सौगात आचार्य
वरिपरि जङ्गल । जङ्गलको बीचमा सानो चिटिक्क परेको घर । सानो आँगन । आँगनसँगै जोडिएर बनाइएको ठूलो बाख्राको खोर । थोरै करेसाबारी । वरिपरि डाले घाँस । चारैतिर सफा सुग्घर । यो वडासदस्य फूलमती नेपालीको घरगृहस्थी हो ।
आँकुमा टाँगिराखेको मोबाइलमा घण्टी बज्छ । साँझको बेला छ । वीरबहादुर नेपाली बाख्रालाई खोरभित्र हुल्दै छ । हतार हतार खोरको ढोका बन्द गरेर ऊ फोन उठाउन आइपुग्छ ।
उताबाट आवाज आउँछ– हेलो ।
“ए दाइ पो ! अनि कहाँ पुगिस् त ?” वीरबहादुरले सोध्छ ।
“म बनबासा नाका पुगेको छु । आमालाई कस्तो छ नि ?” उ ताबाट आवाज आउँछ ।
“हामी सबैलाई ठीकै छ दाइ ! ल आमासँग आफै कुरा गर न है !” वीरबहादुरले मोबाइल आमालाई दिन्छ । अनि बाँकी कामका लागि खोरतिर लाग्छ ।
“हेलो बाबु ।” आमा ।
“आमा ढोग गरेँ है ।” उताको आवाज ।
“तँलाई कस्तो छ त बाबु ?” आमा ।
“मलाई ठीकै छ आमा । अनि तपाईंलाई नि ?” उताको आवाज ।
“यता पनि ठीकै छ । घरगृहस्थी भाइले हेर्दै छ । म त यहीँ क्वारेन्टाइनको व्यवस्थापनमा जुटेकी छु । मलाई ठूलोगाउँको हाइस्कुलको जिम्मा परेको छ ।” आमा ।
“त्यही त के आमा । बल्ल बनबासा पुगियो । साहै्र कष्ट भो । कतै हिँडेर, कतै रिक्सा, ट्रली गर्दै आइयो । यहाँ त भित्र जान नदिने रहेछ ।” उताको आवाज ।
“सरकारले मिलाउँदै छ बाबु नआत्तिनु ।” आमा ।
“हैन आमा ५ दिन भो । न खानेको ठेगान, न सुत्नेको ठेगान । हैरान छ आमा यहाँ त । सबैले अब आन्दोलन गर्नु पर्छ भन्छन् ।” उताको आवाज ।
“हैन बाबु आन्दोलन गरेर केही हुन्न । सरकारलाई विश्वास गर । सुरक्षित बस । विस्तारै घर आउँछौ ।” आमाले सम्झाउने पारामा भन्छिन् ।
“हुन्छ आमा । ल अहिलेलाई फोन राखेँ है ।” उताको आवाज
“हुन्छ हुन्छ, ल राख ।” आमा ।
वीरबहादुरले बेलुकाको सबै काम सक्छ । हातगोडा धोएर नयाँ कपडा लगाउँछ ।
“हैन काँ जान लाइस् यो रातिमा ?” आमाले आश्चर्य मान्दै सोध्छिन् ।
“आज सुवास दाइको ब्या के त, त्यतै जान लाको” वीरबहादुरले उत्तर दियो ।
“अनि सबै कुरा मिल्यो त ? कुरा मिल्या हैन भन्ने सुन्या थेँ त मैले ।” आमा चिन्ता व्यक्त गर्छिन् ।
“सबै कुरा मिल्यो रे आमा ! उताबाटै केटीले आफैले फोन गरेर बोलाकी रे ।” वीरबहादुर उत्तर दिन्छ ।
ए ल राम्रो भएछ । समाज बदलिँदै छ । दुःख खेर जाँदैन भन्थे, हो रैछ । तर बिहान उज्यालोमा गाको भए पनि हुने नि ।” आमाले खुसीका साथमा चिन्ता पनि व्यक्त गर्छिन् ।
