logo
२०८० चैत्र ६ मंगलवार

  उदयपुर किशोरी हत्या प्रकरण  



आरोपी सार्वजनिक, बियरको बोतल प्रहार गरी हत्या गरेको स्वीकार

पढ्नै पर्ने |
खुला |


आरोपी सार्वजनिक, बियरको बोतल प्रहार गरी हत्या गरेको स्वीकार


भोटराज राई
उदयपुर, चैत २३ गते । जिल्लाको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज सार्बजनिक गरेको छ । घटनाको भोलिपल्ट प्रहरीले पत्रकार सम्मेलन गरी हालसम्मको अनुसन्धानबाट देखिएको अभियुक्तलाई सार्बजनिक गरेको हो ।

प्रहरीले हत्यामा संलग्न बेलका नपा–३ बस्ने १९ वर्षीय विनोद ढकाल सार्वजनिक गरेको छ घटनामा एक नाबालिको संलग्नता देखिए पनि उनलाई प्रहरीले सार्बजनिक गरेको छैन । एकवर्षदेखि ती नाबालिकको घरमा बस्दै आएका विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको छ ।

उनीहरुले मङ्गलबार विहान ट्युसन पढ्न जाने निहुँ पारेर बोलाएर बाटोमा हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताउनुभयो । “अनुसन्धानबाट बिहानै हत्यामा संलग्न अभियुक्तहरुले किशोरीलाई बोलाई हत्या गरेको खुलेको छ ।” एसपी बोहोराले भन्नुभयो “वयानमा समेत उनीहरुले यो कुरा स्वीकार गरेका छन् ।” हत्याको मुख्य योजनाकार नाबालिक छिन् ।

एसपी बोहोराका अनुसार हत्या गर्नुको कारण साथीसाथीबीच प्रतिशोध रहेको बुझिएको छ । मृतक कविता र हत्यामा संलग्न भएको आरोपित नाबालिक साथी हुन् । उनीहरु दुबैजना स्थानीय कोशी जनता माध्यामिक विद्यालयमा एकै कक्षामा अध्ययनरत हुन् । साथी–साथीबीच मिलन देखिए पनि भित्रभित्रै विविध कुराले मनमुटाव, विवाद हुने र एकअर्कामा कटाक्ष हुने गरेकाले प्रतिशोध साँधन मार्ने योजना बनाएकी थिइन् ।

सो योजनामा विनोदको मद्दत लिएर हत्या गरेको पाइएको एसपी बोहोराले बताउनुभयो । सुरुमा पछाडिबाट खाली वियरको बोतलले टाउकोमा प्रहार गरेको र अरुले थाहा पाउछ भन्ने डरले पछि ढुङ्गाले हानेर मारेको बयान उनीहरुले दिएका छन् । उनीहरुले हत्या गरेपछि करिब ४० मिटर टाढा लगेर लास फालेका थिए ।

सदा झै विहान ट्युसन पढ्न घरबाट हिडेकी किशोरीलाई केही घण्टापछि गाउँलेले मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेको थियो । हत्यापछि घरै बसेका उनीहरुलाई प्रहरीले आशंका गरी घरबाटै पक्राउ गरेको थियो ।

घटनापछि प्रहरीले हत्याराको खोजी थालेको थियो । त्यसक्रममा संकास्पद देखिएका दुईजनालाई गाउँमै घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्यो । उनीहरु उपर कर्तब्य ज्यान मुद्दा परेको छ । मृतकको बुवा कृष्ण सुनुवारले हिजै उनीहरुको नामसहित किटानी जाहेरी दिनुभएको थियो । इलाका प्रहरी कार्यालय रामपुरमा दर्ता जाहेरी उपर कानुनी कारवाही अगाडि बढाउने क्रममा आज दुबैजनाको जिल्ला अदालत उदयपुरमा म्याद थप भएको प्रहरीले जनाएको छ । दोषी नाबालिकलाई पाँच दिन र विनोदलाई सात दिनको म्यान थप भई थप अनुसन्धान अगाडि बढेको जनाइएको छ ।

मृतक किशोरीको शब पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । घटनाको २४ घण्टासम्म पनि अपराधी पत्ता नलागेको भन्दै स्थानीय र मृतक परिवारले किशोरीको शब जिम्मा लिन मानेको थिएन । सडकजाम तथा बजारमा प्रशासन विरुद्ध प्रदर्शन गरेको स्थानीयले छिटो हत्यारा पत्ता लगाई सार्बजनिक गर्न माग गर्दै आएको थियो । आन्दोलन भड्काव किसिमको हुने स्थिति भएपछि आजै सर्बपक्षीय छलफल भएको थियो । छलफलले पीडितलाई उचित न्याय र क्षतिपूर्ति दिलाउन सबै लागि पर्ने र अपराधी पत्ता लगाई कारवाही गर्न प्रहरीलाई सहयोग गर्ने सहमति बनेको थियो । यता सहमति संगै प्रहरीले हत्यामा संलग्न दुईजनालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

किशोरीको हत्यापछि हिजैदेखि शोकमा डुबेको बेलका नगरपालिका क्षेत्रमा आज सबै विद्यालयमा शोक विदा भयो । मृतक किशोरी विद्यालयमा अनुशासित र पढाईमा मिहिनेती र जेहेन्दार रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले बताउनुभयो । विद्यालयको एउटा राम्रो विद्यार्थी गुमाउनु परेको र परिवारको एक असल छोरी गुमाउनु परेको भन्दै स्थानीयले मृतक किशोरीको नाम अमरत्व हुने किसिमको केही काम गर्न नगरपालिका र विद्यालय प्रशासनसंग माग राखेको छ । साथै हत्यारालाई हदैसम्मको सजायको माग गरेको छ ।

हत्यारामध्ये एकजना नावालिका रहेकोले सोही कानुन बमोजिम कारवाही हुने र विनोदलाई भने पूरा कानुन लाग्ने प्रहरी प्रमुख एसपी बोहोराले बताउनुभयो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?