तुल्सीदास महर्जन
कालम सूत्रमा बुद्ध भन्छन्, ‘आऊ कालम ! परम्परादेखि भनिआएको, चलिआएको, धर्मग्रन्थसँग मेल खाएको, तर्कसङ्गत, न्यायसङ्गत भएको, सुन्दर देखिएको, मन परेको, आकर्षक व्यक्तिले भनेको, श्रवणपुज्य भएको कारणले मात्र त्यसलाई ग्रहण नगर । आफै जान्नू कि यो कुशल छ, प्रशंसनीय छ, ग्रहण गर्नाले हितसुख हुन्छ, तब मात्र त्यसलाई ग्रहण गर ।’
सूत्रपिटकभित्रको अङ्गुत्तर निकायमा उल्लेख भएको यो विचार गौतम बुद्धले कालम कुलका मानिसहरूलाई दिएको शिक्षाको एक अंश हो । यसमा घोत्लिँदा उनी सत्यलाई आफैले नबुझी ग्रहण गर्नु बेठीक हुन्छ भन्ने पक्षमा रहेको प्रस्ट हुन्छ । ठूला मान्छेले भनेको, सुन्दर प्रस्तुति भएको र ठूला एवं सबैले मानिआएको, ग्रन्थमा उल्लेख भएको कुरालाई सत्य मान्ने प्रवृत्ति आज पनि उत्तिकै छ । सत्य त्यसरी बुझ्न सकिन्न र व्यवहारमा लागू गर्न त झनै मिल्दैन भन्ने शिक्षा बुद्धले दिएका छन् । कुनै पनि विचार एवं विषयवस्तु कुरा गर्नका लागि होइन, व्यवहारमा लागू गर्नका लागि महìवपूर्ण हुने हो । त्यसैले कुनै विचार सही या गलत खुट्याउन त्यो कुरो व्यवहारमा लागू हुन्छ वा हुन्न भनेर आफैले सोची जान्ने वा अनुभव गर्नुपर्ने हुन्छ भन्ने आशय बुद्धको हो । विचार, सिद्धान्त वा दर्शन कुरै गर्नका लागि नभई मानव जीवन र समाजलाई सकारात्मक र सही दिशामा अगाडि बढाउनका लागि हुनुपर्छ, बकवासका लागि होइन । यसै सन्दर्भमा कार्ल मार्क्स भन्छन्, “दार्शनिकहरूले संसारलाई विभिन्न कोणबाट व्याख्या मात्रै गरे । तर मुख्य कुरा त्यसलाई बदल्नु हो ।” (कार्ल मार्क्स, फायरबाखबारे एघार थेसिस) ।
सही विचारको अर्थ
सही विचारको अर्थ मानव जीवन र समाजलाई सही दिशामा अगाडि लानु वा सही रूपमा बदल्नु हो भन्नेमा बुद्ध र मार्क्स सहमत छन् । बहस र छलफलमै सीमित हुने विचारहरूको कुनै महìव नभएको र त्यस्तो कार्य गर्नु निरर्थक हुनेमा दुवै एकमत देखिन्छन् । सही विचार के हो, कहाँबाट प्राप्त हुन्छ भन्ने सवालमा बुद्ध र मार्क्सले आआफ्नै किसिमको अध्ययन, अनुसन्धान तथा चिन्तन–मनन गरे । बुद्ध ईसापूर्व ६ सय वर्षअघिका हुन् । मार्क्स १९औँ शताब्दीका । कालको हिसाबले ती दुईबीच २ हजार ५ सय वर्षको दूरी थियो । बुद्ध प्राचीन र प्रारम्भिक प्रविधि मात्र रहेको दासयुगीन समाजका थिए । मार्क्स विज्ञान तथा आधुनिक मेसिन र विकसित पुँजीवादी समाजका । परिवेशको हिसाबले पनि ती दुईबीच ठूलो दूरी थियो । तर दुवैले विचारलाई गन्थनको विषय मात्र नबनाई मानव समाजको कल्याणका लागि सही मार्ग पहिल्याउन प्रयोग गरे ।
संसारको विषय
