चलचित्र विकास बोर्डद्वारा आयोजित यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत चलचित्र ‘गोपी’ले सर्वोत्कृष्ट चलचित्र र लेखनमा पुरस्कार पायो । चलचित्र ‘बुलबुल’का निर्देशक विनोद पौडेलले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाउनुभयो । निर्देशक दीपेन्द्र लामाले निर्देशक पौडेलसँगै खुसी साटेको फोटो सेयर गर्दै फेसबुकमा लेख्नुभयो, ‘२०७४ सालमा ‘घामपानी’ले राम्रै समीक्षा पाएको थियो । ७५ मा ‘गोपी’चाहिँ त्यति प्रशंसित भएन । तर, ७४ सालको नेसनल अवार्डमा ‘घामपानी’ले एउटै पनि अवार्ड पाएन, ७५ मा ‘गोपी’ले उत्कृष्ट चलचित्र र लेखन विधामा अवार्ड पायो ।’
निर्देशक लामा आफूलाई ‘७५ मा ‘बुलबुल’ र ‘हरि’ मन परेका फिल्म हुन् भन्नुहुन्छ । तर, अवार्डको निर्णय गर्न फरक–फरक पृष्ठभूमिका पाँचजना व्यक्तित्वलाई खटाइएको हुन्छ । उहाँहरूका आ–आफ्नो स्वाद, बुझाइ र आदर्श हुन्छन् । ती सबैको मन्थनबाट नै विजेताको छनोट हुने हो । त्यसैले ७४÷७५ दुवै सालका निर्णायकहरूका निर्णयलाई म सम्मान गर्छ‘ । ७५ मा ‘गोपी’ले उत्कृष्ट फिल्मको अवार्ड पाएकोमा भन्दा पनि ‘बुलबुल’का विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड पाएकोमा निर्देशक लामाले खुसी व्यक्त गर्नुभएको थियो ।
सहकर्मीले अवार्ड पाउँदा बधाइ एवम् शुभकाना दिनु हाम्रो सामान्य संस्कार हो । तर, दीपेन्द्र लामाले विनोद पौडेललाई शुभकामना दिएको विषय पनि गलत ढङ्गले व्याख्या गर्ने प्रयास भयो केही चलचित्रकर्मीबाट । केही न्युज पोर्टलहरूले समाचारै बनाए– दीपेन्द्र आफैँले हापे । नत्र किन दिएको बधाइ ?’ भनेर ।
चलचित्र विकास बोर्डको आयोजनामा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कारबारे यसपालि गज्जब बहस भयो । पुरस्कारलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउनका लागि यस्ता बहस आफैँमा कामयावी हुन्छन् । बहसमा जुन विषयले प्रवेश पाउनुपर्ने हो, त्यस्ता विषयले प्रवेश नपाउँदा भने बहस केवल कुण्ठा पोख्ने माध्यममात्रै भएको आभास हुन्छ । अवार्ड वितरण कति प्रतिशत न्यायपूर्ण भयो भन्नेमा होइन कि ‘मैले पाइनँ, उसले पायो त्यसकारण ठीक भएन’ भन्नेहरूको आवाज चर्को भयो । अवार्डको विरोधस्वरूप सामाजिक सञ्जालमा आएका टिप्पणीबाट भन्न सकिन्छ । हाम्रा चलचित्रकर्मीलाई अवार्ड मर्यादित भयो कि भएन भन्नेमा खास चासो छैन । आफ्नो पोल्टामा अवार्ड नपरेकोमा मात्रै चिन्ता छ ।
चलचित्र विकास बोर्डले हरेक वर्ष वर्षभरि बनेका फिल्ममध्ये उत्कृष्ट सात विधामा स्रष्टालाई पुरस्कृत गर्ने नियम छ । विगतमा बोर्डमा अध्यक्ष भएर गएकाहरूको अक्षमताका कारण तीन वर्षदेखि अवार्ड हुन सकेको थिएन । वर्तमान बोर्ड अध्यक्ष केशव भट्टराईको पहलमा तीनै वर्षको अवार्ड सम्पन्न भयो । यसैलाई पनि एउटा उपलब्धिका रूपमा लिन सकिन्थ्यो । विगतमा अवार्ड किन भएन ? कसैले पनि प्रश्न गरेनन् मात्रै होइन, सम्पन्न अवार्डलाई कसरी विवादित बनाउने भन्नेमा केन्द्रित रहे ।
विकास बोर्डले बनाएको मापदण्डअनुरूप हरेक वर्ष सात विधामा अवार्ड दिइन्छ । पाँचैजना जुरी सदस्यको सहमति भएमा र अवार्ड पाउनुपर्ने व्यक्ति सात विधामा नअटाएको अवस्थामा अतिरिक्त दुई विधामा जुरी सदस्यको सहमतिमा थप दुई विधामा अवार्ड दिन सक्ने प्रावधान छ । त्यही मापदण्डका आधारमा सर्वाधिक व्यापार गर्ने ‘छक्का पञ्जा–३’ लाई व्यावसायिक रूपमा सफल चलचित्र र ‘भोर’की कलाकार पूर्जा कर्ण (जो अपाङ्गता भएकी व्यक्ति हुन्) लाई प्रोत्साहन अवार्ड दिइएको थियो ।
कसरी छानिन्छ सर्वोत्कृष्ट ?
