मञ्जु काँचुली
बूढा दमाई बाकी श्रीमती यसरी बिलौना गर्न लागिन्, “लौन, कसैले गएर माथिल्ला घरे पण्डितलाई बोलाएर ल्याइदेओ न ! मेरो बूढाको प्राण निस्कनै गाह्रो भयो । मैले कति भनेको यिनलाई धर्म परिवर्तन नगर भनेर, मान्दै मानेनन् । हामीलाई मन्दिरभित्र पस्नु नदिने ? हामीले सिएको लुगा पूजापाठमा शुद्ध हुने, बिहा वर्तमनमा हामी नभई नहुने ? हामीलाई उनीहरूले गोडाले छुँदा नि नुहाइधुवाई गर्नुपर्ने ? यस्तो अपमान पनि सहन सकिन्छ ? हाम्रा पिता पुर्खाले सहे होलान् । हामी सहन्नम् । के भो त नातिनातिनलाई मिसनरीले पढाइदिन्छ । विदेशीले माग गरेर पैसो पठाइदेलान् । के के देलान् ! भनेर भने । अब अहिले मर्ने बेला बूढोलाई पछुतो भएजस्तो छ । घाटे वैद्य आएर ‘धेरै रहे ६ घन्टा’ भनेका थिए । चौबीस घन्टा भइसक्यो । सबै होस छ । प्राण जानै गाह्रो भयो । कुनै ओखतीले पनि छोएन । झारफुक गराइन कि ! वैद्य बाको ओखती गरिनँ कि ! कस्तो सङ्कट हाम्रै घरमा मात्र आइलागेको हो । दिक्क लाग्छ मलाई त । बूढाका अघिका श्रीमतीहरूका सबै छोराहरू पनि साथै छन् । हामी सबै परिवार पनि साथै छौँ । आफ्ना सबै इच्छा पु¥याएकै हुन्, सके जति जाने जति । कुन घिट्को बाँकी रहेर हो कुन्नि ! कुन देवी देवता रिसाएका हुन् कुन्नि । लौन ! झट्टै माथिल्ला घरे पण्डितलाई बोलाई देओ न ।”
बाहिर आँगनमा इसाई धर्मावलम्बी दुई ननहरू सेतोमा नीलो धर्के किनारा भएको पोसाकमा सेवामा तत्पर भएका छन् । त्यसकै छेऊमा ब्रह्मकुमारी सम्प्रदायका दुई बहेनजीहरू पनि निक्खर सेता पोसाकमा उभिएका छन् । बूढा दमाई बाकी श्रीमती विरक्तिएर हालसालै ब्रह्मकुमारीको आस्थातिर लागेकी हुन् । उनका श्रीमान्को अन्त्य आइपुग्न लागेको समाचार पाएर ती सेता पोसाकधारी महिला त्यहाँ उपस्थित भएर सेवा र सहयोग पु¥याउन भनी आएका रहेछन् । एकैछिनमा माथिल्ला घरे पण्डितलाई बूढा दमाई बाका छोराहरू बोलाउन के हिँडेका थिए, पण्डित त आँगनैमा टुप्लुक्क देखा परेछन् ।
पण्डित कमिजको फेर मिलाउँदै र सेतो धोती उचाल्दै एकनासले बोल्न थाले, “चाइन्जो के प¥यो त्यस्तो मलाई नै बोलाउनुपर्ने ? खुुब धर्म परिवर्तन गरेँ । आनन्द भा छ । सम्मानपूर्वक बाँचिया छ । नयाँ धर्मले आफ्ना बालबच्चालाई सहयोग पनि ग¥या छ भन्दै कुइरेको धर्मको प्रचार गर्दै हिँड्थे त बूढा । पछि त एक दिन, त्यस्तै दुई हप्ता जति अघि मात्र तल बेँसीको चिया पसलमा बसेर धर्म परिवर्तन