logo
२०८१ मंसिर ८ शनिवार



फ्रेमभित्रकी आइमाई

कला |


फ्रेमभित्रकी आइमाई


समयसिंहको घरको मूूलद्वारमा बिटका धारसमेत मक्काउन थालेको फुस्रो तर परैबाट आँखा पर्ने ठूलो फ्रेमभित्र एउटी आइमाई झुन्ड्याइएकी छ । माफ गर्नुहोला पाठक ! मेरो आशय ज्यँुदी आइमाई झुन्ड्याइएकी भन्ने होइन, उसको तस्बिर हो ।
परिबन्दले गर्दा अचेल म झुन्ड्याइएको त्यस तस्बिरलाई दैनिकजसो देख्छु । देखेको निकै बेरसम्म त्यस फ्रेमभित्रकी अपरिचित आइमाईसँग जोडिएर मेरा मनमा अनेकौँ रहस्यात्मक प्रश्न खेल्छन् र बिस्तारै साम्य हुन्छन् । हिँड्ने बाटो अर्को नभएकाले यो रहस्यात्मक चिन्तन आजकल मेरो बाध्यता भएको छ ।


हुन त त्यस फ्रेमसँग मेरो देखादेख भर्खर सुरु भएकोे होइन । खास भनुँ भने म त्यस फ्रेमलाई हेरेरै हुर्किएँ । हुर्किएको मात्र के कुरा भो र ! जन्मेकै दिन एकतर्फी देखादेख भएको हुनुपर्छ । समयसिंहकै घर पर्तिरको अस्पतालमा मेरी आमाले मलाई जन्माएपछि बुबाले एउटा तन्नाको झोलुङ्गो बनाएर आफ्नो घाँटीमा झुन्ड्याई त्यसैभित्र मलाई खुप्लुक्क राखेर यही फ्रेम अगाडिको बाटो हुँदै घर लैजानु भएको अरे ! यसरी अगाडिबाटै लैजाँदा त्यो फ्रेमकी आइमाईले मलाई नदेख्ने त कुरै भएन यद्यपि भर्खर जन्मिएकी भएर मेरा आँखा बन्द थिए होलान् ।


पाँच वर्षकी भएपछि भने ठमठम आफै हिँडेर त्यो फ्रेमभित्रकी आइमाईको तस्बिरसँग हेराहेर गर्न थालेकी हुँ । शनिबार थियो, जुन दिन मैले बुबाको हात समाई पहिलो पटक आफै हिँडेर बजार गएकी । त्यसै दिन हो मैले समयसिंहको घरको मूूलद्वारमा ठडिएका ठुल्ठुला सेता पिल्लरका बीचको ढोकाको सिरानमा झुन्ड्याइएकी त्यो फुस्रो फ्रेमभित्रकी आइमाईलाई आफ्नै बुतामा उभिएर हेरेकी । अहो ! मैले उसलाई हेर्दा उसले पनि मलाई नै हेरेर मुसुक्क हाँसेजस्तो लागेर म कस्तो दङ्ग परेकी थिएँ । मैले जताबाट र जसरी हेरे पनि मैले उसलाई हेरुन्जेल उसले पनि मलाई नै हेरेकी हुन्थी । त्यही आत्मीय हेराइले म ऊसँग त्यसै दिनदेखि नजिकिएकी ।


यो हेराहेर म केटाकेटी हुन्जेल मात्र सीमित भएन । म दिनप्रतिदिनका अनेकौँ प्रसङ्गमा त्यस फ्रेमभित्रकी आइमाईको फोटो हेर्दै हुर्किएँ, तरुनी भएँ, स्कुुल पढिसकेँ, उच्च शिक्षा हासिल गरेँ र अहिले समयसिंहकै घर छेउको बैङ्कमा जागिरे भएकी छु । छोटकरीमा भन्दा त्यो फ्रेम हेर्दाहेर्दै म एक स्वावलम्बी नागरिक भएकी छु । यो हेराहेरको क्रममा समयले आज मलाई जे बनायो तर्कसङ्गत बनायो तर उसको तस्बिर र तस्बिर झुन्ड्याइएको त्यो फ्रेममा यो क्षणसम्म आइपुग्दा कुनै परिवर्तन भएको मैले देखिनँ । न मर्मत सम्भार न त रङ्गरोगन ! फ्रेम पहिलेभन्दा नाजुक भएको छ । बिट मक्काएर हेरिनसक्नु छ । त्यसको सिसा धमिलिएको छ भने झुन्ड्याएको काँटी बाङ्गिएर फ्रेमसमेत कोल्टिएको छ । फोटोको त कुरै नगरौँ ! अनुहारको स्वरूप पनि खुट्याउन मुस्किल पर्छ । मानाँै, त्यो निरीह फ्रेम ज्यँुदाहरूबाट वर्षौंदेखि त्यागिएको छ ।


