logo
२०८१ मंसिर ९ आईतवार



बीबीसीकाे मास्टरसेफ दि प्रोफेसनल्सकाे प्रतिस्पर्धामा नेपाली सेफ सन्तोष साह ‘टप थ्री’ मा पर्न सफल

विदेश |


बीबीसीकाे मास्टरसेफ दि प्रोफेसनल्सकाे  प्रतिस्पर्धामा नेपाली सेफ सन्तोष साह ‘टप थ्री’  मा पर्न सफल


करुण अर्याल
लण्डन, पुस ३ गते । बीबीसी वानबाट प्रसारित मास्टरसेफ दि प्रोफेसनल्स् २०२० को उपाधि बेलायतको एसेक्सका एलेक्स वेवले जित्नुभएको छ । बिहीबार राति भएको अन्तिम प्रतिस्पर्धामा बेलायतमा बसोवास गर्ने नेपालका सन्तोष साह र नेदरल्याण्डका वार्ट भान डर लीलाई पछि पार्दै २५ वर्षीय एलेक्स मास्टर सेफको विजेता बन्न सफलहुनुभयो ।
हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित अन्तर्राष्टियस्तरको यस प्रतियोगितामा सहभागी ३२ व्यावसायिक सेफहरुमध्ये तीन जनाले अन्तिम प्रतिस्पर्धामा आफ्नो स्थान बनाउन सफल हुनुभएको थियो । नेपाली ढाका टोपीमा देखिनुभएका ३५ वर्षीय साहले अन्तिम प्रतिस्पर्धामा चरेशको थालमा भैँसीको मासु, खोले साग, भेडाको गिदीलगायतका परिकार पस्कनुभएको थियो ।
प्रतियोगिताका विभिन्न चरणमा साहले योमरी, क्रिस्पी, चिकेन चिल्ली, सी विडको अचार, भेजिटेबल अचार, खरायोको मासु,कोदोको खीर, आँपको कुल्फी आँपको अमौरा बनाएर निर्णायकको मन जित्नुभएको थियो । सेमिफाइनलको पछिल्लो चरणमा साहले नेपालको हिमाली कुइजिनबाट प्रेरित रोस्टेड काँक्राको बियाँ, प्याजको अचार, स्याउको चटनीलगायत परिकार बनाउनुभएको थियो । यसैगरी विभिन्न चरणमा सिस्नो र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार जस्ता नेपालका मौलिकखानाका परिकार पस्कनुभएको थियो ।
साहले लण्डनका चर्चित सेफहरुसँग प्रशिक्षण लिनुका साथै सँगै काम गरेको अनुभव छ । नेपालको सिराहाको जिल्लाको कर्जन्हा घर भएका साह सानो उमेरमै कामको खोजीमा भारत जानुभएको थियो । भारतको गुजरातमा किचन पोर्टरबाट शुरु भएको उहाँको सङ्घर्ष भारतको पाँचतारे होटल हुँदै एक दशकअघि लण्डनका चर्चित रेष्टुरेण्टसम्म पुगेको हो । हाल उहाँ लण्डनको एक रेष्टुरेष्टमा हेड सेफको रुपमाकार्यरत हुनुहुन्छ । प्रतियोगिताको फाइनलमा पुग्नुभएका अर्का प्रतिस्पर्धी ली लण्डनमै सेफको रुपमा कार्यरत हुनुहन्छ । प्रतियोगितामार्फत नेपालका विभिन्न परिकारलाई अन्तर्राष्टियस्तरमा परिचत गराउन आफू सफल भएको साहले बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?