logo
२०८१ मंसिर ८ शनिवार



कविताको गोरेटोमा

कला |


कविताको गोरेटोमा


कालीप्रसाद रिजाल

मेरो साहित्यिक यात्रा गीत लेखनबाट सुरु भएको हो । धनकुटाको सिँधुवा डाँडाबाट बसाइँ सरेपछि मेरा पितापुर्खा धरानमा बसोबास गर्न थालेका हुन् । मेरो जन्म पनि धरानमै भयो । त्यसबेला तराईको सम्पूर्ण भाग घना जङ्गलले भरिएको थियो । वनजङ्गल फाँडेर आवाद गरेका जग्गा आफ्नो नाउँमा दर्ता गर्न पाउने आकर्षणकै कारण त्यसबेला पहाडबाट बसाइँ सर्नेहरूको लहर चलेको थियो । जङ्गल फाँडेर जग्गा बढाउँदै लगेपछि धरानमा बसेर तराईको सम्पूर्ण जग्गाको रेखदेख हेरविचार गर्न कठिन हुँदैगयो । खेतीपाती र कृिष उपजको बेचबिखनका लागि विराटनगर बस्नुपर्ने भयो । यसैबीच कृष्णप्रसाद कोइरालाको अग्रसरतामा विराटनगरमा स्कुल पनि खुल्यो । छोराछोरी पढाउन पनि विराटनगरको बसाइ आवश्यक भयो । यसप्रकार मेरा मातापिता विराटनगर बस्न थाल्नुभयो । त्यसबेला तराईमा हिन्दी भाषाको प्रचलन थियो । भारतीय मुद्रामा किनबेच गरिन्थ्यो । स्कुलमा भारतीय मास्टरहरूबाट हिन्दी भाषामा पठनपान गराइन्थ्यो । केटाकेटीलाई पढाउन घरमा भारतीय मास्टर राख्ने चलन थियो । धरानको घरमा मास्टर राखेकाले ५, ६ वर्षको उमेरमा मलाई पढ्न धरान पठाइयो । यस प्रकार मेरो बाल्यकाल र किशोर अवस्था प्रायः धरानमै बित्यो । लामो छुट्टीको बेला म बाबुआमासित भेट गर्न विराटनगर आउने गर्थें । छुट्टीमा आएको बेला आमा हामी राति सुत्ने बेला नेपालका अग्रज कविहरूका कविता गुन्गुनाएर सुनाउनु हुन्थ्यो । यस प्रकार मैले ६ वर्ष नपुग्दै आमाको मधुर स्वरमा लेखनाथ, देवकोटा, बालकृष्ण समजस्ता मूर्धन्य कविका कविताहरू सुन्न पाएँ । त्यसबाट मेरो बाल मस्तिष्कमा गहिरो प्रभाव प¥यो । मलाई सम्झना छ, मैले देवकोटाको मुनामदन र बालकृष्ण समको भक्त धु्रव सँुक्कसुँक्क गर्दै रोईरोई सुनेको थिएँ । त्यसबेलादेखि नै सरल कविताप्रति म विशेष रूपमा आकर्षित हुनपुगेँ । आमाले सुनाएका कविता बुझेकै कारण म रोएको थिएँ । कविताका पात्रसित आत्मसात गर्न सकेकै कारण म कविताबाट प्रभावित भएको थिएँ । धेरैभन्दा धेरैबीच लोकप्रिय हुन धेरैभन्दा धेरैले कविता बुझ्न सक्नुपर्छ, आत्मसात गर्न सक्नुपर्छ भन्ने कुरालाई मैले त्यसबेलादेखि मनभित्र गाँठो पारेर राखेको छु ।