“तँ पनि आइमाई र त्यो फ्रेमभित्रकी पनि आइमाई ! हेर, त्यसको हरिबिजोक !!”
निर्जीव तस्बिर ! तर केटाकेटीदेखि आत्मीयता जोडिएकाले त्यो फ्रेमलाई देखेपछि अचेल मभित्र यस्तो आवाज आउन थालेको छ । किन ? के ऊ मेरी प्रतिनिधि हो ? या ऊ र मबीच आइमाई हुनुमा भेटिने समान तŒवहरू मेरा मस्तिष्कमा सक्रिय भएर यस्तो आवाज निस्किन थालेका हुन् ?

मेरो ठम्याइ अझै निर्धारित भएको छैन तर म सानी केटी रहिनँ । अब भन्ने पक्का भएको छ । समयले मलाई सानी केटीबाट आइमाई बनाएको छ र आइमाई बनाउने लामो प्रक्रियामा त्यही समयले नै मभित्र चेत भरिदिएको छ । त्यही चेतले गर्दा त्यो मक्काउन थालेको फ्रेम र त्यस फ्रेमभित्रकी आइमाईको फुस्रो फोटो देख्दा मभित्र असन्तुष्टिको आवाज आउन थालेको हुनुपर्छ ।


दिन प्रतिदिन त्यो फ्रेम र त्यसभित्रको तस्बिरलाई हेरेपछि यस्तो आवाज आउने क्रम बढ्दो छ र त्यो आवाजको अनुगुञ्जनले म भने विक्षुब्ध हुन थालेकी छु । समयसिंहले एउटी आइमाईको रुग्ण रूप त्यसरी मूलद्वारमा झुन्ड्याएर बाटो हिँड्ने सयौँ बटुवालाई नदेखाइदिए हुन्थ्यो भन्ने लाग्न थालेको छ । हरेक दिनको हिँडाइसँगै मस्तिष्कमा उथलपुथल गराउने यस्ता सोच बोकेर म कतिन्जेल हिँडिरहुँला ? मैले त्यस फ्रेमको सुन्दरता र त्यसभित्रकी आइमाईको मौलिक आकृति जोगाउन केही नगरी हेराहेर मात्र गरेँ भने आफ्नै अस्तित्वमाथि उब्जिने एक प्रश्नले मलाई जिन्दगीभर खेदिरहने छ ।

 


हो, त्यही प्रश्नबाट बच्न अन्ततः मैले समयसिंहको घरै गएर त्यस फ्रेमकी आइमाईसँग बाल्यकालदेखिको हेराहेरले बनेको मेरो अमूर्त सम्बन्धका बारेमा कुरा गर्ने निर्णय गरेँ ।

यस्तो एक्लो निर्णयको केही दिनपछि नै म समयसिंहलाई भेट्न घरबाट निस्किएँ । मैले आजका दिनसम्म समयसिंहलाई भौतिक रूपमा देखेकी थिइनँ । स्वभाव कस्तो छ भन्ने पनि थाहा थिएन । रिसाहा, घमण्डी वा हिंसात्मक छ कि ? अहंकारी रहेछ भने के गर्नु ? जस्ता यावत् मनोवादले जसरी घरबाट बहादुर मन बोकेर निस्किएकी थिएँ । त्यसको ठीक विपरीत बाटो हिँड्दा हिँड्दै समयसिंहको घर पस्ने कुरा कल्पिँदा मात्र मेरो आङ जिरिङ्ग भइरह्यो । डर लागिरह्यो ।


“हिजोसम्म निडर भएर हिँडेको बाटो हिँड्दा आज कायर कसरी हुन सक्छु म ?”

