logo
२०७९ असार २० सोमवार



रोमाञ्चक यात्राका रोचक वर्णन

शनिवार |


रोमाञ्चक यात्राका रोचक वर्णन


रत्न प्रजापति

नियात्राकार राजेन्द्रमान डङ्गोलको दोस्रो नियात्रासङ्ग्रह हो ‘पैतालामा हिउँ आँखामा हिमाल’ । यसमा ११ वटा मूल शीर्षकमा ३१ वटा फुटकर नियात्रा सङ्गृहीत छन् । उहाँको पहिलो नियात्रासङ्ग्रह ‘यात्राका पाइला’ २०७६ सालमा प्रकाशित भएको थियो ।
राजेन्द्रमान जहाँ पुग्नुहुन्छ, त्यो ठाउँलाई नियालेर हेर्नुहुन्छ र गहिरिएर सोच्नुहुन्छ । तब त उहाँ कतै हिमाल हाँसेको देख्नुहुन्छ । कतै पहाड रोएको देख्नु हुन्छ । कतै डाँफेमुनाल नाचेको देख्नुहुन्छ । कतै प्रकृतिले नै कम्मर भाँचेको देख्नुहुन्छ । अनि त उहाँ हाँसो, आँसु, पीडा र वेदनाका शब्द संयोजनमार्फत पाठकलाई संवेदित बनाउन सफल हुनुहुन्छ । हिमाल र हिउँका कुरा मात्रै होइन, एकै देशका फरक फरक भूगोलमा रहेका फरकफरक मान्छेले बाँचेका फरक फरक जिन्दगीका रहरलाग्दा र कहालीलाग्दा कथा पनि छन् उहाँका नियात्रामा ।
उहाँका नियात्रा सपाट वर्णनमा मात्र सीमित हुँदैनन् । वर्णनमा मिठास भर्ने र सकेसम्म आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, प्राकृतिक विषयमा बढीभन्दा बढी सूचना दिने प्रयत्न पनि उहाँ गर्नुहुन्छ जसले गर्दा उहाँको नियात्रा पाठकलाई केवल पठनका लागि मात्र नभई गम्भीर चिन्तन र मननका लागि पनि योग्य हुन्छन् । अध्ययन र अनुसन्धानका विद्यार्थीका लागि पनि उपयोगी र सहयोगी बन्छन् ।

‘पैतालामा हिउँ आँखामा हिमाल’मा नियात्राकार राजेन्द्रका निजत्वको गाढा ‘फ्लेवर’ छ । गतिमयतासहितको प्राकृतिक सौन्दर्यवर्णन छ । नियात्रामा सूचनात्मक ग्रहणशीलता, जनजीवन एवं संस्कृतिको बहुआयामिक पक्षलाई समेट्ने प्रयास पनि उहाँले गर्नुभएको छ । आफू जहाँ पुग्यो त्यहाँको भूगोल, पर्यावरण, समाज, जीवनशैली, कला, संस्कृति र सम्पदाको सुललित वर्णन सँगसँगै आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक आदि विषयवस्तुलाई टपक्क टिपेर यथास्थानमा यथोचित रूपमा वर्णन गरी तत्तत् विषयमा यथासम्भव जानकारी दिने राजेन्द्रको प्रयत्न प्रशंसनीय छ । मानवीय संवेदना, दुःख, पीडा, व्यथा र वेदनाबाट आफू पनि प्रभावित भई सहानुभूति र संवेदना प्रकट गर्नुलाई राजेन्द्रले आफ्नो कर्तव्यको रूपमा लिएको आभास हुन्छ । आफूले भेटेका पात्रको दुःखप्रति उहाँले हार्दिक सहानुभूति र संवेदना प्रकट गर्नुभएको छ । पाठकलाई स्वयं आफैँ पनि लेखक पुगेकै ठाउँमा पुगेको अनुभूति गराउन सक्नु र ती ठाउँको वर्णनसँगसँगै पाठकका आँखामा तिनै वर्णित स्थानहरू आइरहनु लेखकको लेखनी प्रभावशाली रहेको प्रमाणको रूपमा लिन सकिन्छ ।

