logo
२०८० चैत्र १६ शुक्रवार



प्रतिबन्धपछि नेपालको विमानस्थलबाट विदेश जाँदै भारतीय

विदेश |


प्रतिबन्धपछि नेपालको विमानस्थलबाट विदेश जाँदै भारतीय
फाईल तस्विर


मुकुन्द गैरे
काठमाडौं, चैत्र २८ गते । खाडीलगायत विभिन्न मुलुकले भारतबाट उडानमा रोक लगाएपछि भारतीय नागरिक नेपालको विमानस्थल हुँदै विभिन्न मुलुकमा उडिरहेको पाइएको छ । पछिल्लो केही दिनदेखि भारतीय नागरिक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गरिरहेको अध्यागमन विभागले जानकारी दिएको छ ।

नेपाल र भारतबीच एक अर्का देशका नागरिक अन्तर्राष्ट्रिय उडानबाट अर्को मुलुकमा जाँदा सम्बधित दूतावासको नो अब्जेक्सन लेटरको प्रावधान रहेको बताउदै त्यसै अनुसार भारतीय नागरिकलाई नेपालबाट उडन दिइएको अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

भारतबाट नेपाल आउँदा कोरोना परीक्षणको नेगेटिभ रिपाेर्ट हुनपर्ने र १० दिन नेपालमा होटल क्वारेनटाइन बसेपछि पुनः उडनु अघि कोरोना परीक्षणको नेगेटिभ रिपाेर्ट आएपछि मात्रै उड्न अनुमती दिने गरेको महानिर्देशक केसीको भनाइ छ । पछिल्लो समय साउदी अरव, यूएई, कतार लगायत भिसा लगाएको देशमा नेपालको विमानस्थलबाट तेस्रो मुलुकमा जाने गरेको विभागको भनाई छ ।

खास गरि नेपालबाट जानेहरु भारतीय नागरिकहरु बढीमात्रमा वैदेशिक रोजगारीको लागि जाने कामदारहरु रहेको पाइएको छ । यसको साथै अन्य शैक्षिक अध्ययन तथा काम विशेषले जाने गरेको पनि पाइएको अध्यागमन विभागको भनाइ छ । दुई,तीन दिन अघि दैनिक एक सयको हाराहारीमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उहाँले बताउनुभयो ।

भारतबाट उडानमा रोक लगायपछि दैनिक जसो नेपालबाट उडनेक्रम जारी रहेको विभागको भनाइ छ । साउदीले भारत लगायत देशमा पछिल्लो १४ दिन यात्रा गरेकाहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । भारतबाट तेस्रो मुलुक जानको लागि स्थलमार्ग हुँदै नेपाल आउनेको संख्या बढिरहेको पाइएको छ ।

खाडी मुलुक साउदी अरब लगायत मुलुकले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण भारतबाट हुने उडानमा रोक लगाएपछि भारतीय नागरिकहरु नेपालको हवाई मार्ग हुँदै तेस्रो मुलुक जाने गरेका हुन् । कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गरेर भारतबाट नेपाल आउने नाकामा कडाइ गरेको समेत अध्यागमनको भनाइ छ । पछिल्लो समय भारतमा कोरोनाको संक्रमण दैनिक बढिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप