बीआर अम्बेडकर
(शाक्य राज्यका राजकुमार सिद्धार्थले किन घर छाडे ? रोगी, वृद्ध र मृतकलाई देखेपछि दिक्क भएर । हामीले पढेका अधिकांश बौद्ध साहित्यमा यही उल्लेख छ । भारतीय संविधान निर्माता तथा बौद्ध विद्वान् बीआर अम्बेडकरको सन् १९५७ मा प्रकाशित किताब ‘बुद्ध एन्ड हिज धम्म’ले दाबी गरेको तथ्य भने अर्कै छ । २९ वर्षको उमेरसम्म आफ्नो समयका अत्यन्त सचेत र बौद्धिक सिद्धार्थले रोगी, वृद्ध र मृतक देखेका थिएनन् होला ? आचार्य धर्मानन्द कौसम्बीले पहिलो पल्ट यस्तो प्रश्न उठाएका थिए । ३५ वर्षसम्म गम्भीर अध्ययनपछि अम्बेडकरलगायत अन्य राजनीतिक इतिहासकारले पनि प्रचलित कथामाथि सन्देह गरे । अम्बेडकरले आफ्नो चर्चित किताब ‘बुद्ध एन्ड हिज धम्म’मा वृद्ध, रोगी र मृतकलाई देखेर होइन, रोहिणी नदीको पानी विवादका कारण आत्मनिर्वासन स्वरूप सिद्धार्थले दरबार छाडेको प्रसङ्ग उल्लेख गरेका छन् जुन स्तब्ध पार्ने खालको छ तर अम्बेडकरले कुनै सन्दर्भ र तथ्य प्रस्तुत नगरी यसलाई कथाका रूपमा मात्र प्रस्तुत गरेका छन् । आठ भागमा विभाजित ‘बुद्ध एन्ड हिज धम्म’बाट सिद्धार्थको निर्वासनसम्बन्धी सम्पादित अंशको अनुवाद यहाँ प्रस्तुत गरिएको छ ।)
शाक्य सङ्घमा प्रवेश
शाक्य राज्यमा शाक्यहरूको एउटा सङ्घ थियो । बीस वर्ष पुगेका सबै युवक त्यसको सदस्य हुन्थे । सिद्धार्थ बीस वर्ष पुगे । उनी सदस्य हुने समय आयो ।
कपिलवस्तुस्थित शाक्यहरूको संस्थाघर नामक एक सभाहल थियो । सङ्घको सभा पनि यहीँ हुन्थ्यो । गणनायक शुद्धोदनको आग्रहअनुसार पुरोहितले संस्थाघरमा सभा बोेलाए । सङ्घका सदस्यहरूबीच उनले छोरालाई सदस्यता प्रदान गर्न प्रस्ताव पेस गरे ।
आसनबाट उठेर सङ्घका सेनापतिले भने, ‘शाक्य वंशका शुद्धोदन गौतमको परिवारमा जन्मेका सिद्धार्थ शाक्य सङ्घको सदस्यता लिन चाहन्छन् । उनी २० वर्ष पुगे र हरेक हिसाबले सदस्य बन्न योग्य छन् । म उनलाई सदस्यता दिइयोस् भन्ने प्रस्ताव राख्छु । कसैको विमति भए बोल्नुहोला ।’
कोही बोलेन ।
‘कसैको विमति भए बोल्न म फेरि पनि आग्रह गर्छु ।’
‘.........।’
‘कसैको विमति छ त ?’
तीन पल्टसम्म सोध्दा कसैले बोलेन । सङ्घको यो नियमै थियो । यसको अर्थ थियो, उनको सदस्यताप्रति सर्वसम्मति थियो । उनी सङ्घको सदस्य घोषित भए ।
सदस्यता दिने बेला कपाल खौरिएको अग्लो कदका पुरोहितले सिद्धार्थलाई भने, ‘शाक्य सङ्घको सदस्यका नाताले तपाईंले केही मर्यादा कडाइपूर्वक पालना गर्नुपर्छ । एक, तपाईंले शरीर, मन र सम्पत्तिले शाक्य राज्यको सुरक्षा गर्नुपर्छ । दुई, सङ्घका सभाहरूमा तपाईं उपस्थित हुनैपर्छ । तीन, कुनै डर वा आग्रह नराखी शाक्यहरूको गल्ती औँल्याउनुपर्छ । चार, कुनै आरोप लागे रिसाउन पाउनु हुन्न । गल्ती भए प्रायश्चित गर्नुपर्छ, निर्दोष भए सफाइ दिनुपर्छ । तर बलात्कार गरे, हत्या गरे, चोरी गरे, गलत दसी पेस गरे तपाईंको सदस्यता खारेज हुन्छ ।’
‘म अत्यन्त हर्षित र अनुग्रहित छु’, पुरोहिततिर सम्मानसाथ झुकेर सिद्धार्थले भनेँ, ‘मन, वचन र कर्मले म यसप्रति प्रतिबद्ध हुने छु ।’
सङ्घसँग मतभेद
शाक्य सङ्घमा छिरेको आठ वर्षसम्म सिद्धार्थ अत्यन्त जुझारु सदस्य थिए । सङ्घका हरेक क्रियाकलापमा उनी गहिरो रुचि राख्थे । सङ्घ सदस्यका रूपमा उनको आचरण अत्यन्त उदाहरणीय थियो ।
