logo
२०८१ मंसिर ९ आईतवार



सलाम गोतामे ! (कथा )

कला |


सलाम गोतामे !  (कथा )


 डा. राजुबाबु श्रेष्ठ

जङ्गल चकमन्न अँध्यारोेमा हराएको छ । ठूला ठूला रूखका पातहरूबाट तप्प तप्प चुहिएका शीतका थोपाले स्लिपिङ ब्यागको माथिपट्टिको पाटो लगभग लगभग पूरै भिजेको छ । बाहिर शीतले भिजे पनि त्यसको चिसो भित्रसम्म पुग्न सकेको छैन । मनै चिसो भएपछि शरीर जतिसुकै तातो भए पनि निद्रा लाग्दो रहेनछ । जङ्गलको सुर्का सुर्का परेको पाटोमा छ हाम्रो वास । औँसी नजिकै आएको हुनाले चन्द्रमाको अस्तित्व देखिँदैन आकाशमा । सबै अँध्यारोेमा हराएका छौँ । पारि महाभारतको पहाडतर्फ कतै कतै बलेको पिलपिल बत्तीले दुई पहाडको दूरी लख काट्न सकिन्छ ।
म सुतेको कुनोदेखि तल्लो पाटोमा लहरै सुतेका छन् सात जना प्रहरी जवान । सबै आआफ्ना स्लिपिङ ब्यागमा राइफल घुसारी त्यसैभित्र पसेका छन् । हामी पन्ध्र जनाको टुकडीमा बाँकी सात जना चाहिँ सई पटेलको नेतृत्वमा हाम्रै सुरक्षाका लागि जङ्गलका रुखहरूको आडमा ड्युटी बसेका छन् । हुन त यो जङ्गलमा प्रहरीहरू आई सुतेका होलान् भनी कसैले पनि अनुमान गर्दैन । तैपनि दशा लागेको बेलामा विद्रोहीहरूको निसानामा पर्न सकिने सम्भावना भने रहन्छ । फेरि जङ्गली जनावरको आक्रमणको जोखिम पनि उत्तिकै हुन्छ । त्यसैले राति आउट बस्नुपर्दा आधा जवानहरूलाई ड्युटीमा राखेर आधा मात्र सुत्ने नियम नै बनेको छ हाम्रो ।
ड्युटीमा रहनेहरू त सुत्ने कुरो भएन तर हामी सुतेका भनिएकाहरू पनि निदाउन सकिरहेका छैनौँ । मिनेट मिनेटमा दक्षिणतिरबाट आएको चिसो सिरेटोले ठूलो आवाज गरी सुसाउँछ जङ्गल । स्लिपिङ ब्यागको भित्रैसम्म पुग्नेगरी ल्याउँछ चिसो । म अनुहार पूरै छोप्नेगरी पस्छु स्लिपिङ ब्यागभित्र । स्वास फेर्न गाह्रो भएपछि फेरि मुख नजिक सानो प्वाल बनाउँछु । म जस्तै अरू पनि त्यो चिसोको साम्राज्यमा निदाउन सकेका होलान् जस्तो लाग्दैन । निदाउन नसके पनि निदाएको जस्तो गरेर पल्टेका छौँ सबै । एकतिर फर्केर सुतेपछि अर्कोतर्फ फर्कने अवसर छैन । भुइँको माटोले तलतर्फ परेको हात लाटो भएको छ । जाडोको मौसम भएकाले अनुहार पूरै जमेको जस्तो चिसो भएको छ । केही गरे पनि निद्रा नलागेपछि ब्यागभित्र हात तानेर घडी हेर्छु । घडी रातको एक बजाउने तरखरमा देख्छु ।
“गोतामेले आज पनि ट्वाक लगाए जस्तो छ नि । बुढाले भेटे भने मार्छन्,” तल्लो गह्राबाट एउटा जवान सानो स्वरमा बोल्यो ।
“विचरा घरमा साह्रै समस्या रहेछ । आमा बिरामी । श्रीमती दुई जिउकी । जिल्लामा बिदाको लागि रिपोर्ट गर्दा डीएसपीले उल्टै हपारे रे ! कि जागिर छाड्नु, कि माओवादी क्षेत्रमा जानु । यस्तो बेलामा लुकेर डराएर जागिर खान पाइँदैन भनी सम्झाए रे ! त्यसपछि घर परिवारलाई खर्चपर्च व्यवस्था गरी यहाँ आएको रे ! त्यसको त मनै घरमा छ अनि रक्सी खाएर बिर्सन खोज्छ, अर्को बोल्यो ।
हाम्रा हाकिमहरू पनि साह्रै नै रुखा छन् । आफ्नै जवानको पीर मर्का बुझ्न नसक्ने पनि के हाकिम ! कहिलेकाही त मलाई पनि चड्काइदिऊँ झैँ लाग्छ भन्या । तर के गर्नु रिसले आफैलाई खान्छ ।” अर्को बोल्यो ।
“ए केटा हो यस्ता कुरा नगर है । माथि बुढाका कानमा प¥यो भने राम्रो हुँदैन । हाम्रा बुढाले त पालैपालो घर छाडिदिएकै छन् नि,” हवल्दार खत्रीले सबैलाई नकराउन सचेत गरायो । मसिनो र अरूको भन्दा छुट्टै किसिमको भएकाले खत्रीको आवाज प्रस्टै चिनिन्छ ।
