logo
२०८० चैत्र १६ शुक्रवार



नवरसका साथ महाकाली नाच

खुला |
समाज |


नवरसका साथ महाकाली नाच



यलु जोशी

भक्तपुर, भदौ २३ गते । असत्यमाथि सत्यको जित देखाउने भक्तपुरको महाकाली नाच यँेया पुन्ही ‘इन्द्रजात्रा’का लागि काठमाडौँ आउने तयारी पूरा भइसकेको छ । यसैका निम्ति भक्तपुरको ‘महाकाली प्याखँ’लगायत विभिन्न समूह महाकाली नाचको तयारी गर्दैछन् ।
काठमाडाँैंमा यः सिं ‘इन्द्रध्वजा’ ठड्याएपछि येँया पुन्ही सुरु हुन्छ । अन्तिम दिनसम्मै महाकाली नाच चल्ने गर्छ । रथयात्राका क्रममा कुमारी, गणेश र भैरवले तीन दिन सहर परिक्रमा गर्छन् । यी तीन दिन भगवान्को आग्रहअनुसार महाकाली नाच प्रदर्शन गरिने महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याले जानकारी दिनुभयो ।
भक्तपुरको महाकाली नाच पुरातìव विभागमा दर्ता छ । पहिले त्यसमा छवटा टोली थिए भने अहिले हाल चारवटा समूह छन् । त्यसमा मुस्याखः समूहसहित गः हिटको ‘व्यञ्जु’, वंश गोपालस्थित ‘खबुर्जा’ र चासुकेलस्थित ‘दण्डेख्याः’ समूह पर्छन् । भोटेबहालस्थित खैजु समूह र जगातेनजिकै भातेधुगुरीस्थित ‘दैवग्य’ समूह भने लोप भइसकेका छन् ।
आर्थिक अभाव र नाचको समूह ठूलो भएकाले व्यवस्थापन गर्न गाह्रो हुँदा लोप भएको बताइन्छ । इन्द्रजात्रासहित यो नाच वर्षको तीनपटक देखाइने भन्दै मूल नाइके दण्डेख्याले थप्नुभयो, “भक्तपुरको गाईजात्रामा र दसैँको नवमीमा समूहकै नासः देव ‘नाट्यश्वर’लाई समर्पण गरेर नाच देखाउने चलन छ ।” हाकाली नाच करिब दुई घन्टाको हुन्छ र त्यसमा पात्र विभिन्न तालमा नाच्छन् । महाकालीले ‘पर्ताल’, कुमारीले ‘चलती’, कवन्चाको ‘कवन्चा’, ख्याकले ‘धमाक’ तालमा नाच देखाउने उहाँले जानकारी दिनुभयो ।
दण्डेख्याका अनुसार महाकाली नाच सिक्न चाहनेले सुरुआतमा कवन्चा सिक्नुपर्छ । त्यसपछि बेतालः, ख्याः, भैरवलगायत सिक्दै महाकालीको अभ्यास हुन्छ । नाच्दा भने नाच्नेको क्षमता र सुहाउने पात्र दिइन्छ । यी देवदेवीको भूमिका पुस्तौँदेखि पुरुषले गर्दै आएका छन् । यो नाच कहिलेबाट सुरु भयो भन्ने आधिकारिक अभिलेख छैन तर लिच्छवि कालदेखि नै सुरु भए पनि मल्लकालदेखि यो नाचको व्यवस्थापन भएको बताइन्छ । हिन्दु पुराणअनुसार पहिले दानवहरूको राज्य थियो । ती दानवले मानिस र देवीदेवतालाई दुःख दिएपछि भगवान् विष्णुले पार्वतीलाई महाकालीको रूप धारण गर्न लगाई महाकाली दायाँ–बायाँ कुमारी र महालक्ष्मीका साथ युद्ध गर्न आएको र दानवको वध गरेको आख्यान दण्डेख्या सुनाउनुहुन्छ । नाचमा १७ जना सहभागी रहे पनि २४ जनाको समूहमा महाकाली नाच नाचिने जानकारी दिँदै नौ बाजा र नौ रसमा यो नाच नाचिन्छ ।
संस्कृतिविद् ओम धौभडेलका अनुसार यो नाचको सम्बन्ध नरदेवी नाचसँग छ । मल्ल राजा सुवर्णको समयमा यो नाच लोप भएको थियो । त्यसलाई नेपाल संवत् ६३३ मा पुनः सञ्जालमा ल्याइएको हो । नरदेवी नाचको विशेषता नै यो वर्षको नौ महिना देखाइन्छ । बीचको तीन महिनामा नाच नहुँदा महाकाली, भैरव नाचलगायत देखाइन्छ । यी नाच नवदुर्गाकै स्वरूप मानिन्छ । राणाकालीन समयमा महाकाली नाच चर्चामा थियो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले काठमाडौँको राजकीय पर्व मानिने योया पुन्ही ‘इन्द्रजात्रा’मा यो नाच देखाउन थालेको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?