गोरखापत्र अनलाइन
काठमाडौं, चैत १० गते । कोरोना (कोभिड¬ १९) को महामारी विरुद्ध लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतवार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिनुभयो ।
यसअघि संघले कोरोना भाइसर पिडितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति गठन गरेको थियो । बैठकले संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहतकोष संकलन समिति गठन गरेको छ भने उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामाग्री सहयोग संकलन उपसमिति गठन गरेको छ ।
संघले विश्वभर छरिएका आफ्ना शाखा मार्फत कोरोना पीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी गरेको छ । यस्तै बैठकले संघको आर्थिक, कर्मचारी, प्रोटकल सम्बन्धी आधार दर्जन भन्दा बढी नियमावलीहरु पारित गरेको संघले जनाएको छ ।