logo
२०८१ असोज ६ आईतवार



पोखरेल र अमेरिकी राजदूतबीच टेलिफोन संवाद, अमेरिकाबाट अर्को साता स्वास्थ्य सामग्री आउने

विदेश |
फिचर |


पोखरेल र अमेरिकी राजदूतबीच टेलिफोन संवाद, अमेरिकाबाट अर्को साता स्वास्थ्य सामग्री आउने


गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख ३० गते । उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच आज टेलिफोन संवाद भएको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिन अमेरिकी राजदूत बेरीसँग आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको उहाँले बताउनुभएको उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले बताउनुभयो । अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतीक्षा रहेको सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले भन्नुएको थियो ।

यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उपप्रधानमन्त्री पोखरेलले बताउनुभएको थियो । अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारको तर्फबाट स्वास्थ्य सामाग्रीहरु सहयोग गरिने जानकारी दिनुभएको थियो ।

के के सहयोग गर्ने बारेमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने उहाँले बताउनुभएको थियो । ‘खोपका बारेमा मैले पनि पहल गरिरहेको छु, टुङ्गो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु’– उपप्रधानमन्त्रीलाई राजदूत बेरीले भन्नुभयो ।

राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेलसँग आग्रह गर्नुभएको थियो । उपप्रधानमन्त्री पोखरेलले सो विषयमा आफूहरुले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिनुभएको थियो ।

यसैबीच अमेरिकाले अक्सिजन प्लाण्ट, सिलिण्डर तथा भण्डारण ट्यांकहरु उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरीकी डलर बराबरको सहयोगको घोषणा गरेको छ । विहिबार नेपालका लागि अमेरीकि दुतावासले आफ्नो फेसबुक पेजमार्फत सो जानकारी गराएको हो ।

अमेरिका नेपालको यो विषम अवस्थामा कोभिड नियन्त्रणका लागि तत्काल आवश्यक सामग्रीको यथाशक्य यपलब्धता गराउन निरन्तर प्रयासरत रहेको नेपालका लागि अमेरीकि दूतावासले जनाएको छ । विहिबार नेपालका लागि अमेरीकी दूतावासले आफ्नो फेसबुक पेजमार्फत सो जानकारी गराएको छ ।

सन् २०२० को अप्रिल यता अमेरीकी ईन्डो प्यासिफिक कमाण्डले अन्तरमष्ट्रिय मानवीय विपत्ति सहायता अन्तर्गत कोभिड १९ को उपचार तथा व्यवस्थापनको लागि आवश्यक पिपिई ,आईसोलेशन सेन्टरका सामाग्री अक्सिजन सम्बन्धि विभिन्न उपकरण , टेलिमेडिसिनका सामान, हात धुने केन्द्रहरु तथा अन्य आवश्यक सामान लगायथ झण्डै ५८ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराईसकेको छ ।

उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट पाउने कोभ्याक्स अन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउने सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?