दार्शनिक दृष्टिले विश्वमा दुईवटा संसार छन् । एउटा भौतिक संसार, जसलाई बाह्य जगत् भन्न सकिन्छ । अर्को, चेतना, चित्त वा मनको संसार, जसलाई आन्तरिक जगत् भनिन्छ । बुद्धले समग्रमा विश्वलाई बुझ्न आन्तरिक जगत्लाई खोतल्ने तथा अनुभव गर्ने काम गरे ।
बुद्धले आन्तरिक जगत्भित्र रही शाश्वत सत्य पत्ता लगाउन ध्यान विधि प्रयोग गरे । उनले ध्यानमा लीन भई मनलाई असीम एकाग्रतामा लगेर पदार्थको वास्तविक रूप, उदय र क्षय, सांसारिक वस्तुको मानवसँगको सम्बन्ध, मानव चेतना एवं मन, चित्त, चित्त र सांसारिक वस्तुबीचको सम्बन्ध, मानव शरीर एवं जीवनका दुःख–सुखको उदय र क्षय आदि पदार्थ तथा जीवनबारेका सम्पूर्ण एवं समग्रको यथार्थ ज्ञान आफ्नै अनुभवबाट बोध गरे । केवल तर्कबाट नभई आफ्नै चित्त (चेतना वा मन) ले बोध गरे । बुद्धलाई तथागत भनिन्छ । तथागतको अर्थ तथ्यबारे अवगत भएका भन्ने हो । भगवानको अर्थ पनि जीवन र जगत्बारेको सत्यतथ्य बुझेका वा जानेका भन्ने हो । तसर्थ बुद्धलाई भगवान् पनि सम्बोधन गरिन्छ तर ईश्वर भनिँदैन । उनी ईश्वरको अस्तित्वबारे बहसमा लागेर समय बार्बाद गर्नु नहुने उपदेश दिन्थे । कर्मको सिद्धान्तद्वारा मानवले आफ्नो भविष्य आफैले निर्माण गर्नुपर्छ भन्थे । कसैको भविष्य कुनै ईश्वरले निर्धारण गर्ने होइन, बरु कसैको भविष्य उसको कर्मबाट निर्धारित हुन्छ भन्थे । राम्रो भविष्य चाहनेले कुशल कर्म गर्नुपर्ने उनको तर्क थियो ।
बुद्ध स्वयं कुनै ईश्वर वा भगवान्को भक्ति तथा पूजाका विरोधी थिए । उनले जनतालाई कुशल कर्ममा जोड दिए । उनी आफूलाई तथागत एवं भगवान् त मान्थे तर ईश्वर मान्दैनथे । त्यसैले उनले आफ्नो मूर्ति तथा चित्र बनाउने कार्यमा प्रोत्साहन कहिल्यै गरेनन् । त्यसैले बुद्धको महापरिनिर्वाण भएको झन्डै ५ सय वर्षसम्म बुद्धको कुनै चित्र वा मूर्ति बनेन । बुद्धको मूर्ति भारतवर्षको कुशान शासनकाल अर्थात् ईसाको पहिलो शताब्दीतिरबाट बन्न थालेको हो । अहिले पाकिस्तानमा पर्ने बुद्धकालीन सहर गान्धारमा बुद्धको पहिलो मूर्ति बनेको हो ।
भारतवर्षमा अलौकिक ईश्वरलाई मान्ने, भक्ति गर्ने, पूजा गर्नेजस्ता संस्कार बुद्धभन्दा अगाडि वैदिक कालदेखि नै चल्दै आएको हो । वैदिक धर्म र संस्कारलाई पछि हिन्दु धर्म भनियो । भारतीय समाज वैदिक संस्कारबाट पूर्णतः भिजेको थियो । तसर्थ इतिहासमा, परिवर्तित समयमा बौद्ध धर्मलाई जीवित राख्न विभिन्न सम्यका बौद्ध समाजले वैदिक संस्कारसँग सम्झौता गर्नुपर्ने स्थिति सिर्जना भयो । पाँचौँ शताब्दीमा महायान र एघारौँ शताब्दीतिर वज्रयान बौद्ध धर्मको विकास सँगसँगै बौद्ध परम्परामा विभिन्न नयाँ नयाँ अवधारणा थपिए । बहुबुद्धको अवधारणा, तन्त्रयानको अवधारणा, महायानमा बोधिसत्वहरूको पुनर्जन्मको अवधारणा र विश्वास आदि कुराले बौद्ध धर्मको रूपमा निकै ठूलो परिवर्तन आयो । वज्रयानमा तन्त्रयानको विधिविधानअनुसार जन्मदेखि मृत्युसम्मका संस्कार सिर्जना भए जुन पूजाआजामा पूर्ण रूपमा हिन्दु संस्कारबाट प्रभावित देखिन्छ ।