मनमनै आफैलाई ढाडस दिँदै हिँडिरहेँ र अनेकौँ उहापोहका साथ उसको घर अगाडि पुगेँ ।
एकै छिन उभिएर लामो श्वास तानँे र गेट ढकढक्याएँ । फराकिलो गेटको एकापट्टि सानो ढोका केही बेरपछि खुल्यो ।
“नानी को ? कसलाई खोज्नुभएको ?” सामुन्नेबाट एक वृद्धाले सोधिन् ।
“मेरो नाम साहसी ! म समयसिंहलाई भेट्न आएकी,” मैले नमस्कार गर्दै भनेँ ।
“समयसिंह पूूजा गर्दै हुनुहुन्छ । भेट्नलाई केहीबेर कुर्नुपर्छ,” वृद्धाले प्रस्ट भनिन् ।
“मलाई कुर्न आपत्ति छैन ।” यसो भन्दै म उनले खोलेको गेटको सानो ढोकाबाट भित्र छिरेँ ।
गेट खोलिदिने वृद्ध महिला पातलो शरीर गरेकी थिइन् । सेतै फुलेको कपाल तर सिउँदो भने रातो सिन्दुरले ढपक्क ढाकेको थियो । निधारमा रातो टीका लगाएकी थिइन् । आँखामा पावरवाला चस्मा थियो । सानो तिलहरी हरियो पोतेमा उनेर लगाएकी । नाडीभरी टपक्क राता चुरा थिए । ढाकाको चौबन्दी चोलो र रातो भुइँमा मसिना पहेँला फूलबुट्टा गरेको झुनाको सारी लगाएर कम्मरमा पहेँलो पटुकी कसेकी । उनी परम्परागत पहिरनलाई जीवन्तता दिन त कहीँ चुकेकी देखिइनन् तर बोलीमा भने प्राण थिएन ।
“तपाईं समयसिंहको को हो त ?” उनको पहिरन हेर्दाहेर्दै मैले पनि फ्याट्ट सोधिहालेँ ।
“म उनकी कान्छी श्रीमती,” वृद्धाले मसिनो स्वरमा भनिन् ।


उनले त्यसो भनेपछि मलाई फ्रेमभित्रकी आइमाईको झल्यास्स सम्झना भयो । मूलद्वारतिर आँखा लगाएँ । धन्न ! त्यो फ्रेमभित्रकी आइमाईको तस्बिर वृद्धासँग मिलेन । म शान्त भएँ ।
“नानी मसँगै आउनोस्,” केही छिनमै ती वृद्धा अघि लागेर मलाई बाटो देखाउँदै भनिन्, “यो घरभित्र हामी थुप्रै जना छौँ । हामीलाई देखेर अफ्ठ्यारो नमान्नु होला ।”
वृद्धाले रहस्यात्मक भावभङ्गीमा मलाई अफ्ठ्यारो नमान्न आग्रह गर्दै घरको मूलद्वार नखोली पेटीबाट हिँडाएर घर पछाडिको पाहुना घरमा लगिसकेकी थिइन् । मैले उनको त्यो आग्रहको अर्थ सतर्क रहनु होला भन्ने पूर्वधारणा बनाए पनि समानता जनाउँदै भनेँ, “किन अफ्ठ्यारो मान्थेँ र ! म पनि ठूूलै परिवारकी छोरी हुँ ।”