“खत्री साहेब ! मलाई पनि यो महिना त चार दिन जसरी भए पनि छाडिदिनुपर्छ है । म घरमा पैसा पु¥याएर मात्र फर्कन्छु । कि बुढालाई भनी दिनोस् कि भागेर जान्छु । छोरा छोरीको ज्यानभन्दा जागिर ठूलो हो र ! बरु आएर सजाय भोगौँला,” अर्को जवानले अनुरोध ग¥यो ।
“ल ल यस्तो कुरो यहाँ नगर । बिहान बुढालाई जाहेर गरौँला । सुत सुत । कति फुस् फुस् गरेको ।” हवल्दार खत्रीले अलि कडा स्वरमा बोल्यो ।
सबै चुपचाप लागे । उनीहरूले सानो स्वरमा बोलेको भए पनि रातको सुनसानले गर्दा सबै प्रस्टै सुनँे मैले । सुने पनि नसुने झैँ चुपचाप बसेँ । कुनै प्रतिक्रिया दिन उचित लागेन ।
जमिन छ बिछ्यौना । घाँस पातहरू छन् तन्ना । त्यसमाथि स्लिपिङ ब्यागभित्र छिरेर सुतेको छु । अरूले देख्नका लागि सुतिएको छ । तर अलिकति चिसो, अलिकति डर र अलिकति घरको सम्झनाले गर्दा निद्रा छेवै पर्न सकेको छैन । जवानहरू म भुसुक्क निदाएको छु भन्ने भ्रममा छन् । म पनि मुढा लडेझैँ मस्त निद्रामा भएको बहाना गरिरहेको छु । उनीहरू आफ्नो समस्या र पीरको कथा भन्दैछन् । म त परेँ उनीहरूको कमान्डर । उनीहरूको दृष्टिकोणमा मेरो कुनै पीर छैन । म त उनीहरूको हाकिम । ठूलो मान्छे । तर राज्यको नजरमा एउटा फिस्टे इन्सपेक्टर जसलाई माओवादी तह लगाउन भनि यो गाउँमा पठाएको छ । यो मिसनमा मैले माओवादीलाई मारेँ भने पनि मलाई माओवादीले मारे भने पनि सरकारका लागि ठूलो विषय हुनेछैन । म मरेँ भने मेरो नाम अमर प्रहरीको सूचीमा चढ्नेछ । मेरो त्याग र बलिदानीका लागि भन्दै राज्यले साढे सात लाख रुपियाँ मेरो घरपरिवारलाई दिनेछ । माओवादी मरे भने राज्यले जितको समाचार फुक्नेछ । मृतकको सङ्ख्यामा एक अङ्क थप गरिदिनेछ ।
सोच्दा सोच्दै मन कताकता हरायो । जताजताबाट सोचे पनि आफूसँग काम गर्ने यिनै पन्ध्रजना प्रहरीहरूकै वरपर घुमिरह्यो । एक हप्ता अगाडिको कुरो सम्झेँ । म भात खाएर चौकीकै आगनमा घाम तापिरहेको थिएँ । हवल्दार खत्रीले अगाडि आएर रिपोर्ट ग¥यो ।
“सर ! तीनवटा राइफल त कामै लाग्दैन हजुर !”
“अरू चारवटा त ठीक छ नि ?’’ –मैले प्रतिप्रश्न गरेँ ।
“एउटा चाहिँ म्याग्जिन लोड हँुदैन हजुर । सीधै च्याम्बरमा हालेर मात्र पड्काउन मिल्छ । अरू तीनवटा चाहिँ चल्छ । तर चले पनि बीस तीस राउन्ड चलेपछि तातिएर सेलाउनुपर्ने हुन्छ सर ।’’– उसले जवाफ फर्कायो ।
त्यस दिनको हवल्दार खत्रीको रिपोर्टिङले मेरो मथिङ्गल हल्लायो । जिल्लाबाट हतियार ल्याउँदा सबै ठीक छन् भनेर पठाएका थिए । सरकारले लड्न भनेर पठाएको छ । हामी गाउँमा आउँदा चौकीका प्रहरीहरूको समेत मनोबल बढेको छ । तर स्ट्राइकिङ फोर्सको रूपमा खटी आएका हामीहरूकै अवस्था भने यस्तो नाजुक छ । धन्न हाम्रो यथार्थ माओवादीहरूलाई थाहा छैन । थाहा भएको भए उहिल्यै हाम्रो पोस्टमा हमला गरिसक्थे । त्यस दिन मेरो मनमा चिसो पसेको थियो । हामी पध्रैजना कमान्डो ट्रेनिङ गरेर त्यहाँ गएका थियौँ । युद्धकलाको ज्ञान भए पनि हामीसँग आवश्यक हतियार थिएन । लडाइँमा हतियार मात्रले पनि हँुदैन । मनोबलले मात्र पनि लड्न सकिँदैन । लडाइँ जित्नका लागि मनोबल र हतियार दुवै चाहिन्छ । हतियारका कारण हाम्रो मनोबलमा असर परेको थियो ।
जिल्ला प्रहरीको सञ्चारबाट माओवादीले आजै हान्छ, भोलि नै हान्छ भनेर बारम्बार सतर्क गराउने खबरहरू आइरहन्थे । हामी बारम्बार थप हतियार चाहियो भनेर माग गरिरहन्थ्यौँ । जिल्लाबाट आश्वासन मात्र मिल्थ्यो । जिल्लाका अधिकृतहरू जिल्लामै पर्याप्त हतियार नभएको लाचारी व्यक्त गर्थे । जिल्लाबाट कुनै हतियार मिल्नेवाला छैन भन्ने मलाई राम्ररी थाहा थियो ।
