logo
२०८१ मंसिर ९ आईतवार



नजिकको मान्छे (कथा)

कला |


नजिकको मान्छे (कथा)


राजव


तीन दिनपछि उसलाई कोठाबाट निकालिएको थियो । भित्रको स्थिति भयानक थियो । जसले देखेको थियो त्यो अत्यन्त आत्तिएको थियो । त्यो भन्थ्यो, कोठाका झ्याल ढोका बन्द थिए । टेबुल ल्याम्प अफ थियो । मध्य जुलाईको मध्याह्न थियो । सूर्य आकाशको थाप्लोमा पुगेको थियो । बादलको छेकबार थिएन । तर कोठामा बाहिरको प्रकाशले प्रवेश पाएको थिएन । किनभने झ्यालको ब्लाइन्ड पूरै झारिएको थियो । ढोका खोलेपछि मात्र बाहिरको प्रकाश भित्र पसेको थियो । र ऊ देखिएको थियो ।
यसअगाडि ऊ कहाँ छ कसैलाई थाहा थिएन । जब चासो लिएर उसको ढोका खोलियो एकदम अत्याउने दृश्य देखियो । ऊ डुङ्डुङ्ती गन्हाउन थालिसकेको थियो ।
ऊ तीन तले बिल्डिङको तेस्रो अपार्टमेन्टमा थियो । यसमा तीन कोठा थिए । ऊ दक्षिणपट्टिको कोठामा बस्थ्यो । उत्तरपट्टि दुई कोठा थिए । तिनमा तीन तीनका दरले छ केटाहरू बस्थे । तीमध्ये त्यस अपार्टमेन्टमा बस्ने सबभन्दा पाको र पुरानो ऊ नै थियो । जुन दिन ऊ कोठामा गन्हाइरहेको थियो त्यसको तीन दिनअघि उसको उनान्सत्तरीऔँ जन्मदिन पनि थियो ।
पहिलो पटक त्यो जसले उसको कोठाको ढोका खोलेको थियो उसको हालत देखेर आत्तिँदै त्यसले फेरि ढोका ढप्क्याइदिएको थियो । त्रासमा त्यसका मुटु, कलेजो थर्किएका थिए  । तीसँगै उसका खुट्टा पनि कामिरहेका थिए । हात कमाउँदै उसले खल्तीको सेल फोन झिकेको थियो र त्यसको किप्याडमा इमर्जेन्सी सेवाको ९११ नम्बर पन्च गरेको थियो  । पन्च सकिनासाथ उसको कानमा ९११ की महिला डिसप्याचरको स्वर आएको थियो, ‘हलो ९११, हु इज कलिङ ?’
उसका जिब्रो सुकेर तालुमा पुग्दै थिए । ऊ उग्र आत्तिएको थियो । यो हालमा उसको त्रासद स्वर निस्किएको थियो, ‘म... म ।’
यसपछि पनि केही भन्न नसकेर उसको मुखबाट म म मात्र निस्किरहेको थियो । डिसप्याचरले उसलाई भन्न प¥यो, ‘काम डाउन, टेक अ ब्रेथ, से मी ह्वाट ह्यापेन्ड ?’
त्रासले उसको शरीर यथावत कामि नै रहेको थियो । ऊ पसिनाम्मे भइसकेको थियो । उसले माउथपिसमा छोडिरहेको तीव्र गतिको सास सुनेर उसको मानसिक अवस्था डिस्प्याचरले बुझिरहेकी थिई । त्यसकारण डिस्प्याचरले फेरि उसलाई भन्नुपरेको थियो,
‘काम डाउन, बी पेसेन्ट, भन के भयो ?’
उसले हिम्मत गरेर डिस्प्याचरलाई विक्रम शर्माको अवस्था सुनाउन थालेको थियो । तर बोल्दाबोल्दै ऊ ठप्प अडिएको थियो । भित्रको चर्को डरले उसको बोली अँठ्याएको थियो । फेरि डिस्प्याचरले उसको बोली खुलाउन भन्न प¥यो, ‘शान्त होऊ, डराउनुपर्दैन ।’
उस्तै चढ्दो स्वाँ स्वाँ स्वरमा उसले भनेको थियो,’ ओके म्याम ।’
‘ह्वाट्स योर नेम ?’