“नजिकै त छ नि आमा । अहिले नै जाने भन्नुहुन्छ सुवास दाइ । म त लागँे है आमा !” वीरबहादुर बाटो लाग्यो ।
हुन्छ त जा भन्दै आमा फूलमती पनि आफ्नो नियमित काममा लागिन् ।
फूलमती नेपाली । बडो कष्ट साध्य रह्यो उनको जीवन ।
उनका श्रीमान् जुठे नेपाली हली थिए । ठूलो गाउँ ठकुरी बाबु साहेबहरूको हलो जोतेर जीवन निर्वाह गर्दथे । जङ्गलको बीचमा एकान्तमा सानो बुकुरो थियो जुठेको । बीचमा ठूलो नदी । नदी तर्न सिपालु ऊ । अली ठूलै नदी आउँदा चाहिँ माथि घुमेर झोलुङ्गे पुल तरेर जाने गर्दथ्यो । तर प्रायः नदी तरेर जान्थे जुठे मेलामा । नदी तर्नु अनि साहुको मेलामा जानु जुठेको नियमित कर्म थियो । दुई छोरा छन् जुठेका । फूलजस्ता राम्रा । जेठो रामबहादुर अनि कान्छो वीरबहादुर । श्रीमती फूलमती, राम्री अनि सफल गृहणी ।
छोराहरू ८, ९ वर्ष पुगेदेखि नै बाबुआमाको काममा सघाउन थाले । फूलमती पनि घरधन्दा सकेर साहुको मेलामै जान्थिन् । कहिले बाबुसँग नदी तरेर त कहिले आमासँग झोलुङ्गे पुलको बाटो उनीहरू पनि नियमित मेलामा जान्थे । विस्तारै दुवै छोरा बाबुलाई पनि जित्ने गरी पौडीबाज भइसकेको थिए । त्यतिबेला उनीहरूलाई स्कुल जाने छुट थिएन । दुवैजना स्कुल जाँदैन थिए । छोराहरू जुम्ल्याहा जस्ता । फूल जस्ता । राम्रा ।
देख्नेहरूले भन्थे, यो जुठेले जुनी त लिएर आएको रहेछ । त्यस्ती लक्षणकी श्रीमती पायो । छोराहरू पनि कति राम्रा छन् । भाग्यमानी रहेछ ।
उतिबेलाका कुरा । लडाइँ चलिरहने । गोली बारुदको आवाज आइरहने । को म¥यो रे । कसलाई मा¥यो रे । कसलाई पुलिसले लग्यो रे । खबरहरू आइरहने । डरलाग्दो समय थियो त्यो ।
त्यस्तै २०५७ सालतिर होला । जुठे बिहानै साहुको मेलातिर लागे । साहुको घर पुग्दा सबै कुरा भद्रगोल । साहु र साहुनी निन्याउरो चेहरा लगाएर आँगनको डिलमा बसेका । आँगनभरी अन्नपात छरिएको । मन चिसो भयो जुठेको । उनी केही बोल्न सकेनन् । अलमल अलमल पर्दै गोरुलाई दाना खुवाए । गोरु फुकाएर बारीतिर लागे । त्यतिबेलासम्म कोही बोलेन । चुपचाप सब शान्ति थियो त्यहाँ । बिहानको मेला जोतिसकेर गोरु फुकाए । गोठमा गोरु बाँधे । घाँस हालिदिए । आज साहुको चुल्होमा आगो बलेको जस्तो लागेन । केही बोलुँ कि न नबोलुँ भयो उनलाई । अलमल पर्दै भोकै पेट घरतिर लागे ।
अघिपछि त साहुनीले आँटो र मही दिन्थिन् । आज उनी पनि केही बोलिनन् । घर पुगेर आँटो पकाउन लगाए जुठेले । फूलमतीले छक्क पर्दै सोधिन्– “किन आज साहुकोमा खाएनौ ?”