मेरा कुरा सुनेर उनले मुन्टो हल्लाउँदै भनिन्, “मालिक पूजा सकेर यही आउनुहुन्छ । तपाईं बस्दै गर्नोस् ।”
यति भनेर ती वृद्धा कता हराइन् पत्तो भएन । वृद्धका मुखबाट मालिक शब्द सुनेर म भने जडवत् भएँ ।
समयसिंहको घर अगाडिबाट जति शान्त र प्रभावशाली देखिन्थ्यो, पछाडिबाट त्यस्तो देखिएन । अगाडिबाट देख्दै ल्याएका सुन्दर झ्याल–ढोका पछाडितिर बिलकुल फरक देखेँ । ती रङ्गीन थिएनन् । बरु त्यहाँबाट रुवाइ–कराइ, चिच्यावट, विरोध र हाँसो भरिएको एकतमासको हल्ला आइरहेको थियो । त्यो हल्लाले डर लागे पनि समयसिंहको प्रतीक्षा गर्न बाध्य थिएँ म । यत्तिकैमा एउटा झ्यालबाट कालो अनुहार गरेकी एउटी केटीले हात हल्लाएको देखेँ ।
“यो बहुलाहीले फेरि झ्याल खोली । गाला चड्काएर यता तान् त्यसलाई ।” हात हल्लाउने केटीलाई कसैले हप्काएको सुनियो ।
त्यो सुनेर मेरो मुटुको धड्कनले एक्सलेटर दबायो । मेरा पाखुराका रौँ ठडिए ।


“बाबुबिनाको त्यो फ्याउरोलाई एक्लै छोडेर कता मरी अर्की ।” अर्को झ्यालबाट आवाज आयो ।
“खान्नँ... ! म तेरो जुठो कहिल्यै खान्नँ !!” दोस्रो तलाको झ्यालबाट यस्तै प्रतिकार सुनिँदै थियो । एकाएक झल्र्याम्म केही फुटेको आवाजले मेरा कानका जाली नै छेडिए ।
बीस मिनेटको पर्खाइमा यति सुनिसक्दा म भित्रभित्रै हायल कायल भइसकेकी थिएँ । बल्ल एउटा मान्छे पूजाको थाली हातमै बोकेर मेरोसामु झुल्कियो । पूजाको थाली देखेपछि समयसिंह उही हो भन्ने थाहा पाउन मलाई मुस्किलै भएन ।
“नमस्कार । म साहसी !” उसलाई देखेर बसिरहेको कुर्सीबाट जुरुक्क उठेँ ।


“नमस्कार । ल ! यो कालीको प्रसाद लेऊ,” समयसिंहले मलाई पहिलो शब्दमै तिमी सम्बोधन ग¥यो ।
“हे कालीमाता मेरो रक्षा गर,” मनमनै यसो भनेर समयसिंहले दिएको प्रसाद लगाएँ ।
सिंहको जस्तो आत्मविश्वास बोकेर संसार एक्लै थामौलाझैँ गरी समयसिंहलाई उभिएको देख्दा एक मनले ‘अल्फा पर्सनालिटी’ रहेछ जस्तो ठाने । झट्ट हेर्दा ‘अल्फा पर्सनालिटी’ देखिए पनि ऊ मेरो बाबुजस्तो मायालु कतैबाट देखिएन । नरम आवाज, हँसिलो, मिजासिलो र शान्त स्वभाव भएका मेरा बुबासँग न त उसका तिखारिएका जुँगा मिले न त उसको स्वभाव, न त बडेमानको ज्यान र धोद्रे आवाज नै !
“के कामले आयौ यहाँ ?” उसले उभिएरै आउनुको कारण सोध्यो मलाई ।


“त्यो... ! त्यो, अगाडिको फ्रेमभित्रकी आइमाईको फोटोको बारेमा जान्न आएकी,” मैले धर्मराउँदै भने ।
“तँ... ! तँ अपराधी, पापी, तँ नर्क जा !” समयसिंहको जवाफ नआउँदै मेरो आवाजलाई ओझेल पार्दै फेरि कसैले सरापेको टड्कारो सुनियो ।
समयसिंहको आवाजैले आधा थर्किएको मेरो मन सराप्नेको आवाज सुनेर त काँप्नै थाल्यो ।
“कुन फ्रेम ? कुन आइमाई ? यो घरभरि काम नलाग्ने आइमाईहरूको भीड छ,” हातमा बोकेको पूजाको थालीलाई मेरै छेउको झ्यालको बिटमा अड्याउन खोज्दै उसले थप्यो– “यहाँ अनेकाँै आइमाई छन्; लोग्नेले छोडेका छन्, बलात्कृत भएर बौलाएका छन्, कोही कोठीमा बेचिएर फर्किएका छन् । कोही धेरै पढेर बिहे नै नगरी बस्ने बुढीकन्या छन् । कोही सासू–ससुराले आगो लगाएर आधा डढेर बाँचेका छन् । कोही अपाङ्ग छन्, एसिडले अनुहार बिग्रेका छन् अनि कोही बाबुबिनै बच्चा जन्माएका छन् । लौ ! भन कुन चाहिँका बारेमा जान्ने ?”