दार्शनिक दृष्टिकोण र बौद्ध ग्रन्थहरूलाई अध्ययन गर्ने हो भने अझै पनि बुद्ध ईश्वरको रूपमा छैनन् । बुद्धलाई पूजा होइन उनका विचार तथा आदर्शलाई व्यवहारमा लागू गर्नु नै मुख्य महìवपूर्ण कुरा हो । विपस्सना गुरु सत्यनारायण गोयन्काले नेपाललगायत विश्वका सयौँ मुलुकमा स्थापना गरेका विपस्सना ध्यान केन्द्रहरूमा त्यसरी बुद्धलाई ईश्वरको रूपमा पूजा गर्ने चलन देखिँदैन । उनले बुद्धको वास्तविक व्यवहारलाई पछ्याएका हुन सक्छन् ।
मार्क्सले संसारलाई बुझ्न बाह्य भौतिक जगत्कै नियमलाई नियाले । गौतम बुद्धका पालामा साइन्स (यहाँ विज्ञान शब्द प्रयोग गरिएन, किनकि बौद्ध साहित्य एवं पूर्वेली दर्शनमा विज्ञानको शाब्दिक अर्थ चेतना, चेतनाका अवयवहरू वा मन हो) को उदय भइसकेको थिएन । संसारको इतिहासमा साइन्स जन्मनुभन्दा धेरै शताब्दीअघि अझ भन्ने हो भने सहस्राब्दीपूर्व नै दर्शनको उदय भएको हो । दर्शनको मूल विषय चेतना र त्यससँग सम्बन्धित कुराहरू नै हुन्थे । त्यसैले गौतम बुद्धले संसारलाई पढ्न र बुझ्न चेतनाभित्रको अर्थात् आन्तरिक संसारभित्र रहेर नै संसारको नियम बुझ्ने अनुसन्धान गरे । तर मार्क्स साइन्स युगका थिए । त्यसैले उनले संसारलाई पढ्न र बुझ्न भौतिक वस्तुभित्रको अर्थात् बाह्य संसारभित्र रहेर नै संसारको नियम बुझ्ने अनुसन्धान गरे ।
दुःखको कारण
बुद्धले विचारको केन्द्रीय विषयवस्तु मानवको दुःखलाई बनाए । यस सन्दर्भमा उनले सम्बोधि प्राप्त गरेपछि सारनाथमा पाँच भिक्षुहरूअगाडि गरेको पहिलो धर्मचक्र प्रवर्तनमा चार आर्यसत्यको उल्लेख गरे । यहाँ आर्यको अर्थ महान् वा सार्वभौम हो । ती आर्य सत्यहरू दुःख आर्यसत्य, दुःख समुदय आर्यसत्य, दुःख निरोध आर्यसत्य र दुःख निरोधगामी प्रतिपदा आर्यसत्य हुन् । यस दुःख सिद्धान्तमा बुद्धले दुःखलाई जीवनको अभिन्न अङ्गका रूपमा उल्लेख गरेका छन् । तर उनी दुःख कुनै कारण बिना नरहेको प्रस्ट्याउँछन् । साथै उनी दुःखको कारणलाई हटाएर दुःखको निरोध अर्थात् अन्त्य गर्न सकिने र यसका लागि उनी सही मार्ग अपनाउनुपर्ने उपदेश दिन्थे ।