अत्यासमा झुक्किएर उसले आफ्नो सट्टा विक्रम शर्माको नाम भन्यो,
‘विक्रम शर्मा  ।’
‘एन्ड बडिज ?’
‘विक्रम शर्मा’
‘हाउ कम ? यु एन्ड बडिज सेम नेम ?’
‘नो नो म्याम माई नेम इज रघु ।’
‘ओके, नाउ टेल मी रघु योर एड्रेस  ।’
हल्का हुने कोसिस गर्दा गर्दै उसले उस्तै त्रासद हडबडीमा भनेको थियो, ‘१२ सिटी याभ मेडफोर्ड ०२१४५  ।’
डिस्प्याचरले उसले भनेको आधा मात्र सुनी सायद त्यसकारण उसलाई भनेकी थिई, ‘से अगेन, वान बाई वान स्लोली ।’
सम्हालिन खोज्दै उसले फेरि भन्यो, ‘१२ सिटी एभ नम्बर टेन  ।’
‘हँ हँ, एन्ड टाउन ?’
‘मेडफोर्ड ।’
‘स्टेट ?’
‘म्यासाचुसेट ।’
‘जिप कोड ?’
‘०२१४५ ।’
‘ओके, गुड इनफ ।’
उम्किने हतारोमा उसले भन्यो,
‘थ्याङ्क यु ।’
‘नट यट, नो रस,’ भन्दै डिस्प्याचरले उसलाई भनी,’ नाउ, राम्रोसँग सुन, बडी भएको कोठामा अब नपस्नू । ‘डिस्प्याचरले अरू कुरो भन्न नपाउँदै अघि हतारिएर थ्याङ्क यु भनेजस्तै हडबडाएर ऊ फेरि प्वाक्क बोलेको थियो,’ पसेको छैन ।’
यो गल्तीमा डिस्प्याचरले उसलाई हप्काउन परेको थियो,
‘लिसन फस्ट ।’
‘हस् ।’
‘ओके, नाउ लिसन ।’ भन्दै डिस्प्याचरले उसलाई सम्झाएकी थिई, ‘लास भएको कोठामा फेरि नपस्नु, त्यहाँको कुनै कुरा नछुनु, लिभ एभ्रिथिङ याज इट इज ओके ?’
‘ओके म्याम ।’
‘पुलिस, प्यारा मेडिक र फायर फाइटरहरू आउँदै छन्, दे आर अन द वे, स्टे काम, वेट फर देम, ओके ?’
‘ओके म्याम ।’
‘गुड, तिनीहरू नआउन्जेल यताउता कतै नजानू त्यहीँ बसिरहनू, डन्ट मुभ  ।’
‘हस  ।’ यस पटक उसले म्याम भन्न बिस्र्याे ।
यसपछि उसले अलि सुविस्ताको सास फेरेको थियो । तर उसका अन्य भित्री शारीरिक यन्त्रहरूको हाल यथावत त्यस्तै थिए । ऊ भित्रैदेखि कामिरहेको थियो ।
एकाएक बाहिर एकसाथ ल्याडरको, पुलिस कारको र एम्बुलेन्सको साइरन सुनियो । यो दस मिनेट पछिको कुरो थियो । तीन किसिमका सर्भिस वाहनले बजाएको साइरन सुनेर ऊ झन् आत्तिन थाल्यो । पसिनाम्मे हुँदै ऊ सोच्दै थियो,’ अब ठूलो झन्झटमा फस्ने भएँ ।’ उसको जिब्रो च्याप च्याप हुन थाल्यो । सोह्र वर्षअगाडि ऊ मेक्सिकोको बोडर क्रस गरेर अमेरिका छिरेको थियो । त्यसबेला उसलाई अमेरिकी बोर्डर पेट्रोल पुलिसहरूले टेक्ससको अल्पासोको सीमामा समाएका थिए । त्यस्तोबेला पनि ऊ त्यत्तिको आत्तिएको थिएन ।