परिस्थितिको अध्ययन गरेपश्चात् नै मैले रातको समयमा प्रहरीहरूलाई चौकीमा नसुताउने निर्णय गरेको थिएँ । मेरो यो निर्णय नितान्त व्यक्तिगत थियो । यसका लागि मैले जिल्लालाई भनिरहनुपर्ने आवश्यकता ठानेको थिइनँ । राज्यलाई गुहारेर केही हुनेवाला पनि थिएन । जेजस्तो परिस्थिति आइपरे पनि हामी आफैले लड्नुपर्ने हुनाले मेरो निर्णयमा मेरो टोलीका सदस्यहरू भने सहमत थिए । राति चौकीमा आक्रमण भैहाले पनि राज्यबाट कुनै मद्दत मिल्न सक्ने अवस्था थिएन । राति नै सपोर्ट गर्नसक्ने संयन्त्र राज्यसँग थिएन । थप मद्दत नपाएर प्रहरीहरू मर्नुपरेको थुप्रै घटना सुनेका थियाँै । सरकार भोलिपल्ट हेलिकप्टरमा हाम्रो लास बोक्न मात्र आउने अवस्था थियो । हामीले लडेर जितेमा माओवादीको शव गन्दै विजय उत्सव मनाउने र प्रहरीको मृत्यु भएमा समवेदनाका केही शब्दहरू खर्चने काम गथ्र्यो सरकार । यस्तो अवस्थामा थियौँ हामी । सरकारको सोच देखेर दिक्क लाग्थ्यो । हाम्रो अगाडि आफूलाई कसरी बचाउने भन्ने प्रश्न नै ठूलो थियो ।
सोच्दा सोच्दै मन उडेर आफ्नै गाउँ पुग्यो । प्रहरी अधिकृतमा नाम निकाल्दा गाउँले र नातेदारहरू सबै खुसी भएका थिए । बधाई दिन घरमै आएका थिए नातेदार र साथीहरू । मैले नाम निकालेकोमा उनीहरू किन यतिबिघ्न खुसी थिए उनीहरू नै जानुन् । तर मेरी आमा भने मैले प्रहरीमा नाम निकालेकोमा त्यति खुसी हुनुहुन्थेन । मैले ठानेको थिएँ, छोरो आफ्नो काखबाट टाढा हुन्छ भनेर दुःखी हुनुभएको होला । खासमा कुरो अर्कै रहेछ । गाउँमा प्रहरीको छवि उति राम्रो थिएन । उनीहरूले जस्तै छोरोले पनि प्रहरीमा जागिर खाएर जथाभावि पो गर्छ कि भन्ने पीरले भित्रभित्रै सताएको रहेछ आमालाई । जागिर खाने नै भएपछि रोक्ने कुरा पनि भएन । साना दुःखले नाम निस्किएको पनि थिएन । गाउँ छाड्ने दिन आमाले रुँदै भन्नुभएको थियो– “चिरञ्जीवी भएस् बाबु । जोरी शत्रुले कपालको केश पनि झार्न नसकोस् । तर जागिर खाएर कसैलाई मारेर नखाएस् । कसैको मन नदुखाएस् । कसैलाई नरुवाएस् । कुलको इज्जत राखेस् ।’’
आमाको त्यो आशीषमा जीवनदर्शन थियो । मानव धर्मको ज्ञान थियो । इमानदारीको शपथ थियो । यी वाक्यले मलाई सधैँ खबरदारी गरिरहेको हुन्थ्यो । तर यहाँ त परिस्थिति नै अलग थियो । कुन समयमा के हुने हो, कुनै ठेगान थिएन । कतिखेर कस्तो घटना हुने हो अनुमान गर्न गाह्रो थियो । आफैलाई मार्न भनेर आउनेलाई के गर्ने ? बडो सकसको घडी थियो ।
माओवादी क्षेत्रमा खटिएर आउनुभन्दा अघिल्लो रात श्रीमतीले गहभरि आँसु पार्दै भनेको कुरा मुटुमा च्वास्स बिझ्यो । छोराछोरीहरू खाटमा सुतेका थिए । हामी दुईले भुइँको कार्पेटमा बसेर रात छ्याङ्गै काटेका थियौँ ।
“अरु जेजे गरे पनि माओवादीहरूलाई मार्छु भनेर खोजी खोजी नहिँड्नुहोला । उनीहरूको पनि त तपाईंका जस्तै श्रीमती र बच्चाबच्ची होलान् । उनीहरूका पनि अनेकौँ बाध्यताहरू होलान् । त्यहाँ पनि कहाँ हुनेखानेका छोराछोरीहरू छन् र । तपाईंहरूको गोलीले मर्ने उनै दुःखी गरिब र निमुखाका छोराछोरीहरू त हुन् नि । तपाईंबाहेक हाम्रा कोही छैनन् । हामीलाई सम्झेर काम गर्नु । पाप नगरेपछि त भगवानले पनि हात थापिदेलान् नि ।” श्रीमतीले दुई आँखाबाट आँसुको भेल बगाउँदै सम्झाएकी थिइन् । उनको कुराले मनको एउटा कुनामा ठूलो घाउ बनाएको थियो ।
“मेरो पीर नगर्नू । म तिमीहरूलाई सम्झेर काम गर्नेछु । अधर्म गर्दिन । भलो चिताउनेको कुभलो हुँदैन । बच्चाबच्ची र आफ्नो ख्याल गर्नू ।” मैले यति मात्र भने ।
