logo
२०८१ मंसिर १४ शुक्रवार



सल्यानको कपुरकोट बजार एक साताका लागि सिल

प्रदेश |


सल्यानको कपुरकोट बजार एक साताका लागि सिल


प्रतीक शर्मा

सल्यान, भदौ १८ गते । तरकारी बिक्रीका लागि प्रख्यात मानिएको कपुरकोट बजार क्षेत्र एक साताका लागि सिल गरिएको छ । धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि सिल गरिएको हो ।

सङ्क्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले र यसअघि पनि समुदाय स्तरमा गरिएको परीक्षणमा एक व्यक्तिलाई कोरोना भेटिएपछि स्थितिलाई भयावह हुनबाट रोक्नका लागि सिल गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।

कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले बिहीबार राति १० बजेदेखि यही भदौ २५ गते राति १० बजेसम्मका लागि कपुरकोट गाउँ कार्यापालिकाको कार्यालय, ३ नम्बर वडा कार्यालय तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, बैङ्क, वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवा बन्द गरी कपुरकोट बजारक्षेत्र पूर्ण रुपमा सिल गरिएको वताउनुभयो । उहाँका अनुसार कपुरकोटमा सञ्चालन हुने तरकारी बजारमा समेत बन्द गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले कुनै पनि व्यापारीहरूलाई गाउँमा जान प्रतिबन्ध लगाइएको एवम् सम्बन्धित वडाका किसानहरूले आफ्नो बस्तीबाटै तरकारी लोड गरेर बजार पठाउने व्यवस्था मिलाउन कृषि उपज बजार केन्द्रलाई निर्देशन गरिएको बताउनुभयो । गाउँपालिकाले सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका र जोखिमयुक्त समूहका व्यक्तिहरूको स्वाब सङ्कलनलाई तीव्र बनाएको छ ।

स्वास्थ्य संयोजक अरुण दाहालले धनवाङ स्वास्थ्य चौकीमा अन्य स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरूलाई काजमा खटाएर आकस्मिक सेवा र प्रसूती सेवा सञ्चालनको व्यवस्था मिलाइएको वताउनुभयो ।
कपुरकोट तरकारी सङ्कलन केन्द्र र अन्य २८ सहायक बजारबाट गत वर्ष २६ करोडको बराबरको तरकारी निर्यात भएको हो । कपुरकोटको तरकारी बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, दाङ तुलसीपुरलगायत बजारमा जाने गरेको छ । जिल्लामा अहिलेसम्म तीन सय जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?