उनी जीवनमा दुःख अविद्या वा अज्ञानले गर्दा उत्पन्न हुने, असीमित भोग गर्ने तृष्णाको कारण सिर्जना हुने बताउँछन् । यस सवालमा उनले कार्यकारणको एउटा विशिष्ट सिद्धान्त नै प्रतिपादन गरे । यसलाई प्रत्यीत्यसमुत्पाद भनिन्छ । प्रत्यय र समुत्पादको समासबाट प्रत्यीत्यसमुत्पाद बन्छ । प्रत्ययको अर्थ कारण हो भने समुत्पादको अर्थ कुनैको उत्पादन या उदय हो । यसको अर्थ हरेक उत्पादनपछाडि कुनै कारण हुन्छ भन्ने हो । कारणबिनाको कुनै उत्पादन हुन्न, कुनैको पनि उदय हुन्न । तर यहाँ प्रत्ययले कारणको भन्दा विशिष्ट अर्थ बोकेको छ । त्यो हो कुनैको उदयपछाडि कुनैको विनाश नै कारण बनेको हुन्छ । एउटाको विनाशपछाडि अर्कोको उत्पाद वा उदय हुने सिद्धान्त नै प्रत्यीत्यसमुत्पाद हो । तर यो कार्यकारणको सिद्धान्त अविच्छिन्न नभई विच्छिन्न खालको छ । यसको अर्थ प्रत्यीत्यसमुत्पादको प्रवाह एक अवस्थामा पुगेर विच्छिन्न हुन्छ अथवा टुङ्गोमा पुग्छ । बुद्धले त्यो अविच्छिन्न प्रवाह निर्वाणमा गएर टुङ्गिने उपदेश दिएका छन् । निर्वाण चित्तको त्यो अवस्था हो जहाँ भोगको तृष्णा शून्य हुन्छ । त्यस अवस्थामा कुनै पनि उत्पादनको गुन्जाइस हुन्न । चित्त सम्पूर्णमा नष्ट हुन्छ । दुःख सम्पूर्ण रूपले क्षय हुन्छ । यही सिद्धान्तलाई विस्तार गर्दै पछाडि ईसाको दोस्रो शताब्दीमा महान् बौद्ध दार्शनिक नागार्जुनले शून्यताको दर्शन प्रतिपादन गरे ।
बुद्धले दुःखलाई भोगको तृष्णाले उत्पन्न हुने नकारात्मक वेदनाका रूपमा अथ्र्याएका छन् । चित्तलाई तृष्णाबाट मुक्त गर्ने हो भने शारीरिक पीडा, कष्ट, अभाव, अपमान आदि कुनैबाट पनि दुःख उत्पन्न हुन्न भन्ने भाव दुःखको उदय र क्षयको व्याख्यामा बुद्धले दिएका छन् । दुःख सम्पूर्णमा चित्तसँग सम्बन्धित वेदनाको रूपमा उनले अथ्र्याएका छन् । त्यसैले उनी दुःख निरोधका लागि
पुद्गल (व्यक्ति)ले निर्वाणको लक्ष्य लिनुपर्ने, त्यसका लागि व्यक्तिले आर्य आष्टाङ्गिक (महान् आठवटा अङ्गको) मार्गमा हिँड्नुपर्ने उपदेश दिन्छन् । ती हुन् ः सम्यक्् (सही) दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् प्रयत्न, सम्यक् स्मृति र सम्यक् समाधि । दृष्टि र सङ्कल्प ज्ञानसँग, वचन, कर्म र जीविका शील वा नियमसँग र प्रयत्न, स्मृति र समाधि चाहिँ समाधिसँग सम्बन्धित छन् ।
दुःखबाट उन्मुक्ति
बुद्धले मानव जीवनमा हुने दुःखलाई बाह्य संसार (भौतिक यथार्थ)सँग सम्बन्धित गराएर हेरेनन् । उनले दुःखलाई नितान्त वेदनासँग जोडेर हेरे । यही कारण हो, उनले मान्छेलाई आन्तरिक संसारमा लगेर दुःखबाट उन्मुक्ति दिलाउन सकिने बाटो देखे । उनका सिद्धान्त र प्रयत्नअनुसार हरेकले निर्वाणको बाटो पछ्याएर नै दुःखलाई सदाका लागि अन्त्य गर्न सकिन्छ । यही मार्ग आम रूपमा अपनाउँदा नै सम्पूर्ण जीवनबाट दुःख हट्छ । उनले यो मार्ग पछ्याउन तत्कालीन दासयुगीन समाजका दास, किसान, श्रमिक, व्यापारी, राजा, महाराजालगायत सबैखाले जनसमुदायका लागि उपदेश दिए । उनको उपदेशले ती सबै खाले समुदायलाई प्रभावित पा¥यो । हजारौँ, लाखौँ मानिस निर्वाणको मार्गमा हिँड्न भिक्षु जीवनमा प्रवेश गरे ।