एसएलसी पास गरेपछि २०१३ सालमा म काठमाडौँ पुगेँ । उता हजुरबुबा हजुरआमा काशीवासका लागि बनारस बस्दै आउनुभएको थियो । त्यसैले मेरा सबै काका दाइहरूले बनारसबाटै उच्च शिक्षा हासिल गरेका थिए । त्यसै पनि त्यसबेला तराई क्षेत्रका विद्यार्थी उच्च शिक्षाका लागि भारत नै जाने गर्थे । म भने ठूलो जोडबल गरेर काठमाडौँतिर लागेँ । आमाले गुन्गुनाएर सुनाउनुभएका कविताका सर्जकहरूसित भेट्ने उत्कट अभिलाषाले मलाई काठमाडौँ पु¥याएको थियो । नभन्दै त्यो मेरा लागि ठूलो वरदान सिद्ध भयो । त्यो बेलालाई नेपाली साहित्यको स्वर्णिमकाल भन्न सकिन्छ । तराईमा जन्मे हुर्केको मान्छे मैले काठमाडौँ आएर त्यो स्वर्णिमकालको रसास्वादन गर्ने सौभाग्य पाएँ । लेखनाथ, देवकोटा, बालकृष्ण सम, सिद्धिचरण जस्ता मूर्धन्य कविहरूसित साक्षात्कार गर्न पाएँ । काठमाडौँका त्यसबेलाका गोष्ठीहरू मेरा लागि विश्वविद्यालय सिद्ध भए । एउटै गोष्ठीमा तीन पुस्ताका कविहरूको कविता सुन्न पाइन्थ्यो । लेखनाथ, देवकोटा, बालकृष्ण सम, सिद्धिचरणजस्ता कविहरूका साथै विजय मल्ल, पोषण पाण्डे, लीलाध्वज थापा, नीरविक्रम प्यासी, भूपि शेरचन, भीमदर्शन रोका, वासु शशी आदि पुराना, नयाँ पिँढीका कविहरूको कविता पनि सुन्न पाइन्थ्यो ।
यथार्थमा भन्ने हो भने ती गोष्ठीहरूमा कविता सुनेपछि मेरा साहित्यिक लेखनले नयाँ मोड लियो । रेडियोमा गीत गाउने धोको लिएर आएको मान्छे गीत गाउने कुरा त परै जाओस् गीत लेख्ने काम पनि छोडछाड गरेर कवितामा केन्द्रित हुनपुगेँ । जीवनमा पहिलो पल्ट मैले गद्यकविता लेखेँ । त्रिचन्द्र कलेजबाट प्रकाशित ‘ज्योति’ पत्रिकाको आयोजनामा २०१६ सालमा आयोजित अन्तरकलेज साहित्य प्रतियोगितामा मेरो त्यो पहिलो गद्यकविता ‘मायाको प्रदेश’ पुरस्कृत भएपछि म एकाएक चर्चित हुनपुगेँ । त्यही कविताले मलाई काठमाडौँको साहित्यिक मण्डलीमा प्रवेश गराइदियो । पत्रपत्रिकामा मेरा कविताहरू प्रकाशित हुनथाले ।