“अँ त्यस्तै त्यस्तै भो ।” जुठेले उत्तर दिए ।
आँटो खाएर केहीबेर आराम गरेपछि उनी पुनः साहुको मेलातिर लागे । दिनभरीको काम सबैजस्तो नियमित नै भयो । बेलुका सबै जना घरमा जम्मा भएर साहुको घरकै बारेमा कुरा गर्दै थिए उनीहरू । ५, ६ जना मानिस आए । लहरै घरको पेटीमा बसे सबैले झोला बिसाए । एकजनासँग बन्दुक पनि थियो । चिसो भयो जुठेको मन ।
“हजुरको नाम के हो दाइ ?” बन्दुक बोक्नेले सोध्यो ।
“म जुठे नेपाली मालिक !” उसले डराई डराई उत्तर दियो ।
“मालिक होइनौँ हामी, तपाईं जस्तै हो । तपाईंकै साथी हो ।” बन्दुक बोक्नेले आत्मीयता प्रकट ग¥यो । यो सुनेर जुठेको मन अलि ढुक्क भयो । “हामीले रासन ल्याएका छौँ । आज यतै हजुरकोमा खाना पकाएर खानुप¥यो र बास पनि बस्नुप¥यो ।”
“कसो होला दाइ ?” बन्दुकवालाले भन्यो ।
इन्कार त कसरी गर्नु र ? डराई डराई सहमती जनायो उसले ।
सबै जनाले मिलेर खाना पकाए र परिवारसहित सबैजनाले खाए । पकाएको खाएको सबै भाँडा उनीहरूले नै माझे । अलि सहज बन्दै गयो वातावरण ।
“हजुरहरू कहाँबाट आउनुभएको ?” जुठेले विस्तारै सोधे ।
“हामी माओवादी हौँ । हिजोर राति ठूलोगाउँ ठकुरीकोमा कारबाही गर्न आको । दिनभरी जङ्गलमा लुकियो । अनि अहिले यता आको । तपाईं नआतिनुस्, भोलि बिहान उज्यालो नहुँदै हामी यहाँबाट हिँडिहाल्छौँ ।” बन्दुकवालाले ढुक्क पार्दैै भन्यो ।
जुठेलाई बिहान साहुको घरको अवस्था याद आयो । बल्ल सबै कुरा छर्लङ्ग भयो । जुठेको मन जोडले डराउन थाल्यो । ढकढक ग¥यो उसको मुटुले । केहीबेर वातावरण मौन भयो ।
“ए अँ सुन्नुस् त कामरेड ।” ऊ सतर्क भयो ।
“एक्सन पनि भयो । खाना पनि खाइयो । अब घरबेटीलाई केही कुरा बुझाउनुस् कामरेड ।” बन्दुक बोक्नेले भन्यो ।
“हुन्छ कमरेड ।” अर्कोले जवाफ दियो ।
“हेर्नुस् जुठे दाइ । हामी माओवादी । देश र दुनियाँ बदल्न हिँडेका । हिजो राति ठूलोगाउँको साहु ठकुरीकोमा सेबोटेज गरेर आएका ।” उसले कुरा अगाडि बढायो । जुठे र फूलमती ट्वाँ परेर कुरा सुनिरहेका छन् । छोराहरू सुतिसकेका छन् ।
“मलाई धेरै कुरा गर्न आउँदैन ।” ऊ एकाएक जोशमा आयो । “म पनि भर्खर भर्खर पार्टीमा लागेको । समाज हेर्नुस् त दाइ कस्तो छ । कति दुःख लाग्दो छ । कामीले फालो बनाउँछ । चुँदाराले हलो बनाउँछ । सार्कीले नारा बनाउँछ । तपाईंकी श्रीमतीले घाँस काटेर साहुको गोरु पालिदिनुहुन्छ । तपाईंले जोतेर बाली फलाउनु हुन्छ । अनि तपार्इं अछुत । आँगनको डिलमा घुुँडा टेकेर दुई हात थाप्नुपर्ने ?” बोल्दाबोल्दै कालो पिरो भयो ऊ ।