गरेकोमा चिन्ता र पछुतो पो गर्थे रे बिचरा बूढा ! ‘कुइरेले केही दिएन । मन्दिरभित्र पस्न नपाए नि आफ्नै हिन्दु देवताको माया र भर लाग्ने रहेछ । बाहिरैबाट ढोग्ने गर्थें’ भन्थे अरे । देशमा प्रजातन्त्र आएसि त मन्दिरभित्र सबै पस्न पाउने भए रे भनेर आपूm क्रिस्चियन भएर पस्न नपाएकोमा पछुतो गर्थे रे । खै कहाँ छन् बूढा ?” उनले अधबैँसे दमिनीलाई आँगनमा देखेर पनि नदेखेभैmँ गरे किनकि उनीभित्र एक धार्मिक ब्राह्मणको अहम् लुकेर बसेको थियो । सबैले एउटी महिलाको आँखामा हेरेर बोल्न उनको त्यही भित्री डरको मनले इजाजत दिएन । तापनि कुनै नारीलाई नहेरेरै तिनीहरूका स्वरबाटै उनीहरूका मनभित्र पसेर हेर्ने र आफ्नो मनभित्र तिनीहरूका आँखालाई कैद गरेर राख्ने कलामा कुशल प्रवीण थिए ।
अग्ला पण्डित टाउको निहु¥याएर घरभित्र पसे । माटोले लिपेको अगेना छेऊमा बूढा दमाई बाको लम्पसार र अर्धचेत देखिने शरीर र अनुहार हेर्दै नजिकै टुसुक्क बसे । बूढाकी श्रीमतीले मरणाशन्नमा परेको बूढोलाई हल्लाउँदै सचेत गराइन् । “माथिल्ला घरे पण्डित बा आउनु भा छ । आँखा खोल त बूढा ?” आफ्नो मनको विरक्तिमा मह घोलेर उनले यसरी बोलिन् । मानौँ कि उनको मन मन मात्र होइन, मक्खन वा नौनी पनि हो । त्यसमाथि पनि जाम मिलाइएको छ । कान्छी हुन पुगेर बूढालाई उनी अत्यन्त माया गर्छिन् ।
काव्यात्मक र कारुणिक ढाँचामा बूढा दमाई बाले मृत्युशैयाबाट आफ्ना कमजोर भएका दुवै आँखा खोले । बूढा बाको पूरै होस रहेछ । आँखा खोले त राम्ररी नै । पण्डित छोइएला कि भैmँ गरी नजिकै भएर टुक्रुक्क बसेर आफ्नो अनुहार देखाए । “म माथिल्ला घरे पण्डित ! तिमीलाई धर्मसङ्कट प¥या खबर सुनेर दौडँदै आको । के भो यस्तो ? मैले सबै कुरा बुझ्या छु । मसँग गुनासो पनि गर्ने गथ्र्यौ । ‘हिन्दुु भएरै मर्ने मन छ’, भन्थ्यौ पछि गएर । सके सरकारले मन्दिरभित्र पस्न दियो भनेर होला । हेर धर्म कहिले पनि परिवर्तन हुने चिज होइन । संसारमा चाइन्जो तीन चिज परिवर्तन नहुने सत्य मैले जानेको छु । तिमीलाई त्यही सत्य सुनाउन म यहाँ तिम्रो अन्तिम घडीमा आइपुगेको छु । ती सनातन सत्य के हुन् भनेः रगत, धर्म र जाति चाइन्जो कहिले पनि कहीँ पनि परिवर्तन हुने चिज हुँदै होइन । यी तीन चिज परिवर्तन गर्छु भने पनि परिवर्तन हुँदैनन् । यो केटाकेटीको खेल होइन धर्म परिवर्तन भनेको ! ल यो कमण्डलुको जल पिऊ । हरिओम् ! हरिओम् ! नारायण ! नारायण !”