यात्राको वर्णन काव्यात्मक छ । हरेक यात्रामा हिउँ र हिमालको प्रसङ्ग जोडिएकै छ । हिउँ र हिमालप्रति अप्रतिम माया र प्रेम छ राजेन्द्रलाई । त्यसैले पुस्तकको नाम सार्थक लाग्छ । यात्रा गुणात्मक वर्णनसँगसँगै तिथिमितिसहितका महìवपूर्ण सङ्ख्यात्मक सूचनाहरू पनि हुनु यो नियात्रासङ्ग्रहको उल्लेख्य विशेषता हो । विविध लयका गीतका टुक्काहरू ठाउँठाउँमा सन्दर्भअनुसार आएका छन्, जसले यात्रावर्णनलाई अत्यन्तै मिठासयुक्त बनाएका छन् । यद्यपि नियात्रालाई बढी सूचनामूलक बनाउने मोहले कतैकतै अनुभूतिशून्य पनि बन्न पुगेको छ । कतै इतिहासै पढिरहेजस्तो लाग्छ । कतै भूगोल पढिरहेजस्तो । अनि कतै समाजशास्त्र पढिरहेजस्तो पनि लाग्छ । कतै वातावरण विज्ञान पढिरहेजस्तो र कतैचाहिँ धार्मिक कथा पढिरहेजस्तो । कतै संस्कृति पढिरहेजस्तो त कतै युद्धकथा पढिरहेजस्तो लाग्छ । कतै भने प्राकृतिक विज्ञान त कतै पुरातìव विषय पढिरहेजस्तो । विषयमा विविधता छ । यही विषय विविधताले नियात्राको पठन झनै रुचिकर बनेको छ । नियात्राको पठनले पाठकलाई पनि त्यही ठाउँमा पुगेको महसुस गराउनुपर्छ, जहाँ लेखक पुगेका छन् । यति मात्र होइन, पाठक स्वयंलाई त्यहाँ पुग्ने हुटहुटी जगाउन सक्नुपर्छ । त्यो काम यो नियात्रासङ्ग्रहले गरेको छ । हरेक नियात्रामा कतै न कतै पर्यटन प्रवद्र्धनको अभीष्ट र अभिप्राय लुकेको आभास हुन्छ ।

कतिपय नियात्राकारमा विदेशयात्राको बारेमा लेख्दा वा लेख्न पाउँदा गौरवान्वित हुने प्रवृत्ति छ तर राजेन्द्रले आफ्नै देशभित्रको यात्राको बारेमा गौरवान्वित भएर लेख्नुभएको छ र पाठकलाई समेत गौरवान्वित हुने अवसर प्रदान गर्नुभएको छ । नियात्रामा आफ्नै माटोको सुवास छ । आफ्नै पानीको तृप्ती छ । आफ्नै हावाको शीतलता पनि छ । विदेश यात्राको भन्दा बढी रोचक छन् आफ्नै देशका नार र फूको रोमाञ्चक यात्राको रोचक वर्णन । ‘असङ्ख्य प्राचीन छ्योर्तेन, गुम्बा र गुफा छन् यहाँ । ती सब कहिले, कसले र कुन उपादेयताका लागि बनाए भन्ने कुरा अझै रहस्यमय छ । हामीले सबैको अध्ययन गर्न कहाँ सकेका छौँ र ।’ (पृष्ठ २२७) यो त मुस्ताङको मात्रै कुरा भयो । यस्ता रमणीय ठाउँ हाम्रो देशभरि कति छन् कति । यस्ता धेरै ठाउँको त अन्वेषण हुनै बाँकी छ र ती ठाउँमा हामी पुग्नै बाँकी छ ।
उहाँमा नीरस विषयलाई पनि रसिलो बनाएर पस्कने खुबी छ । त्यसैले उहाँको नियात्रा अत्यन्तै पठनीय बनेको छ । झरनाको मीठो पानी पिएजस्तै लाग्छ उहाँको नियात्रा । रसिलो छ र स्वादिलो छ । जसमा गीत, कविता र उखानटुक्काहरूले रस भरेका छन् । ठाउँठाउँमा देशको राजनीति, शासक, प्रशासक अनि नीतिनिर्मातालाई व्यङ्ग्यको झटारो हान्न पनि उहाँले छाड्नुभएको छैन ।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’का शब्द सापटी लिएर भन्नुपर्दा राजेन्द्रमान डङ्गोलका नियात्रा नदीजस्तै निरन्तर बगेका छन्, अक्षर । पढेको भन्दा पैतालाअघि बढाएको अनुभूति गराउने कला छ नियात्राकार राजेन्द्रमान डङ्गोलसँग । प्रकृतिको सत्यलाई परिकल्पनाले अझ सुन्दर बनाएर चित्रात्मक बनाउने कला पनि उहाँसँग छ । थाहा नपाउने गरी उहाँ नियात्रामा जानकारी, सूचना र सन्देश पनि समाहित गरिरहनु हुन्छ । उहाँको नियात्राकलालाई प्रशंसाको ताली बजाइरहनु पर्दैन । बजिरहन्छन् आफँै । फिनिक्स बुक्सले प्रकाशन गरेको यस पुस्तकको मूल्य ५९९÷– रुपियाँ रहेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?