गोरखापत्र समाचारदाता
काठमाडौं मंङ्सीर १ गते । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परम्परागत शिल्पकला विभागको आयोजनामा शुक्रबारबाट दोलखाको चरिकोटमा ६ दिने पौभा÷थाङ्का चित्रकला कार्यशाला सुरु भएको छ । कात्तिक २९ गतेबाट शुरु भएको कार्यशालामा नेपालका थांङ्का पौभा क्षेत्रका प्रतिष्ठित १५ जना कलाकारहरूको सहभागिता रहेको छ ।
मुख्यतः पौभा थांङ्का कला नेपाल, तिब्बत र भूटानमा मात्र बन्छ । यी कलाको उर्वरभूमि नेपाल रहेको छ यो विधालाई सम्बद्धन र संरक्षण गर्ने सिलसिलामा यो कार्र्यशालाको आयोजना गरिएको कार्यक्रमका संयोजक तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य तथा शिल्पकला विभाग प्रमुख प्राज्ञ बुद्धि गुरुङले बताउनुभयो । अन्यत्र यो कलाको माग भए पनि नेपाल यो कला निर्यात गर्ने प्रमुख मुलुक हो भन्दै गुरुङले यो कलालाई नेपालको चिनारीसँग समेत जोडिने बताउनुभयो ।
कार्यक्रममा कलाकार लोक चित्रकारले राज्यले कलालाई उपेक्षित गरेको गुनासो गर्नु भएको थियो । कार्यक्रममा कार्यशाला अवधिभर प्रत्येक दिन बेलुकी सहभागी कलाकारहरुको ‘अनुभव र अनुभूति नामक गोष्ठी पनि आयोजना गरिएको छ ।
कार्यक्रममा लोक चित्रकार, उदयचरण श्रेष्ठ, पूर्णप्रसाद ह्योजु, मुक्तिसिंह थापा, शंकरकुमार जोशी, सुन्दर सिंख्वाल, मुक्ति सिंह थापा, न्हुच्छे काजी बज्राचार्य, रत्नगोपाल सिंख्वाल,देवेन्द्र सिंख्वाल,राम प्रकाश श्रेष्ठ, भूमिराज चौलागाईं, पाल्साङमो लामा, निमा लामा लगायतका कलाकार सहभागी छन् ।
कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले गर्नुभएको थियो ।