logo
२०७९ जेष्ठ १२ बिहीवार



वसन्तपुर क्षेत्रका ३० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न

पढ्नै पर्ने |
खुला |
समाज |


वसन्तपुर क्षेत्रका ३० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न


काठमाडौं, पु्स २१ गते । विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र (हनुमानढोका क्षेत्र)का ऐतिहासिक सम्पदा पुनर्निर्माणले तीब्रता पाएको छ । २०७२ साल वैशाख १२ गते गएको भूकम्पबाट क्षति भएको वसन्तपुर दरबार क्षेत्रका सम्पदा पुनर्निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको पुरातत्व विभाग अन्तर्गतको हनुमानढोका दरबार क्षेत्रका प्रमुख सन्दीप खनालले बताउनुभयो ।

हनुमानढोका क्षेत्रस्थित नौतले दरबार पुनर्निर्माणको अन्तिम चरणमा छ । चीन सरकारको सहयोगमा निर्माण भइरहेको नौतले दरबारको बाहिरी काम सम्पन्न भइसकेको छ । अन्तिम चरणको काम मात्र बाँकी रहेको खनाल बताउनुहुन्छ । कोरोनाका काराण चीन गएको टोली नफर्किएकाले काम रोकिएको उहाँको भनाइ छ ।

भूकम्पले क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण गर्ने उद्देश्यका साथ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको थियो । पुननिर्माण प्राधिकरण यही पुस १० गते विघटन भएपछि उक्त क्षेत्रको पुननिर्माणको जिम्मा पुरातत्व विभागले पाएको हो । वसन्तपुर दरबार क्षेत्र ४४ रोपनी जग्गामा फैलिएको छ । जसमा चार चोकलाई समेत समेटेर ९२ वटा सम्पदा छन् । जसअन्तर्गत चार चोक छोडेर गणना गर्दा ४८ सम्पदा छन् । चार चोकसहितका हालसम्म ३० बटा सम्पदाको पुनर्निर्माण सम्पन्न भइसेको छ । २५ वटा निर्माणाधीन अवस्थामा छन् । वसन्तपुर क्षेत्रका १७ वटा सम्पदाको पुनर्निर्माणको सुरसार नै छैन । २० वटा सम्पदा पुनर्निर्माण गर्नु नपर्ने अवस्थाका छन् ।

काम सुरु हुन बाँकी यी सम्पदाको छिट्टै काम सुचारु गरेर आगामी तीन वर्षभित्रमा सम्पन्न गरिने खनालले बताउनुभयो । सीपयुक्त कामदारको अभाव र ठूला सम्पदाको पुनर्निनिर्माणपछि साना सम्पदाको पुनर्निर्माण गर्ने तयारी भएकाले समय लागेको उहाँ सुनाउनुहुन्छ ।
काष्ठमण्डप,नाटेश्वर,पञ्चमुखी हनुमान,तलेजु मन्दिरको सबै छाना,तारिणी देवी मन्दिर, महादेव मन्दिर पहिलो र दोस्रो ,लक्ष्मीनारायण मन्दिर ,कागेश्वरी मन्दिर नागरा वंशगोपाल,श्वेत भैरव,सिल्यान सत्तल, गद्धी बैठक, डुकुटी चोक, तलेजु मन्दिर नजिकको सानो मन्दिर, तलाजु मन्दिरको टेराकोटा तोरण,प्रताप मल्लको सालिक, तलेजुका मन्दिरको आँखीझ्याल,तलेजु मन्दिरको आधार पेटी,कणेल चोक भगवती,मुल चोक छानो,परि पाटी,जगन्नाथ मन्दिर सँगै रहेको सानो मन्दिरको पुनर्निर्माणको काम सम्पन्न भएको छ । गोपिनाथ मन्दिर,माजु देग, त्रैलोक्य मन्दिर,देगु तलेजु,मूल चोकको पूर्वी भाग,निर्माणधीन नौतले र गद्दी बैठकबीचको राणाकालीन सेतो भवन,पृथ्वीनारायण शाहको शयन कक्ष,त्रिभुवन स्मृति सङ्ग्रहालय,काशी विश्वनाथ,कम्फुकोट सत्तलको व्लक ए, विष्णु मन्दिर र लक्ष्मीनारायण मन्दिरको पुनर्निर्माण भइरहेको छ । शिस महल, उत्तरको लामो सत्तल,सरस्वती मन्दिर,कामदेव मन्दिर, विमलेश्वर, नेपाल संस्कृत विश्वविद्यालयको पुनर्निर्माण गर्नुपर्ने भएकाे छ ।

