मुकुन्द गैरे
काठमाडौं, वैशाख २२ गते । कुवेतमा ८४ जना नेपाली कोरोना संक्रमित भएका छन् । कुवेतस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै कोरोना रोगबाट संक्रमित नेपालीको संख्या बढेको जानकारी दिएको हो ।
हिजो आइतबारसम्म ८४ जना नेपालीसहित जम्मा ४ हजार ९८३ जना संक्रमित भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संक्रमण फैलिनबाट बच्न सावधानीका उपायहरूलाई गम्भिरतापूर्वक अनुशरण गर्न दूतावासले अनुरोध गरेको छ । रोग लागेको आशंका हुनासाथ आफैँले वा आफ्नो रोजगारदाता व्यवस्थापनसँग अविलम्व सम्पर्क राखी चेकजाँच गरेर उपचारका लागि चिकित्सकको सल्लाह र सुझाव लिन दूतावासले कुवेतमा रहेका नेपालीलाई अनुरोध गरेको छ ।
संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भई कठिनाइ उत्पन्न भएको अवस्थामा रोजगारदातासँग सम्पर्क राख्न आग्रह गरिएको छ । साथै, आफू बस्दै आएको आवास छाडेर अन्यत्र जाने कार्य नगरी हाल बसिरहेको ठाउँमा सुरक्षित रुपमा बस्न दूतावासको अनुरोध छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गए पनि यसको संक्रमणबाट निको हुनेको संख्या पनि बढ्दै गएको हुँदा यो रोगबाट भयभित नभई, दृढ साहस र उच्च मनोबलका साथ सजग रहन दूतावासको आग्रह छ ।