रिमझिम–रिमझिम वर्षात्सँगै चिसो सिरेटोले हानिरहेको थियो । पाँचपोखरीको गोधँलि साँझले एक वर्षपछि तात्ने सुरसारमा छ । हरेक वर्ष जनैपँर्णिमाका दिन मेला लाग्ने भएकाले तीर्थयात्रीहरू उत्साहित देखिएका छन् । चिसो रात अनि गोठको सुताइले सबैको रात कटाउने माध्यम बनेको थियो– नाचगान । जुगल हिमालको काखमा रहेको पाँचपोखरीमा लाग्ने एकराते जात्रामा आएका स्थानीय तामाङ युवक–युवतीहरू बेग्लै लयको गीतमा नाचिरहेका थिए । फरक लयको स्वाद लिने दर्शकमा राजधानी र वरपरबाट आएका तीर्थयात्रीहरू थिए ।
तन्नेरीहरू बेढङ्गको सुरमा छुसछुस भन्दै नाचिरहेका थिए । मैले नाचिरहेकी एक युवतीलाई छुसछुसको अर्थ के हो ? भनेर सोधेँ । उनले यो पुराना भाका भएको जवाफ दिएर छुटेको लयमा लय थप्न थालिन् । सिमसिम वर्षा भइरहेको थियो । पाँचपोखरी भने उही नाचले तातिरहेको थियो । सबै तीर्थयात्रीहरू त्यही नाचमा मिसिएर ज्यानलाई तताउने प्रयत्न गरिरहेका थिए । यात्राका रसिक केही साथीहरू क्यामेरा तेस्र्याइरहेका थिए । उता कम्मर मर्काइरहेकी एक युवतीले नाच्न आग्रह गरिन् । उनीहरू पनि के कम क्यामेरा जिम्मा दिएर छुसछुसमा मिसिए । सोम लामा भने बच्छेबाजा बजाउन सिपालु । उनले बाटैभरि बाजाको धुनमा नचाइरहे । कृष्णजीले बजाउने मुरली पनि बेलाबेलामा बजाउँथे । राधिका आउलिन् है लठ्ठिँदै भनेर जोक गर्थे कोही साथी । मलेसिया र दुबईमा बस्दा पर्यटकलाई डुलाएका यी तन्नेरी सोमले यता पनि पर्यटकलाई घुमाउने सोच बनाएका छन् । स्थानीय सरकारलाई पाँचपोखरी गन्तव्य बनाउन झक्झकाउने काम गर्दै आएका छन्– सोम लामा ।
पाँचपोखरी मेलाको रौनक बाटैभरि नाच्दै र उफ्रिँदै हिँडेका धामी, झाँक्रीको हो । ‘सोइ बम्बु सोइ’ भन्दै धामीले ढ्याङ्ग्रो बजाउँदै मेलालाई थप आकर्षक पारेका छन् । पाँचपोखरी मेला धामीझाँक्री मेला हो भन्दा पनि फरक नपर्ला । धार्मिक र साहसिक दुवैखाले पर्यटकको आकर्षक गन्तव्य हो– पाँचपोखरी । धामीहरू रातैभरि उन्मत्त भएर नाचिरहेका छन् । तन्नेरी भने विनासङ्गीत मुखैले छुसछुस भन्दै उफ्रिरहेका छन् । यो मेला गज्जबको फ्युजन हो । सायद यस्ता जात्राले वर्षभरिको थकाइ मेटाउने माध्यम बनेको अनुमान लगाउन सकिन्थ्यो । यस्ता होली प्लेसमा रमाउनेहरू पनि आज उत्तिकै भेटिन्छन् । वर्षभरि गुम्सिएर रहेका इच्छा, आकाङ्क्षालाई यस्ता मेलामा पस्किन पाउँदा मनै फुरुङ्ग हुन्छ, तिपेनीबाट आएकी एक युवतीले भनिन् ।
चौँरीगोठको बास, काँचो भात, खचाखचको बसाइ, यहाँ आउनेहरूको बिजोग सजिलै पत्ता लगाउन सकिन्थ्यो । मेला भर्न आएकाहरू गोठमा खुट्टामात्रै राखेर बसेका थिए । बस्नलाई नौवटा लामा टहराको व्यवस्था त थियो तर के पुग्नु । सिन्धुपाल्चोकमा पर्ने यो मेलामा आन्तरिक पर्यटक भरिभराउ हुन्छन् । बर्सेनि पाँचपोखरीमा करिब दस हजार तीर्थयात्री आइपुगेका हुन्छन् । मेला भर्न साबिकमा आउनेहरूभन्दा यसपटक निकै बढेको पाँचपोखरी पर्यटन विकास समितिले जनाएको छ । सहयात्री तीर्थ लामा लौरीविनायकको उकालोमा तीन गिलास सोमरस तानेपछि भीमसेनको बल मिलेको बताउँदै थिए । सहयात्री तीर्थ र सुदीप लामा लौरीविनायकको उकालोमा केही पछि परेका थिए । छाप्रोमा पर्खेर बसेका हामीलाई दुवैजनाले मरे पनि मरोस् भनेर एक्लै छाडेको गुनासो पोख्दै थिए । लौरीविनायकको छाप्रोमा सोमरस पिएपछि यी दुई ठिटा हामीलाई पछि पार्दै दौडिए ।