माओवादी क्षेत्रमा जानुभन्दा जागिर नै छोड्ने पो हो कि भन्ने कुरामा बहस पनि चल्यो । तर देशलाई सङ्कट परेको समयमा जिम्मेवारीबाट भाग्नु पनि उचित लागेन । युद्धको मैदानबाट पीठ फर्काएर भाग्दा जीवनभर आफ्नै आत्माले धिक्कार्ला कि भन्ने डर लाग्यो । त्यसैले सबै कुरा पन्छाएर यस गाउँमा आएको हुँ, जसका कारण यो जङ्गलमा रात बिताउँदै छु ।
“सर ! दुई बज्यो । अब त त्यति खतरा छैन । चौकीतिर लाग्ने हो कि ?”– हवल्दार खत्री मेरो नजिक आई मलाई कोट्याउँदै बोल्यो ।
म रातभर सुतेको छैन भन्ने उसलाई के थाहा ? उसको कुरो सुनेर बिस्तारै स्लिपिङ ब्यागबाट बाहिर निस्केँ । तातो शरीरमा एकैचोटि चिसोले आक्रमण ग¥यो । ज्याकेटको टोपी टाउकोमा कसेँ । अँध्यारो उस्तै निष्पट्ट थियो । सबैलाई नजिक जम्मा गर्न अह्राएँ । सबै स¥याकसुरुक गर्दै मेरो नजिक जम्मा भए । हतियार र गोलीगठ्ठा चेक गर्न लगाएँ । सबै ठिकठाक रहेको जवाफ आयो । स्लिपिङ ब्यागहरू पट्याई चौकी जाने तरखरमा लाग्याँै ।
रातभर बाहिर जङ्गलमा सुते पनि बिहान उज्यालो हुनुभन्दा अगावै चौकीमा पुगिसक्नुपर्ने हुन्थ्यो । प्रहरी चौकीमा सुत्दैनन् भन्ने गाउँलेले थाहा पाए भने उनीहरूमा त्रास फैलने डर हुन्थ्यो । त्यसैले राति जताजता गए पनि गाउँले उठ्नु अघि नै चौकीमा पुगेर दैनिक काममा लाग्थ्यौँ । चिसो र असजिलोका कारण केही जवानहरू राति बाहिर नजाने कि भन्ने मुडमा पनि देखिन्थे । म भने केही दिनको दुःखका लागि ठूलो खतरा मोल्न चाहन्नथेँ । यो हाम्रो डर मात्र थिएन । सतर्कता र सजगता थियो । लडाइँ भैहाले पनि मानवीय क्षति नहोस भन्ने चाहना थियो ।
माओवादीहरू प्रहरीसँग लड्नका लागि डोको भरीभरी बम बोकेर आउँथे । चाहिँदो हतियार र गोलीगठ्ठा बोकेर आउँथे । हामीसँग भने हतियारको नाममा तीनवटा चाइनिज पिस्तौल, सातवटा थ्री नट थ्री राइफल र दुईवटा ह्यान्ड ग्रिनेड मात्र थियो । त्यसमा पनि चारवटा राइफल काम नलाग्ने थिए । हतियारकै कारण पनि म आफ्नो कमान्डमा रहेका जवानहरूको जीवन जोखिममा राख्न चाहन्नथेँ । कदाचित लडाइँ भैहाले पनि हामीले जित्ने सम्भावना शून्य बराबरको थियो । सत्य कसम मलाई मेरोभन्दा पनि मेरा जवानहरूको माया थियो । हुनु नहुनु भैहाल्यो भने पनि मेरो त श्रीमती पनि बैङ्कमा जागिरे थिइन् । काठमाडाँैमा एउटा बासको व्यवस्था थियो । श्रीमतीले जेनतेन छोराछोरीहरूलाई पढाउन हुर्काउन समस्या थिएन । तर मेरा जवानहरू आफ्ना परिवारका लागि मभन्दा मूल्यवान थिए । उनीहरूलाई केही भैहाले उनीहरूको घर चल्न सक्ने अवस्था थिएन । त्यसैले गर्दा पनि कुनै अनिष्ट नहोस् भनेर हरेक रात आफ्नो टोलीलाई चौकी छाडेर अन्जान जङ्गलतर्फ लैजान्थेँ । गुम्बामा, स्कुलमा,
जङ्गलमा, नदी किनारको बालुवामा सुतेर धेरै रात कटाइयो । हामीलाई जसरी हुन्छ नौ महिना कटाएर घर फर्किनु थियो । आफ्नो टोलीका सदस्यहरू सकुशल रहनु थियो । राति सबै बाहिर सुते पनि दिउँसोको समयमा हरेक दिन एउटा टोली गाउँको हालखबर बुझ्न गाउँतिर पठाउने गथ्र्यौं ।
हरेक साँझ बेलुकीको खाना खाएपछि आज कता जाने भन्ने पीरले सताउँथ्यो । गाउँलेहरूको चहलपहल हँुदै निस्कन मिल्दैनथ्यो । सधैँ एकै ठाउँमा जाँदा पनि सूचना बाहिर गई सुतेकै ठाउँमा आक्रमण हुने डर हुन्थ्यो । दिउँसो चौकी नजिकैको डाँडामा बसेर राति कहाँ जाने भन्ने कुराको मनमनै निधो गर्दथेँ । कहाँ जाने भन्ने कुराको जानकारी कुनै पनि प्रहरीलाई हुँदैनथ्यो । पूर्व जानकारी दिँदा सुरक्षा खतरा बढ्न सक्थ्यो । हरेक दिन फरकफरक ठाउँ खोज्नु पनि अर्को चुनौती थियो ।
