logo
२०८१ बैशाख १५ शनिवार

  भिजिट भिसामा कडाइ गरिदै  



महिलालाई पारिवारिक सहमति र वडाको सिफारिस अनिवार्य

विदेश |
पढ्नै पर्ने |


महिलालाई पारिवारिक सहमति र वडाको सिफारिस अनिवार्य


मुकुन्द गैरे
काठमाडौं, माघ २८ गते ।अध्यागमन विभागले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दुरुपयोग गरेको ठहर गर्दै अध्यागमन कार्यविधि संशोधनको प्रस्ताव मन्त्रालयमा पठाएको छ । अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले महिलाहरू एक्लै विदेश जाँदा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने लगायत केही नयाँ प्रावधान ल्याउन प्रस्ताव गृहमन्त्रालयमा पठाईएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

साथै उक्त प्रस्तावमा विदेश जानेहरुको हकमा १५ लाखको बीमा र एक हजार डलर अनिवार्य लिएर जानु पर्ने प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । विभागका अनुसार जोखिममा देखिने ४० बर्ष मुनिका महिलाहरुको लागि विदेशमा गएर समस्यामा नपरुन भनेर नयाँ केहि नियम ल्याउन खोजिएको हो । यो नियम सवै देशमा लागु नभएर जोखिम मुलुकमा लागु गर्न खोजिएको विभागको भनाई छ ।

साथै पटक–पटक विदेश जाने र आउने गरेका महिलाहरुको हकमा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस आवश्क नपर्ने समेत महानिर्देशक केसीले स्पष्ट पार्नु भयो । विभागले सरोकारवाला निकाय संग छलफल गरि उक्त केही नयाँ नियम संशोधनका लागि विभागले एक साता अघि मन्त्रालयमा प्रस्ताव पठाएको हो ।

भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढिरहेकोले यसलाई कसरी रोक्न सकिन्छ भनेर विभागले नयाँ नियम ल्याउन खोजिएको उहाँले बताउनुभयो ।भिजिट भिसामा जाने नेपालीको हकमा अब थपिने कार्यविधि संशोधनमा भिजिट अवधिभरको लागि बीमा, घुम्न जानेको उद्देश्य, घुम्न जान सक्ने आधार क्षमता खुल्ने खालका आधार आवश्यक पर्ने छ ।

कुनै संघ, संस्था वा व्यक्तिले दुरुपयोग गरेर लैजानेलाई पनि निगरानी बढाएर भागिदार बनाउने विभाग भनाई छ ।घुम्न जाने व्यक्तिको बीमा अनिवार्य गरियो भने पनि कुनै प्रकोप आए वा अलपत्र परे बीमा बापत केही राहत मिल्ने अध्यागमन विभागको ठहर छ ।
पछिल्लो समय खाडी मुलुकको युएइमा भिजिट भिसामा गएर अर्को मुलुक जान खोज्ने अनि समस्यामा पर्ने जस्ता घटना देखा पर्ने गरेका छन् ।

सरकारले कोरोनाको कारण समस्यामा परी स्वदेशमा उद्वार गर्ने सबै भन्दा बढी नेपाली युएईबाट रहेको छ । घुम्न जाने नेपालीहरु अरुको प्रलोभनमा नपरी त्यहाँ गएर अलपत्र नपरुन भन्ने विभागको उद्देश्य रहेको महानिर्देशक केसी बताउनुहुन्छ । कामदार भिसामा पठाउँदा हाल कोरोनाको कारण प्रक्रिया लामो हुने भएकाले केही कम्पनीले पनि युएईमा भिजिट भिसामा पठाउने गरेको सूचना समेत आइरहेको विभागको भनाइ छ ।

त्यसैलाई मध्यनजर गरेर वैदेशिक रोजगार विभाग र अध्यागमन विभागले समन्वय गरेर वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, शैक्षिक परामर्श कम्पनीलगायतमा निगरानी बढाइएकाले भिजिटमा जानेकोे संख्या कम भएको अध्यागमन विभागका महानिर्देशक केसी बताउनुहुन्छ ।

भिजिट भिसामा विदेश जाने नेपालीको हकमा यूरोप र अमेरिकाको हकमा कुनै समस्या नरहेको विभागको ठहर छ । उक्त देशहरुले भिसा दिंदा नै उनीहरुको जिम्मेवार लिन्छन् कुनै विरामी वा कुनै समस्या परे जिम्मेवारी लिने गरेको उहाँ बताउनुहुन्छ ।
भिजिट भिसामा जानेहरु मध्ये बढी खाडी र मलेसिया मुलुकहरुमा समस्या आउने गरेको भन्दै उक्त देशहरुमा जानेहरुलाई कडाई गरिँदै आएको विभागको भनाइ छ ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ भिजिट भिसाको दुरुपयोग गर्ने कुरा नयाँ नभएर विगतदेखि भइरहेको बताउनुहुन्छ । यसलाई रोक्न एक दुईवटा नियम बदलेर मात्रै भिजिट भिसाको दुरुपयोग नरोकिने उहाँको दाबी छ । उक्त दुरुपयोगलाई रोक्ने हो भने अनुगमनमाथि पनि अनुगमन अर्थात् दोहोरो अनुगमन गर्न आवश्यक रहेको डा. गुरुङ बताउनुहुन्छ । एअरपोर्टमा सेटिङ मिलाउने र पठाउने व्यक्ति माथि निगरानी बढाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