बुद्धमा सम्पूर्ण सत्व (जीवन) प्रति असीम करुणा थियो । त्यही करुणाकै कारण उनी सबैमा पे्रम गर्थे र दुःखको दलदलबाट निक्लने मार्गको उपदेश दिन्थे । उनले कसैलाई पनि कोही कसैले दुःखको दलदलबाट निकाल्न सक्दैन, स्वयंको कर्म र प्रयत्नले मात्र दुःखको अन्त्य हुने उपदेश दिन्थे । ईश्वरलाई पूजा गरेर दुःख अन्त्य हुन्न । दुःखको कारण पनि आफू नै निवारणकर्ता पनि आफू नै भएको उनी बताउँथे ।
बुद्धझैँ मार्क्स पनि करुणाका सागर थिए । उनले पनि मानव जीवनमा रहेको दुःख निवारण गर्न आवश्यक मार्ग प्रतिपादन गर्न र पछ्याउन आफ्नो सम्पूर्ण जीवन लगाए । फरक के छ भने मार्क्सले मानव जीवनमा दुःख हुनुको कारण बुद्धलेझैँ आन्तरिक संसारमा नभई बाह्य अथवा भौतिक संसारभित्रको यथार्थमा खोजे । उनले मानव समाज विकासको क्रममा विकसित सामाजिक संरचनाभित्रको वर्गीय चरित्र र त्यसले ल्याएको विभेदले दुःख उत्पन्न भएको देखे । मानव समाजको चरित्र व्यक्तिले भन्दा पनि वर्गले निर्धारण गरेको उनले देखे । उनले आन्तरिक संसारमा प्रवेश गरेर नभई बाह्य संसारको यथार्थ बुझेर नै दुःखको कारण पत्ता लगाए ।
बुद्धले भनेझैँ दुःखको कारणमा असीमित भोगको तृष्णा रहेकोमा मार्क्सको विमति देखिन्न । तर मार्क्सको सिद्धान्तको सारलाई बुझ्ने हो भने त्यस्तो तृष्णा पुँजीवादमा पुँजीजीवी वर्गसँग रहन्छ, जसले गर्दा उनीहरू त दुःखको भुमरीमा पर्छन् पर्छन्, यसभन्दा पनि त्यसले श्रमजीवी वर्गलगायत सर्वसाधारणलाई दुःखको झन् ठूलो खाडलमा खसाल्छ । तृष्णाकै कारण पुँजीजीवी वर्ग जहिल्यै श्रमिक वर्गको शोषण गर्न उद्धत हुन्छ । मानव समाजमा यही कारणले विभेद, असमानता, अशान्ति र दुःख छ । यस्तो अवस्था पहिले सामन्ती युगमा किसान वर्गलाई सामन्त वर्गले शोषण गर्दा र त्योभन्दा पनि अघि सभ्य मानव समाजको उदयको प्रारम्भिक चरणको दास युगमा दास वर्गलाई मालिक वर्गले चरम शोषण गर्दा उत्पन्न भएको थियो । जङ्गली युगको समाप्तिसँगै सुरु भएको कृषि युगबाटै वर्गीय समाजको सुरुवात हुन्छ । त्यो दासयुगीन समाज थियो । दास युगबाटै मानव समाज वर्ग विभाजित भयो । एउटा वर्गले अर्को वर्गलाई शोषण गर्ने परिपाटी सुरु भयो । मानव समाजमा दुःखको शृङ्खला त्यही बिन्दुबाट सुरु भएको मार्क्सको व्याख्या छ, (हेर्नुहोस् ः कम्युनिस्ट पार्टीको घोषणापत्र) ।
