करुण अर्याल
लण्डन,कात्तिक २१गते । इङ्ल्याण्डमा बिहीबारदेखि चार साताको लकडाउन(बन्दाबन्दी)भएसँगै यहाँको जनजीवन प्रभावित बनेको छ । कोरोना भाइरसको संक्रमण तीव्र फैलिदै गएपछि बेलायत सरकारले गत शनिबार इङ्ल्याण्डमा लकडाउन गर्ने घोषणा गरेको थियो ।
बुधबार बेलायतको संसद हाउस अफ कमनले अनुमति दिएसँगै डिसेम्बर २ सम्म इङल्याण्डमा लकडाउन हुनेछ । प्रधानमन्त्री बोरिस जोन्सनको लकडाउनसम्बन्धी प्रस्तावलाई ५१५ सांसदले समर्थन गरेका थिए भने विपक्षमा ३८ मत परेको थियो । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ कन्जरभेटिभ पार्टीकी सांसद थेरेसा मे लगायतले विपक्षमा मतदान गर्नुभएको थियो ।
लकडाउन लागु भएपछि बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री जोन्सलने चार साताको लकडाउन कोरोना भाइरसको संक्रमण दरलाई प्रभावकारी रुपमा कम गर्न पर्याप्त हुने बताउनुभयो । एकमहिना लामो लकडाउनपछि क्रिसमस सामान्य रुपमा मनाउन सकिने आशा व्यतmगर्दै प्रधानमन्त्री जोन्सनले अनावश्यक काममा बाहिर ननिस्कन र लकडाउनको नियम पूर्णरुपमा पालना गर्न आग्रह गर्नुभयो ।
विज्ञद्वारा धान्न नसक्ने चेतावनी
कोरोनाको दोस्रो लहरसँग जुधिरहेको बेलायतमा अहिले दैनिक औसतमा २२ हजारभन्दा बढी नयाँ संक्रमितह थपिदै गएका छन । बिहीबार मात्र २४ हजार १४१ नयाँ संक्रमित भेटिनुका साथै ३७८ जनाको मृत्यु भएको छ । एक हप्तामा एक लाख ५७ हजार ८६० जना नयाँ संक्रमित बेलायतमा भेटिएका छन । गत एक सातामा कोरोनका कारण दशहजारभन्दा बढीले अस्पतालमै उपचार गर्नुपरेको छ । यस्तै अवस्था रहे दैनिक चार हजारको ज्यान जान सक्ने र अस्पतालहरुले धान्ननसक्ने अवस्थाआउन सक्ने स्वास्थ विज्ञहरुले चेतावनी दिदै आएपछि सरकारले दोस्रो लकडाउन गरेको हो । यसअघि मार्च २३ देखि जुलाई ४ सम्म पहिलो लकडाउन गरिएको थियो ।
उल्लङ्घन गरे दशहजार पाउण्ड जरिवाना
लकडाउन भएसँगै इङ्ल्याण्डमा पव,रेष्टुरेष्ट,जीम, सैलुन, मनोरञ्जनका क्षेत्र र अत्यावश्यक सेवा बाहेकका अन्य सबै पसल बन्द भएका छन । पिक एण्ड टेकअवे र डेलिभरी सेवा खुला छन् । अघिल्लो लकडाउनमा बन्द भएका विद्यालय,क्याम्पस, विश्वविद्यालय अहिले सञ्चालन भएका छन् । घरबाट गर्न नमिल्ने अवस्थाका उत्पादन र निर्माणसँग सम्बन्धित कामहरु गर्न दिइएको छ । खाद्यान्न पाइने सुपरमार्केट भने यथावत रुपमा चलेका छन् । सर्वसाधारणलाई घरमै बस्न र आफ्नो क्षेत्रभन्दा बाहिर यात्रा नगर्न आग्रह गरिएको छ । नियम उल्लङ्घन गर्नेले दशहजार पाउण्डसम्म जरिवाना तिर्नुपर्नेछ ।
जोखिममा रहेकालाइ घर नछाड्न निर्देशन
डिसेम्बर २ पछि लकडाउन स्वत अन्त्यहुने बताउँदै प्रधानमन्त्री बोरिसले अवस्था हेरेर त्यसअघि कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने प्रक्रियाका लागि संसदमा प्रस्ताव लगिने बताउनुभयो । यसैगरी बुधबार स्वास्थ्यका हिसाबले अति जोखिममा रहेकाका लागि बेलायतको सरकारले नयाँनिर्देशिका जारी गरेको छ निर्देशिका अनुसार सो समूहमा पर्ने मानिसलाई घर नछोडन भनिएको छ । व्यायाम र चिकित्सककोमा जान बाहिर निस्कँदा सामाजिक दुरी कायम गर्न, हात धुन र अनुहार नछुन निर्देशिकामा उल्लेख गरिएको छ । संक्रमण नियन्त्रण गर्न बेलायतका राज्यहरु वेल्स, स्कटल्याण्ड र नर्थन आयरल्याण्डले आफ्नै नियम अघि सारेका छन् ।
८० प्रतिशत परिश्रमिक सरकारले दिने
यसैबीच लकडाउन घोषणासँगै नोभेम्बर महिनासम्म निरन्तरता दिइने भनिएको फर्लो योजना सन २०२१ मार्चसम्म निरन्तरता दिइने भएको छ । संसदमा बिहीबार यसबारे जानकारी दिदै अर्थमन्त्री ऋषि सुनाकले जनवरीमा यसबारे थप पुनरावलोकन गर्ने जानकारी दिनुभयो । कोरोना नियन्त्रणका क्रममा सरकारले गरेको प्रतिबन्धका कारण प्रभावित भएका निजीक्षेत्रलाई सहयोग गर्ने उदेश्यले सरकारले यो योजना ल्याएको हो । जसअनुरुप सरकारले एक जना कामदारलाई मासिक दुई हजार पाँच सय पाउण्ड नबढने गरी ८० प्रतिशतसम्म पारिश्रमिक उपलब्ध गराउदै आएको छ । फर्लो योजनाका कारण बेलायतका लाखौँ कामदारको रोजगारीमा समस्या आएको छैन भने हजारौँ कम्पनीको आर्थिक अवस्था कमजोर हुनबाट जोगिएको छ ।
बेलायतबाहेक यूरोपका अधिकांश देश अहिले कोरोनाको दोस्रो लहरसँग जुधिरहेका छन । चिसो मौसम शुरु हुनै लाग्दा कोरोना नियन्त्रणका लागि ती देशले राष्ट्रव्यापी लकडाउन लागु गरेका छन । जर्मनी, फ्रान्स, बेल्जियम, चेक रिपब्लिकसँगै ग्रीसलगायतले लकडाउन गरेका छन ।
यसैबीच फ्रान्स र अष्ट्रियामा आतङ्कवादी घटनापछि बेलायतले आतङ्कवादी आक्रमणको खतराको स्तर बढाएको छ ।यसअघि ‘पर्याप्त’ रहेको आतङ्कवादी आक्रमणको स्तरलाई ‘गम्भीर’ बनाइएको गृहमन्त्री प्रिति पटेलले बताउनुभएको छ । ( न्यूज एजेन्सीहरूकाे सहयोगमा )