दाङको आर्मी ब्यारेक हाने पछिका दिनमा माओवादीहरू झन् झन् बलियो हँुदै गएका थिए । यसले प्रहरीको मनोबलमा नकारात्मक असर परेको थियो । मभित्र माओवादीलाई लडाइँमा जितौँला, मारौँला भन्ने सोँच थिएन । कसरी हुन्छ भिडन्त हुनबाट जोगाउँ भन्ने इच्छा थियो । लडाइँ भैहाले पनि आखिर दुवैतर्फ मर्ने त नेपाली नै हुन् । हातमुख जोर्न धौधौ पर्ने वर्गका जवान नै हुन् । आजसम्म भएका भिडन्तहरूमा प्रहरी र माओवादी दुवैतर्फका ठूला मानिस कहाँ मरेका छन् र ! एउटा गरिबले अर्को निमुखालाई मारेर केको क्रान्ति गर्नु ? दुई निम्न वर्गीयको लडाइँमा कसको जित कसको हार ? सरकारी जागिरे भएकै कारणले हवल्दार खत्री र जवान गोतामेलाई सामन्ती सत्ताको कित्तामा कसरी राख्न मिल्ला र ? यी प्रश्नको उत्तर थिएन । यस्तै प्रश्नको खात थियो मनभरी । मुठभेडको यिनै जमिनी यथार्थका कारण यो नौ महिने बसाइमा कुनै जम्काभेट नहोस् भन्ने पक्षमा थिएँ म ।
“सर ! फूलबारीको डाँडामा केही मुभमेन्ट देखियो हजुर”, चौकी फर्कने सुरसारमा लाग्दै गर्दा उत्तरतर्फ खटिएको ड्युटीको जवान बोल्यो ।
“सर ! बत्तीको चाल त हामीतर्फ नै आएजस्तो देखिन्छ ।”– अर्को बोल्यो ।
तुरुन्तै सबैलाई पोजिसनमा बस्न आदेश गरेँ । सबै रुख, ढिस्को, ढुङ्गा जेजे छ त्यसैको आड लिई तयारी हालतमा बसँे । कोही तल बाटोतर्फ राइफल सोझ्याएर सुते । कोही उत्तरतर्फको डाँडो कभर गरी बसे । कोही माथि गएर मुभमेन्ट देखिएको ठाउँतर्फ दृष्टि पु¥याए । केही फिटको दूरीमा रहेको तीनवटा बत्ती हामी सुतेकै
जङ्गलतर्फ अघि बढ्दै थियो । मुटु ढक्क फुलेर आयो । कुनै अनिष्ट पो हुने हो कि भन्ने आशङ्काले भित्रभित्रै छटपटी चल्न थाल्यो ।
“सर ! नजिक आयो भने म त उडाइदिन्छु ।”– निमबहादुर बोल्यो ।
“आइलाग्नुभन्दा पहिल्यै जाइलाग्नु पर्छ हजुर ।”–डम्बरबहादुर बोल्यो ।
“यिनीहरूलाई चौकी पुग्नुभन्दा पहिल्यै सोतर पार्नुपर्छ हजुर ।”– अकलबहादुर बोल्यो ।
राइफल ताकेर बस्ने सबै जवानको पछाडि एकएक जना जुनियर अधिकृत र हवल्दार राखिदिएँ । आफ्नो आदेश नपाईकन गोली नचलाउने आदेश गरेँ ।
“सर ! आज ठुलै भिडन्त होला जस्तो छ । हामी चुप लागेर जङ्गलमै बसिरहे हुन्न र हजुर ? हामी यहाँ
जङ्गलमा छौँ भन्ने कुरो उनीहरूलाई के थाहा छ र !”– सई पटेलले कानमै आएर फुस्फुसायो ।
सबैलाई नआत्तिन र जथाभावि गोली नचलाउन आदेश गरेँ । पटेलको आवाजमा डर मिसिएको थियो । उसको स्वर काँपेको थियो । मलाई पनि भित्र भित्र डर लागेको थियो तर म कमान्डर भएकोले आफ्ना जुनियरका सामु डर देखाउन मिलेन । म डराएको छु भन्ने छनक टोलीले पाए भने उनीहरूको मनोबलमा निकै ठूलो असर पर्न जान्थ्यो । त्यसैले पनि म निडरजस्तो बनेर एक एक जवानलाई भेट्दै हौसला प्रदान गर्न लागेँ ।
बत्ती झन् नजिक नजिक हुँदै आयो । हामी फुल अलर्टमा बस्यौँ । जति जति नजिक आयो त्यति त्यति मनमा अनेक तर्कनाहरू खेल्न थाले । चौकीमा बसेर
लड्नुभन्दा जङ्गलमा लुकेर लड्दा हामीलाई धेरै सहज हुने अनुमानले पनि डरको पारो त्यति माथि थिएन । चौकीमा हाम्रो भौतिक अवस्थिति र प्रहरीको उपस्थिति सबैले देखेको हुनाले त्यहाँ बस्दा जोखिमको मात्रा बढी हुने कुरा स्पष्ट नै थियो । आफूहरू सुरक्षित भए पनि सम्भावित क्षतिको आकलनले मन त्रसित थियो । हुन त उनीहरू चौकी हान्न नै आएका नहुन पनि सक्थे । दिनरातको मुठभेट र भिडन्तको समाचारले गर्दा राति कतै बत्ती बले पनि चौकी नै हान्न आयो कि, कतै नयाँ मान्छे भेटिए पनि चौकीको रेक्की गर्न आयो कि, हावाले मकैबारीको पात हल्लाए पनि आक्रमण गर्न आयो कि भनेर सोच्ने मनोविज्ञानको विकास भएको थियो हामी सबै प्रहरीहरूमा । त्यसैले दुइटा बत्ती बलेको देख्दा पनि हामी सबैको निद्रा हराएको थियो ।