मार्क्सको सिद्धान्तको सार खिच्ने हो भने मानव समाजमा विद्यमान वर्ग र वर्ग विभेद नै दुःखको कारण हो । दुःख व्यक्तिको वेदनासँग मात्र सम्बन्धित नभई यो सामाजिक र सांस्कृतिक व्यवस्थासँग मुख्य रूपमा सम्बन्धित हुन्छ । बुद्धले दुःख निरोध गर्न व्यक्तिले निर्वाणको मार्ग पछ्याई तृष्णालाई शून्य बनाउनुपर्छ भन्ने उपदेश दिएका छन् भने मार्क्सले दुःख मुख्य रूपमा वर्गीय समाजको संरचनासँग गाँसिएको हुने भएकाले समाजमा वर्गको अन्त्य नै यसको सही र अन्तिम समाधान हो भनेका छन् । दुःख निवारणको लक्ष्य बुद्ध र मार्क्स दुवैको भए पनि त्यो लक्ष्यमा पुग्ने बाटो भने एउटै छैन । दुःख निवारणका लागि बुद्धले व्यक्ति (चित्त)को आन्तरिक प्रयत्नलाई निर्विकल्पको रूपमा प्रस्तुत गरेका छन् भने मार्क्सले सामाजिक परिवर्तनलाई निर्विकल्पको रूपमा प्रस्तुत गरेका छन् ।
बुद्ध दास युगका थिए । तत्कालीन सम्यका राजा महाराजा भनेकै दास मालिकहरूका नेता हुन्थे । तर दास युगपछिको सामन्ती कालमा झैँ राजाका जेठा छोरा नै उत्तराधिकारी हुने प्रणाली दासयुगीन बुद्धकालमा थिएन । राजाले तोकेर वा निर्वाचन गराएर राजाका उत्तराधिकारी चयन गर्ने चलन थियो । समाजमा प्रतिष्ठित धनीमानी भनेका कि दास मालिक हुन्थे कि व्यापारी । उद्योग र उद्योगपतिहरूको खासै विकास भएको थिएन । कृषि उपजबाहेक भाँडाकुँडा, औजार, लत्ताकपडा तथा अन्य उपभोग्य वस्तु सानासाना व्यक्तिगत उत्पादकहरूले प्रारम्भिक सीप प्रयोग गरी उत्पादन गर्थे । बजारमा ती वस्तु नै बिक्रीका लागि राखिन्थे । खाद्यान्नलगायत धेरै उपभोग्य वस्तुको विनिमय वस्तुमै हुन्थ्यो । बजारमा विनिमय साधनका रूपमा सिक्काहरूको पनि प्रयोग हुन्थ्यो । तत्कालीन अवस्थामा दास अर्थप्रणालीद्वारा नै राजनीतिक तथा सामाजिक व्यवस्था सञ्चालित हुन्थे । दास अर्थप्रणालीमा उत्पादनका प्रमुख वस्तु कृषि उपज थियो । कृषिमा प्रारम्भिक औजारहरू नै उत्पादनको साधनका रूपमा प्रयोग हुन्थे । तर भूमि एवं कृषि औजारहरू र भूमिमा काम गर्ने दासहरूसमेत मालिकको सम्पत्तिका रूपमा हुन्थे ।
बुद्धकालीन अर्थप्रणालीमा उत्पादनको प्रमुख साधनका रूपमा रहेको भूमि मूलतः गाउँका किसान समुदायको स्वामित्वमा रहन्थ्यो । राज्य चलाउन ती भूमिहरूबाट उत्पादनको १० प्रतिशत कुत राज्यले लिन्थ्यो । राज्यलाई कुतका रूपमा कृषि उपज नै उपलब्ध गराउनुपथ्र्यो । तर ती गाउँलेहरूले राजाको भूमिमा राजकार्यको नाममा सित्तैँ काम गरिदिनुपथ्र्यो । त्यहाँबाट भाग्न मिल्दैनथ्यो । एक हिसाबले उनीहरू राजकार्यका लागि दास नै हुन्थे । यस हिसाबले भूमिको वास्तविक मालिक राजा नै हुन्थे । अर्को, गाउँलेहरूले पाएको जमिनबाहेक अन्य सबै जमिन,
