logo
२०७९ जेष्ठ ११ बुधवार



बहुउपयोगी अश्वगन्धा

स्वास्थ्य |


बहुउपयोगी अश्वगन्धा


डा. माधव अधिकारी


अश्वगन्धालाई अङ्ग्रेजीमा विन्टर चेरी भनिन्छ र यसको वैज्ञानिक नाम विथानिया सोम्निफेरी हो । वानस्पतिक परिवार सोलेनेसीअन्तर्गत पर्ने अश्वगन्धा एउटा ठाडो अकाष्ठीय सदाबहार बिरुवामा पर्दछ । एक सय ५० सेन्टिमिटरसम्म उचाइ भएको झाडीदार बिरुवामा अश्वगन्धा पर्दछ । यसको सम्पूर्ण बिरुवा मसिना सेतो रङको साना रेसाले छोपिएको हुन्छ र यसका धेरै हाँगा हुन्छन् । हरेक हाँगाबाट समान किसिमका सहायक हाँगा निस्केको देख्न सकिन्छ ।

अश्वगन्धाका पात अण्डाकार र तलपट्टि सेता राैँजस्तो झुसले ढाकिएको हुन्छ । यसका फूल हरिया–पहेँला हुनुका साथै झुप्पा झुप्पामा फुल्दछन् । फलचाहिँ छिप्पिँदा सुन्तला रङको हुन्छ । यसको बीउ साना साना पहेँलो–खैरो रङ भएका हुन्छन् ।
परापूर्वकालदेखि नै अश्वगन्धाको प्रयोग विभिन्न आयुर्वेदिक औषधिमा भइरहेको छ । यसको जराबाट छालाको रोग, अल्सर, पेटको कीरा मार्ने औषधि बनाउनु साथै यौनवर्धक टानिक पनि बनाइन्छ । मानिस र जनावरमा आएको लुतोको उपचार गर्न यसको हरियो फलको लेप बनाई लगाउँदा लाभ मिल्छ ।

अचेल मानिसको दैनिकीमा भागदौड र तीव्र प्रतिस्पर्धा भएकाले तनावका कारण केही मानिसमा अनिद्राको जटिल समस्या हुन्छ । जसको प्रभावले मानिसमा टाउको गह्रौँ हुने, कुनै पनि काम गर्न मन नलाग्ने, शरीर फुर्तिलो नहुने आदि जस्ता लक्षण देखा पर्दछन् । त्यस्तै कतिपय मानिस निद्रा नलागेका कारणले गर्दा निद्रा लाग्ने औषधि सेवन गर्दछन् । यी कुराबाट पार पाउन अश्वगन्धाको पात तथा जरासँग सर्पगन्धा, भाङलाई बराबर मात्रामा मिलाएर मसिनो धुलो हुने गरी पिसेर चुर्ण बनाउने अनि राति सुत्नुभन्दा अघि त्यसको तीन–चार ग्राम मात्रा पानीमा मिसाएर खाएमा ठूलो लाभ मिल्छ ।
अतः अश्वगन्धाका कैयौँ उपयोगिता छन् । अश्वगन्धामा विथानाइन, सोमनिफेराइन, निकोटाइन र विथानोलोइड्स आदि प्रमुख रासायनिक तìव पाइन्छन् । यी तìव मानव स्वास्थ्यका लागि अति नै बहुउपयोगी हुन्छन् ।

अश्वगन्धा पाँच सयदेखि छ सय ५० मिलिलिटरसम्म वार्षिक पानी पर्ने ठाउँ र समुद्रको सतहबाट छ सयदेखि १२ सय मिटरको उचाइमा खेतीयोग्य हुन्छ । सीधै बीउ छरेर वा बिरुवा रोपेर यसको खेती गरिन्छ । यसको खेती एक वर्षे बालीका रूपमा गरिन्छ । नर्सरी बनाउँदा जमिनलाई खनजोत गरी, झार केलाई, ड्याङ बनाई बीउ लाइनमा छर्नुपर्दछ । बीउ छरिसकेपछि पातलो हुने गरी माटोले पुरिदिनुपर्दछ ।

बीउ छरेको सातदेखि दस दिनभित्र बिरुवा उम्रेको देखिन्छ । सो बिरुवा छ हप्ता भएपछि रोप्न तयार हुन्छ । यसलाई अन्य बालीजस्तै धेरै पानीको आवश्यकता पर्दैन र हल्का वर्षा भए पुग्छ । माथि भनेजस्तै सोझै बीउ छरेर यसको खेती तयारी जमिनमा गर्न सकिन्छ । एक÷दुई पटक सुरुमा पानी परेपछि मनसुन आउनुभन्दा अगावै खेतलाई दुईदेखि तीन पटक जोती, डल्ला फोरी, झार निकाली तयार गरिराख्नुपर्दछ ।

बिरुवा रोपेको सरदर छ महिनामा यसको बाली सङ्कलन गर्न सकिन्छ र माघदेखि चैत महिनासम्म बालीको स्थिति हेरी सङ्कलन गर्नुपर्दछ । कुन अवस्थामा बाली सङ्कलन गर्दा जराको रासायनिक तìव भेटिन्छ वा जरा उत्पादन हुन्छ भन्ने कुरा थाहा पाउनु पर्दछ । बिरुवाको तल्लो भागका फल रातो देखिएमा बाली सङ्कलन गर्न योग्य मानिन्छ । त्यसपछि बिरुवा उखेली डाँठ काटेर जरालाई छुट्टयाउनु पर्दछ ।
अश्वगन्धा सुक्खामा हुने बिरुवा भएको हुँदा यसलाई ग्रीष्मकालमा सुक्खा जलवायु र हिउँदमा कम तापक्रम भएमा जरा र जराको गुणस्तर बढ्न सक्छ ।

–लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुनुहुन्छ ।

युवामञ्च, माघ २०७८

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?