logo
२०८१ मंसिर ८ शनिवार



मान्छे बिगार्ने तीन ‘द’

कला |


मान्छे बिगार्ने तीन ‘द’


रत्नबहादुर बस्नेत

हामीले पढ्न,सुन्ने गरेका छौं कि मानवजीवनमा तीन ‘द’ अर्थात् दान,दया र दम यी तीनको महिमा सर्वोपरि रहेको छ । जसलाई अपनाएर जीवनमा उच्चता प्राप्त गर्न सकिन्छ । तर यहाँ चर्चा गर्न खोजिएको तीन ’द’ यसभन्दा भिन्न र विपरीत छ, जसले विकृति बढाउँछ,नीचता र पतन निम्त्याउँछ । जसलाई मानवमात्रको अभिषाप र विनाशको कारक मानिन्छ । जुन हिन्दी भाषामा चर्चित र प्रचलित छन ।ती हुन दारु, देरी र दोस्ती ।

मान्छे बिगार्ने पहिलो ’द’ हो रक्सी वा दारु । एकदिन कुनै ठाउँमा एउटा मूसालाई बिरालोले लखेट्दै थियो । मूसा अघिअघि र बिरालो पछिपछि तीव्र गतिमा दौडदै थिए। मूसालाई ज्यान जोगाउन अति कठीन भइरहेको थियो। उसले लुक्न प्वाल तथा सुरक्षित स्थान खोज्दै थिया े। भाग्दाभाग्दै ऊ एउटा जाँडको घ्याम्पोमा परेछ । घ्याम्पोभित्र पस्दा उसको मुखमा उछिटिएर दुई थोपा जाँड परेछ । त्यसपछि ऊ तुरुन्त घ्याम्पो बाहिर निस्क्यो र पाखुरा सुर्कदै भनेछ खोई कहाँ छ त्यो पाजी बिरालो , त्यसलाई नमारी म कहाँ छाड्छु ! दारु अर्थात् मद्यपानको असर कस्तो हुन्छ भन्ने एउटा उदाहरण मात्र हो यो । यस्तो हुन्छ मद्यपानको प्रभाव र असर । दुई थोपा दारुले यत्रो दुस्साहस र विनास निम्त्याउँछ भने उँटले पानी पिए झैं बोतलका बोतल घ्याम्पो नै रित्याउनेको गति कति दुरावस्थापूर्ण होला भनिरहन पर्दैन। यो निश्चय छ कि कुनै पनि व्यक्ति दारुको झोलमा डुबिसकेपछि उसमा उन्नतिको कुनै संभावना रहँदैन, उसको पतन अवश्यम्भावी छ।

मान्छे बिग्रने मुख्य कारण र कारक तत्वको रुपमा रहेको हिन्दीको दारु शब्दको अर्थ पनि रोचक छ । ’दा’ भनेको दादा र ’रु’ को अर्थ रुवाउने हुन्छ । अर्थात् जसको सेवनबाट पहिले नशा लागेपछि दादापन वा अहंकार तथा हठ बढ्ने र पछि यसको परिणाम रुन रुवाउने हुने गर्दछ, त्यसैलाई दारु भनिन्छ । मद्यपानले मान्छेमा भयानक विवाददेखि ठूला दुर्घटनासम्म निम्त्याउने गर्दछ । घरपरिवारमा झैझगडा हुनको साथै रोगादिको शिकार भई व्यक्तिको अकाल मृत्य पनि हुनसक्छ । नशामा लठिएर व्यक्ति नियन्त्रण बाहिर गई निरलज्ज र लाचार बन्ने गर्दछ। व्यक्ति धर्म, अर्थ र काम यी तीनवटै मार्गबाट भ्रष्ट हुनपुग्छ ।

मान्छे बिग्रने वा विनाशकाल निम्त्याउने तीन द मध्ये अर्को कारण हो ढिलाई वा अल्छीपना । हिन्दी भाषामा यसलाई देरी मनिन्छ । यसले समयमा आफ्नो काम कर्तव्य पुरा गर्न छाडेर अन्य वा अनावश्यक कुरा वा लतमा समय व्यतित गर्नु वा वर्वाद गर्नु भन्ने संकेत गरेको छ । आजभोलि विभिन्न मनोरञ्जनको बहानामा बेलुकी अबेर आधा रातसम्म बस्ने र विहान ढिलोगरी उठ्ने प्रवृत्ति व्यक्तिमा बढ्दो छ। जसबाट आफ्ना कतिपय दैनिक कार्यहरु समयमा सम्पन्न हुन नसकी जीवनोन्नतिमा बाधा उत्पन्न हुनजान्छ। ठीक समयमा सुत्ने र उठ्ने स्वभावले नै मानिस स्वस्थ, बुद्धिमान र धनी बन्दछ भन्ने भनाइ समेत प्रशिद्ध छ।

