।
नगरप्रमुख जनकराज पौडेलले निषेधाज्ञा बढाउने वा खुला गर्ने विषयमा सामाजिक सञ्जालमा राखेको जिज्ञासामा वडाध्यक्ष तथा नागरिकले निषेधाज्ञा थप गरेर स्वास्थ्य परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?