जङ्गल तथा बाँकी सबै प्राकृतिक कुराहरूमा राजाकै हक हुन्थ्यो । (हेर्नुहोस् ः प्बलष्पब द्य, ज्ष्कतयचथ या तजभ द्यगममजष्कत भ्अयलयmथरक्ष्लमष्बरज्ष्कतयचथ)
जनसङ्ख्याको आकार सानो, कृषि उपज नै उपभोगको मुख्य वस्तु र प्राकृतिक स्रोत साधन ज्यादा भएको कारण बुद्धकालीन समाजमा मानिसहरू उपभोग्य वस्तुको अभावकै कारणले चरम विभेदमा रहेको देखिन्न । तसर्थ वर्गीय कोणबाट सामाजिक विभेद र शोषणलाई प्रस्टसँग बुझ्ने चेतनाको विकासका लागि पर्याप्त आधार तयार थिएन । तर समाजमा दुःख थियो । मानिसहरूको इच्छा पूरा नभई हुने दुःख थियो । ईष्र्या, मोह, लालच, घमण्ड, भय, त्रास आदिका कारण दुःखबाट मानिसहरू आक्रान्त नै थिए । मानिसहरू दुःखको कारण सामाजिक व्यवस्था र राजनीतिमा खोज्ने तहको चेतनामा थिएनन् । राजामहाराजा र शासकहरूलाई त पालनहार मान्ने चलन थियो ।
बुद्धको युग दर्शन विकासको युग थियो । दर्शनले मूलतः मन तथा चेतनाभित्रबाटै सबै समस्याको हल गर्ने प्रयत्न गरिन्थ्यो । भौतिक घटना, परिघटनाको अध्ययन, अनुसन्धान तथा विश्लेषण गर्ने उन्नत चेतनाको अभाव थियो । समग्रमा भन्नुपर्दा साइन्सको जन्म हुन बाँकी थियो । त्यसैले जीवनमा दुःख हुनु, त्यसको कारण हुनु, त्यसलाई निरोध गर्न सकिने पनि हुनु र निरोधका लागि मार्गहरू हुन्छन् भन्ने कुरामा बुद्ध र मार्क्स दुवैको विचार एउटै भए पनि दुःखको कारण र त्यसलाई निरोध गर्ने मार्ग एउटै नहुनु स्वाभाविक हो ।
दुःख हटाउन कुनै ईश्वर आउँदैन वा ईश्वरको पूजा गरेर दुःख हट्दैन, त्यसका लागि आफू स्वयंले प्रयत्न गर्नुपर्छ भन्नेमा बुद्ध र मार्क्स दुवै एकमत देखिन्छन् । बुद्धको प्रत्यीत्यसमुत्पादको सिद्धान्त कार्यकारणको विशिष्ट सिद्धान्त हो । यो उनको सम्पूर्ण दर्शनको आधार हो । (हेर्नुहोस् ः सांकृत्यायन, राहुल, बौद्ध दर्शन) । त्यसले प्रतिक्षण बदलिरहने वस्तु तथा घटनामा एउटाको निषेधमै अर्कोको उदय हुने व्याख्या गर्छ । प्रत्यीत्यसमुत्पादले जीवन निरन्तर प्रतिक्षण विनाश र उत्पाद (नयाँको उदय) को प्रवाहमा रहेको व्याख्या गर्छ । प्रत्यीत्यसमुत्पादको यो व्याख्या र मार्क्सको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तमा व्याख्या गरिएको वस्तु विकासको नियम निषेधको निषेधमा समानता छ ।
अन्त्यमा
बुद्धले अरूलाई हानि नपु¥याउने व्यक्ति निर्माण गर्ने सिद्धान्त ल्याएका हुन् । मार्क्सले समाजलाई वर्गविहीन बनाएर व्यक्तिलाई बुद्धले भनेअनुसार मानव निर्माणको पृष्ठभूमि तयार गर्ने सिद्धान्त प्रतिपादन गरेको अनुभूति हुन्छ । तसर्थ, मानव जातिलाई करुणा राख्ने इतिहासका यी दुई महान् व्यक्तित्वहरूको विचारलाई तुलनात्मक अध्ययन गर्नु आजको समयमा सान्दर्भिक देखिन्छ ।
मधुपर्क असार २०७७