ओल्गा तोकार्जुक
मैले उमेर पकाइसकेको छु । त्यसमाथि पनि मेरो अवस्था यस्तो छ कि रातिको समय एम्बुलेन्सले मलाई बाहिर लैजाने स्थिति आउनसक्ने हुनाले मैले सधैँ
ओछ्यानमा जानुअघि अनिवार्य रूपमा आफ्ना गोडा राम्रोसँग धुनैपर्छ ।
त्यो साँझ मैले खगोलीय पञ्चाङ्ग हेरेको भए सायद म सुत्न जाने नै थिइनँ । तत्समय म मस्त निदाएँ । मैले हप्सको जलसेक लिएको थिएँ । त्यसमाथि पनि दुई चक्की भेलेरियन पनि खाएँ । त्यसैले मध्य रातमा जब ढोकाको ढकढकले म ब्युँझिएँ, उद्वेलित, अनियन्त्रित र त्यो भयको सङ्केतले गर्दा म बाहिर निस्किन सकिनँ । म जुरुक्क उठेँ । ओछ्यानमै उभिएँ, थर्थराउँदै, किनकि म अर्धनिद्रामै थिएँ । अस्थिर शरीरले अचानक निन्द्राबाट जागरुकतामा छलाङ मार्न सकेन । मलाई एकदम कमजोर महसुस भयो । गुँडुल्को पर्न थालेँ, मानौँ कि म बेहोस हुँदैछु । दुर्भाग्यवस पछिल्लो समय मलाई आफ्नो बिमारका कारण यस्तो हुँदै आएको छ । मैले टुसुक्क बसेर धेरै पटक आफूलाई सम्झाउनु प¥यो, म घरमा छु, यो रातको समय हो र कसैले जोडजोडले मेरो ढोका ढक्ढक्याउँदै छ । त्यसपछि मात्र मैले आफ्नो होस सम्हाल्न सकेँ । जब मैले अँध्यारोमा आफ्नो चप्पल खोज्दै थिएँ मैले सुनेँ कि जो मेरो ढोका ढकढक्याउँदै थियो, ऊ भुत्भुताउँदै मेरो घरको वरिपरि चक्कर मार्दैछ । मुनि तलामा बिजुलीको मिटर राख्ने दुलोमा चोरहरूका डरले डिजिजले दिएको लठ्याउने ग्याँस राखेको थिएँ । यतिबेला म त्यसकै बारेमा सोचिरहेको थिएँ । अँध्यारोमा पनि मैले त्यो चिसो एयरोसोलको आकार छामेँ । यसरी हतियारबन्द भएर मैले बाहिरको बत्ती बालेर छेउको सानो झ्यालबाट बाहिर बरन्डामा हेरेँ । त्यहाँ बरफको टुक्रा थियो । मेरो दृष्टिक्षेत्रमा मेरो छिमेकी देखियो जसलाई म मालड्रोइट भन्ने गर्थें । ऊ भेडाको छालाबाट बनेको आफ्नो पुरानो कोटको फेर तानतुन पार्दै थियो । त्यो कोट घरमा काम गर्दैगर्दा उसले लगाएको कहिलेकाहीँ म देख्थेँ । कोटको मुनि उसका खुट्टा धर्के पाइजामा र गह्रौँ हाइकिङ बुटमा देखिए ।
‘ढोका खोल,’ उसले भन्यो ।
आश्चर्यचकित भएर उसले मेरो लिनन सुटमा हे¥यो (म कहिलेकाहीँ त्यही सुटमा सुत्ने गर्थें, जुन गएको गर्मीमा प्राफेसरका दम्पतीले फाल्न चाहेको थिए, जसले मलाई धेरै वर्षअघिको फेसनसँगै मेरा जवानीका दिनको सम्झना गराउँथ्यो । त्यसकारण मैले व्यावहारिकता र भावुकतालाई मिसाएँ र त्यसपछि अनुमतिविना नै ऊ भित्र पस्यो ।
“छिटो तयार होऊ, बिग फुट म¥यो ।”
एकछिन म स्तब्ध भएँ । केही नबोली मैले आफ्नो लामा हिउँबुट निकालेँ, नजिकको ह्याङ्गरमा जुन भुवादारी कपडा थियो त्यही लगाएँ । बाहिर, बरन्डाको बत्तीको उज्यालोमा, हिउँ विस्तारै मन्द वर्षामा परिणत भएको देखियो । मेरो छेउमा मालड्रोइट चुपचाप उभिएको थियो– अग्लो, दुब्लो र मरन्च्याँसे पन्सिलले कारकुर गरेको चित्र जस्तो । हरेक पटक उसले पाइला चाल्दा उसको शरीरबाट हिउँ यसरी खस्दै थियो जसरी परीको पखेटाबाट जमेको चिनी खस्छ ।
