बेझाड, असोज २५ गते । रोजगारीको सिलसिलामा कतारमा रहेका प्रवासी नेपालीद्वारा रामपुर नगरपालिका–१ बस्ने स्व लीलाम्बर खाँणको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ ।
अर्बुद रोगका कारण ज्यान गुुमाएका खाँणको परिवारलाई कतारस्थित पाल्पाली सेवा समाजले रु ५१ हजार १० रकम सहयोग गरेको हो । यसैगरी खाँणको परिवारलाई रामपुर नगरपालिकाले रु १५ हजार रकम सहयोग गरेको छ ।
पाल्पाली सेवा समाज कतार र रामपुर नगरपालिकाको सहयोगमा रु ६६ हजार १० रकम नगर प्रमुख रमणबहादुर थापाले हस्तान्तरण गर्नुभयो ।
क्यान्सर रोगपीडित खाँणको गत असोज १३ गते ५२ वर्षको उमेरमा निधन भएको हो ।
खाँणका श्रीमती, पाँच छोरी र एक छोरा छन् ।
वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा रहेका पाल्पाका नेपाली युवाले विभिन्न रोगबाट पीडित, गरीब, विपन्न परिवारलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् ।