मलाई समयसिंहको बर्बराहट खडेरीमा परेका ठुल्ठुला असिनाजस्तै लाग्यो । मेरो मथिङ्गल उसको बर्बराहट र उसले अथ्र्याएका आइमाईहरूको सूची सुनेर छियाछिया भयो ।
“म त तपाईंको घरको मूलद्वारमा झुन्ड्याइएको फ्रेमभित्रकी आइमाईको तस्बिरको बारेमा जान्न आएकी थिएँ ।” डर मिसिएको स्वरमा यति भनेँ ।
“ए ! त्यै सात–सातवटी छोरी जन्माएर मरेकी राँडको कुरो जान्न आएकी ?” केही छिनअघि पूजाको थाली बोकेर उभिएको समयसिंहले निमेषभरमै रिसले आगो हुँदै राक्षसी शैलीमा थप्यो– “त्यस राँडको फोटो अझै त्यहीँ र’छ । भोलि नै झिकेर फ्याँकिदिन्छु । राँडले यतिका छाउरी नजन्माएकी भए मैले यो हैरान खप्नै पर्दैनथ्यो । त्यसको कुरै नगर मसँग ।”
दस टाउके रावणझैँ रिसले चुर भएर फनफनाउँदै निस्कियो ऊ ।


समयसिंहको रिस देखेर उसको घरको मूलद्वारमा झुन्ड्याएको फ्रेम र त्यसभित्रकी आइमाईको तस्बिरलाई पुनर्जीवन दिने मेरो सपना समयसिंहकै घर पछाडि पुगेर तुहियो । म निःशब्द भएँ । चिटचिट पसिना आयो । मेरो होसहवास उड्यो । म कायरभन्दा पनि महाकायर भएर त्यसको पाहुना घरबाट बाहिरिएँ । घरका झ्यालैपिच्छेबाट आ–आफ्नै व्यथाको चर्को आवाज भने आइरहेकै थियो ।
००००
“नानी ! भेट्नु भयो मालिकलाई ?” म गेटबाट बाहिरिनै लाग्दा पछाडिबाट उनै वृद्धाको आवाज आयो ।
म रोकिएँ ।
“भेटेँ... ! भेटेँ !!” हतासिँदै भनेँ मैले ।
“नानीले बाहिरबाट देखेको यो ठूलो घर खासमा समयसिंहले बसाएको पागलबस्ती हो ।” वृद्धाले दबेको आवाजमा यस्तो खुलासा गरिन् ।
“कसरी त्यस्तो ?” मैले सोधेँ ।
“कसरी ? ऊ त्यो फ्रेमभित्रकी आइमाई समयसिंहकी पहिली श्रीमती हुन् ।” मूलद्वारतिर चोर औँलाले देखाउँदै उनले कुरा सुरु गरिन्– “सातवटी छोरी जन्माई भनेर समयसिंहले हेला गरेपछि दुःख पाएर मरेकी अरे । ऊ मरेको तीन महिनामै समयसिंहले मलाई विवाह गरेको । मबाट सन्तान हुन सकेनन् । त्यसैले म उसकी अर्धाङ्गिनी नभई पूजा सामग्री तयार गरिदिने सहयोगी भएर बाँचेकी छु ।”
वृद्धाका कुराले मेरो मन फ्रेमभित्रकी आइमाईका सातवटी छोरीहरूमा गएर अड्कयो । मैले उनलाई थप बोल्न नदिई सोधेँ– “कहाँ छन् त ती सातवटी छोरीहरू ?”
“यही घरका कोठाहरूमा बन्दी बनेका छन् ।” उनले कानेखुसी गर्दै काँपेको आवाजमा भन्दै गइन् –“अभागीहरू कोही बलात्कृत भएर न्याय नपाई बाँचेका छन्, कोही लोग्नेले छोडेका छन् !” समयसिंहले केही बेरअगाडि बर्बराएकै कुरा दोहो¥याउँदै मेरा दुवै हात समातेर वृद्धाले भनिन्– “नानी ! यो घरमा बन्दी भएका सबै छोरीहरूलाई न्याय र उन्मिुक्तिको बाटो देखाइदिने मान्छे चाहिएको छ । अघिल्तिर भव्य मोहडा बोकेको शानदार घरका छोरीहरूको पीडा र चित्कार आज त्यही घरको पछाडिबाट तिमीले सुन्यौ । त्यो आवाजलाई बाहिर लगिदिनूू ।”