‘गोपी’ कसरी सर्वोत्कृष्ट चलचित्र भयो ? सबैभन्दा धेरै प्रश्न ‘गोपी’ माथि नै केन्द्रित गरियो । गोपीले व्यापार राम्रो गरेको थिएन । त्यसकारण अवार्ड पाउन योग्य थिएन भन्ने मत पनि व्यक्त गरियो । निर्देशक दीपेन्द्र लामाले भनेजस्तै जुरीमा भिन्नभिन्न पृष्ठभूमि भएका पाँचजना सदस्य हुन्छन् र उनीहरूले दिएको नम्बरका आधारमा सर्वोत्कृष्ट छानिन्छ ।
हरेक चलचित्र हेरिसकेपछि जुरी सदस्यहरूबीच त्यही चलचित्रका बारेमा छलफल हुन्छ । पाँचैजना जुरी सदस्यको सामूहिक छलफलपछि उत्कृष्ट फिल्मको सूची तयार पारिन्छ । उत्कृष्टको सूचीमा यति फिल्म हुनुपर्छ भन्ने छैन । राम्रा फिल्म धेरै भएको वर्ष धेरै हुन सक्छन्, थोरै भएको वर्ष थोरै । यसपालि राम्रा फिल्मको सूचीमा १५ वटा फिल्म थिए । प्रत्येक जुरी सदस्यले प्रत्येक फिल्मको तोकिएको विधामा छुट्टाछुट्टै नम्बर दिनुपर्छ । त्यसरी नम्बर दिँदा एक सय पूर्णाङ्कमा ४० भन्दा कम र ८० भन्दा बढी नम्बर दिँदा थोरै र धेरै पाउनुका कारण पनि खुलाउनुपर्छ । मानौँ चारमध्ये एकजना जुरीले कुनै एक फिल्मको कुनै विधामा ३५ वा ९० नम्बर दिनुभयो भने अरू चारजना जुरीलाई चित्त बुझ्नेगरी किन ३५ नम्बरमात्रै पायो वा कसरी ९० नम्बर पायो भनेर चित्तबुझ्दो कारण पेस गर्नुपर्छ । ती जुरीले पेस गरेका कारण अरू चारजना जुरीलाई मान्य भएन भने उहाँले पुनः चेक–जाँच गर्नुपर्छ । जुरी सदस्यमध्ये केही व्यक्ति कसैबाट प्रभावित हुँदैमा वा कोहीप्रति नकारात्मक हुँदैमा अवार्ड पाउने र नपाउने हुन्न । एकजना जुरीले कुन फिल्मको कुन विधामा कसलाई कति नम्बर दिएको छ, अर्को जुरीलाई जानकारी हुन्न ।
हरेक जुरीले विभिन्न विधामा दिएको नम्बरलाई अन्तिममा जोडिन्छ र सबैभन्दा धेरै नम्बर जुन चलचित्र वा विधाले पाउँछ, त्यसैलाई पुरस्कृत गरिन्छ । यसपालि सर्वोत्कृष्ट चलचित्रका रूपमा गोपीले धेरै नम्बर पायो भने सर्वोत्कृष्ट निर्देशकका रूपमा विनोद पौडेलले धेरै नम्बर पाउनुभयो । अन्य विधामा सोही विधाअनुरूप पुरस्कृत भएका थिए ।
गोपी किन सर्वोत्कृष्ट ?
गोपीले केका आधारमा अवार्ड पायो ? एकजना सञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिँदै एकजना निर्णायकको हैसियतले मैले भनेँ, ‘६८ प्रतिशत किसान भएको देशमा किसानलाई नायक बनाएको चलचित्र जुरीलाई मन प¥यो ।’ अर्को प्रश्न गरे, ‘उसो भए भोलि कसैले गिटी कुट्नेमाथि सिनेमा बनाउला ?’ मैले त्यसको पनि जवाफ दिएँ, ‘फिल्म राम्रो भयो भने अवार्ड पाउनैपर्छ ।’
हामीले नम्बर दिनुअघि केही राम्रा फिल्मको सूची बनाएका थियौँ । बुलबुल, गोपी, प्रसाद, हरि, साइँली, रोमियो एन्ड मुनालगायत १५ फिल्म थिए । ती फिल्ममाथि हामीले केही दिन सामूहिक छलफल ग¥यो । जुरी सदस्यहरूले हरेक फिल्मका हरेक विधामा विषयमा आ–आफ्ना धारणा पनि राख्यौँ । गोपीमा एउटा पात्र सिर्जना गरिएको छ । जो ८४ प्रतिशत अङ्क ल्याएर युनिभर्सिटी टपर हुन्छ । बाआमाको चाहना हुन्छ– छोरो अमेरिका जाओस् र उतै कमाएर बसोस् । तर, ऊ बाआमाको इच्छाविपरीत गाई पालेर नेपालमै बस्ने योजना बनाउँछ । आफ्नो र परिवारको सपना विदेश पुगेपछि मात्रै साकार भएको देख्ने एउटा जमातका लागि गोपी एउटा उदाहरणमात्रै हैन । नेपालमै उद्यम गर्न चाहनेहरूका लागि सिकाइको अध्याय पनि हो । गोपीका मुख्य पात्रले गाईपालन शीर्षकमा केवल दायाँबायाँ नायिका राखेर मस्किएर हिँडेकामात्रै छैनन् । नेपालमा गाईपालनको अवस्था, दूधको बजार, किसान र उपभोक्ताका समस्या सरकारका नीतिजस्ता प्रसङ्गलाई फिल्ममा प्रस्तुत गरेका छन् ।
फिल्ममा प्रयोग गरिएको भाषा सबैभन्दा सबल पक्ष हो । गोपी सबै वर्गका दर्शकका बीचमा बसेर हेर्न सकिने एउटा स्वच्छ चलचित्र हो भने कृषि पेसामा लागेकाहरूका लागि प्रेरणाको स्रोत पनि ।