logo
२०८० चैत्र १६ शुक्रवार



श्रम गन्तव्यमा लकडाउन खुलेसँगै कामदारको माग आउन थाल्यो

विदेश |
अर्थ |


श्रम गन्तव्यमा लकडाउन खुलेसँगै कामदारको माग आउन थाल्यो


मुकुन्द गैरे
काठमाडौँ, भदौ २२ गते । नेपालीको रोजगारीको गन्तव्य मुलुकहरूमा लकडाउनका कारण बन्द भएका उद्योग, व्यवसाय सुचारु भएसँगै नेपाली कामदारको माग आउन थालेको व्यवसायीहरूले बताउन थालेका छन् ।
रोजगारीको गन्तव्य मलेसियालगायत खाडीका मुलुकबाट नेपाली कामदारको माग आउन थालेको वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विष्णुप्रसाद गैरे बताउनुहुन्छ ।
मापदण्ड बनाएर कामदार रोजगारीको लागि विदेश पठाउने वातावरण सरकारले बनाउन जरुरी रहेको अध्यक्ष गैरे बताउनुहुन्छ । लकडाउनभन्दा पहिला भिसा लागेर रोजगारीमा जान रोकिएका कामदारको सङ्ख्या एक लाखभन्दा बढी रहेको व्यवसायी गैरे बताउनुहुन्छ ।
यसै गरी एक लाख २८ हजारको हाराहारीमा पूर्वश्रमस्वीकृति ल्याइएको सङ्ख्या रहेको उहाँ बताउनुहुन्छ । सरकारले मापदण्ड बनाएर वैदेशिक रोजगारीमा कामदार पढाउन श्रम मन्त्रालय लगायत सरोकारवाला निकायसँग छलफल गरिरहेको अध्यक्ष गैरे बताउनुहुन्छ ।
सरकारले केही दिनअघि मात्रै वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ ।
सरकारले हिजोको जस्तै गरेर आजको अवस्थामा जस्तो पायो त्यस्तो मुलुकमा कामदार पठाउन व्यवसायीलाई दिन नहुने वैदेशिक रोजगारका जानकारको भनाइ छ ।
श्रम मन्त्रालयले एउटा मापदण्ड बनाएर कामदार पठाउने वातारण बनाउन सके देश र कामदारको लागि फाइदा हुने वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित बताउनुहुन्छ ।
वैदेशिक रोजगारीमा जाने कामदारको सबै सुरक्षामा ध्यान दिएर उसको सबै कुराको ग्यारेण्टी गरेर कामदार पठाउन रोजगार विज्ञ पण्डितको सुझाव छ ।
कोरियाले नेपाली कामदारको माग गरेको छ तर कामदार कोरिया जान नपाएर आन्दोलन गरेका अवस्था छ । तिनीहरूलाई मापदण्ड बनाएर पठाउन आवश्यक रहेको पण्डित बताउनुहुन्छ ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई जानुभन्दा अघि विदेशमा पहिलाको जस्तो सजिलो अवस्था छैन । विभिन्न कुरामा ध्यान दिएर काम गर्नुपर्ने बाध्यता छ भनेर उनीहरूलाई परामर्श दिएर पठाउन सकिने उहाँको भनाइ छ ।
नेपालमा सबैलाई रोजगारी दिने अवस्था तत्कालको लागि नरहेकोले विदेशमा जान खोज्ने कामदारको लागि वातावरण बनाउन अहिलेको आवश्यकता रहेको रोजगार विज्ञ पण्डित बताउनुुहुन्छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मध्यपूर्वका उप–संयोजक राजेन्द्र अर्याल खाडीमा अर्थतन्त्र धराशायी भएको अवस्था रहेको बताउनुहुन्छ । कम्पनीको अवस्थाको अध्ययन नगरी कामदार पठाउन हतार गर्नु दुर्घटना निमत्याउनु भएको उप–संयोजक अर्याल बताउनुहुन्छ ।
विगतमा पनि केही वैदेशिक रोजगार कम्पनीले हचुवाको भरमा कामदार पठाउँदा कतिपय कामदारहरू पीडित बनेको तथ्यहरूले देखाएको अर्यालको भनाइ छ ।
कडाइका साथ वैदेशिक रोजगारी ऐन अनुसार जिम्मेवारी बहन गर्न, गराउन आवश्यक रहेको उहाँको भनाइ छ । अर्काे यथार्थ, यो महामारीले केही कम्पनीहरू उठ्नै नसकिने गरी थलिने पक्का भएको अर्याल बताउनुहुन्छ ।
यस्तो अवस्थामा बिना अध्ययन पुनः कामदारहरू पठाउनु वा आउनु भनेको जोखिमपूर्ण हुने उप–संयोजक अर्याल बताउनुहुन्छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल हामीले नीतिगत रुपमा श्रम स्वीकृति दिने एउटा कुरा भए पनि सम्बधित मुलुकको रोजगारदाताले कामदार लैजान्छन् वा लैजानन् उनीहरूको निर्भरताको कुरा भएको बताउनुहुन्छ ।
सम्बधित देशका आ–आफनै कानुन छन् तत्कालका लागि नेपालले श्रम स्वीकृति दिएको अवस्था रहेको उहाँ बताउनुहुन्छ ।
रोजगारदाता मुलुकले नेपाली कामदारको माग गरेर सबै प्रक्रिया पूरा गरेमा कामदार विदेश पठाउन सकिने महानिर्देशक दहाल बताउनुहुन्छ ।
कामदार समस्यामा नपरुन ठगिमा नपरुन भनेर श्रम स्वीकृति दिँदा नो अब्जेक्शनको व्यवस्था गरेको उहाँ बताउनुहुन्छ । श्रम स्वीकृति खुले पनि पहिलाको जस्तो धेरै कामदार जाने स्थिति तत्काल नरहेको महानिर्देशक दहाल बताउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप