logo
२०८१ मंसिर ८ शनिवार

  एकान्तबासकाे समाजशास्त्र–३ 



पीडा भुल्दै, घर भित्रै सृजना फुलाउँदै कलाकार

कला |


पीडा भुल्दै, घर भित्रै सृजना फुलाउँदै कलाकार


केशवराज खनाल
काठमाडौं, चैत २१ गते । विश्वव्यापी महामारी कोरोनाको असरले अछुतो कोही छैन । यतिबेला के केटाकेटी के बुढाबुढी सबैलाई लामो समय घरमै मात्र बसिरहदाँ दिक्क नै लागि सक्यो । टिभी र मोबाइलमा दिनरात विताउदाँ वाक्क भईसकेका छन् ।
यस्तो अवस्थामा केही अभिभावक आफ्ना बालबालिकालाई सृजनशील कार्यमा लगाउन प्रयत्नरत रहेका छन् । कलाकार पनि यस्तो अवस्थालाई सदुपयोग गर्दै आफ्नो सृजना कर्ममा तल्लीन रहेका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकोे जिम्मेवारी पाएपछि कलाकर्ममा भन्दा कला व्यवस्थापनमा लाग्नु परेकाले कलाकारिता कम भइरहेकोे अनुभव थियो कुलपति केके कर्माचार्यको । तर लकडाउन (एकान्तबास)को समयलाई उहाँले सृजनाकर्ममा लाग्ने अवसरका रुपमा प्रयोग गर्नुभएको छ ।


अमुर्त शैलीमा उहाँ गति सिरिजमा काम गर्नुहुन्छ । यो समयमा पनि उहाँले ‘समयको गति’लाई नै चित्रमा उतारिरहनु भएको छ । चित्रमा रमाउँदा अन्य कुनै कुरा दिमागमा आउँदैन, मात्र कलालाई कसरी सुन्दर तरिकाले सक्ने भन्ने ध्याउन्न हुन्छ । त्यसैले मनलाई बोझमुक्त बनाएको छ –कर्माचार्य बताउनु हुन्छ । यस बाहेक परिवारलाई पनि पूर्ण समय दिन सकेको कर्माचार्यले बताउनुभयो ।
यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति रागिनी उपाध्याय पनि आफ्नो चित्रकारितामै रमाएर कोरोनाको कहरलाई आफ्नो चित्रमा पोख्दै हुनुहुन्छ । ‘अमेरिका, चीन, बेल्जियम लगायतका देशमा आफ्नो चित्रकला प्रदर्शनीको तयारी भईरहदाँ कोभिड–१९ का कारण सबै कार्यक्रम स्थगित भए । तर पनि कलाविना म बाँच्न सक्दिन । त्यसैले यो समयलाई कलाकर्ममै समर्पित गरेकी छु ।’ उपाध्यायले बताउनुभयो ।
यस बिचमा उहाँले कोरोनाकै विषयमा चित्रहरु तयार गर्नुभएको छ । ‘कोरोना आँसु’ शिर्षकमा उहाँले मानवले प्रकृतिसंग गरेको खेलवाडले बेलाबेलामा आउने प्राकृतिक र अन्य विष्त्ति आउने तर्फ ईंकित गर्दै मानवले प्रकृतिलाई सम्हाल्नु पर्नेमा जोड दिएको चित्र बनाउनु भयो । पैसा, पद र शक्तिकोलागि मानवले सधै प्रकृतिलाई शोषण गरेकोमा उहाँका चित्रले मानिसलाई प्रकृतिका बारेमा सोच्न बाध्य बनाईरहेका छन् ।
मुर्तिकार तथा चित्रकार प्राज्ञ लालकाजी लामाले पनि आफ्नो घरमा नै बसेर भित्र र साना मुर्तिहरुमा आफूलाई समर्पित गरेको बताउनु भयो । तर सामान अभावका कारण मुर्तिमा भने काम गर्न अप्ठ्यारो परेको छ त्यसैले बढी चित्रमा नै भुलेको उहाँ बताउनु हुन्छ । विषम परिस्थितिमा कलाले नै घरमा अड्याउन सजिलो भएको उहाँले बताउनु भयो ।
यस्तै प्राज्ञ संजय वान्तवाले आफ्नो धर्म संस्कृतिको अध्ययन अनुसन्धान र त्यसै विषयमा चित्र बनाइरहनु भएको छ । कलाकार तथा कला लेखक देवेन्द्र थुम्केली यो शान्त समयमा पुस्तक पढ्ने र लेखन कार्यका लागेको बताउनु भयो ।
प्राज्ञ कलाकार एस् सी सुमनले विराटनगरमा बसेर चित्रणमा नै आफ्नो बहुमुल्य समयलाई पस्कनु भएको छ । अमुर्त कलामा लागेका युवा कलाकार कृष्ण शाह अमुर्त विधाको बारेमा पुस्तक नै लेख्दै हुनुहुन्छ । यसका साथै चित्रमा पनि नयाँ नयाँ प्रयोग गर्न मनग्य समय मिलेको उहाँ बताउनु हुन्छ ।
चित्रणका कलाकार एन.बि. गुरुङले घरमै बसेर चित्र बनाइरहनु भएको छ । यसका साथै उहाँले अहिले फेसबुक लाइभबाट पनि आफ्नो चित्रण विधिको प्रचार गरिरहनुभएको छ ।
चितवनका चित्रकार तथा ग्यालरी संचालक दामोदर बराल यो लडलाउनले व्यापार व्यवसाय चौपट भए पनि घरमा उत्तिकै वस्न नपरेको बताउनु भयो । बराल भोलिका दिनमा समयले फेरि कोल्टे फेर्दा अहिले बनाएका चित्रहरुले ठूलो हौसला दिनेमा आशावादी हुनुहुन्छ ।


अर्का कलाकार भीम शर्माले पनि चितवनमै कलाकर्ममा लागेर दिन कटेको पत्तै नहुने बताउनुभयो । पोखरेली कलाकार मनोज तामाङले त यो समयलाई सदुपयोग गर्दै दिनको २÷ ३ वटा जलरङ चित्रहरु सृजना गरिरहनु भएको छ । उहाँका चित्रमा पोखरा र त्यस वरपरका क्षेत्रलाई समेटिएको छ । कलाकार विके नरबहादुरले चित्र सिक्न चाहनेहरुका लागि संचालन गरिरहनु भएको युट्युब च्यानलमा आफ्ना कक्षालाई निरन्तरता दिदै हुनुहुन्छ ।
अन्य विधामा वा व्यापार व्यवसायमा लागेकाहरुलाई यो लडडाउनको समय साह्रै कष्टकर बनिरहेको अवस्थामा कलाकारहरुलाई भने कला सृजनाको उचित समय रहेको धेरैको बुझाई छ । प्राय कलाकारहरु समसामयिक वा आफ्नो शैली विशेषमा आफ्ना सृजनालाई निरन्तरता दिएर कोभिड–१९ को यो पिडादायी समयलाई सदुपयोग गरिरहनु भएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?