गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २९ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सङ्कटका बेला पनि विभिन्न मुलुकसँग नेपालको सौहार्द्र सम्बन्धको पहल जारी राख्नुभएको छ । उहाँले कोभिड–१९सँग लड्न आपसी सहयोग जुटाउन तथा विदेशस्थित नेपालीको स्वास्थ्य सुरक्षाका विषयमा विदेशस्थित समकक्षीसँग टेलिफोनमार्फत छलफललाई निरन्तरता दिनुभएको हो ।
बिहीबार मन्त्री ज्ञवालीले बेलायतका फरेन एण्ड कमनवेल्थ मन्त्री लर्ड अहमदसँग टेलिफोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा कोभिड–१९ विरुद्धको साझा लडाइँमा दुवै मन्त्रीले ऐक्यबद्धता प्रकट गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै, त्यहाँस्थित नेपाली नागरिकको बारेमा पनि मन्त्री ज्ञवालीले चासो व्यक्त गर्नुभएको थियो ।
यतिबेला विदेशस्थित आपतमा परेका नेपाली नागरिक धमाधम स्वदेश फिर्ता गर्ने अभियान सरकारले चालिरहेका बेला बेलायतस्थित नेपालीको अवस्थाको बारेमा मन्त्री ज्ञवालीले सोधनी गर्नुभएको जनाइएको छ । त्यस्तै अन्य विकासका साझेदारी, द्विपक्षीय हित तथा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने विविध विषयमा दुई मन्त्रीबीच छलफल भएको थियो ।
बिहीबार नै मन्त्री ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रन्कोइस फिलिप चम्पाग्नेसँग पनि टेलिफोन वार्ता गर्नुभएको छ । कोभिड–१९ को यस सङ्कटको घडीमा एकआपसमा सहयोग र समर्थन जारी राख्ने बिषयमा दुवै मन्त्रीले सहमति जनाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी वार्ताका क्रममा क्यानडास्थित नेपालीको स्वास्थ्य र सुरक्षाको बारेमा पनि छलफल भएको जनाइएको छ ।
अप्ठेरोमा परेका नेपालीमध्ये बेलायतबाट ४९ जना र क्यानडाबाट ७८ जना नेपाल फर्कन स्वीकृति पाएका छन् ।