आठ वर्षपछि एक दिन एकाएक उनको जीवनमा ठूलो विपत्ति आइलाग्यो । यसले शुद्धोदनको परिवार र सिद्धार्थको जीवनमा ठूलो सङ्कट निम्त्यायो । यही प्रसङ्ग त्रासदीको मूल थियो ।
सिद्धार्थ २८ वर्ष पुग्दा एक दिन रोहिणी नदीको पानी प्रयोग गर्नेबारे शाक्य र कोलिय राज्यका कामदारहरूबीच झगडा प¥यो । दुवैतर्फका घाइते भए । दुवै राज्य युद्धबाटै यसको समाधान हुनुपर्ने निष्कर्षमा पुगे ।
कोलियविरुद्ध युद्ध घोषणाका लागि शाक्य सेनापतिले सभा बोलाए ।
‘हाम्रा जनता कोलियहरूद्वारा कुटिएका छन् । त्यसको सजाय तिनले पाउनैपर्छ । धेरै पल्ट तिनले आक्रमण गरिसके । अहिलेसम्म हामीले सह्यौँ । अब सहनेवाला छैनौँ’, सेनापतिले भने, ‘सबै कुरा अब युद्धबाटै छिनोफानो हुनु जरुरी छ । म कोलियविरुद्ध युद्धको प्रस्ताव राख्छु । कसैलाई आपत्ति भए बोल्नुहोला ।’
‘मेरो विमति छ’, सिद्धार्थले हात उठाएर भने, ‘युद्धले कुनै पनि समस्या समाधान हुँदैन । यसले हाम्रो उद्देश्य पनि पूरा हुँदैन । एउटा युद्धले अर्को युद्धको बीउ मात्र रोप्छ । अरूलाई तरबार हान्नेकै छातीमा एक दिन तरबार घोपिन्छ । अरूलाई जित्नेहरू अर्को दिन पराजित हुन्छन् । अरूलाई बर्बाद पार्नेहरू एक दिन आफै बर्बाद हुन्छन् । मलाई लाग्छ, सङ्घले युद्ध घोषणा गर्न हतार गर्नु हुँदैन । कसले गल्ती ग¥यो भन्नेबारे सुझबुझपूर्ण छानबिन हुनु जरुरी छ । सुनेको छु, हाम्रै मान्छे आक्रमणकारी हुन् । यसो हो भने दोष हाम्रो पनि हो ।’
‘ठीकै हो, आक्रमण हाम्रै मान्छेले गरेका हुन्’, सेनापतिले भने, ‘तर पानी लगाउने पालो हाम्रो थियो ।’
‘यसको अर्थ के हो भने हामी पनि दोषबाट मुक्त छैनौँ’, सिद्धार्थले भने, ‘त्यसैले हाम्रातर्फबाट दुई जना चुनौँ, कोलियका तर्फबाट दुई जना चुनिऊन् । ती चार जनाले पाँचौँ व्यक्ति चुन्ने छन्् र समस्या समाधान गर्ने छन् ।’
सिद्धार्थको प्रस्तावमाथि सभा घोरियो । तर सेनापति चिढिए । ‘म दाबीसाथ भन्छु, कडा सजाय नदिईकन कोलियहरूको अत्याचार बन्द हुँदै हुँदैन ।’
सेनापतिको प्रस्ताव र सिद्धार्थको संशोधन दुवैमाथि मतदान भयो । सिद्धार्थको संशोधन अत्यधिक बहुमतले पराजित भयो । सेनापतिले आफ्नो प्रस्तावमाथि मतदान गर्न आग्रह गरे । सिद्धार्थले यसमा पनि विमति जनाउँदै भने, ‘सङ्घले यस्तो निर्णय नगरोस् । शाक्य र कोलिय नातेदार हुन् । एकले अर्कोको ध्वंश गर्नु बुद्धिमानी होइन ।’
सिद्धार्थको तर्कमा सेनापतिले कडा विरोध जनाउँदै भने, ‘क्षत्रियले आफन्त र परचक्री भनेर छुट्याउँदैन । राज्य हितका लागि हामीले आफ्नै दाजुभाइसँग पनि लडाइँ गर्नुपर्छ । पण्डित्याइँ बाहुनको कर्तव्य हो भने लडाइँ क्षत्रियको । व्यापार वैश्यको र यी सबैको सेवा गर्नु शूद्रको कर्तव्य हो । शास्त्रको कुरा हामीले मान्नैपर्छ ।’
‘मैले बुझेअनुसार धर्मको सार के हो भने शत्रुताको उपचार शत्रुता हुन सक्दैन’, सिद्धार्थले भने, ‘प्रेमले मात्र शत्रुताको भावनालाई जित्न सकिन्छ ।’
‘अनावश्यक दार्शनिकतामा बहस गरेर समय फाल्नु बेकार छ’, अधैर्य देखाउँदै सेनापतिले भने, ‘सिद्धार्थ मेरो प्रस्तावविरुद्ध छन् । सङ्घले यसबारे मतदान गरेर छिनोफानो गर्नु राम्रो हुन्छ ।’
मतदान भयो । सेनापतिको प्रस्ताव अत्यधिक बहुमतले पारित भयो ।
परिब्रज्याको बाटो
भोलिपल्ट युद्ध प्रस्ताव कार्यान्वयन गर्न सेनापतिले अर्को सभा आह्वान गरे । सभामा उनले कोलियविरुद्ध लडाइँमा २० देखि ५० वर्षसम्मका प्रत्येक शाक्यलाई लडाइँमा भाग लिन आह्वान गरे । सभामा बहुमत र अल्पमत दुवै पक्ष थिए । अल्पमत बहुमत पक्षसँग समर्पण गर्न तयार थिएन । तर कसैले बोल्ने साहस गरेन । बहुमतको निर्णय नमान्नुको परिणाम सायद तिनीहरूलाई थाहा थियो । सबै चुपचाप देखेपछि सिद्धार्थले भने, ‘मित्रहरू, तपाईं आफ्नो इच्छाअनुसार गर्नुस् । बहुमत तपाईंको पक्षमा छ । तर माफ गर्नुस्, म तपाईंको निर्णय मान्न सक्दिनँ । म यस लडाइँमा सामेल हुन सक्दिनँ ।’
‘के तपाईंले सङ्घको सदस्यता लिँदा गरेको प्रतिज्ञा भुल्नुभयो सिद्धार्थ ?’ सेनापतिले चेतावनी दिए, ‘तपाईं त्यसको उल्लङ्घन गर्दै हुनुहुन्छ र त्यो सार्वजनिक लज्जाको विषय हो ।’
‘हो, मैले आफ्नो शरीर, मन र सम्पत्तिले शाक्यहरूको सर्वोत्तम हितको रक्षा गर्ने प्रतिज्ञा गरेको थिएँ’, सिद्धार्थले भने, ‘तर यो युद्ध शाक्यहरूको हितमा छ भन्नेमा मलाई विश्वास छैन ।’
शाक्य सङ्घ पहिले स्वतन्त्र थियो । पछि यो कोसल नरेश पसानेदीको अधीनस्थ हुन पुग्यो । कपिलवस्तुको शाक्य राज्यले कतिपय सम्प्रभु अधिकार कोसल नरेशको अनुमतिबिना प्रयोग गर्न पाउँदैनथ्यो । कोलियसँग कलहकै कारण कोसल नरेशले शाक्य सङ्घको यो अधिकार खोसेका थिए । ‘सम्झनुस् त’, सिद्धार्थले सम्झाए, ‘यस युद्धलाई कारण देखाएर कोसल नरेशले फेरि पनि हाम्रा अधिकार सङ्कुचित गराउने छन् ।’
सेनापति रिसले आगो भए ।
‘तपाईंको चलाखीले केही हुँदैन अब । सङ्घको बहुमतको निर्णय तपाईंले मान्नैपर्ने हुन्छ । तपाईंलाई लागेको होला, कोसल नरेशको अनुमतिबिना सङ्घले तपाईंलाई कुनै सजाय गर्न सक्दैन वा सङ्घले तपाईंलाई दिएको सजाय कार्यान्वयन गर्न उनले अनुमति दिँदैनन् । तर नबिर्सनुस्, सङ्घले अर्कै तरिकाले पनि तपाईंलाई सजाय गर्न सक्छ । सङ्घले तपाईंको परिवारलाई सामाजिक बहिष्कार गर्न सक्छ, परिवारको जमिन जफत गर्न सक्छ । तपाईंलाई मृत्युदण्ड दिन वा देश निकाला गर्न सक्छ । यसका लागि सङ्घले कोसल नरेशको अनुमति लिइरहनुपर्दैन ।’
अहोे, सिद्धार्थ कहालीलाग्दो भुमरीमा फसिसकेका थिए ! निर्णयको विरोध गरिरहँदाको परिणामबारे सायद सिद्धार्थलाई थाहा थियो । उनीसँग तीन विकल्प थिए । युद्धमा सहभागी हुनु, मृत्युदण्ड भोग्नु वा निर्वासनमा जानु र परिवारको सामाजिक बहिष्कार तथा सम्पत्ति जफत स्वीकार्नु । पहिलो विकल्पको उनी पूरै विरोधी थिए । परिवारको विपत्तिबारे उनी कल्पनै गर्न सक्दैनथे । यस्तो बेला दोस्रो विकल्प सर्वोत्तम थियो ।
विनम्रतापूर्वक सिद्धार्थले भने, ‘कृपया, मेरो गल्तीका लागि मेरो परिवारलाई सजाय नदिनुस् । सामाजिक बहिष्कार गरेर उनीको जिन्दगीमा दुःख ननिम्त्याइदिनुस् । जमिन जफत गरेर उनीहरूलाई सङ्कटमा नपारिदिनुस् किनभने उनीहरूको जीवनयापनको स्रोत त्यही मात्र हो । उनीहरू निर्दोष छन् । दोषी मै हुँ । मेरो दोषको सजाय म एक्लैलाई भोग्न दिनुहोस् । मृत्युदण्ड दिनुस् वा निर्वासनको सजाय, तपाईंलाई जे ठीक लाग्छ, म खुसीसाथ स्वीकार्छु । म वाचा गर्छु, यो अपिल म कदापि कोसल नरेशकहाँ गर्ने छैन ।’
जवाफमा सेनापतिले भने, ‘तपाईंको कुरा मान्न सम्भव छैन । तपाईं स्वेच्छाले निर्वासनमा जानु भए पनि वा मृत्युदण्ड भोग्नुभए पनि कोसल नरेशलाई थाहा भइहाल्छ । अनि सङ्घले नै तपाईंलाई सजाय दिएको ठानेर उनले हामीविरुद्ध कारबाही गर्ने छन् ।’
‘त्यसो हो भने तपाईंलाई एउटा अर्को उपाय बताउँछु’, सिद्धार्थले भने, ‘म परिब्राजक (संन्यासी) बनी यो देश छाडेर जान्छु । यो पनि एक प्रकारको निर्वासनै हो ।’
सेनापतिलाई लाग्यो, यो ठीक तरिका हो । तर अझै सिद्धार्थले देश छाड्ने कुरामा उनलाई सन्देह थियो । ‘परिवारको अनुमतिबिना तपाईं कसरी परिब्राजक बन्न सक्नुहुन्छ ?’
‘परिवारको अनुमति लिन म सक्दो प्रयास गर्छु । अनुमति पाए पनि नपाए पनि म तुरुन्तै देश छाड्छु । ढुक्क हुनुहोस् ।’
सिद्धार्थको यो उपाय ठीक हो भन्नेमा सङ्घ विश्वस्त भयो र उनीहरू त्यसमा सहमत भए ।
सभा सकिनै लागेको थियो । मानिसहरू उठ्ने तरखर गरिरहेका थिए । एक युवा आफ्नो ठाउँबाट उठे र भन्न थाले, ‘कृपया मलाई अलिकति बोल्न दिनुस् । मैले यहाँ महìवपूर्ण कुरा भन्नु छ ।
अनुमति पाएपछि उसले सोध्यो, ‘मलाई विश्वास छ, सिद्धार्थ वचनमा पक्का छन् र तुरुन्तै उनले देश छाड्ने छन् । के हामी तुरुन्तै युद्ध घोषणा गर्दै छौँ ?’
‘हो, हामी तुरुन्त युद्ध घोषणा गर्ने छौँ । आक्रमण पनि गरिहाल्ने छौँ ।’
‘सेनापतिज्यू, एक पल्ट गहिरिएर सोच्नुस् । सिद्धार्थको निर्वासनबारे कसैगरी कोसल नरेशले थाहा पाउने छन् । यस्तो बेला तत्कालै युद्ध घोषणा गर्दा उनले ठान्ने छन्, युद्ध घोषणाकै कारण सिद्धार्थ निर्वासित भएका हुन् किनभने उनले यसको विरोध गरेका छन् । यस्तो महसुस हुन नदिन सिद्धार्थको निर्वासनको केही समयपछि मात्र युद्ध घोषणा गर्नु उचित हुन्छ ।’
युवकको प्रस्तावमा सङ्घ घोरियो । कुरा एकदमै जायज थियो । स्थितिको सही आकलन गर्दै सङ्घ केही समयका लागि युद्ध रोक्ने निर्णयमा पुग्यो ।
यसरी त्यो दुःखान्त निम्त्याउने सभा समापन भयो । युद्धका विरोधी भए पनि बोल्न साहस गर्न नसकेका अल्पमत पक्षधरले पनि अल्पकालकै लागि भए पनि शान्तिको सास फेर्न पाए किनभने तत्काललाई यो घातक परिस्थिति टरेको थियो ।
बिछोडको विलाप
सिद्धार्थ घर नफर्किंदै सङ्घको निर्णयबारे परिवारलाई थाहा भइसकेको थियो । आमा महाप्रजापति रोएरै छाती फुटाइरहेकी थिइन् ।
‘हामी युद्धको परिणामबारे कुरा गरिरहेका थियौँ’, सिद्धार्थ घर फर्केपछि शुद्धोदनले भने, ‘तर तिमी यस्तो निर्णयमा पुगौला भनेर मैले कल्पनासमेत गरेको थिइनँ ।’
‘बा, कुरा यस्तरी बिग्रेला भनेर मैले पनि सोचेको थिइनँ’, सिद्धार्थले भने, ‘मलाई विश्वास थियो, म आफ्नो तर्कले युद्धविरुद्ध शाक्यहरूको मन जित्छु । हाम्रा सैनिक अधिकृतहरूले मान्छेको मन भाँडिसकेका रहेछन् । मेरो तर्कको कुनै अर्थ रहेन । तर तपाईं बुझ्नुहुन्छ, मैले परिस्थिति ज्यादा खराब हुन दिइनँ । जस्तै सजाय हुने भए पनि मैले सत्य र न्यायलाई छाडिनँ । त्यसका लागि आफैलाई मात्र सजाय गराउन म सफल भएँ ।’
‘तर तिमीले परिवारको के हालत होला भन्ने सोचेनौ बाबु ।’
‘त्यसैले त मैले परिब्राजक हुने निर्णय गरेँ । सोच्नुस् त सङ्घले हाम्रो सम्पत्ति र जमिन जफत गरेको भए अनि सामाजिक बहिष्कारको निर्णय गरेको भए के हुन्थ्यो ?’
‘तिमीबिना यो सम्पत्ति, जमिन र सामजिक मान, सम्मानको के अर्थ छ र सिद्धार्थ ?’
सुकसुकाइरहेकी प्रजापति फेरि डाको छाडेर रुन थालिन् ।
‘यस्तो हालतमा हामीलाई छाडेर तिमी कसरी एक्लै जान सक्छौ भन त !’ उनले आँसुले निथु्रक्क भिजेको आवाजमा भनिन् ।
‘आमा, तपाईं सधैँ आफूलाई क्षत्रियकी आमा हुँ भन्नुहुन्थ्यो । तपाईंले मुटु दह्रो पार्नैपर्छ । युद्धमा लडेर म मरेको भए के गर्नुहुन्थ्यो, भन्नुस् त ?’
‘क्षत्रियलाई बरु त्यो सुहाउँछ । तिमी त मानिसहरूबाट निकै पर जङ्गली जनावरको शरणमा जाँदै छौ । त्यस अवस्थामा हामी यहाँ कसरी शान्त रहन सकौँला ! बरु हामीलाई पनि लिएर जाऊ छोरा !’
‘आमा क्षत्रियले युद्ध गरेर अरूलाई मार्नुपर्छ वा आफै मर्नुपर्छ भन्ने मान्यता गलत हो । शास्त्रले भनेका गलत कुरा हामीले मान्नुपर्छ भन्ने केही छैन । मान्छेको जीवन पाइनसक्नु अमूल्य छ । यो शास्त्रले भनेजस्तो फेरिफेरि पाइरहने कुरा होइन । यस्तो अमूल्य जीवन नष्ट गर्ने अधिकार कसैलाई पनि छैन । हामी हरेक समस्याको समाधान युद्धबाट होइन, शान्तिपूर्ण सहमति र वार्ताद्वारा गर्न सक्छौँ । हरेक मान्छेले अर्काको मर्कालाई पनि बुझिदिने हो भने युद्ध गरेर यस्तो अमूल्य जीवन नष्ट गर्ने स्थिति नै आउँदैन । यो कुरा हाम्रा सैनिक अधिकृतले एक दिन पक्कै बुझ्ने छन् । अर्को कुरा, तपाईंहरू मसँग आउनु राम्रो हुँदैन आमा । बहिनी नन्दा सानै छिन् । राहुल भर्खरै जन्मेको छ । उनीहरूलाई छाडेर तपाईंहरू कसरी आउनुहुन्छ ?’
‘त्यसो भए हामी सबै शाक्यहरूको देश छाडेर कोसल नरेशको शरणमा जानु बेस होला ।’
‘त्यो पनि ठीक होइन आमा । शाक्यहरूले यसलाई विश्वासघात ठान्ने छन् । मैले मेरो परिब्रज्याबारे कसैगरी कोसल नरेशलाई पत्तो नदिने वाचा गरेको छु । सत्य हो, वनमा म एक्लो हुने छु । तर आफन्तकै हत्यामा भागीदार हुनुभन्दा त्यो धेरै उचित हो आमा ।’
‘त्यसो भए किन यति हतार गर्छौ ? शाक्य सङ्घले केही समयलाई युद्ध तत्कालै घोषणा नगर्ने निर्णय गरिसकेको छ’, शुद्धोदनले भने, ‘अब युद्धै नहुन पनि सक्छ । त्यस परिस्थितिमा तिम्रो परिब्रज्या रोक्नुमा के हानि छ ? शाक्य राज्यमै बस्न तिमीलाई अनुमति मिल्न पनि सक्छ नि सिद्धार्थ !’
