देखिन्न त्यो सजिलै तिम्रो छ एक चित्र
च्याति यो छाती हेर देखिन्छ मुटु भित्र ।
कुल्च्यौ मलाई शिरमा जहाँ चढाएँ तिमीलाई
जाँचेर हेर कसके रहेछ मन पवित्र
विरानो वस्तीमा छु पुरानो त्यो कथा भो
सम्झन्छु झल्झली म आँखैमा छ्यौ सचित्र ।
मारे पनि तिमीले जाला मरेर यो तन
मर्दैन है कहिल्यै माया बस्यो विचित्र ।
तिम्रो र मेरो उस्तै तातो रगत यो रातो
थाहा छैन तिम्रो कसरी काली भयो चरित्र ।
रामबहादुर पहाडी
बासबारी, काठमाडौँ । - मधुपर्क, २०७६ असार ।