जुठेको मनमा पनि च्वास्स बिभ्mयो । यस्ता कुरा त उसले आजसम्म सुनकै थिएन ।
“५ रुपियाँ दिएर ५०० को तमसुक बनाउने । जीवनभरी ऋण नसकिने । यस्तो पनि कहीँ हुन्छ ?” उसले जुरुक्क उठेर मुठ्ठी कस्यो ।
“हो, त्यही भएर हामीले ठूलोगाउँको साहु ठकुरीलाई कारबाही गरेको । यस्ता कुरीति बदल्नलाई हो दाइ बन्दुक बोकेको ।” ऊ भुइँमा बस्यो ।
जुठेलाई उसको कुरा ठीकै ठीकै जस्तो लाग्यो । उसले पुलुक्क छड्के आँखाले फूलमतीलाई हे¥यो । फूलमतीले पनि उसलाई नै हेरिरहेकी रहिछे । उनीहरू दुवै जनाको डर हराउँदै गयो । विस्तारै सबै जनाको माया लाग्न थाल्यो उनीहरूलाई । आफन्तीझैँ लाग्न थाले तिनीहरू । आउजाउ बढ्दै गयो । माया प्रेम गहिरो बन्दै गयो ।
यसैबीचमा सरकारले हलिया प्रथा उन्मूलनको नीति ल्यायो । गाउँघर अलि बेग्लै हुँदै गए । प्रौढ कक्षाहरू सञ्चालन हुन थाले । जुठे र फूलमती जस्ता अनपढहरू पनि प्रौढ कक्षामा सहभागी भए । अलि उमेर छिप्पिसकेको भए पनि जुठेका दुवै भाइ छोरा स्कुल जान थाले । उनीहरूलाई स्कुलमा भेदभाव पनि भएन । प्रौढ कक्षा सञ्चालन गर्नेहरू पनि माओवादीहरू नै थिए ।
एक दिन अलि परको गाउँमा एउटा दलित महिलालाई बोक्सी भन्दै कुटियो । सबैतिर हल्ला भयो । एकाएक गर्दै थुपै्र मान्छे जम्मा भए । नाराजुलुस भयो । ती दलित महिलालाई फूलको माला लगाइयो र उनलाई आरोप लगाएर कुटपिट गर्नेलाई कालोमोसो र जुत्ताको माला । त्यसमा जुठे र फूलमती पनि सहभागी भए । अलि सक्रिय भएर नै लागे ।
प्रौढ कक्षा चलिरहेको थियो । एकाएक पुलिसले घेरा हाल्यो । भागाभाग भयो । गोली चल्यो । को कता गयो । को कता गयो । अत्तो पत्तो भएन । कति समातिए । कति मारिए । कति भागे । केही ठेगान भएन । करिब एक हप्तापछि ढाडमा गोली लागेको अवस्थामा जुठेसहित तीन जनाको लास नदी किनारमा भेटियो ।
रेडियोले समाचार भन्यो– दोहोरो भिडन्तमा... ठाउँमा ३ जना आतङ्ककारीको मृत्यु ।
गाउँलेहरूले लास उठाए । माओवादीहरू पनि आए । तीनै जनालाई पार्टीको झण्डा ओढाए । जुठेसहित ३ जनालाई माओवादीले सहिद घोषणा ग¥यो ।
मान्छेहरू मारिँदै गए । विद्रोहको ज्वाला दन्किँदै गयो । गाउँ सहरमा आजभन्दा भोलि, भोलिभन्दा पर्सि आन्दोलन बढ्दै गयो । लडाइँ हुँदै गयो ।
आन्दोलनले सहरमा ठूलो रूप लियो । सबै जनताले सामन्ती राजतन्त्रविरुद्धमा आवाज बुलन्द गरे । गाउँमा गोलाबारुद सहरमा आन्दोलन । डरलाग्दो भयो परिस्थिति । जनता अगाडि बढ्दै गए । आखिरमा जनताको जित भयो । गणतन्त्र आयो ।