“म¥यो भनेर तिमीले के भन्न खोजेको हो ?” ढोका खोल्दै आखिरमा मैले सोधेँ । मेरो गला अवरुद्ध थियो तर मालड्रोइटले कुनै जवाफ दिएन ।
ऊ प्रायः त्यति बोल्दैन । उसको मौन राशिमा बुध विद्यमान छन् होला । पक्कै पनि त्यो मकर राशि वा केन्द्रमा अस्त अवस्थामा वा शनीको सप्तम दृष्टि पर्ने गरी विद्यमान भएको हुनुपर्छ । त्यो बुध बक्रीय अवस्थामा पनि हुनसक्छ– जसको कारण मान्छे कम बोल्ने हुन्छन् ।
हामीले घर छोडेर अगाडि बढ्यौँ र तुरुन्त चिरपरिचित चिसोले खप्लक्क पा¥यो । चिसो सिरेटो जसले हरेक जाडोमा हामीलाई सम्झाउने गर्छ, यो संसार मानिसका लागि सिर्जना गरिएको होइन । अनि कमसेकम वर्षका छ महिना यसले देखाउने गर्छ, त्यो हामीप्रति कति क्रूूर छ । चिसोले हाम्रा गाला निर्ममतापूर्वक सेक्न थाल्यो । हाम्रो मुखबाट निरन्तर सेतो वाफको बादल छुट्न थाल्यो । बरन्डाको बत्ती आफसेआफ निभ्यो । हामी निष्पट्ट अँध्यारोमा हिउँका थुप्रा छिचोल्दै अघि बढ्यौँ । उज्यालोको नाममा मेलड्रोइटको हेडल्याम्प एउटा थियो । त्यसले चुक घोप्ट्याएजस्तो अन्धकारमा हिँड्दै जाँदा अगाडि अगाडि एक चोइटो उज्यालो फ्याँक्थ्यो । म अन्धकारमै उसको पछिपछि पाइला सार्दै थिएँ ।
“तिमीसँग टर्च छैन ?” उसले सोध्यो ।
पक्कै पनि मसँग एउटा छ तर त्यसलाई म भोलि बिहान, दिनको उज्यालो नभएसम्म भेट्न सक्दिनँ । टर्चको सवालमा यो सत्य हो कि हामी दिनको उज्यालोमा मात्र तिनलाई देख्न सक्छौँ ।
बिग फुटको कटेज बाटोभन्दा अलिक पर छ, अरूको घरहरूभन्दा अलिमाथि । वर्षभरि मानिस बसिराख्ने तीन घरमध्ये त्यो पनि एक हो । ऊ, म र मालड्रोइट मात्र जाडोको त्रास नमानी त्यहाँ बस्ने गथ्र्यौं; अरू बासिन्दा सबैले अक्टोबरमै घरमा ताला लगाएका थिए । पाइपबाट पानी निथारेर सहर फर्किसकेका थिए ।
अब हामी अलिकति सफा सडकमा आइपुगेका थियौँ । त्यो हाम्रो बस्तीको बीच भएर जान्थ्यो र हरेक घरतर्फ बाँडिन्थ्यो । हिउँले ढाकिएको एउटा बाटो बिग फुटको घरतर्फ जान्थ्यो । त्यो यति साँघुरो थियो कि निरन्तर एकपछि अर्को खुट्टा चाल्दै, सन्तुलन कायम राख्दै पाइला गनेर हिँड्नुपथ्र्यो ।
“यो सङ्केत शुभ होइन” मालड्रोइटले सचेत गरायो, फनक्क फर्केर र एकछिनका लागि मलाई झसङ्ग पार्दै ।
म केही फरक अपेक्षा गरिराखेको थिइनँ । एकछिन ऊ केही बोलेन । त्यसपछि, क्षमायाचनाको भावमा भन्यो– म उसको भान्साको उज्यालो र कुकुर्नीको एकोहोरो भुकाइबाट हैरान भएको थिएँ । तिमीले सुनेनौ ?
“अँह, सुनिनँ । म त निदाएको थिएँ, हप्स र भेलेरियनले लट्ठ पारेको थियो ।”
“अहिले कहाँ छे त्यो कुकुर्नी ?”