“सर ! मान्छे त धेरै पो छन् कि क्या हो ! हल्ला त ठुलै सुनिन्छ त ।’– एउटा जवान बोल्यो ।
“डोली बोकेको जस्तो पनि देखिन्छ हजुर ।”– बाटोतर्फ ड्युटी गर्ने अर्को जवान बोल्यो ।
“कुनै हतियार बोकेको देखिन्छ ?”– मैले सानो स्वरमा सोधेँ ।
“छैन हजुर । बाह्र पन्ध्रजना छन् ।”– जवाफ आयो ।
क्षणभरमै मन शान्त भयो । हेर्दाहेर्दै हामी बसेकै ठाउँ नजिकैको बाटो हुँदै चौकीतिर लागे । एउटी महिलालाई डोलीमा राखेर दुई जनाले बोकेको र अरू पछिपछि हिँड्दै थिए । उनीहरू जङ्गल कटेपछि हामी पनि चौकीतर्फ लाग्याँै ।
बिहानभरि सुतेर एघार बजे उठेँ । उठेर बाहिर निस्कँदा ढोकै अगाडि तीन जना उभिइरहेका थिए । गोतामे, डम्बरबहादुर र अकलबहादुर । तीनै जनाको अनुहारमा एक किसिमको उदासी र छटपटी देखिन्थ्यो । सायद जीवनको बोझले थिचेर त्यस्तो बनेको हुनुपर्छ उनीहरूको अनुहार । भान्से भाटले कालो चिया ल्याएर राखिदियो मेरो अगाडिको काठको बेन्चीमा । चियाको सुर्की लिँदै उनीहरूको समस्या बुझ्न चाहेँ ।
“सर ! म त आज र भोलिमा घर नगई हुँदैन । आमा दीर्घ रोगी छिन् । उठ्न बस्न सहारा दिनुपर्छ । श्रीमती दुई जिउकी छे । डाक्टरले चार दिनपछिको डेट देको छ रे । म घर नपुगे त परिवारको बिचल्ली हुन्छ हजुर,” जवान गोतामे बोल्यो ।
“सर ! मेरो त हिजो श्रीमती घरबाट हराई अरे । बहिनीले रुँदै फोन गर्थी । कहाँ गई, के गरी अत्तो पत्तो छैन । चार दिन पाऊँ हजुर कि त काटेर जेल जाउँला कि त कतै जिम्मा लगाई आउँला,” अकलबहादुर बोल्यो ।
“मेरो घरमा त आमाको दस दान बैतर्नी गरेर राखेका छन् रे । कान्छोको मुख हेर्न पाए हुन्थ्यो भनेकी छन् भनेर खबर आएको छ हजुर,” डम्बरबहादुरले आफ्नो समस्या बतायो ।
उनीहरू तीनैजनाको समस्या सुनेपछि म भने निकै असमन्जसमा परेँ । उनीहरू तीनै जनाको समस्या जायज थियो । स्ट्राइकिङ अवधिभर किरिया बिदा बाहेक अरू छुट्टी नदिनु भन्ने केन्द्रको कडा आदेश थियो । त्यसमाथि पनि बिदा जिल्लाबाट मात्र स्वीकृत गर्ने चलन थियो । उनीहरूको समस्या हेर्दा बिदा नदिन मनले मान्दैनथ्यो । मनमा निकैबेर द्वन्द्व मच्चियो । मनस्थिति ठीक नभएपछि उनीहरूबाट काम लिन सम्भव थिएन । तीनैजनाको अनुहार हेरेँ । अँध्यारोे मुख पारेर मेरै अनुहारमा हेरिरहेका थिए । उनीहरूको समस्याले मलाई पनि पोल्यो । उनीहरूको अनुहारमा देखिएको पीडाले मलाई पनि छोयो । माथिको जस्तोसुकै आदेश भए पनि उनीहरूको समस्या फुकाइदिने निधो गरेँ । एउटा कमान्डरको धर्म निर्वाह गर्ने निर्णय गरेँ । आफूलाई कारबाही नै भए पनि उनीहरूलाई चार चार दिन घर पठाइदिने आदेश गरिदिए ।
मेरो आदेशले उनीहरू तीनैजनाको अनुहारको बादल फाटेर छ्याङ्ग भयो । भोलिपल्ट बिहानै हिँड्ने कुरो तय भयो । तीनैजना खुसीले मातिँदै खाना खान फरिकाले बारेको भान्सातर्फ लागे । म खाना खाइवरी सई पटेललाई एरिया पेट्रोलिङको लागि गाउँतिर टोली पठाउने आदेश गरी चौकीको छतमा चढेँ । रेडियो सुन्दै चौकीको छतमा म्याट्रेस ओछ्याएर पल्टिएँ ।
हिउँदको घाम पनि साह्रै प्यारो । काम त्यति नहुने हुँदा चौकीको छतमा बसेर घाम ताप्दा निकै आनन्द आउँथ्यो । एक्लै त्यतिकै बस्दा घरपरिवारको सम्झनाले सताइरहने हुनाले केही न केही गरिरहन्थेँ । आज पनि भान्से भाटसँग छतमा पोट खेलेर बसिरहेको थिएँ । भाटसँग पोट खेल्न निकै मजा आउँछ । अरू बेला नबोले पनि पोट खेल्दा चाहिँ मजाले बोल्छ भाट । उसले पोट खेल्दै गर्दा एक दिन एउटा हाकिमको पोल खोलेको थियो मसँग । फलवर्स भए पनि निकै टाठो थियो भाट ।