जुठे नेपालीको घर अब सहिदको घर भयो । आउजाउ सरसहयोग बढ्दै गयो । फूलमतीले पनि विगतको पीडालाई विस्तारै बिर्संदै गइन् । जीवन सहज बन्दै गयो । पार्टीका विभिन्न कमिटीहरू बन्न थाले । फूलमती पनि फूलमतीबाट क. फूलमतीमा बदलिइन् ।
क. फूलमती वडा समिति सदस्यमा चुनिइन् । दुई चार कुरा सिक्दै पनि गइन् । २०६४ मा संविधान सभाको चुनाव होस् वा २०७० सालको संविधान सभाको दोस्रो चुनाव होस् क. फूलमतीको सपरिवार नै पार्टी प्रचारमा सक्रियतापूर्वक सहभागी भए । राज्य पुनर्संरचना भयो । स्थानीय निकायहरू स्थानीय सरकारमा बदलिए । देशमा स्थानीय तहको निर्वाचन पनि सुरु भयो । फूलमती नेपाली पार्टीको निर्णयमा आफ्नो वडाको सदस्य पदको उम्मेदवार बनिन् । उनीहरू चुनावमा सक्रियापूर्वक सहभागी भए । अरू उम्मेदवारको साथमा फूलमती पनि विजयी बनिन् । फूलमती नेपाली अब वडासदस्य फूलमती नेपाली बनिन् ।
जेठो छोरो २, ४ कक्षा अध्ययन गरेर भारत गयो । अहिले राम्रो होटेलमा हेड कुक बनेको छ । राम्रो आम्दानी छ । कान्छो छोरा गाउँमै छ । युवा स्वरोजगार कार्यक्रमबाट ऋण सापटी लिएर घरमै बाख्राको खोर बनाएको छ । १५ जिउबाट सुरु गरेको अहिले उसको खोरमा ९१ जिउ बाख्रा भएका छन् । गाउँगाउँमा सहकारी– घरघरमा भकारी कार्यक्रमअन्तर्गत खोलिएको सहकारीले उसको खोरबाटै खसी उठाउँछ । बजारको समस्या छैन । उनीहरू पनि सहकारीको सेयर सदस्य छन् । आमा छोरा मिलेर बाख्राको मल सदुपयोग गर्नेगरी केही जमिन भाडामा लिएर तरकारी खेती गरेका छन् । जग्गाको आधा भाडा तिरिदिने व्यवस्था पनि स्थानीय सरकारले मिलाएको छ । जनता आवास कार्यक्रमअन्तर्गत सरकारले निर्माण गरिदिएको सानो चिटिक्क परेको घर छ ।
हेर्ने जोकोहीलाई पनि लाग्छ । अब फूलमतीका दुःखका दिन सकिए । विस्तारै मुहारमा चमक थपिँदैछ ।
यो साल जेठो छोरा बिदा मिलाएर गाउँ आएपछि दुई भाइकै एउटै दिनमा विवाह गर्ने योजना छ । अहिले उनी वडा सदस्यको रूपमा ठूलो गाउँका स्कुलमा क्वारेन्टाइनको व्यवस्थापनमा जुटेकी छन् । सरसर्ती हेर्दा फूलमतीका दिन फेरिएका छन् । आजकल सन्तोषको निद्रा छ उनलाई । मीठो निद्रा लाग्छ । त्यस रात पनि मीठो निद्रा निदाइन फूलमती । बिहान उठिन् । बिहानको काम गरिन् । छोरो वीरबहादुर अझै आएको रहेनछ । सबै काम सकेर रेडियो सुन्ने उनको पुरानो बानी हो । रेडियो खोलिन् । रेडियोमा समाचार बजिरहेको छ– दुलही लिन गएका जन्तीमाथि आक्रमण ।... जना मारिए । वीरबहादुर नेपालीसहित... जना अझै बेपत्ता ।
