logo
२०८१ मंसिर ९ आईतवार



सरकारले तीनवटा देशसँग हवाई सम्झौता गर्ने

विदेश |
अर्थ |


सरकारले तीनवटा देशसँग हवाई सम्झौता गर्ने


गोरखापत्र अनलाइन

काठमाडौँ, भदौ १४ गते । नेपाल सरकारले तीन वटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकले भाद्र १६ देखि नियमित उडान हुने हुँदा वायुसेवा कम्पनीहरूले कोभिड १९ को महामारीपूर्व नियमित अवस्थामा लिने हवाई भाडादरभन्दा बढी नलिनेतर्फ वायुृसेवा निगमहरूसँग समन्वय गर्ने र नेपाल नागरिक उड्ड्यन प्राधिकरणमार्फत वायुसेवा कम्पनीलाई सचेत गराउने निर्णय गरेकाे छ । त्यस्तै, नेपालीहरू स्वदेश फिर्तालगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनिल शर्मा सदस्य हुनुहुन्छ । समितिलाई हवाई उडान, भाडादर, यात्रुहरूको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, हानलगायतका संघ संस्थाहरूसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने कार्यादेश तोकिएको छ ।

हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत र रेस्क्युलगायत विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णयसमेत गरेका छ । बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको वार्षिक कार्ययोजनामा समावेश गरिएका माइलस्टोनलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?