“तिमी सुदूरपश्चिमको मान्छे आफ्नो ठाउँमा नगएर किन यस्तो गाउँमा आएको त भाट ?”– मैले नै कुरो
कोट्याएको थिएँ ।
“यहाँ आउनुभन्दा पहिले गणमा थिएँ । एक दिन हवल्दार मेजरले एउटा हाकिमको घरमा जा भन्यो । गएँ । कामको त केही दुःख थिएन । जहाँ गए पनि हामी पिपाको काम उही त हो हजुर । हाकिम पनि देउतै थिए । तर साहेबनी साह्रै किचकिचे । कसैसँग बोले किन बोलिस् भन्ने । मुख चलायो कि के चोरेर खाइस् भन्ने । एकैछिन बस्दा पनि दिनभर बसेर खान्छस् भन्ने । बोल्यो भने मुखमुखै लाग्छस् भन्ने । अति भएपछि गणमै फर्किन्छु भनेर रिपोर्ट गरेँ । बेलुकी सरले निकै सम्झाए । हजुरको श्रीमतीको बानी ब्यहोरा ठीक छैन भन्ने कुरो पनि आएन । मैले बस्दै बस्दिन भनेपछि फेरि मलाई गणमै फर्काइदिए । गणमा मेरो अनुशासन ठीक नभएर फर्काइदिएको भनिदिएका रहेछन् । हाकिम हुन् जे भन्छ भनुन् भनेर चुपचाप गणमै काम गरी बसेँ । त्यसको केही दिनमा त गणबाट यहाँ पो सरुवा भयो । के गर्नु हजुर गरिब निमुखाको कुरो सुनिदिने कसले ?”– उसले कति दिनदेखि मनमा गुम्स्याएर राखेको कुरा एकैचोटि निकाल्यो ।
“माथि रिपोर्ट गरेनौ त ?”– मैले फेरि कोट्याएँ ।
“के रिपोर्ट गर्नु र हजुर । विभागमा उहाँको कुरो नसुनेर म नाथेको कुरो कसले सुन्ने । सुन्ने भए त म जाबो पिपालाई यो ठाउँमा किन सरुवा गर्थे र । कुरा लाउनेले त लाए लाए तर सरुवा गर्नेले सोच्नुपर्ने थिएन र हजुर ! न मेरो घर पायक पर्छ, न मैले यहाँ आउन इच्छा गरेको छु । यो सोचेर माथि जाने मनै मरेर आयो अनि रमाना लिएर आएँ ।”– उसले मन दुखायो ।
म चुप लागेँ ।
“अरू त केही होइन चोरेर खाइस् भन्दा चाहिँ असाध्यै चित्त दुख्थ्यो हजुर । हामी सानो दर्जामा काम ग¥यो भन्दैमा चोर भन्न त भएन नि हजुर । गरिब भए पनि इमान त बेचेका छैनौँ नि । त्यो कुरा सम्झिँदा अझै पनि मुटु भक्कानिन्छ हजुर,” ऊ रुँलारुँला जस्तो गरी बोल्यो ।
“ल यस्तो कुरालाई बिर्सिदेऊ । तिमी पनि जागिरे म पनि जागिरे । ठूलो सानो त दर्जा मात्रै हो भाट । इज्जत त एउटै हो । अधिकार मात्रै धेर थोर हो । परिवारले गर्ने माया त उस्तै हो । श्रीमतीले दिने माया तिम्रो र मेरो बराबर छ । ससुरालीले दिने सम्मान तिम्रो र मेरो बराबर छ । साथीले गर्ने विश्वास तिम्रो र मेरो बराबर नै छ । त्यसैले सानो मन नगर,” मैले उसको मनको मैलो हटाउने प्रयास गरेँ । मेरो कुराले उसको अनुहार थोरै उज्यालो देखियो । उसलाई थोरै भए पनि राहत मिलेको महसुस भयो ।
“ल जाऊ अब मीठो चिया बनाएर ल्याऊ ।”
ऊ पोट त्यहीँ छाडेर भान्सातर्फ लाग्यो । दिनको तीन बजेको थियो । तलबाट एउटा जवान स्याँस्याँ गर्दै दौडेर छतमा आएर हतासिँदै बोल्यो– “सर ! सर ! शिखर गाउँतिर पेट्रोलिङमा गएको हाम्रो टोली बाटैमा एम्बुसमा पर्यो रे...” उसले त्यति भन्न नभ्याउँदै म तल झरिसकेको थिएँ । चौकीमा हामी आठ जना मात्र थियौँ । सबैलाई भएको हतियार र गोलीगठ्ठा तयार गर्न लगाएँ । जिल्लामा घटनाको अपुष्ट जानकारी गराएँ । जिल्लाको अन्य नजिकको प्रहरी युनिटबाट थप मद्दत परिचालन गरी एरियालाई कर्डन गर्नका लागि डीएसपी साहेबलाई जाहेर गरेर म आफ्नो टोली लिई घटनास्थलतर्फ लागेँ ।
करिब पैँतालिस मिनेटको ट्याक्टिकल मार्चपछि हाम्रो टोली घटनास्थलमा पुग्यो । त्यहाँको बीभत्स दृश्यले एकैछिन स्वास रोकिएझै भयो । सई पटेल रगताम्य अवस्थामा ढुङ्गामा बसेर रोइरहेको थियो । बाटोको छेवैमा गोतामेको क्षत विक्षत लास लडिरहेको थियो । बाटोभरी रगत लतपतिएको थियो । गोतामेको मृत शरीर रहेको ठाउँदेखि करिब दस मिटर तल बाटोमुनि बनमाराको बुटामा अकलबहादुरको मृत शरीर घोप्टो परेर लडेको थियो । अन्य जवानहरू उनीहरूको शव नजिक बसेर रोइरहेका थिए । मलाई देख्नासाथै सबै जवान मेरो नजिक आई रुन थाले । मैले पनि आफूलाई थाम्न सकिनँ । रोक्दा रोक्दै आँसुको नदी बग्यो आँखाबाट ।