निर्माणधीन नौतले र गद्दी बैठक बीचको राणकालीन सेतो भवन, फरासखाना, नुच्छे चोकमा अवस्थित पृथ्वीनारायण शाहको शयन कक्ष, नासल चोकको पश्चिमपट्टी रहेको राणाकालीन सेतो भवन, त्रिभुववन स्मृति भवन, तलेजु मन्दिर यी पाँच वटा हनुमान ढोका दरबार सङ्ग्रहालय समिति अन्तर्गत भइरहेका छन् । त्यसमध्ये गद्दी बैठक, फरासखाना र नुच्छेचोकमा अवस्थित पृथ्वीनाराण शाहको शयन कक्षको पुनर्निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको खनालले बताउनुभयो । ‘यी सम्पदाको लगभग ९५ प्रतिशत काम सम्पन्न भएको छ’, खनाल भन्नुहुन्छ, ‘बाँकी काम फागुनसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।’ नासल चोकको काम भने भर्खर सुरु भएको छ । जसको १५ प्रतिशत काम सकिएको छ भने त्रिभुवन स्मृति भवनको पाँच प्रतिशत मात्र काम सकिएको छ । तेजु भवानी मन्दिरको करिब २५ प्रतिशत काम सकिएको छ ।

पुरातत्व विभाग अन्तर्गतका त्रैलोक्ययको मन्दिर, कम्फुकोट, कृष्ण मन्दिर, महाविष्णुको दुईवटा मन्दिरसहित चार वटा र एउटा विद्यालयको पुनर्निर्माणको काम सुरु गर्ने तयारी छ । यसबाहेक काष्ठमण्डप, माझुदेग, शिव पार्वतीको मन्दिर, महाविष्णुको मन्दिर काठमाडौ महानगरपालिकाले पुनर्निर्माणको जिम्मा लिएको छ । जसमध्ये काष्ठमण्डपको पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ ।

महानगरको जिम्मामा पाएका सम्पदामध्ये ४० प्रतिशत काम सम्पन्न भएको काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गीले बताउनुभयो । पुरातत्व विभागसँग स्वीकृती लिएर मात्र कार्य गर्नुपरेकाले पुनर्निर्माणमा ढिलाई भएको उहाँको भनाइ छ । पुरातत्व विभागलाई महानगरकै मातहतमा ल्याएर कााम गर्न मेयरलाई सुझाव दिएको पनि उहाँले सुनाउनुभयो ।

‘पुरातत्व विभागसँग स्वीकृति लिएर मात्र काम गर्नुपर्ने अवस्था छ । यो सम्पदा महानगरको पनि भएकाले पुरातत्व विभागलाई महानगरको मातहतमा ल्याएर काम गर्न पटक पटक मेयरलाई सुझाव पनि दिएको हो । तर उहाँले यो बारेमा प्रयास नै गर्नुभएन,’ उहाँले भन्नुभयो ।

अझै टेकोको भरमै केही सम्पदा
वसन्तपुर दरबार क्षेत्र सन् १९७९मा विश्वसम्पदा सूचीमा समावेश गरिएको थियो । विश्वसम्पदा सूचीमा परेकाले पनि यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । जुन आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । घुम्न आउने पर्यटकले यो क्षेत्रमा फोटो खिच्ने तथा टिकटक बनाउने गर्दछन् । तर, अझै पनि पुनर्निर्माण हुन बाँकी सम्पदा टेकोको भरमा अडिएका छन् । तर भूकम्पले क्षति पुर्याएका वसन्तपुर दरबार क्षेत्रका कतिपय धरोहर काठको टेको लगाएर अड्याइको छ । जसले दरबार क्षेत्रलाई कुरुप बनाउनुका साथै दुर्घटनाको जोखिम पनि निम्त्याएको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको नेपाल संस्कृत विश्वविद्यालय, जगन्नाथ मन्दिर, शिव पार्वतीको मन्दिर अझै टेकोकै भरमा अडिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?