“मैले त्यसलाई यहाँबाट लगेँ, आफ्नो घरमा, मैले उसलाई खुवाएँ र ऊ शान्त देखिई ।”
एकैछिनको निस्तब्धता ।
“ऊ सधैँ छिट्टै सुत्न जान्थ्यो र बत्ती निभाउँथ्यो, ऊ बचाउँथ्यो । तर यसपटक बत्ती बलेको बल्यै ग¥यो । हिउँको तुलनामा एकदम उज्यालो धर्को । मेरो सुत्ने कोठाको झ्यालबाट स्पष्ट देखियो । त्यसैले म त्यता गएँ, यो सोचेर कि सायद ऊ पिएर धुत भयो वा सायद कुकुरलाई केही ग¥यो किनकि त्यो एक तमासले भुकिरहेको थियो ।
हामी एउटा भग्नावशेष गोठ कट्यौँ । क्षणभरमै मालड्रोइटको टर्च एक जोर चम्किला आँखामा प¥यो, हरिया र अँध्यारोमा बलिरहेका जस्ता ।
“ऊ हेर त, मृग,” मैले चर्को साउतीमा उसको कोटका बाहुला समाउँदै भनेँ । “तिनीहरू घरको यति छेउमा आएका छन् । तिनीहरू डराउँदैनन् ?”
मृगहरू हिउँमा उभिएका थिए । हिउँले उनीहरूको पेटसम्म छुन्थ्यो । तिनीहरूले शान्त भएर हामीतर्फ हेरिरहे । मानौँ हामीले उनीहरूलाई केही कर्मकाण्ड गरिराखेका बखतमा देख्यौँ, त्यसको अर्थ हामीले लगाउन सकेनौँ । त्यहाँ अँध्यारो थियो । त्यसैले मैले ठम्याउन सकिनँ कि ती तिनै जवान युवतीहरू थिए, जो चेक गणतन्त्रबाट हेमन्त ऋतुमा त्यहाँ आएका थिए वा अरू नै कोही नयाँ थिए ? वास्तवमा दुई मात्र किन ? त्यहाँ त कम्तीमा चार जना पुराना थिए ।
“घर जाओ”, मैले तिनीहरूलाई भनेँ र उनीहरूतिर हात हल्लाएँ । तिनीहरू हल्का हच्किए तर हल्लेनन् । तिनीहरूले एकटक हामीतिर हेरिरहे, सीधै ढोकातर्फ । मभित्र डरको तरङ्ग पैदा भयो ।
त्यही बेला मेलाड्रोइड एउटा बेवारिसे झुपडीको अगाडि खुट्टा बजारेर हिउँ झार्दै थियो । साना झ्यालहरू प्लास्टिक र अन्य पुराना कागजातले बन्द गरिएको थियो । काठको ढोका कालो टार कागजले ढाकिएको थियो ।
ह ह ह
हलको भित्तामा चुल्होका लागि दाउरा चाङ लगाएर राखिएको थियो । विभिन्न आकारप्रकारका मुढाहरू । त्यस कोठाको आन्तरिक सजावट दिक्कलाग्दो थियो, त्यसमा कुनै शङ्का छैन– फोहोर र बेवास्ता गरिएको । सर्वत्र ढुसी, काठ र माटोको गन्ध थियो– चिसो र नमिठो । वर्षौंदेखि ध्वाँसो भित्ताभरि बाक्लोसँग जमेर बसेको थियो ।
भान्सातिरको ढोका ह्वाङ्गै थियो । मैले भुइँमा पसारिएको बिग फुटको लास देखिहालेँ । मेरा आँखा उसमाथि पर्नासाथै हटिहाले । मलाई फेरि त्यहाँ हेर्न केही समय लाग्यो । त्यो दृश्य एकदम बीभत्स थियो ।
ऊ त्यहाँ अजिब तरिकाले पसारिएको थियो । घाँटीमा आफ्नै हात राखेर मानौँ ऊ आफ्नो कठालो तान्न सकेसम्म प्रयत्न गर्दै थियो, जसले उसलाई घोचिरहेथ्यो । वशीभूत भएझैँ, म विस्तारै उसको नजिक पुगेँ । मैले उसका खुला आँखामा हेरेँ जुन टेबलमुनिको कुनै स्थानमा नियालिरहेझैँ देखिन्थे । उसको मैलो गन्जी गर्धनबाट च्यातिएको थियो । यस्तो देखिन्थ्यो, त्यो शरीर आफैविरुद्ध सङ्घर्ष गर्दैथियो, हा¥यो र मारियो । त्यो देखेर म डरले शीताङ्ग भएँ । मेरो रगत नसामै जम्यो । मलाई लाग्यो कि त्यो मभित्र गहिराइसम्म गड्यो । हिजो मात्र मैले यो शरीरलाई जिउँदोजाग्दो देखेको थिएँ ।
“हे भगवान्,” मैले मनमनै भनेँ, “यो के भयो नि ?”
मधुपर्क मंसिर २०७६