वरपर गाउँलेहरूको भीड लागिसकेको थियो । मलाई त्यहाँको अवस्थाले रिँगटा लागे जस्तो, आकाश घुमेघुमेजस्तो भइरहेको थियो । छातीमा गरुँगो ढुङ्गाले थिचेजस्तै भएको थियो । जीवनमा यसरी मुटु कहिल्यै दुखेको थिएन । गाउँलेहरू पनि मलाई घेर्न आइपुगेका थिए ।
“हामी चौतारामा बसिरहेका थियौँ । प्रहरीहरू हामीसँग केहीबेर गफगाफ गरी तलतिर झरेका मात्र के थिए ठूलो आवाज आयो । त्यसपछि थुप्रै गोली पड्केको आवाज आयो । हामी त डरले घरतिर लाग्यौँ । पछि पो प्रहरीहरू मारे भन्ने खबर आयो ।”
“कठै कस्ता निर्दयी पापीहरू । बिनाकसुर यी निर्दोष गरिबहरूको ज्यान लिए ।”
“हामी त पारि पाखोमा काम गर्दै थियौँ । अकस्मात ठूलो विस्फोटको आवाज आयो । हेर्दा प्रहरीहरू गोली चलाउँदै भागाभाग गरेको देखेर डरले काम छोडी घरतिर भाग्यौँ ।”
भीडमा मान्छेहरू अनेक कुरा गर्दै थिए । म बाटोको ढुङ्गामा बसेर गोतामेको रगतले पोतिएको अनुहारमा हेरिरहेको थिएँ । मेरो दिमागले काम गर्न छोडेको थियो । आँसुले आँखा धमिलो भएको थियो । रगताम्मे भएर सुतिरहेको गोतामे एक्कासि उठेर मेरो अगाडि उभियो । म उसको अनुहारमा हेरिरहेँ । उसले मेरो हातमा च्याप्प समातेर रुँदै रुँदै बोल्यो– “सर ! मेरो छोरालाई धेरै पढाएर तपाईंजस्तै बनाइदिनोस् है ?”
म झसङ्ग भएँ । गोतामे भुइँमै लडिरहेको थियो निःशब्द, निष्प्राण । उठेर गोतामेको मृत शरीर नियालेँ । अनुहारमा हेर्नै सकिनँ । रगतले लतपतिएको उसको हात च्याप्प समातेँ । बिहान ऊसँग भएको कुराकानी सम्झेँ । बारम्बार दिमागमा उसले बोलेको कुराहरू घुमिरह्यो– “म घर नपुगे त मेरो परिवारको बिचल्ली हुन्छ हजुर !”
गोतामेसँग बिताएका विगत आँखा अगाडि नाच्न थाल्यो । मैले मनमनै गोतामेसँग वाचा गरेँ, “यो देशको सरकारले केही गरोस् नगरोस् म तिम्रो छोरोलाई पढाउनेछु गोतामे । तिम्रो बलिदानलाई सलाम !”
जुरुक्क उठेर गोतामेलाई स्याल्युट गरेँ । कानुनी प्रक्रिया पु¥याई कार्यालयतर्फ फर्कियौँ ।
गोतामेको नाम सहिदको लिस्टमा चढ्यो ।
केही वर्षको अन्तरालमा नै गोतामेलाई एम्बुसमा पार्नेहरू सरकारमा पुगे । समय बदलियो । हिजो एकअर्कालाई मार्न तम्तयार प्रहरी र विद्रोहीहरू सँगसँगै हिँड्न थाले । गाउँहरू भने जस्ताको तस्तै छ । गाउँको जीवनस्तर उस्तै छ । विद्रोही नेताहरू सहर पसे र सहरलाई आफ्नो कब्जामा पारे । विद्रोही जनता गाउँमै अलमलिए । म भने भ्रममा परेको छु । त्यो बिचरो गोतामे सामन्ती सत्ताको मान्छे थियो कि यी अहिले सत्तामा पुगेकाहरू सामन्ती हुन् ? गोतामेलाई मारेर क्रान्ति पूरा भएको हो कि अझै अरू कसैलाई मार्नै बाँकी छ ? उत्तर समयसँग पनि छैन । बुझ्नेहरू राजनीति यस्तै हो भनेर जवाफ दिन्छन् ।
यतिका वर्ष बित्यो । परिस्थिति सबै बदलियो । तर गोतामेसँग गुम्बा, स्कुल, सालघारी र रोसी किनारको बालुवामा बिताएका चिसा रातहरू मेरो मानसपटलमा ताजै छन् । बेलाबेलामा सपनामा गोतामे आएर दुखेसो गरिरहन्छ । उसको कुरो सुन्ने मभन्दा अरू छँदा पनि छैन यो दुनियाँमा । मलाई भने जब गोतामेको छोरो स्कुलबाट हाँस्दै घर फर्किएर मेरो काखमा लुटपुटिन आइपुग्छ मनमा स्वर्गीय आनन्द प्राप्त हुन्छ । गोतामे फेरि जन्मिएर आएजस्तै लाग्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?