रेडियोमा समाचार बजिरह्यो । तर उनले सुन्न छाडिन् । बुझ्न छाडिन् ।
छाँगाबाट खसे जस्तो अनुभूति भयो उनलाई । टेकेको जमिन भासिए जस्तो भयो ।
हतार हतार कपडा फेरेर वडा कार्यालयतिर लाग्छिन् उनी । उनको मनमा अनेक शङ्का उपशङ्का दौडिन थाले । तर उनको भित्री मनले भन्छ– छोराहरूलाई त पौडी खेल्न आउँछ त । फेरि नदी पनि त्यति ठूलो त होइन नि । आउँछ बाँचेर ।
वडा कार्यालयमा सबैजना जम्मा भइसकेका छन् ।
वरिपरिबाट घेरा हालेर नदीमा हाम फाल्नेबाट मारे– भन्छ कोही ।
गाउँ नै उठेर कामीको छोरो दुलाहा बनेर आउने भन्दै सबैलाई आक्रमण गरियो– भन्छ कोही ।
सबैले थुप्रै व्याख्या विश्लेषण गर्दै छन् । तर फूलमतीलाई सास बढेको अनुभूति भएको छ । रिँगटा लाग्ला जस्तो भएको छ । केही सुनिरहेकी छैनन् उनले । उनको आफ्नै मनमा कुरा खेलिरहेको छ । ‘‘मेरो छोरालाई पौडिन आउँछ त ।’’ उनी ढुक्क हुने प्रयासमै छिन् ।
उनलाई एकाएक जेठो छोराको याद आयो । झोलाबाट फोन निकालेर नम्बर थिचिन् । एकै घण्टीमा फोन उठ्यो ।
‘‘हेलो आमा’’... उताबाट आवाज आयो ।
‘‘हेलो.. बाबु हेलो’’ उनी यताबाट चिच्याइन् ।
उताबाट बोलेको केही बुझिँदैन । उताबाट जिन्दावाद, मूर्दावाद । घरजान देऊ । लगायतका ठूलाठूला स्वरका आवाजहरू सुनियो । धेरैबेर हेलो... हेलोको आवाजपछि उताबाट फेरि आवाज आयो ।
‘‘हेलो आमा ।’’
“हेलो बाबु सुन् त... !” भक्कानिँदै फूलमतीले यहाँको खबर सुनाइन् । रुँदै फोन राखिन् उनले ।
खोजतलास जारी छ । एकपछि अर्को लास भेटिँदैछ । दुलही पवित्रा ठकुरी लिन गएको दुलाह सुवास विकको पनि लास भेटियो । खोजतलास जारी नै छ ।
दोस्रो दिन बित्दैछ । फूलमतीको खुसी कता हरायो कता । खुसी हराएपछि त सुखको झन् के कुरा भयो र ? छटपटी छ फूलमतीलाई । दुई दिन, दुई रात पटक्कै निद्रा लागेन ।
तेस्रो दिन बिहान । फेरि बिहान सबैजना वडा कार्यालयमा जम्मा भएका छन् । निमुखा गाउँलेहरूले के नै पो गर्न सक्छन् र ? सबैले समाचार कुरेर बसेका छन् । रेडियो बजिरहेको नै छ । वडाध्यक्षले बेलाबेला फोन गरेर खबर लिने गर्छन् । रेडियोबाट समाचार आउनुभन्दा अगाडि वडाध्यक्षले अँध्यारो मुख लगाए । वीरबहादुरको नराम्रो खबर आयो । केहीबरेमै रेडियोले समाचार भन्यो–
...वीरबहादुुर नेपालीको शव... । समाचार सुनेपछि सबैजना चुपचाप भए । कोही केही बोल्न सकेन ।
वडासचिवले कम्प्युटरमा समाचार हेरिरहेका छन् । एउटा राष्ट्रिय पत्रिकाको अनलाइनमा फोटोसहितको समाचार छापिएको रहेछ ।
पहिलो फोटो, वीरबहादुर नेपालीको समाचार– भेरी नदीमा भेटिएको लास भनेर ।