नियम परिवर्तन गर्ने, एअरपोर्टमा सेटिङ नरोकिए कुनै औचित्य नरहने उहाँको भनाइ छ । खाडी र मलेसियामा भिजिट भिसामा भनेर जाने त्यहाँ पुगेर वर्क परमिटमा काम गर्न नेपाली दूतावासको अनिवार्य स्वीकृति चाहिने भन्ने नियम बनाई दिए पनि दुरुपयोग कम हुने डा. गुरुङ बताउनुहुन्छ ।

विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो ।

पछिल्लो समय मानव तस्करी संगै विदेशमा शोषणमा पर्ने नेपालीको सख्या बढेको भन्दै यो नयाँ नियम लागु भए विदेशमा समस्या परे उद्धार गर्न सजिलो हुने विभागको ठहर छ । यसैबीच, प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरोले भिजिट भिसामा लगेर दलालहरुले अलपत्र पार्ने गरेको घटना बढेको बताएको छ ।

मानव बेचविखन अनुसन्धान व्यूरोका प्रवक्ता अनुराग कुमार द्विबेदी भिजिट भिसा लगाएर विभिन्न मुलुक लैजान खोज्ने वा पैसा लिएर बीच बाटोमै अलपत्र पार्ने गरेको उजुरी आउने गरेको बताउनुहुन्छ । यस्ता किसिमका गिरोहमाथि निगरानी बढाए पनि मानव तस्करी धन्दा नरोकिएको उहाँ बताउनुहुन्छ । नेपालको विमानस्थलमा कडाई हुँदा भारतको नाका हुँदै अन्य तेस्रो मुलुकमा महिला पु¥याउने गरेको उजुरी आउने गरेको उहाँ बताउनुहुन्छ ।

महिलाहरु ती देशहरुमा पुगेपछि यौन हिंसामा समेत पर्ने गरेको व्यूरोको दाबी छ । नेपालबाट भारत जाने ठाउँमा २४० चेकपोष्ट भए पनि झुक्काएर कुनै माध्यमबाट छिर्ने गरेको पाइएको छ ।प्रहरीले चेकजाँचलाई कडाई नै गरे पनि खुल्ला सिमाना भएको कारण पूर्णरुपमा रोक्न नसकिएको अनुसन्धान व्यूरोको भनाइ छ । धेरै महिला बाहिरको मान्छेबाट भन्दा पनि आफ्ना नजिकका आफन्तबाटै ठगिनेदेखि बेचिने गरेको अनुसन्धान व्यूरोको अनुसन्धानले देखाउँछ ।

धेरै महिला आफ्नो आर्थिक स्थिति कमजोर भएकै कारण उनीहरु माथि फाईदा लिन त्यस्ता गिरोह लाग्ने गरेको उहाँ बताउनुहुन्छ । धेरै लोभलाचका साथ युरोप, अमेरिका छिर्न खोज्नाले सजिलै ठगिने गरिएका छन् ।दलालले आकर्षक तत्वको लोभ देखाएर अवैधानिक रुपमा भारतमा समेत लगेर अलपत्र पार्ने र पैसा लिएर फरार हुने घटना बढेको प्रहरी बताउँछ ।

दलालहरु महिलालाई मलेसिया, कुवेत, लेवनान, साउदी अरब, ओमान, युरोप, दक्षिण अफिकालगायत देशमा लगेर अलपत्र र सस्तो मूल्यमा श्रम शोषणदेखि यौन शोषण गर्ने गरेको समेत अनुसन्धानमा खुल्न आएकोे उहाँ बताउनुहुन्छ ।यसैगरी कोरोनाको महामारीका बीच भारतबाट मात्रै २८ जना महिलाको उद्वार गरिएको अनुसन्धान व्यूरोको तथ्याङकले देखाउँछ ।

व्यूरोका अनुसार २०७५ साल चैत्र ७ गतेदेखि २०७७ असारसम्म २३४ महिला र ६६ पुरुष गरी तीनसय जनाको उद्वार गरेको छ । भातर, कुवेत, किर्गिस्तान, इराक, लिबिया, ग्रिस, केन्या, इन्डोनेसिया, मालवि, म्यानमारलगायत मुलुकबाट उद्वार गरिएको छ ।
भिजिट भिसामा रोजगारीमा पठाउने नाममा विभिन्न देशमा महिलालाई पु¥याउने गरेको घटना देखिने गरेको माईती नेपालका अध्यक्ष विश्व खड्का बताउनुहुन्छ ।

नयाँ कानुन ल्याएर मानिसलाई विदेशै जान रोक्नु भन्दा भएका कानुनलाईनै सबै पास्पोर्ट चेक गर्ने देखि कागजात बनाई दिने कर्मचारी इमान्दार हुने हो भने यस्ता ठगिका घटनामा कमी आउनसक्ने उहाँ बताउनुहुन्छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप