logo
२०८१ मंसिर ८ शनिवार



कथा : बिराएको बाटो

कला |


कथा : बिराएको बाटो


नरेश लालकुसम्या

यसपालि फेरि के साइत बिग्रियो ! रज्वारा गाउँको केटासँग चमेलीको बिहेको कुरो बिग्रियो । बाँधिन लागेको विवाहको गाँठो फेरि फुत्कियो, गाँठोसँगै चमेलीको उत्साह, रौनक, खुसी, आशा, भरोसा र विश्वास फुत्कियो । मनमा गुट्मुटिएको चाहनाले भरिएको यसपालिको विश्वास, जिउको गर्मी शीतल पार्ने छहारी अनि जिन्दगी बाँच्ने बाटो चिप्लियो । चमेलीको चेहरा उज्यालो पार्ने बल्बको तार फेरि जोडिएन । अर्थात् फेिर चेहेरा उस्तै मलिन हुने भयो । त्योभन्दा बढी त गाउँलेहरूको कुरो काट्ने म्याद फेरि थपियो, त्यो पनि अनिश्चित समयका लागि ।
चमेली अचेल जे गर्छिन्, गाउँलेहरूले कुरो काट्ने कामबाहेक केही गर्दिनन् । या भनौँ जे गर्छिन्, गाउँलेहरूले कुरो काटिहाल्छन्, खिसी गरी नै हाल्छन् । गाउँमा
हिँड्दा पनि अरूहरू आपसमा कुरा गरेर हाँस्छन् । साँच्चीकै त्यही भनेर हाँस्दा होलान्, कता पो लागिन् बुढीकन्या । अरे यार बहुत मगमगाउँछे ओइलाएकी चमेली । मुख धुँदा, नुहाउँदा पनि वरपरका कोही न कोही त हाँसी हाल्छन् । ‘जति धोए पनि जति नुहाए पनि हालत त त्यही हो । जवानी फर्किंदैन क्या रे ।’ यस्ता नानाथरी कुरा गरेर उनको हरेक क्रियाकलापमा खोट निकाल्छन् । जुन उनको खस्कँदै गरेको जवानीसँग जोडिएको, फल नलागी ओइलाउन लागेको फूलसित जोडिएको हुन्छ ।
आफ्नो जवानी स्थिर राख्न चमेलीले केके पो गरिनन् । कार्यालय जानुभन्दा अगाडि कम्तीमा एक घण्टादेखि कोठामा राखिएको ठूलो दराजको ऐनामा शृङ्गार गर्छिन् । ओल्टेकोल्टे गर्दै ऐना हेर्छिन् । ऐना पनि कति बेइमान उनका लागि । किरिम पाउडर अनुहारमा रोजै दल्छिन्, समय समयमा कपालमा मेहन्दी लाउँछिन् । हरेक शनिबार बजार गएर ब्युटी पार्लर लेखेको सिसाले बेरिएको पसलभित्र पस्छिन् र घण्टौँ भित्र बसेर गोरी भएर निस्कन्छिन् । सुरुवाल कुुर्ता पनि अचेल फाल्तु भएर त्यसै दराजमा कोचारिएका छन् । पाइन्ट र गन्जी लाउँछिन् । तर जति प्रयास गर्दा पनि उमेर छिप्पिँदै छ, जवानी खस्किँदै छ । तर पनि उनको प्रयास निरन्तर जारी नै छ जवानी रोकिराख्न ।
हुन पनि अुनहार किरिम पाउडर लाएरै होला, टाढाबाट त राम्री नै देखिन्छिन्, भलै नजिकबाट चाउरिएको होस् । छाती र पुठ्ठा झुरिँदै गए पनि जिउमा कसिएको कपडा र भित्र लगाएको बे्रसरले टनाटन नै देखिन्छ । एमए सकेकी उनको एक राम्रै संस्थामा जागिर छ, ठूलाबडाहरूसँग चिनाजानी, सम्बन्ध छ । देश दुनियाँ घुमेकी छन्, बोली पनि सभ्य खालको छ । बस्, खराबी त्यति मात्र थियो आफूप्रतिको घमण्ड । अब त त्यो पनि नाश भइसक्यो । यसर्थ सबै दोष उनलाई दिनै पर्दैन । केवल जवानीलाई दिँदा पुग्छ ।
उनको हात माग्न कोही नआएका पनि होइनन् । तर चित्तबुझ्दो केटा पाउनै गाह्रो । कारण जति आउँछन् कि त उनीभन्दा कलिला हुन्छन् र फर्केर जान्छन् ।

कोही उस्तै छिप्पिएर जोडी मिल्ने खालका आए पनि उनीहरूको स्तर कत्ति मिल्दैन । मिलोस् पनि कसरी ?

उनको लगनगाँठो नजुर्नुको पछाडि उनको बदलिएको जवानी मुख्य कारण भने होइन । त्योभन्दा कयौँ गुणा ठूलो कारण बदलिएको उनको संस्कार, संस्कृति र उनको पहिलेको घमण्ड हो । उनी जुन संस्कार र जीवनशैली अनि संस्कृति सिर्जना गरिरहेकी छन्, त्यो सबै समाजका लागि नितान्त भिन्न छ ।
गाउँमा कसैको घर आँगनमा पर्खाल लागेको छैन । गाउँका जोकोही पनि जसको घर आँगनमा निस्फिक्री साथ जतिबेला पनि आउन जान सक्छन् । तर चमेलीको घर अगाडि पर्खाल र ढोका लागेको छ । चाडपर्वमा उनको घरमा थारू परिकार ढिक्री पाक्दैन । बरु सेलरोटी पाक्छ । गाउँलेहरूले कहिल्यै नचाखेका विभिन्न थरी परिकार पाक्छ । उनी र उनका परिवारका सदस्य सँुगुरको मासुदेखि घिन मान्छन् र नाक खुम्च्याउँछन् । उनकी आमा लेहङ्गा, कुर्था लाउँदिनन्, सारी धोती लाउँछिन् । अनि बाबु पनि भेग्वा होइन, पाइन्ट लाउँछन् । यी सबै चमेलीकै कमाइ र उनको दबाबको प्रतिफल हो ।
उनका बाबुले सुरुमा पाइन्ट लाउँदाको पनि कहानी नै छ । पहिले त उनका बाबु पाइन्ट लाउन मान्दैनथे । विचरालाई भेग्वा लाएको बानी पाइन्ट लाउँदा कस्सिएर सिकसिक जस्तो लाग्थ्यो । तैपनि छोरीको जिद्दीले पाइन्ट लाउने बानी बसाले । समग्रमा भन्दा उनको बोली, भाषा, लगाव, खानपान, चाडपर्व, सामाजिक सम्बन्ध, चरित्र सबै फेरिएको छ, गाउँलेभन्दा भिन्न र बडप्पन खालको ।

हरेक वर्ष कात्तिक ५ मा उनी आफ्नो जन्मदिन धुमधामसँग मनाउँछिन् । त्यो दिन मोटरसाइकल, गाडी उनको आँगनमा, घर अगाडि सडक छेउमा ताँती लागेको हुन्छ । हाकिमजस्ता देखिने, कोही ठूला भुँडी भएका, कोही घोप्टे जुँगा भएकाहरू आएर बधाई दिन्छन् । तर त्यही नजिकैका गाउँले कसैलाई थाहा छैन, त्यो दिन के के क्रियाकलाप गर्छन् भनेर । किनकि उनीहरूलाई त्यो समारोहमा निम्त्याइन्न ।
अचम्म, यस वर्ष उनको आँगनमा मोटर गाडीको भिड छैन, न ठूलाबडा हाकिम नै देखिए । न त उनको भान्साको धुरीबाट धुवाँ नै निस्केको छ । गाउँलेहरूलाई आज केही नभएको जस्तो भान हुनु स्वाभाविकै हो । चमेली आज झन् मलिन भएर कोठामा जिन्दगी निफन्दै थिइन्, आफ्नो जिन्दगी आफै । जति गरे पनि उही अँध्यारो, झन् अँध्यारोमा भासिँदै गरेको जिन्दगी देखिन् । यस वर्ष जन्मदिन नमनाउनुको कारण पनि त्यही रज्वाराको केटासँग बिग्रिएको लगनगाँठो नै थियो । आज उनलाई जन्मदिनको शुभकामना कसैले दिन आएनन्, आउनुको त के कुरा फोन एसएमएसबाट पनि कसैले शुभकामना दिएका छैनन् ।

गाउँकै एक मायारामको मन मान्दै मानेन । सोध्न पु्ग्छ, ‘काकी आज चमेलीको जन्मदिन होइन र ?

किन घरमा केही भयो कि ? कुनै रौनक नै छैन त । कुनै ठूलाबडा मान्छे देखिँदैनन् ।’
मायारामको जिज्ञासा चमेलीले आफ्नो कोन्टी (कोठा) बाट सुनिरहेकी थिइन् । मन थाम्न सकिनन्, आँसु चुहियो तरक्क । उनको मनले भन्यो, ‘हरेक जन्मदिनमा जसलाई नानाथरीका परिकार बनाएर ख्वाइयो, उनीहरूलाई यसपालि मेरो जन्मदिनको कुनै वास्तै छैन । जसलाई कहिल्यै एक अम्खोरा पानी समेत सोधिएन । आज उही मेरो जन्मदिनको चासो राख्दैछ ।’
चमेली आफ्नो कोठाबाट मायाराम बाटो लागेको ऊ ओझेल नपर्दासम्म हेरिरहिन् । बाटो झन् झन् भासिएको देखिन् । मायारामले भनेका ठूलाबडा मान्छेसँग घिन लागेर आयो । अनि आपैmदेखि पनि घिन लागेर आयो । मायारामलाई आज किन उनी पहिलेभन्दा निकै भिन्न देखिन् । मायारामको अघि आफूलाई निकै निकृष्ट देखिन्, बेकार देखिन् । अनि आफ्नो अतीत पल्टाएर नियाल्न थालिन् ।
अचानक चमेलीको अनुहारमा चमक आयो । एकछिन अघिसम्म आफूलाई निकै तल देख्ने चमेली नायिका, सुन्दरी देख्न थालिन् । ओइलाउँदै गरेको फूल फेरि फुल्न लागेझैँ भयो, जवानी फिर्ता आएझँै भयो, जिउमा काँडा उम्रिए । बिराएको बाटो फेला परेझैँ आत्मविश्वासको दियो बलेझैँ लाग्यो । अनिश्चितकालीन भएको भविष्यको अँध्यारो निकै छिट्टै उज्यालो हुने जस्तो लाग्यो ।
भोलि नै चमेली आफूलाई भित्रैदेखि मन पराउने तर मुखले केही भन्न नसकेको १ कक्षा नपढेको गाउँकै मायारामसँग भागेर जानेछिन् । आफ्नो कपडाको पोको काखमा राखेर मायारामको पुरानो थोत्रो साइकलमा बस्नेछिन् अनि मायाराम साइकल कुदाएर आफ्नो कुनै नातेदारकहाँ लानेछ । गाउँलेहरू अन्तिम पटक हाँस्नेछन्, पुनः कुरा काट्ने छन् तर चमेलीसँग त्यसको बनिबनाउ जबाफ छ– विवाह पढाइ लेखाइ र धनसम्पत्तिसँग हुँदैन, मान्छेसँग हुन्छ । माया गर्न अनि श्रीमान् बन्न पढे लेखेकाहरू मात्र जान्दैनन्, नपढेकाहरू पनि योग्य हुन्छन् ।
भोलिदेखि नै चमेली चोल्या र लेहङ्गा लाउने छिन्, डेहरी (माटोको भकारी)ले बेरेर बनाएको कोन्टीमा, खटियामा ओछ्याएको गदेली (बिच्छ्यौना) मा आफ्नो जोडीसँग टाँसिएर सुत्नेछिन् । अनि उनी दुई जिउकी हुनेछिन् र पेट छोप्न अघरान (सप्को) बेर्ने छिन् । स्नातक चमेली र अशिक्षित मायारामको बच्चा जन्मिने छ । बच्चाहरू बजारका खेलौना खेलाउने छैनन्, तिनका बाजे बजैले बनाइदिएको स्थानीय घुरघु¥या खेलाउनेछन् । मायारामले दुक्री (सानो मुसा)को खुट्टामा डोरी बाँधी दिनेछ, अनि बच्चाहरू रमाइलो मानी मानी खेल्नेछन् । आहा क्या गज्जबको दुनियाँ । बस् यी सब पक्का भइसक्यो चमेलीको भित्री मनबाट । भोलिदेखि सबै चिज बदलिने छ, चमेली फुल्नेछिन्, बदलिने छिन् फेरि बाहिरी दुनियाजस्तै । बस् भोलि बिहानको पर्खाइ छ उनलाई ।
यति हुँदाहुँदै पनि एउटा प्रश्न अझै निरुत्तरित छ ।

उनको बुवाले फेरि पाइन्ट फालेर भेग्वा लगाउने छन् कि लगाउँदैनन् ?

अनि आमाले कुर्ता सुरुवाल, साडी फालेर लेहङ्गा, चोल्या लगाउने छिन् कि लगाउन्नन् ?

घरमा सेलरोटीको सट्टा ढिक्री उसिनिने हो कि होइन ?

सबैभन्दा ठूलो कुरा त उनको ठूलो पर्खाल लागेको ढोका छिर्दै घरमा मायारामको बाबुआमा आफ्नो सम्धी घर सरासर आउन सक्ने हुन कि होइनन ? 

२०७६ माघ मधुपर्क 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?