उसको अपार्टमेन्ट बिल्डिङबाहिर सडकमा दमकल, पुलिस कार र एम्बुलेन्स आएर अडिए । आआफ्ना बाहनबाट पुलिस, फायरफाइटर र प्यारामेडिक फटाफट ओर्लिए र धमाधम अपार्टमेन्टभित्र छिरे  । माथि उक्लिरहेको तिनको बुटका पदचाप सुनेर ऊ झन् आत्तिँदो थियो ।
पुलिस, प्यारामेडिक र फायरफाइटर आइपुग्दा ऊ कोठा बाहिरको प्यासेजमै थियो । डिसप्याचरले अह्राएअनुसार ऊ हल्लिएको पनि थिएन । ऊ विक्रम शर्माको कोठाको ढोका बाहिरै थियो । उसको अन्तर यथावत कामिरहेको थियो । यस्तो हालतमा तिनलाई ग्वारग्वार्ती आएको देखेपछि उसको मुख खुल्न नसक्ने अवस्थामा सुकेको थियो । छ फुट डेढ इन्चको अग्लो दोहोरो दारको भुँडे पुलिसले उसलाई सशंकित नजरले हेर्दै सोधेको थियो, ‘ह्विच रुम ?’
उसले आफू अगाडिको विक्रम शर्माको कोठाको ढोका देखाउन मुख चुच्यायो । यो सङ्केत बुझेर पुलिसले भन्यो, ‘थ्याङ्क यु ।’
प्यारामेडिक, पुलिस र फायरफाइटर सबले मास्क लगाए । मेडिकल पन्जा भिरे । उसका लागि ती झन् डरलाग्दा देखिए । जुन पुलिसले ऊसँग ‘ह्विच रुम ?’ सोधेको थियो त्यसले ढोकाको खापा खोल्यो । ढोका खुल्नासाथ भित्रबाट भयानक दुर्गन्ध निस्क्यो । उसले हत्तपत्त दाहिने हातले नाक मुठ्यायो । बेहाल कोठा हेर्दै त्यै पुलिसले सोध्यो, ‘तँ भित्र पस्या थिस् ?’
‘अहँ  ।’
‘केही छोइस्, टिपिस्, फालिस् ?’
‘नो सर, म भित्र पसेकै छैन सर ।’
‘यो तेरो नाताको मान्छे हो ?’
‘नो ।’
‘साथी ?’
‘नो ।’
‘अनि तँ यहाँ किन ?’
‘म यहीँ पल्लो कोठामा बस्छु  ।’
‘तँसँग अरू को बस्छन् ?’
‘दुई साथी छन्  ।’
‘त्यो कोठामा नि ?’
‘त्यहाँ पनि तीन जना बस्छन्  ।’
‘तिनीहरूलाई पनि बोला  ।’
‘यस बेला कोही छैनन् सर ।’
‘किन ?’
‘सब काममा गएका छन्  ।’
‘के काम गर्छन् ?’
‘रेस्टुरेन्टमा सर ।’
‘सबका सब ?’
‘हो सर ।’
‘अनि तँ ?’
‘म पनि रेस्टुरेन्टमा गर्छु सर ।’
‘के गर्छस् ?’
‘डिसवासर हुँ सर  ।’
‘अनि तँ आफू चाहिँ काममा किन नगएको नि ?’
‘आज मेरो डे अफ हो सर ।’
‘ओके, यो कहिले मरेको हो ?’
‘थाहा छैन सर ।’
‘कसरी थाहा छैन, तँ पनि यहीँ, ऊ पनि यहीँ बस्ने भएपछि ?’
‘म त पल्लो कोठामा बस्छु नि सर ।’
‘चोटा त एउटै हो नि ।’
‘त्यो त हो सर तर ऊसँग हाम्रो मुस्किलले भेट हुन्छ ।’
‘कसरी ?’
