logo
२०८० चैत्र ६ मंगलवार



सर्लाहीमा गोली चल्यो, एक भारतीय युवकको मृत्यु

पढ्नै पर्ने |
खुला |


सर्लाहीमा गोली चल्यो, एक भारतीय युवकको मृत्यु


जनार्जन खत्री
सर्लाही, चैत २३ गते । सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार साँझ गोली चल्दा एक भारतीय युवकको मृत्यु भएको छ । सदरमुकाम मलङ्गवा नगरपालिका–८, स्थित ओम पेट्रोल पप्प नजिकै अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर भारत विसनपुर आधार पञ्चायत घर भएका अन्दाजी ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो । महतोमाथि बुधबार साँझ ७ः३० बजेतिर गोली प्रहार भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइते महतोलाई उपचारका लागि मलङ्गवास्थित प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । अस्पतालमा अहिले मृतकका परिवार र आफन्त आइसकेका छन् ।
महतोलाई बीआर ३० ए ८५४५ नम्वरको मोटरसाइकलमा भारततर्फबाट आउँदै गर्दा मोटरसाइकलमै आइरहेका अज्ञात व्यक्तिले गोली प्रहार गरेर फरार भएका छन्् । सर्लाहीका सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाका अनुसार मृतक महतोको पाखुरा, करङ्गसहित शरीरका तीन स्थानमा गोली लागेको छ ।
महतो मलङ्गवा आउनुको कारण खुल्न सकेको छैन् । सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले घटनाको विषयमा अनुसन्धान भइरहेको गोरखापत्रसँग बताउनुभयो ।
घटनापछि मलङ्गवाका स्थानीयवासी त्रसित भएका छन् । अहिले प्रहरीले मलङ्गवाका ठाउँ–ठाउँमै चेक प्वाइन्ट खडा गरेर सवारी साधन र मानिसको खानतलासी गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?