दोस्रो फोटो, रामबहादुर नेपालीको, समाचार– अब त अति नै भयो भन्दै नदी तर्नका लागि महाकाली नदीमा हामफाले, उनलाई नेपाली भूमिबाट पुलिसले समात्यो भनेर ।
दुवै समाचारले फूलमतीमाथि बज्र प्रहार गरे जस्तै भयो ।
कोही रुन थाले । कसैले आक्रोश व्यक्त गर्न थाले । तर फूलमती चुपचाप छिन् । उनले हलचलसमेत गरेकी छैनन् । उनको छेउमा अर्की वडा सदस्य बसेकी छिन् ।
त्यतिकैमा फूलमतीको फोनको घण्टी बज्छ । फोनको घण्टीले फूलमती झसङ्ग भएर यसरी उठ्छिन कि मानौँ उनी बेहोसीबाट ब्युँझिएकी हुन् ।
उनी आफूलाई अलिकति सम्हाल्दै फोन उठाउँछिन्
‘‘हेलो’’
‘‘हेलो को फूलमतीजी बोल्नुभएको ?’’ उताबाट आवाज आउँछ ।
‘‘हजुर’’ फूलमतीको गला अवरुद्ध भइसकेको छ ।
‘तपाईंहरूसँग प्रधानमन्त्रीले कुरा गर्न चाहनुहुन्छ ।’ उताबाट आवाज आउँछ ।
‘‘हवस् ।’’ फूलमतीले उत्तर दिन्छिन् ।
‘हेलो म प्रधानमन्त्री बोल्दैछु’, उताबाट आवाज आउँछ ।
सबैजना चुपचाप छन् । फूलमतीको आँखाबाट बलिन्द्र धारा आँसु बग्न सुरु भइसकेको छ । उनी केही बोल्न खोज्छिन् । तर गला अवरुद्ध छ । आँखाबाट अबिरल आँसु बगिरहेका छन् ।
‘‘हो अध्यक्ष कामरेड हो । सब ठीक हुँदै थियो । खुसी हुँदै थियौँ सबै जना । अनि किन यस्तो ?” फूलमती डाको छोडेर रुन थालिन् ।
केही बेरमा आँसु पुछ्दै पुनः भनिन्–
गडबड भो कामरेड गडबड भो । किन यस्तो... किन ?... किन भन्दै फूलमती आफ्नो ठाउँबाट जुरुक्क उठिन् । अनि बिस्तारै बाटो लागिन् ।
सबै जना उनको पछाडि लागे । एक दुई गर्दागर्दै लामै लस्कर बन्यो । सबैजना लामबद्ध भएर फूलमतीको पछि लागेका छन् । लामै लस्कर बन्यो । त्यो लस्कर यसो हेर्दा ¥याली जस्तो पनि देखियो । फूलमती सरासर आफ्नो घरतिर लागिन् । सबैजना उनको पछि लागे । सबैजना फूलमतीको घरमा पुगे । फूलमती घरभित्र पसिन् । आफ्नो कोठाबाट सहिद श्रीमान् जुठे नेपालीको तस्बिर निकालिन् । अनि छोराको कोठाबाट कान्छो छोरा वीरबहादुरको फोटो निकालिन् । दुवै फोटोलाई बाहिर आँगनमा रहेको टेबुलमा राखिन् । बकम्बलीको फूल टिपेर माला बनाइयो । दुईवटा फोटोहरूमा फूलमतीले माला लगाइन् । उनी फोटोको सामुन्नेमा छिन् । उनको दाहिने हात मुठ्ठी कसेर उठेको छ । सबैजना उभिएका छन् । फूलमती पुनः रुन थालिन् । रुँदारुँदै भनिन्–
“लडाइँ अझै सकिएको छैन... अझै सकिएको छैन लडाइँ ।”
सबैजनाले दुईवटै फोटामा फूल चढाए । मुठ्ठी उठाए र एकै स्वरमा भने–
हो, लडाइँ अझै सकिएको छैन, सकिएको छैन अझै लडाइँ... ।
मधुपर्क, असोज /कात्तिक २०७७