रमेश गाउँले
तीनतिर बाक्लो जङ्गल र पूर्वतिर बग्ने गैरी नदीले कान्तिगाउँको शोभा निकै बढाएको थियो । गाउँको बीचमा विद्यालय थियो । यातायातको सुविधा नपुगे पनि अन्य सुविधा थिए ।
खेती किसानी स्थानीयको मुख्य व्यवसाय थियो । बेलाबेलामा जङ्गली जनावरले अचाक्ली दुःख दिने गर्थे । यसबाट भने कान्ति गाउँवासी हैरान थिए । जनावर मार्न कानुनी बन्देज नमाराँै बाली नाली, वस्तु, बाख्रा सखाप पार्ने । उपाय निस्किएको थिएन । कान्ति गाउँमै टाढाबाट आएका एक जना शिक्षक थिए– शिव शर्मा । उनलाई त्यहाँ सबैले मन पराए । ऊनी ज्यादै सिपालु र फरासिला पनि थिए । त्यहीँ घरजम पनि गरे । एक छोरा एक छोरी जन्मिए । जग्गा थपिँदै गयो । सबै मिहिनेती थिए । उनै शिव शर्माका छोरा शिशिर कक्षा ७ मा पढ्छन् । कक्षामा प्रथमै हुन्छन् । प्रतिभाशाली छन् । नयाँ विषयमा चासो राख्छन् । चराचुरुङ्गी उनी औधी सौखिन हुन् ।
एकदिन उनी गाउँ छेउकै घना जङ्गलमा पुगे । विभिन्न जातका चरा कराएको सुन्दा उनलाई आनन्द लाग्दै गयो । उनलाई परसम्म पुगेको अत्तोपत्तो नै भएन । मयूरले प्वाख फिजाएर नाचेको देख्दा त उनी फुरुङ्गै भए । जङ्गलमा बाघ, भालु, चितुवा लाग्छ भन्ने बाबाममीले भनेको उनको दिमागबाट उडिसकेछ । उनी अघि बढे । जब मस्त घाम तापेर निदाइ रहेको मयूरको बच्चा उनले समाते र त्यसको खुट्टा लहराले बाँधे अब त ऊ उफ्रिन लाग्योे ।
मयूर काखीमा च्यापेर हिँडिरहेको शिशिरको त्यतिखेर पो सातो गयो जब बाघसँग उनको जम्काभेट भयोे । बाघले भन्यो, ‘‘ढिलै भए पनि मीठो आहारा भेटियो ।’’ उसले लामो जीव्रो निकालेर फड्कायो । ¥याल चुहायो । शिशिर भने काँपी रहेका थिए ।
“आपत्विपत्मा डराउनुभन्दा पनि अक्कल लगाउनु पर्छ” भन्ने मनमा आयो । मनमा डर भए पनि ऊ पनि बाघ कराएझैँ गर्जियो ।
बूढो बाघ छक्क प¥यो । बाघले भन्यो, “बालक फेरि म जस्तै कराउ त ! बालकले कराइदिए । बाघलाई अचम्म लाग्यो । बालकले बाघलाई भने, ‘‘म धेरै जनावर जसरी कराउन सक्छु ।” बाघ हौसिएर बोल्यो, “ल त्यसो भए मृग जसरी कराउ ।” बालक शिशिर मृगझंैँ कराए । चार–पाँचवटा जनावरको आवाज निकालिसकेपछि चतुर बालकले एउटा प्रस्ताव राख्यो, “आजदेखि दुवै साथी बन्ने र सधैँ भेट गर्ने । हौसिएको बाघले हुन्छ भन्यो तर केही समयपछि अर्को प्रस्ताव राख्छु भन्दै अन्य जनावरको आवाज निकाल्न लगायो ।
बालक शिशिरलाई त्यहाँबाट कसरी उम्कनु जस्तो भएको थियो । उसले अर्को बुद्धि लगायो बाघलाई सोध्यो तपाईंलाई मन पर्ने मासु केको हो ? बाघले भन्यो, “मान्छे, बाख्रा , गाई, गोरु, मृग, बँदेल यस्तै यस्तै ।” त्यसो भए म नजिकैबाट मृग बोलाइदिन्छु । तपाईं आजको छाक टार्नुहोस् भोलि त हाम्रो भेट भई हाल्छ । बाघ खुसी भयो । बालकले भन्यो तपार्इं सुत्नुहोस् । म सालका पातले तपाईंको शरीर छोप्छु् । जब मृग यो बाटो आउँछ समाती हाल्नुहोस् । अब तपार्इंलाई कहिले पनि सिकारको खाँचो हँुदैन । दिनहुँ बेग्लाबेग्लै सिकार खान पाउनु हुन्छ । बालकका कुुराले बाघ दङ्ग प¥यो । ऊ सुत्यो पनि । बालकले सालका पातले छोपिदियो ।
संयोग बालक शिशिरले मृगको आवाजमा कराउँदै अघि बढेपछि मृगहरू आवाज भएतिर गए । बालक निकै अघि पुगी सकेको थियो । उसले आफ्नो गाउँ ठम्याई सकेको थियो । अब बाघ त्यहाँसम्म आइपुग्ने सम्भावनै थिएन । एक त बाघ बूढो भइसकेको पनि थियो । उता मृगहरू त आए तर बाघ उठ्न खोज्दा सालका पात बजेकाले चलाख र छिटो कुद्न सक्ने क्षमता भएका मृग भागिहाले । बाघ हेरेको हेरै भयो । बाघले सोच्यो भोलि चाहिँ बँदेल बोलाउन लगाउँछु तर बाघको भोलि कहिल्यै आएन ।
बालक शिशिर साँझ मात्र मयूरको बच्चा काखीमा च्यापेर घरमा आइपुग्यो । लामो समय जानकारीबिना घरबाट हराएकाले गाउँमा खैलाबैला भइसकेको थियो । घर छिमेकी उसको घरमा जम्मा भइसकेका थिए । शिशिरलाई देखेर सबै खुसी भए । जब उसले दिनभरिको कथा सुनायो त्यसपछि त कालको मुखबाट बचेर आएको भनी कसैले काखमा राखे, कसैले सुम्सुम्याए, कसैले म्वाई खाए । विद्यालयमा पनि हल्ला बेलुकै पुगिसकेकै थियो । भोलिपल्ट विद्यालयमा प्रार्थना हुँदाहुँदै प्रधानाध्यापकले मञ्चमै बालक शिशिरलाई बोलाएर सबैका सामु उसको अक्कलको तारिफ गरेँ । मुना असोज २०७६,