जनैपँर्णिमाका दिन मेला लाग्ने गन्तव्यहरू निकै छन् नेपालमा । सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड, भोजपुरको साल्पापोखरी, सोलुखुम्बुको दँधकुण्ड, गोक्योताल, लमजुङको दँधपोखरीलगायतका स्थानमा जनैपँर्णिमा मेला लाग्छन् । सरकारले भ्रमण वर्ष २०२० मनाउँदै गर्दा यस्ता धार्मिक गन्तव्यहरूलाई प्रचार–प्रसार गरेर पर्यटकलाई जानकारी गराउनु आवश्यक छ । आन्तरिक र बाह्य पर्यटकहरूलाई नयाँ–नयाँ गन्तव्यले आकर्षण गर्न सक्छ ।
हामी पाँचजना सहयात्रीहरू मिङ्मार शेर्पाको टहरामा बस्यौँ । अँगेनोको छेउमा बस्न पाएकाले रातभरि जाग्राम बस्न सजिलो हुने भयो । रातभरि जागा बसेर यो जात्रा मनाउने मनसाय बनाउनुहोला, सहयात्री सोम लामाले बाटैमा बताएका थिए । जात्रामा आउनेको क्याराभान थियो । कठिन बाटो भए पनि बाटैभरि यात्रुहरू भेटिन्थे । पाँचपोखरी उक्लिने बेलाको तीतो उकालोलाई सबैले सम्झिनेछन् । छोटो तर कठिन त्यही उकालोमा लेक लागेर केही यात्री भने बीचैबाट फर्किरहेका थिए । गागलफेदीबाट आएकी जुनु खड्का भन्दै थिइन्, ‘खाना र बस्न साह्रै कठिन रहेछ ।’ स्थानीय होटलवालाले भाउ पनि मनपरी लिने गरेको गुनासो गरे । छिनछिनमा भाउ बदलिने अनौठो शैली पाइन्छ । बजारभाउलाई एकरूपता गर्नुपर्ने उनीहरूको माग छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने पाँचपोखरी प्रदँषित बन्दै छ । व्यवस्थित चर्पीको कतै छैन । तालवरिपरि फोहोर बढिरहेको छ । सफा सुन्दर तालहरू प्रदँषित भएकाले पर्यटकहरू पनि चिन्तित बनेका छन् । वरिपरिको फोहोर बगेर सोझै तालमा पसिरहेको छ । सरकारले पाँचपोखरीप्रति चासो नदिए तालको भविष्य खतरामा पर्ने देखिन्छ । जुगल र दोर्जेलाक्पा आरोहण गर्न जानेका लागि पाँचपोखरी छोटो मार्ग हो । जुगल हिमाल राजधानीबाट सबैभन्दा नजिक पर्छ । त्यसैले सिन्धुपाल्चोकका एक हुल तन्नेरी पर्यटनकर्मीहरू पाँचपोखरीको मेसो पारेर सम्भाव्यता खोज्न हिँडेका छन् । पाँचजनाको टोली एक शनिबार सिपाघाटबाट गन्तव्य पाँचपोखरी बनाएर त्यसतर्फ लागेका छौंँ । स्थानीय कला, शैली, जनजीवन र तामाङ संस्कृतिलाई नियाल्दै मनसुन ट्रेक र जुगल दोर्जेलाक्पा हिमाल आरोहण गर्ने सम्भावना प्रशस्त बोकेको यो मार्गको विकास हुन नसकेको उनीहरूले बताए । ट्रेकिङ गरेर जाने भए सिपाघाट, वसन्तपुर, नवलपुर, ओख्रेनी, मेसोर, हिले, नोसिम हुँदै पाँचपोखरी पुगिन्छ । समय कम भए मेलम्चीबाट दुई दिन हिँडेपछि पुग्न सकिन्छ । पाँचपोखरीको दर्शनपछि जुगल हिमालको आधारशिविर पुग्न सकिन्छ । फर्कंदा हेलम्बु, सेर्माथाङ, भोताङ हुँदै साताव्यापी भ्रमण गरेर काठमाडौंँ आइन्छ । अँ, स्लिपिङ ब्याग, टेन्ट, न्यानो कपडा, हाई लाग्यो भने खानालाई डाइमोस, सिटामोल, बोक्न नबिर्सनुस् । उच्च हिमाली भेगमा सकभर एक्लै यात्रा नगर्नु राम्रो ।