‘हामी बिहान उठ्दा ऊ आफ्नो काममा गइसकेका हुन्थ्यो, हामी कामबाट फर्कंदा ऊ सुतिसकेका हुन्थ्यो ।’
‘के काम गथ्र्यो यो ?’
‘ग्याँस स्टेसनमा सर ।’
‘काँ ?’
‘मोबिल ग्याँस स्टेसन ।’
‘कुन ठाउँ ?’
‘ब्रुक्लाइन ।’
‘ऊसँग पछिल्लो पटक तेरो कहिले भेट भएको थियो ?’
‘लास्ट मन्थ सर ।’
‘कुन बार ?’
‘आजकै बार ?’
‘आज के बार ?’
‘मङ्लबार सर ।’
कोठाभित्र पसेका फायरफाइटर र प्यारामेडिकहरूले विक्रम शर्माको लास प्लास्टिकले बेर्न थालेका थिए  । पुलिसको क्यामराम्यान भित्रको सम्पूर्ण अवस्थिति र वस्तुहरूको फोटो खिच्दै थियो  ।
बाहिर त्यही पुलिस ऊमाथि प्रश्नहरू वर्षाइरहेको थियो । आत्तिएको स्वरमा ऊ त्यसलाई जानेको जवाफ दिइरहेको थियो ।
‘तैँले यो मरेको कहिले थाहा पाइस् ?’
‘अहिले आधा घण्टा अगाडि ।’
‘योभन्दा पहिले ।’
‘अहँ ।’
‘अनि आज कसरी चाल पाइस् ?’
‘उसलाई घरभाडाको चेक दिन ढोका ढकढक्याउँदै खोल्दा उसलाई त्यस्तो हालतमा देखेको हुँ सर ।’
‘के ऊ ल्यान्डलर्ड हो ?’
‘नो सर ।’
‘अनि किन ?’
‘अपार्टमेन्टको लिज उसैको नाममा छ, त्यसैले हामी हाम्रो भागको भाडाको चेक उसलाई दिन्छौँ, सबैको चेक कलेक्ट गरेर ल्यान्डलर्डलाई भाडा ऊ नै पठाउँथ्यो ।’
कोठाभित्र छिरेकाहरू अन्तिम प्याकअप गर्दै थिए । बाहिर उग्र तर्सिरहेको रघुसँग पुलिस पूर्ववत सोध्दै थियो, ‘तँ कहाँबाट आएको होस् ?’
‘नेपाल ।’
‘अनि त्यो ?’
‘त्यो पनि नेपालकै हो सर ।’
‘सेम कन्ट्री ?’
‘यस सर ।’
‘ओके, गुड इनफ ।’
यसपछि पुलिसले ऊसँग सोध्न छोड्यो ।
भित्र पसेका पुलिस, प्यारामेडिक र फायरफाइटरहरू प्लास्टिकले बेरेको विक्रम शर्माको लास लिएर भ¥याङतिर लागे । बाहिर बसेको त्यही पुलिसले विक्रम शर्माको ढोका सिल ग¥यो । उसलाई भन्यो, ‘हाम्रो कल नआउन्जेल यो ढोका नखोल्नू ।’
‘हस सर ।’
उसको भयभीत मुद्रा नियाल्दै त्यसले फेरि उसलाई भनेको थियो,
‘डन्ट वरी, वि विल कल यु ।’
‘थ्याङ्क यु ।’
दोस्रो दिनको रात कुनै पुलिसले उसलाई कल गरेको थियो । ऊ काम गर्ने रेस्टुरेन्टबाट भर्खर निस्केर आफ्नो अपार्टमेन्ट जाँदै थियो । दस बजिसकेको थियो । सडकसँग, साइडवाकसँग मानिसको त्यस दिनको नाता टुट्दै थियो । खल्तीभित्र रिङटोन घन्किएको फोन झिकेर ऊ बोलेको थियो,
‘हेलो ?’
‘आर यु रघु ?’
