logo
२०८१ मंसिर ९ आईतवार



प्रकाेप व्यवस्थापनसम्बन्धी कार्यदलद्वारा क्यानबेरा घोषणापत्र जारी

विदेश |


प्रकाेप व्यवस्थापनसम्बन्धी कार्यदलद्वारा क्यानबेरा घोषणापत्र जारी


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २० गते । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अष्ट्रेलियाको प्रकोप व्यवस्थापनसम्बन्धी कार्यदलद्वारा क्यानबेरामा आयोजित विज्ञ सम्मेलनले १४ बुँदे घोषणापत्र जारी गरेको छ ।
सम्मेलनको उद्घाटन गर्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले विदेशमा आयोजना गरिने उच्चस्तरीय सम्मेलनले स्वदेशमा रहेका र विदेशमा रहेका नेपाली समाजको ज्ञान तथा सिप अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
सोही अवसरमा उहाँले एनआरएन अष्ट्रेलियाका प्रकोप व्यवस्थापन कार्यदलका संयोजक डा.भरतराज पौडेल, डा. राजु अधिकारी र डा. रामकृष्ण निरौलाद्वारा लिखित ‘डाइसेक्टिङ् दि प्याण्डेमिक कोभिड–१९’ नामक पुस्तकको लोकार्पण गर्नुभयो ।
गैर आवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष शेष घलेले विपतका बेला नेपालमा मानवीय तथा आकस्मिक सहयोग गर्दै आएको स्मरण गर्नुभयो । संयोजक डा. भरतराज पौडेलले आगामी दिनमा प्रकोप एवं महामारी व्यवस्थापनका क्षेत्रमा काम गरिरहेका विज्ञ र स्वयंसेवकलाई संगठित गर्दै नेपाल तथा प्रवासका नेपाली समाजलाई योगदान दिन सकिने बताउनुभयो । १४ बुँदे क्यानबेरा घोषणापत्र प्रस्तुत गर्दै डा. राजु अधिकारीले आगामी वर्षहरुमा पनि प्रकोप र महामारी सम्मेलनको आयोजनाका साथै पुस्तक प्रकाशनलाई निरन्तरता दिइने बताउनुभयो ।
विपद व्यवस्थापन सम्मेलन बर्सेनि आयोजना गर्ने, विपद जर्नल प्रकाशित गर्ने, भविष्यमा हुनसक्ने विपदको व्यवस्थापन गर्न अष्ट्रेलियास्थित नेपाली दूतावास र सामाजिक संस्थाबीच सहकार्य गर्ने लगायतका बुँदा घोषणापत्रमा उल्लेख छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?