सिद्धार्थलाई यो कुरा मान्य भएन ।
‘बा, मैले परिब्रज्या लिने निर्णयकै सर्तमा युद्ध केही समयलाई स्थगित गरिएको हो । हुन सक्छ, मैले परिब्रज्या लिएपछि युद्ध घोषणा फिर्ता होस् । तर यो कुरा मेरो परिब्रज्यामै भर पर्छ । मैले वाचा गरेको छु । त्यो मैले पूरा गर्नैपर्छ । वाचा उल्लङ्घन गर्दा हामी र देशको शान्तिलाई नै ठूलो हानि हुन सक्छ । बा, आमा, तपाईंहरू मेरो बाटोमा नउभिनोस्, बरु आशीर्वाद दिनुस् । सबैको हितका लागि म यो गर्दैछु ।’
शुद्धोदन र प्रजापतिले अब के भनून् ? मौन रहन बाध्य भए । सिद्धार्थ पत्नी यशोधरालाई भट्न गए ।
कसरी भन्ने ? के भन्ने ? उनी अलमिलएर चुपचाप उभिइरहे ।
‘सङ्घको सभाहलमा भएको सबै कुरा मैले थाहा पाइसकेँ’, यशोधराले मौनता तोडिन् ।
‘यशोधरा, परिब्रज्या लिने मेरो निर्णयबारे तिम्रो राय के छ ?’ उनले सोधे ।
सारा दुःख र भावुकतालाई नियन्त्रणमा राख्दै यशोधराले भनिन्, ‘तपाईंको ठाउँमा भएको भए म पनि यही गर्थें । मेरा माइती कोलिय राज्यमाथि आक्रमणको पक्षधर म पनि अवश्य हुने थिइनँ । तपाईंको निर्णय ठीक छ । मेरो पूरै नैतिक समर्थन र अनुमति छ । राहुल नजन्मेको भए म पनि तपाईंसँगै परिब्रज्या लिने थिएँ । म पनि यो परिस्थिति नआओस् भन्ने चाहन्थेँ । तर हामीले परिस्थितिको सामना गर्नैपर्छ । म रहुन्जेल तपाईंले बा, आमा र छोराको चिन्ता गर्नुपर्दैन । मेरो शुभकामना छ । सबै कुरा बिर्सेर मान्छेको सर्वोत्तम हितको एउटा मार्ग पत्ता लगाउन तपाईं पक्कै सफल हुनुहोला भन्ने मलाई विश्वास छ ।’
यशोधराको कुरा सुनेर सिद्धार्थ भावुक भए । उनलाई यसअघि यशोधरा यति साहसी, बुद्धिमती र कुशाग्र छिन् भन्ने कहिल्यै लागेको थिएन । उनीजस्ती पत्नी पाउनु सिद्धार्थको कति ठूलो गर्व र भाग्य थियो ! परिस्थितिले अब उनीहरूलाई यस्तो अप्ठ्यारो मोडमा पु¥याइदिएको थियो ।
अन्तिम पल्ट उनले छोरा राहुललाई केहीबेर असीम वात्सल्यको नजरले हेरे र बिदा भए ।
महाभीनिष्क्रमण
कपिलवस्तुमा आश्रम जमाएर बसेका भारद्वाजको हातबाट सिद्धार्थ परिब्रज्या लिन चाहन्थे । भोलिपल्ट बिहानै उनी आफ्नो प्रिय घोडा कान्थक चढेर सेवक चन्नसँगै आश्रम पुगे ।
उनलाई भेट्न आश्रमको ढोकामा अघि नै मानिसहरूको भिड लागिसकेको थियो । सबै जना कमलको पत्रजस्तै हात जोडेर उनलाई श्रद्धा व्यक्त गरिरहेका थिए ।
केही महिला उनको भव्य व्यक्तित्व देखेर उनलाई कामदेवको अवतारझैँ देखिरहेका थिए । अरू चाहिँ उनको ओजस्विता र भद्रतालाई पृथ्वीतिर आइरहेको चन्द्रमाको किरणसँग तुलना गरिरहेका थिए । कोही उनको सुन्दरता देखेर टोलाउन थाले र लामो सास तान्न थाले ।
तिनले उनलाई घेरे । तर केही बोल्न सकिरहेका थिएनन् । मात्र उनको परिब्रज्याबारे सोचिरहेका थिए ।
भिड छिचोलेर भित्र जान मुस्किलले उनी सफल भए ।
आफूले परिब्रज्या लिएको माता, पिताले देख्न नपरोस् भन्ने उनको चाहना थियो । तर दुवै जना उनलाई थाहै नदिई अघि नै त्यहाँ पुगिसकेका थिए । भिडमा बाबु, आमा पनि उभिएको देख्दा उनी एक छिन् उदास भए ।
आशीर्वाद माग्न माता, पितासामु उनले शिर निहु¥याए । माता, पिता एकै शब्द बोल्न सकिरहेका थिएनन् । तिनले उनलाई बेस्सरी अँगालोमा कसे र आँसुको समुद्रले रुझाइरहे ।
कान्थक घोडालाई रूखमा बाँधेर चन्न यी सब चुपचाप हेरिरहेका थिए । शुद्धोदन र प्रजापतिको असीम दुःख देखेर उनले पनि आँसु थाम्न सकेनन् ।
सिद्धार्थ मुस्किलले आमा, बाबुको अँगालोबाट छुट्टिए । उनले आफ्ना लुगा र गहना फुकालेर चन्नको हातमा थमाइदिए ।
त्यसपछि परिब्रज्याका लागि उनले कपाल खौरिए । काकाको छोरा महानामले ल्याइदिएको पहेँलो वस्त्र र भिखारीको कचौरा बोकेर भारद्वाजकहाँ परिब्रज्या लिन गए ।
भारद्वाजले आफ्ना शिष्यको सहयोगमा आवश्यक कर्मकाण्ड पूरा गरे र सिद्धार्थ गौतमलाई परिब्राजक घोषणा गरे ।
शाक्य सङ्घसँग गरेको वाचाअनुसार परिब्रज्या लिनासाथ तुरुन्तै देश छाड्न उनी अगाडि बढे । भिड विशाल थियो । गौतमले परिब्रज्या लिएको यो परिस्थिति नै असाधारण थियो । भिड उनीसँगै पछि लाग्यो ।
कपिलवस्तुबाट बिदा भएर उनी सोझै अनोमा नदीको दिशातिर हिँडे । पछाडि फर्केर हेर्दा उनले देखे, भिड उनको पछिपछि हिँडिरहेको थियो ।
एकै छिन रोकिएर भिडलाई सम्बोधन गर्दै उनले भने, ‘आदरणीय दाजुभाइ तथा दिदीबहिनी, कृपया तपाईंहरू फर्कनुहोस् । शाक्य र कोलिय बीचको विवाद सुल्झाउन म असफल भएँ । प्रयास गर्नुभए तपाईंहरू सफल हुनु सक्नुहोला । मेरो शुभकामना छ, तपाईंहरू सफल हुनुहोस् । त्यसैले कृपया, अब फर्कनुहोस् ।’
सिद्धार्थको अपिल सुनेर भिड फर्कियो । शुद्धोदन र प्रजापति पनि भारी मन लिएर दरबार फर्किए । सिद्धार्थका लुगा र गहना देख्दा प्रजापतिका आँखा भरिए । उनले ती सबै नजिकै कमलको पोखरीमा मिल्काइदिइन् ।
परिब्रज्या (परित्याग) स्वीकार्दा सिद्धार्थ गौतम केवल २९ वर्षका थिए । जनता उनको प्रशंसामा भनिरहेका थिए, ‘उच्च वंशमा र विलासितामा हुर्किएका शानदार व्यक्तित्वका धनी सिद्धार्थ संसारमा शान्ति र मानव जातिको हितका लागि आफन्तसँगै लडेर दरबार त्याग्न तयार भए । उनले विलासिताको सट्टा गरिबी, ऐसको सट्टा भिक्षा, दरबारको सट्टा वनवास रोजे । अब उनको हेरचाह गर्ने कोही छैन, उनले आफ्नो भनेर दाबी गर्न मिल्ने केही छैन । उनी सर्वोच्च त्यागका पर्याय हुन् । उनको यो कार्य अत्यन्त साहसिक र वीरतापूर्ण छ । संसारको इतिहासमा यस्तो त्याग आजसम्म कसैले गरेको छैन । उनी शाक्य मुनि वा शाक्य सिन्हाको उपाधिका हकदार छन् ।’
शाक्य युवती किसा गौतमीका शब्दहरू कति वजनदार थिए ! उनले भनेकी थिइन्, ‘ती आमा, ती पिता र ती पत्नी कति भाग्यमानी जसले यस्ता व्यक्तिलाई छोरा र पतिका रूपमा पाएका छन् ।’
कपिलवस्तुदेखि राजगढसम्म
कपिलवस्तु छाडेर सिद्धार्थ तत्कालीन मगधको राजधानी राजगढतिर लाग्ने विचार गरे ।
त्यतिखेर त्यहाँका राजा बिम्बिसार थिए । यो त्यही ठाउँ थियो जसलाई ठूला दार्शनिक र विचारकहरूले आफ्नो मुकाम बनाएका थिए । यही सोचेर गङ्गाको तेज गतिमा हेलिँदै उनी पारि पुगे । बाटोमा उनले ब्राह्मण योगिनी साकी, पद्मा र ब्राह्मण योगी राइवताको कुटीमा शरण पाए । तीनै जनाले उनलाई प्रफुल्ल तुल्याए ।
यस्तो शानदार व्यक्तित्व र सुन्दर व्यक्ति संन्यासीको भेषमा देखेर बाटोमा भेटिने सबै जना आश्चर्यचकित हुन्थे । उनलाई देखेर हिँडिरहेका मान्छे टक्क रोकिन्थे, उभिरहेका मान्छे उनलाई पछ्याउँथे, बिस्तारै हिँडिरहेका मान्छे दौडन थाल्थे र बसिरहेका मान्छे जुरुक्क उठ्थे । कोही उनलाई नमस्कार गर्थे, कोही शिर निहु¥याउँथे, कोही प्रेमपूर्ण सम्बोधन गर्थे । उनलाई श्रद्धा नगरी हिँड्ने कोही हुँदैनथे ।
लामो यात्रा गरेर उनी पाँचवटा पहाडले घेरिएको राजगढ पुगे । त्यहाँ उनले पाण्डव पहाडमुनि स्याउलाले बारेर एउटा छाप्रो बनाए । कपिलवस्तुदेखि ४०० माइल हिँडेरै उनी राजगढ पुगेका थिए ।
शान्तिको खबर
सिद्धार्थ राजगढमा रहेकै बेला अन्य पाँच जना संन्यासीले उनकै कुटीनिर आफ्ना लागि कुटी खडा गरे । यी पाँच संन्यासी कौडिन्य, अस्वजित, काश्यप, महानाम र भादुका थिए । सिद्धार्थको व्यक्तित्व देखेर ती पनि आश्चर्यचकित थिए । केले यिनलाई संन्यासी बनायो होला भनेर ती पनि घोरिइरहन्थे । एक दिन तिनले उनका बारे सोधे । उनले बताइदिए ।
‘हामीले पनि तपाईंको निर्वासनबारे सुनेका थियौँ । तपाईं हिँडेपछि के भयो भन्ने तपाईंलाई थाहा छैन ?’ तिनले साधे । सिद्धार्थलाई थाहा थिएन ।
सिद्धार्थ हिँडेपछि कपिलवस्तुमा प्रस्तावित युद्धविरुद्ध ठूलो आन्दोलन भयो । सबै उमेर र समूहका मान्छेले दिनदिनै युद्धविरोधी प्रदर्शन थाले र सिद्धार्थको विचारको समर्थन गरे । ‘कोलिय हाम्रा दाजुभाइ हुन्’ ‘दाजुभाइ युद्ध नगरौँ’, ‘सिद्धार्थको आग्रहलाई नभुल’ जस्ता नारा लेखिएका झन्डा बोकेर तिनले प्रदर्शन गरे ।
शाक्य सङ्घ अर्को सभा डाक्न बाध्य भयो । बहुमत कोलियसँग शान्ति सम्झौता गर्ने पक्षमा उभियो । शान्ति वार्ताका लागि पाँच जना चुनिए । यो सुनेर कोलियहरू पनि खुसी भए । कोलियहरूले पनि पाँच जनाको वार्ता समिति बनाए । वार्ता सफल भयो र रोहिणी नदीको पानीसम्बन्धी भविष्यमा हुनसक्ने विवादसमेत समाधान गर्न स्थायी परिषद् बन्यो । यसरी युद्धको खतरा ट¥यो ।
संन्यासीहरूले भने, ‘तपाईं अब किन संन्यासी बनिरहनुहुन्छ ? आफ्नै दरबार फर्किनुभए भइहाल्छ नि !’
सिद्धार्थले भने, ‘यो सुनेर बहुतै खुसी लाग्यो । यो मेरो जित हो । तर अब म घर फर्कन्नँ । म संन्यासी नै हुन्छु । तपाईंहरूको योजना के छ ?’
‘हामी तपस्या गर्छौं । कि तपाईं पनि हामीसँगै तपस्या गर्नुस् !’
‘म पहिला अर्कै अभ्यास गर्छु ।’
नयाँ मोड
कोलिय र शाक्यबीच शान्ति कायम भएको खबरले सिद्धार्थ दोधारमा परे । अझै संन्यासी बनिरहनुको कुनै अर्थ छ भनेर उनले निकै सोचविचार गरे ।
मैले मेरा जनतालाई किन छाडेँ ? उनले आफैलाई सोधे । युद्धको विरोध गरेका कारण उनले दरबार छाडेका थिए । युद्ध त भएन । तर के उनको समस्या समाधान भयो ? गहिरो सोचविचारपछि उनले आफैलाई भने, छैन ।
‘युद्ध मूलतः द्वन्द्वको समस्या हो । युद्ध समस्याको एउटा सानो अंश मात्र हो । यहाँ राजा र राष्ट्रबीच मात्र द्वन्द्व छैन, कुलीन र ब्राह्मण, परिवार–परिवार, आमा र छोरा, बाबु र छोरा, दिदी र भाइ, साथी–साथीबीच पनि द्वन्द्व छ । यही नै संसारमा सारा दुःखको जड हो । हो, मैले युद्धको विरोधमै घर छाडेको हुँ । तर अब म सुखको जीवन बिताउन घर फर्कन सक्दिनँ । मेरो समस्या अझै व्यापक भएको छ । मैले सामाजिक द्वन्द्वको समाधान पत्ता लगाउनु छ ।’
‘के पुराना दर्शनहरूले यसको समाधान गर्छन् ?’
के उनी यीमध्ये कुनैलाई स्वीकार्न सक्छन् ? उनले आफै यी सबको परीक्षण गर्ने अठोट गरे ।
अङ्ग्रेजीबाट अनुवाद : अभय श्रेष्ठ
मधुपर्क असार २०७७