logo
२०८१ मंसिर १४ शुक्रवार



प्रदेश नं.२ मा ४८ जना नयाँ संक्रमित थपिए

खुला |


प्रदेश नं.२ मा ४८ जना नयाँ संक्रमित थपिए



धर्बेन्द्र झा
जनकपुरधाम, भदौ २६ गते । प्रदेश नं.२ मा शुक्रबार ४८ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन । अन्य दिनको तुलनामा संक्रमित हुनेको संख्यामा कमी आएको हो । यो सँगै प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार ३३६ हुन पुगेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणबाट आज २२ महिला र २६ जना पुरुष गरी ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश नं.२ का वरिष्ठ चिकित्सक डा. कमलेशकुमार यादवले जानकारी दिनुभयो । यो सँगै प्रदेश नं.२ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार ७१३ पुगेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार आज सिरहामा २२, बारामा १, पर्सामा १, सर्लाहीमा ५, रौतहटमा ६ र सप्तरीमा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । वरिष्ठ चिकित्सक डा. यादवका अनुसार आज महोतरी जिल्लाको बथनाहा टोल घर भइहाल जनकपुरमा बस्दै आएका एक ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यो सँगै प्रदेश नं.२ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय आठ पुगेको छ । त्यसै गरी आजै ३ महिला र १९ जना पुरुष गरी २२ जना संक्रमण मुक्त भएर घर फर्किसकेको उहाँले जानकारी दिनुभयो ।
यो सँगै प्रदेश नं. २ मा कोरोनालाई जितेर फर्किनेको संख्या छ हजार २६९ पुगेको वरिष्ठ चिकित्सक डा. यादवले बताउनुभयो । उहाँले शुक्रबार सम्ममा प्रदेश नं.२ मा एक लाख नौ हजार ८० जनाको स्वाब संकलन गरी जाँचको लागि पठाइएकोमा तीनहजार ९२६ जनाको नतिजा आउन बाँकी रहेको बताउनुभयो । प्रदेश नं.२ मा आज मात्रै ४३० जनाको स्वाब संकलन गरिएको उहाँले जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?