पण्डितले “आँ गर ।” भनेर बूढा बाको मुखमा तुलसीको जल हालिदिए, “यो तुलसीको जल हो । बूढा बाले आँखा ठूलो पारेर मुख ‘आँ...’ गर्दै पण्डितको मुखतिर हेरे । उनीसँग आफ्नो जीवित अस्तित्व प्रमाणित गर्न घाँटीसम्म आइपुगेका दुई–चार शब्द थिए तर उच्चारण गर्न शिथिल भइसकेको शरीरले बोकेको कण्ठमा त्यति पनि तागत वा बल थिएन । पण्डितले पशुपतिनाथको चन्दन हातमा लिँदै बोले, “यो पशुपतिनाथको चन्दन हो । मैले तिमीलाई लगाइदिएँ । आस्था हुने सबैले यो चन्दन लगाउन हुन्छ । भगवान् सबैको हो । एउटा वा दुइटाको मात्र होइन । मानव कल्याण गर्नु र अर्कालाई दुःख नदिनु नै सबभन्दा ठूलो धर्म हो ।”
त्यस घरका सबै परिवार चुप लागेर हेरिरहे र सुनिरहे । पण्डित चाहिँ नायकझैँ भएर उठ्दै “ल अब यी बूढालाई पशुपतिनाथको दर्शन गराउन लैजानू । यिनलाई अब ढोका खुला भइसकेको छ । अब यिनको जीवन–सङ्कट समाप्त भयो । पशुपतिनाथको दर्शन गराएर घाटतिर लगे हुन्छ । घाटबाट ब्रह्मनालमा पु¥याइहाल्नू । म त्यतिबेला त्यहीँ आइपुग्ने छु । कस्ता भाग्यमानी बूढा ! मर्ने बेलामा बुद्धि फर्किएछ । सके त्यही गणतन्त्र आएर नै होला ।”
बूढा बाको अनुहारमा अकस्मात् हल्का मुस्कान झुल्कियो । तर कलेँटी परेका दुुई ओठहरू भित्र लुकेका थुप्रै बिलौनाहरू जो कोटीले पनि पढ्न सक्थ्यो । निभ्न लागेको बत्तीभैmँ मुहार उज्यालियो । साँझको सूर्यले पनि बाँकी प्रकाश आफैमा समेटेर पश्चिम आकाशमा आफ्नो आयतन पैmलाएर डुब्नै लागेको दृश्य देखा प¥यो । बाहिर उभिएका श्वेत वस्त्रधारी चार महिलाले दमाई बाको मृत्युको निकट सम्भावनाको सङ्केत पाएर विरक्त मानेर उक्त प्रज्ज्वलित प्रकाशलाई एक टकले हेरिरहे । प्रकृति र परिवारको माझबाट एउटा धर्मसङ्कटमा परेको आत्माको अन्तः सहज रूपमा अस्त भयो जसरी पाकेको फल रुखबाट स्वतः भुुइँमा खस्छ । जसरी साँझपख आकाशबाट तारा झरेर बीच क्षितिजमा विलीन हुन्छ । जसरी खोलानाला, नदी, झरना सबै सबै समुद्रमा समाहित हुन्छ ।
हावाको झोक्काले निभाउँछ एउटा बलिरहेको दियोलाई । त्यो कसैलाई थाहासम्म हुन्न । त्यो हावा कताबाट निर्देशित भएर आइपुग्छ त्यो पनि कसैलाई पत्तो हुन्न ! कति बेला बिलाउने हो गुलाबको पत्रमा शीतको थोपा अर्को बिहानीमा ! पूmलको पारखी वा मालीलाई पनि यस कुराको अत्तोपत्तोसम्म हुन्न !
अनेकौँ तृष्णाले भट्किरहेको चेतनाले एउटा शरीरको एउटा बास छाडेर गयो । जीवन र मृत्युको एउटा विस्तार समस्त पूर्ण भयो । साकार, अस्तित्व, मूर्तता र पूर्णता वा अपूर्णता बोकेको भान हुने एउटा माटोको भाँडो छताछुल्ल भयो; चकनाचुर भयो, आखिर परमाणुमा परिणत भयो । बच्यो त केवल बाँकी एउटा निरवता ! अनि बच्यो त केवल बाँकी एउटा कठोर शून्यता !!!
शून्यताको तत्कालपछि अकस्मात् त्यस घरमा कोकोहोलो रुवाइको आवाजले सतह र वायुमण्डल पूरै भरियो । गाउँले सबैले थाहा पाएछन्, ‘बूढा दमाई बा बितेछन् !’
