logo
२०८१ असोज ६ आईतवार



ईजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै,नेपालीलाई समस्या परे दूतावासमा सम्पर्क गर्न आग्रह

विदेश |
फिचर |


ईजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै,नेपालीलाई समस्या परे दूतावासमा सम्पर्क गर्न आग्रह
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २९ गते । इजरायलमा रहेका नेपालीहरुलाई कुनै समस्या परे दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । ईजरायल स्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै ईजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै गएको भन्दै नेपालीलाई सूरक्षित रहन आग्रह गरेको हो ।

केही दिनदेखि जेरुसेलम र दक्षिण ईजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको दूतावासले जानकारी दिएको छ ।हिजो राती मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएका दूतावासले बताएको छ ।

यसले सबैलाई त्रसित तुल्याएको भन्दै यसबाट नआत्तिन तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरुको खोजी गर्नेतर्फ लाग्न ईजरायलमा रहेका नेपालीलाई दूतावासले सूचना जारी गर्दै अपिल गरेको छ ।

खासगरी साइरन बज्नासाथ घर भित्र हुनुहुन्छ भने बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, झ्याल नजिक नजान, यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) हुनुहुन्छ भने पनि नजिकैको बङ्करमा पुगिहाल्नुहुन र त्यो उपलब्ध नभएमा जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित हुने उपाय अपनाउन दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा ईजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अपिल गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?