आलस्यता त्यागेर समयानुसार कर्तव्य,कर्म गर्ने नै प्रगतितर्फ अग्रसर हुन्छ । कुन समय को जागा हुन्छन् भन्ने सम्बन्धमा नीतिशास्त्रमा भनिएको छ – रातको पहिलो प्रहर ६–९ बजे सबै जागा हुन्छन, दोस्रो प्रहर ९–१२ बजे भोगी जागा हुन्छन , तेस्रो प्रहर १२–३ बजे चोर जागा हुन्छन् र चौथो प्रहर ३–६ बजे) योगी ज्ञानी, योगाभ्यास गर्नेहरु जागा हुन्छन। अतः ज्ञान, योगादि चाहनेले प्रातःसबेरै निद्रा वा बिछ्यौना त्यागेर ध्यानादि योगाभ्यास गर्न जरुरी छ । प्रातःकालिन ब्रह्ममुहूर्त अमृतमय समयको ख्याल नगरी सुतिरहने र आलस्यको वशमा परेर जीवन बिताउने व्यक्तिको जीवन रोगग्रस्त र दुःखमय बन्छ । आफूले लिने, दिने र गर्ने कार्य समयमै गरिएन भने त्यसको फल समयले खाइदिन्छ भनेर कुनै पनि कार्यबाट उचित लाभ लिन उचित समयमा कार्य सम्पादन गर्न सचेत गराइएको छ ।

मान्छे बिगार्ने तीन ’द’ मध्ये तेस्रो तथा अन्तिम द हो– दोस्ती । दोस्तीको सामान्य अर्थ साथीसंगति भए पनि यहाँ खराब व्यक्ति वा तत्वको संगत वा कुसंगत भन्ने संकेत गरिएको छ । संगत गुनाको फल भने झैं राम्रो संगतको परिणाम राम्रो र खराब संगतको परिणाम खराब र विनासकारी नै हुन्छ । अर्थात् मान्छे बिगार्ने प्रमुख कारणमध्ये एक हो कुसंगत । क्षणभरको कुसंगतले पनि ठूलो हानीनोक्सानी पुर्याउँछ भने क्षणिक सत्सङ्ग मात्रले पनि व्यक्तिको विचार परिवर्तन भई उन्नति हुन्छ । जो सज्जन ज्ञानीहरुको संगत गर्दैन, त्यो दुष्टहरुको चंगुलमा फस्छ भनिएको छ । सत्संगतबाट विचारहरुमा राम्रो प्रभाव परी सकारात्मक सोच एवं संकल्पको उदय हुन्छ, यसैलाई ज्ञान र उन्नतिको द्वार मानिएको छ।

त्यसैले हाम्रा पूर्वज ज्ञानीहरुले कुसंगतबाट टाढा र सतर्क रहन सत्संगतमा जोड दिंदै भनेका छँन–सधैं आफूभन्दा उच्च ज्ञानीहरुको संगत गर्नुपर्छ, नभए आफू समानसँग संगत गर्नुपर्छ । तर आफूभन्दा नीच, मूर्ख वा दुष्टको संगत कहिल्यै गर्नुहुँदैन । दुष्ट वा मूर्खको संगत गर्नुभन्दा बरु मत्ता हात्ती झैं पापरहित भएर एक्लै विचरण गर्नु उचित हुन्छ । ठूला नदीमा मिलेमा साना नदीले पनि समुद्र भेटाउँछन्। फूलको संगतमा पर्दा धागोले पनि मानिसको शिर चढ्ने मौका पाउँछ। यी सबै राम्रा संगतकै परिणाम हुन्। त्यसैले उच्चता र महानता प्राप्तिका लागि ठूलाबडाकै संगत गर्नुपर्छ। नीच वा खराबको संगत कहिल्यै गर्नुहुँदैन। - युवामञ्च २०७५ चैत । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?