“आफ्नै छोरीहरू किन बन्दी बनाएको समयसिंहले ?” मैले पत्याउन नसकेर सोधेँ ।
“आफ्नो नाम, पैसा, शान र शक्तिसँगको सम्बन्धलाई निरन्तरता दिन । त्योभन्दा पनि बढी आइमाईलाई सबै दोष थुपारेर उनीहरूको यथास्थितिलाई निरन्तरता दिन,” वृद्धाले तर्क दिइन् ।
वृद्धाको बौद्धिक तर्क सुनेर छक्क परेँ म ।
“तपाईंले यति धेरै बुझ्नुभएको रहेछ त आजसम्म किन केही नबोल्नु भएको ?”
“मसँग पापी पेट छ तर त्यसको चित्त बुझाउने मेरो कुनै आर्थिक स्रोत नभएर नबोलेकी,’ उनले आफ्नो बाध्यता स्पष्ट पार्दै थपिन्– “समयसिंहका छोरीहरू भर्खरका छन् । कसैले यी बन्द कोठाबाट निकालेर अलिकति सान्त्वना मात्र दिए अवश्य केही न केही गरिखाने थिए । कुल्चिएको झार पनि कुल्चिरहेँ उठ्न नसकी मर्छ । यी छोरीहरू मान्छे हुन् । यिनलाई कुल्चिएर नमार ।”
यत्तिकैमा मेरा आँखा मूलद्वारमाथिको फ्रेममा पुगे । हाम्रा कुरा सुनेर त्यो फ्रेमभित्रको फोटो रोइरहेको जस्तो लाग्यो । फ्रेम पनि फोटोकै आँशुले निथ्रुक्क भिजेजस्तै देखियो । मैले केटाकेटीदेखि जहिल्यै शान्त भएर झुन्डिएको देखेको त्यो फ्रेमभित्रकी आइमाईको निर्जीव फोटोलाई आज पहिलोपल्ट अशान्त देखेँ । रोहिरहेझैँ देखेँ । फोटोको आँशु र वृद्धाको कुरा मनमा राखेर मैले समयसिंहको आजसम्मको हैकमवादलाई परास्त गरी बन्दी भएका छोरीहरूलाई जीवन जिउने नयाँ बाटो देखाउने प्रयत्न गर्ने दृढ सङ्कल्प गरेँ ।
“म मेरो क्षमताले भ्याएसम्मको कोसिस गर्ने छु ।” वृद्धालाई आश्वस्त पार्दै मैले भने, “अहिले मलाई जान दिनुहोस् ।”
“नानी, तिमीलाई आवश्यक परेको बेला यो गेट नखुल्न सक्छ, यी दुई साँचो लिएर जाऊ ।” वृद्धाले कम्मरमा बाँधेको पटुकीको भित्री भागमा लुकाएको पुरानो धागोमा उनेर राखेका दुईवटा साँचा मेरा हातमा सरक्क राखिदिइन् र भनिन्– “तिमीले यी साँचाका बारेमा कसैलाई केही नभन्नूू ।”
म ती साँचा हातमा बोकेर गेटबाहिर निस्किएँ । बाहिरको चिसोमा निकै बेर हिँडुन्जेल वृद्धाको शरीरको स्पर्शले तातेका दुई साँचाबाट उनको शरीरको तातोपन मलाई महसुस भइरह्यो । सायद, त्यही तातोपनमा जीवनको अर्थ लुकेको थियो । 

मधुपर्क मंसिर २०७६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?