‘यस ।’
‘म बोस्टन पुलिस डिपार्टमेन्टबाट ।’
एकाएक थाप्लामा केही बज्रेझैँ झस्केर उसले भनेको थियो,
‘हजुर सर ।’
‘पोस्टमार्टमको रिपोर्ट आयो ।’
ऊ झन् झस्क्यो । सुक्न थालेको उसको मुखबाट त्रसित स्वर निस्क्यो,
‘ए !’
‘त्यसमा मिस्टर विक्रम शर्माको मृत्युको कारण हर्ट
अट्याक भन्ने उल्लेख छ ।’
‘ओ !’
‘सरी, लास बुझ्न हस्पिटलमा सम्पर्क गर्नु ओके ?’
‘म त उसको नजिकको मान्छे हैन सर ।’
‘नो प्रेब्लेम, को हो त्यसैलाई खबर गर  ।’
यसपछि पुलिस बोल्न छोडेको थियो । अब भो ? एउटा तनाव सकियो, अर्को फसाद आइलाग्यो । कहाँ जाने विक्रम शर्माको नजिकको मान्छे खोज्न ? यस्तै भुटभुटिँदै सवा एघार बजे ऊ अपार्टमेन्टमा उक्लिएको थियो । कोठाभित्र छिर्नेबित्तिकै उसले कामबाट ऊजस्तै लखतरान परेर भर्खर फर्किएका अरू दुई रुम पार्टनरलाई पुलिसको कुरो सुनाएको थियो । तिनलाई पनि विक्रम शर्माका नजिकका मानिस को हुन् भन्ने थाहा थिएन । तीमध्ये एउटाले उसलाई भन्यो,’ यो हाम्रो जिम्मेवारी हैन, चुप लाग ।’
‘कोही त होला नि बूढो नजिकको मान्छे, आई मिन नातेदारहरू ?’
त्यो झन् झोक्कियो, ‘हो छ ।’
‘हो त्यसैलाई खबर गरौँ न, झन्झटै साफ  ।’
त्यो फेरि झोक्कियो,’ के ह्विस्कीका बोतललाई खबर गर्ने ? हामीले जानेको त्यै हो उसको नजिकको मान्छे  ।’
‘पुलिसले फेरि मलाई कल ग¥यो भने ?’
‘यही भन्दे ।’
विक्रम शर्मा जसलाई उनीहरू बूढो भनिरहेका थिए ऊ तीस वर्षदेखि त्यस अपार्टमेन्टको त्यस कोठामा बसिरहेको थियो । हरेक बिहान विक्रम शर्मा छ बजे उठ्थ्यो  । टेबुलको कफी मेकरमा एक मग पानी हाल्थ्यो । फिल्टरमा आफ्नो मात्राको रोस्टेड कफी खन्याउँथ्यो । ढुक्कले मेकर अन गरेर बाथरुमभित्र पस्थ्यो । बाथरुममा ऊ आधा घण्टा बिताउँथ्यो । बाहिर निस्केर पहिले ऊ काममा निस्कने लुगा लगाउँथ्यो । लुगामा फिट भएपछि ऊ कफीमेकरको पटमा झरेको सम्पूर्ण कफी मगमा खन्याउँथ्यो । त्यसमा ऊ चिनी, दूध केही मिलाउने गर्दैनथ्यो । भरिएको मगबाट छुर्रो कालो तातो कफी चुस्दै सोफामा बस्थ्यो र टिभी खोल्थ्यो । च्यानल फेरि फेरि समाचार हेथ्र्यो । एक घण्टा यसरी नै बिताएर ऊ कामका लागि निस्कन्थ्यो । ऊसँग कार थिएन । ऊ बस र सबवे चढेर आफूले काम गर्ने मोबिल ग्याँस स्टेसन पुग्थ्यो । चार बजे आफ्नो सिफ्ट सकेर ऊ फेरि त्यसरी नै आफ्नो अपार्टमेन्ट फर्कन्थ्यो । बाटोमा ऊ दुईवटा पसलमा पस्थ्यो । तीमध्ये ऊ पहिले पस्ने फास्टफुडको पसल फोर ब्रदर्स पिजा सप हुन्थ्यो  । त्यसमा पसेर ऊ डिनरका लागि कहिले पिजाका स्लाइस, कहिले चिकेन विङ्स मात्र, कहिले चिकेन टिप्स हालेको सब, कहिले बरिटो किन्थ्यो । त्यसपछि ऊ पस्ने लिकर स्टोर आउँछ । घरमा अघिल्ला दिनहरूमा किनेको ह्विस्कीको बोतल रित्तिएको छैन भने ऊ सीधै अपार्टमेन्ट लम्कन्थ्यो । हैन भने ऊ त्यस लिकर स्टोरमा पस्थ्यो । बरबन ह्विस्की जिमबिमको एक लिटरको बोतल किन्थ्यो । त्यसपछि सीधै अपार्टमेन्टतिर लस्कन्थ्यो । अपार्टमेन्टभित्र पसेपछि फेरि ऊ बाहिर निस्कँदैनथ्यो । ह्विस्की र आइस भरेको गिलास समाएर सोफामा बस्थ्यो । ह्विस्कीको सुर्को तान्दै टिभीका च्यानलहरू चहार्न थाल्थ्यो । बीच बीचमा चाहिने मात्राको ह्विस्की थपिरहन्थ्यो । त्यसरी पिउँदै टिभी हेर्दा हेर्दै धेरै जसो ऊ सोफामै निदाउँथ्यो । यसको परिणाम राति खानको लागि फोर ब्रदर्स पिजा सपबाट किनेर लगेका खाने कुरा जस्तो पिजा, चिकेन टिप्स सब, बरिटो जेजे हो त्यत्तिकै रहन्थ्यो । बिहान उठेर ऊ ती सब ट्रासबिनमा हु¥याउँथ्यो । कार्पेटमा ढलेको ह्विस्कीको गिलास उठाउँथ्यो र, काममा हिँड्न आफ्नो दिनचर्या थाल्थ्यो । ती केटाहरू जो त्यस अपार्टमेन्टमा पन्ध्र वर्षदेखि बसिरहेका थिए तिनलाई विक्रम शर्माबारे योभन्दा बढीको यथार्थ थाहा थिएन  ।
त्यस रातपछि फेरि उसलाई पुलिस स्टेसनबाट कल आएन । आएको भए पनि जे हो ऊ त्यै भन्ने थियो,’ म त उसको नजिकको मान्छे हैन सर ।’
‘नातेदार ?’
‘थाहा छैन ।’
तर उसले यस्तो सवाल जवाफको सामना गर्नुपरेन । उसको चिन्ता विस्तारै सेलायो ।
समय बितेको धेरै भइसकेको थियो । तर उनीहरू विक्रम शर्माबाट मुक्त हुन सकिरहेका थिएनन् । हरेक रात कामबाट आएपछि एकछिन उनीहरू विक्रम शर्माबारे कुरा गर्थे ।
‘हिजो राति मैले बूढोलाई सपनामा देखेँ ।’
‘के देखिस् ?’
‘म भाडाको चेक दिन गएको रहेछु ।’
‘अनि ?’
‘बूढोको ढोका ढक्ढ्क्याएँ, बूढोले ढोका खोल्यो ।’
‘अनि ?’
‘मैले चेक दिएँ, बूढो मुस्कायो, थ्याङ्क भन्यो र ढोका ढप्कायो  ।’
‘बूढो त्यस्तै थियो, शान्त ।’
‘बूढो सातै दिन काममा जान्थ्यो ।’
‘सातै दिन पिउँथ्यो ।’
‘जीवन यसरी पिउँदै शान्तसँग बित्दो रहेछ ।’
‘हो नि ।’
‘बूढो एकदम डिच्याड थियो ।’
‘बिलकुल एकाङ्गी ।’
एक रात उनीहरूले नयाँ कुरा गरे । भने,
‘वास्तवमा टेक्निकल्ली त हामी नै हौँ नि बूढोको नजिकको मान्छे, हैन र ?’
यो प्रश्नमा उनीहरू अरू धेरै रात अल्झिरहे ।
हाल : अमेरिका
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?