यसपछि हेर्दाहेर्दै आधुनिक विधाको क्षेत्रमा धेरै किसिमका प्रयोग सुरु भए । मोहन कोइराला, मदन रेग्मी, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, तुलसी दिवसजस्ता कविहरूले पच्छिमा कवि टीयस इलिएटको शैलीमा बौद्धिक गहनता भएका दुरुह कविता लेख्न सुरु गरेँ । उता दार्जिलिङबाट इन्द्रबहादुर राई, वैरागी काइँला, ईश्वर बल्लभहरूले आयामिक कविताको सूत्रपात गरे । भोको पिँढी, बुटपालिस, अमलेखजस्ता नाम दिएर चलाइएका अभियानहरूको लहर पनि चल्यो तर मैले भने गोपालप्रसाद रिमालले सुरु गरेको र त्यसपछि विजय मल्ल भूपि शेरचन, भीमदर्शन रोका, वासु शशीजस्ता कविहरूले अघि बढाएको सरल एवं मार्मिक कविताको धारालाई नै अङ्गीकार गरेर आफ्नो पहिचानका साथ लेख्ने काम गरिरहेँ, कारण, एक त आमाको मुखबाट सुनेका कविताले मलाई सरल कविता लेख्न उत्प्रेरित गरिरहे । काठमाडौँका गोष्ठीहरूमा विजय मल्ल, भूपि शेरचन, भीमदर्शन रोकाजस्ता कविका कविताले श्रोताको करतल ध्वनिका साथ प्रशंसा पाएको देखेपछि म श्रोता र पाठकसित प्रत्यक्ष संवाद स्थापित गर्न सक्ने सुगम कवितातिर अझ, बढी आकर्षित भएँ । अर्को महìवपूर्ण कुरा के भने आफूलाई अरूभन्दा विशिष्ट बनाएर केही विशिष्ट मान्छेका लागि विशिष्ट कविता लेख्ने कुरासित म सहमत हुन सकिनँ । आफू पनि अरू मान्छेबीचको एउटा आममान्छे भएको कुरालाई आत्मसात गरेर सर्वसाधारण मान्छेको भाषामा सर्वसाधारण मान्छेको कविता लेख्न चाहेँ । यस प्रकार मैले आफूले टेकेको माटो, आफूले बाँचेको समय र आफूले देखे, भेटेका पात्रहरूका कविता लेख्दै आएको छु । वास्तवमा म कविता लेखौँ भनेर कुनै विषयमा हात चलाउँदिनँ । अझ भन्ने हो भने म खासमा कविता लेख्दिनँ । मलाई, आफ्नो समयका घटना, दुर्घटना, दृश्य, परिदृश्य, विसङ्गति विकृति र आफूले देखे भेटेका पात्रहरूले कविता लेखाउँछन् । अभिप्रेरित गर्छन् र बाध्य तुल्याउँछन् । ‘ए चन्द्रमामा जाने हो’, बहुलाई बुढी, ‘मन्त्रीज्यूको ढोका कुर्दा,’ ‘कमसेकम,’ ‘जब पजेरो अगाडिबाट जान्छ’, ‘के सम्झेर मलाई नेता भनेको’, ‘हमरी बिटियाको नत्था तोडिदिनोस्’, ‘सालिक फरार भएको दिन’, नेताजीको अन्त्येष्टि’, ‘निर्मला तिमी मरेकी छैनौँ’ आदि अधिकांश मेरा कविता मेरा समयमा घटेका घटनादुर्घटना र मैले साक्षात्कार गरेका पात्र विशेषसित सम्बन्धित छन् । यसैगरी मैले विकृति, विसङ्गति र बेथितिउपर व्यङ्ग्य गरेर असन्तुष्टि र आक्रोश पनि कवितामा व्यक्त गर्दै आएको छु । अर्को कुरा साहित्यलाई केही टाठाबाठा र पठित अभिजात्यवर्गको बौद्धिक मनोरञ्जन र बुद्धिविलासको साधनभन्दा पनि आफ्नो समयमा बाँचिरहेका आम जनताको कथा, व्यथाको मार्मिक शब्दचित्र र चेतनाको आवाज बनाउने प्रयास गर्दै आएको छु । आम जनताबाट अलग गराएर साहित्यलाई केही बौद्धिक हुने खानेहरूको मानसिक ज्यूनारको विषय बनाउने धारणासित पनि म सहमत हुन सकिनँ ।
फेरि शिक्षित या विज्ञ पनि कसलाई भन्ने ? मैले कतै पुराना ग्रन्थहरूमा शिक्षाले मानिसलाई विजयी, सहृदय र संवेदनशील बनाउँछ भन्ने पढेको थिएँ । नैतिक र चरित्रवान् बनाउँछ भन्ने सुनेको थिएँ तर मैले त धेरैजसो पढे लेखेकै मान्छे स्वार्थी, धूर्त र निर्दयी भएको पाएको छु । ठुलठुला काण्ड र जघन्य अपराधका सूत्रधारका रूपमा पढेलेखेको भनाउँदा मान्छेलाई नै देख्दै आएको छु । गाउँघरमा घाँस दाउरा गरेर जीविका चलाउँदै आएको घाँसीको विचार र प्रेरणाले भानुभक्त आदिकवि भएको दृष्टान्त हाम्रो सामु छ । अब भानुभक्तलाई प्रेरणा प्रदान गर्ने घाँसीलाई श्रमजीवी र प्रेरणा प्राप्त गर्ने भानुभक्तलाई बुद्धिजीवी भनेर वर्गीकरण गर्ने सोच र धारणालाई कतिसम्म उपयुक्त मान्न सकिएला ? मेरो विचारमा बुद्धि र चेतना नभएको कुनै जीव हुँदैन । खाली अक्षर पढ्न नजानेकै आधारमा अधिकांश मान्छेलाई साहित्यसित सरोकार नराख्ने भनेर बहिस्कृत गर्ने या अलग्याउने दृष्टिकोण गलत हो फेरि पढ्न लेख्न नजान्ने ग्रामीण जनताले तत्काल गीत कथेर लोकभाकामा सवाल जवाफ गरेको हामीले देखेका छौँ । सामाजिक समारोहहरूमा गाउँका अनपढ मान्छेले रातभरि धाराप्रवाह श्लोक कथेर गाएको पनि हामीले सुनेका छौँ । यी गाउँघरका आशुकविहरूलाई साहित्यको परिधिबाट कसरी अलग गर्न सक्छौँ ? फेरि अब त प्रविधिले साहित्यलाई पढेर मात्र रसास्वादन गर्न सकिन्छ भन्ने कुरालाई मित्थ्या सावित गरिदिएको छ । श्रव्यदृश्यको माध्यमबाट पनि साहित्यको रसास्वादन गर्न सकिने भएको छ । त्यसैले सम्पूर्ण जनता साहित्यका पाठक हुन् । साहित्यका श्रोता हुन् । कुनै पनि आधारमा आजको चेतनशील जनतालाई साहित्यबाट अलग गर्न सकिन्न, गर्न हुन्न । यही मेरो धारणा हो । मान्यता हो ।


सारमा भन्नुपर्दा यही मान्यता, दृष्टिकोण र धारणा बोकेर म आममान्छेको भाषामा आममान्छेको कविता लेख्दै आएको छु । यही बाटोमा हिँडेर मैले ६ दशकभन्दा बढीको साहित्ययात्रा पूरा गरेको छु । सही गलत, राम्रो नराम्रो जे भए पनि यही नै मेरो पहिचान र विशेषता भइसकेको छ । अब चाहेर पनि आफूले हिँड्दै आएको यो बाटो म छोड्न सक्दिनँ । बदल्न सक्दिनँ । यो मेरो बाटो हो । मेरा पाहिलाहरूले यही बाटोमा जीवनभर आफ्ना पदचिन्हहरू लेख्दै आएका छन् । यो बाटोले जहाँ पु¥याउँछ या पु¥याएको छ त्यही नै मेरो लक्ष्य हो र उपलब्धि पनि ।

मधुपर्क कात्तिक २०७६

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?