ठीक त्यही समयमा बडो उल्लास, उमङ्ग र हौसलाका साथ दिग्विजयको भावमा आफ्नो रोशनी अनुहार देखाउँदै बूढा बाका पन्ध्र वर्षीया नाति उमेश दौडँदै आएर आफ्नो हजुरबालाई खोज्न थाल्यो । साथै घरमा त्यो रुवाबासी देखेर अचम्म मान्यो । मृत हजुरबालाई घच्घचाउँदै उनी खुसी होलान् भन्ने ठानेर आफ्नो पराक्रम सुनायो, “हजुरबा ! हजुरबा ! मैले आपूmलाई ‘ब्याप्टाइज’ गरेर आएँ । बूढो जोनले मलाई र मेरा अरू दुई साथीलाई ठूलो नदीतिर जिपमा हालेर लग्यो । उसले भनेअनुसार म कट्टु मात्रमा नाङ्गो भएँ र पानीमा टाउको बाहेक सबै शरीर डुबाएँ । उसले मन्त्र हो कि के हो भन्यो अङ्ग्रेजीमा । मैले त्यसलाई दोहो¥याएँ । उसले मलाई भन्यो, ‘‘आजदेखि मैले नयाँ जीवन पाएँ’’ रे । आजदेखि म परमेश्वर येसुको धर्मको मान्छे भएँ रे । साँच्चीकै मलाई अहिले स्वतन्त्र भएको अनुभव भइराख्या छ । कस्तो मज्जा ! कस्तो आनन्द ! अब मेरो भोलिको जन्मदिन चर्चमा मैनबत्ती बालेर मनाउने है हजुरबा ? हजुरबालाई केही पनि भाको छैन । हजुरबाले दुवै आँखाले हेरिरहनुभाको छ । मलाई सुनिरहनु भाको छ । तिमीहरू किन त्यसै रोइकराई गरेका ? म परमेश्वर येसुलाई प्रार्थना गर्छु । सबै कुरा ठीक हुन्छ ।” आँखा चिम्लिएर परमेश्वर येसुको प्रार्थना र ध्यानमा मग्न हुँदै एक्लै प्रार्थनाका शब्दहरूले हजुरबाको सुस्वास्थ्य र लामो जीवनको याचना गर्न थाल्छ ।
बूढा बाकी श्रीमती, तीन छोराहरू, दुई छोरी, दुई बुहारी र तीन नातिनातिनाहरू कोही ढोकामा उभिएर, कोही अगेनानिरको लासको अगाडि र कोही आँगनमा आएर चिच्याई चिच्याई शोकका अनेक शब्द निकालेर ठूलो आवाजले रोइकराई गरिरहेछन् । परिवारको त्यसै शोकमय र आलापविलापमय आवाजको बीचबाट उमेशको प्रभु येसुको प्रार्थनाको स्वर उच्च हुँदै जान्छ र आखिर बडो भक्तिभावको शब्द उच्चारण ‘आमेन’बाट टुङ्गिन्छ । तर बाहिर उभिएका श्वेत वस्त्रधारी युवतीहरू आआफ्ना भगवान्को प्रार्थनामा लीन भएर समर्पित भाव व्यक्त गरिरहन्छन् ।
त्यस घरको आँगन नजिकै सार्वजनिक बाटो छ । त्यही बाटो गरी बुर्का लगाएका मुसलमान धर्मावलम्बी पाँच महिला, शुक्रबारको दिन भएकाले प्रार्थना सिध्याएर मस्जिदबाट फर्कंदै थिए । नजिकै आँगनमा विपत्तिको आवाज सुनेर उनीहरू एकैछिन त्यहीँ बाटोमै अडिए । मृत्युको घटना आफै बुझेछन् । ती पाँचै जना महिलाले आफ्ना दुवै हात आकाशतिर फैलाएर एकैचोटि मानवीय संवेदना पोखे, “हाय अल्लाह... हाय अल्लाह !!”
मधुपर्क पुस २०७६