सन् १८९८ जनवरी २९ मा स्मिथले कपिलवस्तुमा उत्खनन गर्दै रहेका फुहररको छड्के निरीक्षण गरे । नेपाल सरकारको अनुमति बेगरको त्यो भ्रमण सर्वथा अवैध थियो । स्मिथकै योजना अनुरूप कपिलवस्तु स्थापना गर्ने उद्देश्यले पिप्रहवा स्तूपमा उत्खनन गर्दै गरेका पेप्पेको साथमा सो भ्रमण भएको थियो । त्यसका लागि स्मिथ अघिल्लो दिन नै बर्दपुरस्थित पेप्पेको बङ्गलोमा आई त्यहीँ रात बिताएका थिए । त्यसको भोलिपल्ट गोरखपुरका सहमजिस्ट्रेट वाल्टर लुप्टनसँग ‘रुमिन्देही (लुम्बनी) मा हतारको भ्रमण’ भनेर स्मिथ आफैले उल्लेख गरेको पाइन्छ ।
सम्भवतः खड्ग शमशेरले ब्रिटिस इन्डिया सरकारका कर्मचारी स्मिथ र पेप्पेलाई त्यसबारे सचेत गराएका थिए र सरकारी कर्मचारीको अनधिकृत नेपाल प्रवेशबारे काठमाडौं दरबार (वीर शमशेर) लाई जानकारी गराएका थिए । दुई देशबिचको सम्बन्धमा असर पर्नसक्ने कुरालाई ख्याल गर्दै उनले स्मिथ र पेप्पेलाई थप कारबाही गरेका थिएनन् । त्यसको जानकारी काठमाडौं दरवारले पाएर काठमाडौंमा रहेका ब्रिटिस रेजिडेन्टलाई अतिक्रमणबारे उजुरी गरेको थियो ।
आफ्नो अनुचित व्यवहारका लागि स्मिथ आफै लज्जित भएका थिए । त्यसअघि पनि नेपाल सरकार उत्खननका तयार नहुने भन्दै उत्खननका लागि बेलायत सरकारले थप कूटनीतिक दवाब दिनुपर्ने कुरा उल्लेख गर्दै आएका थिए । यस्तो लेख्दा उनले नेपाल सरकारकै अग्रसरतामा उत्खनन भइरहेका थिए भन्ने कुरालाई बिर्सिएको वा त्यसको उपेक्षा गरेको देखिन्छ ।
उत्खननमा सहयोग गर्नका लागि फुहररले भने कूटनीतिक माध्यमको प्रयोग गरेर नेपाल प्रवेश गर्ने अनुमति पाएको पाइन्छ । नेपालले आफ्नै खर्चमा फुहरर र मुखर्जीबाट उत्खनन गराएको थियो । फुहरर र मुखर्जी दुवैको उत्खननका लागि नेपाल दरवारले दुई÷दुई हजार रुपियाँ बजेट उपलब्ध गराएको पाइन्छ । तर ती दुवैले सो बजेट नसकेको उल्लेख दुवैले गरेका छन् । मुखर्जीले त उत्खननका लागि बेलायतले नेपाललाई कूटनीतिक दवाब दिनुपर्ने भन्ने कुराको खण्डन नै हुने गरी लेखेका छन् – ‘त्यसैले पुरातात्त्विक अन्वेषण र सर्भेको काममा हरेक तवरले सहयोग गर्न इच्छुक नेपाल दरबारको स्वतन्त्र अनुदानको पूर्ण फाइदा लिइनु पर्दछ ।’
स्मिथ भने नेपाल दरवार सशङ्कित रहेको भनी उल्लेख गर्थे तर अघोषित वा अनधिकृत भ्रमणमा फुहररले भने स्मिथ र पेप्पेलाई वस्तुस्थितिको अवगत गराएका थिए । उत्खननबाट प्राप्त पुरातात्त्विक महत्त्वका सामग्री नेपालले लैजान नदिएको बताएका थिए ।
स्मिथ र होईबिचको आत्मप्रचारको लालसाको अन्तर यसले पुष्टि गर्दछ, किनकि स्मिथले आफू कर्मचारी हुँ भन्ने नै बिर्सेर वा नेपाल स्वतन्त्र देश हो भन्ने नै नठानेर सीमाको अनधिकृत अतिक्रमण गरेका थिए र त्यसको प्रचार प्रसार पनि आफै गरेका थिए । यस मामिलामा चाहिँ स्मिथ जस्तै काम होईले गरेका थिए । फुहररले लुम्बिनी र कपिलवस्तु पत्ता लागेको जानकारी बुह्लरलाई गराएको र बुह्लरले अशोक स्तम्भको शिलालेख अनुवाद गरी जर्नल अफ दी एसियाटिक सोसाइटी को सन् १८९७ अप्रिलको अङ्कमा लेख प्रकाशित गरेपछि त्यसको हुटहुटी डा. होईलाई परेको देखिन्छ ।
त्यसपछि उनले आफ्ना सहमजिस्टेट वाल्टर लप्टनलाई लिएर लुम्बिनीको उनकै शब्दमा ‘रुमिनिदेई (लुम्बिनी) को हतारको भ्रमण’ गरेका थिए । चाल्र्स एलेनले यसलाई अनौपचारिक तर खड्ग शमशेरसँगको पुरानो स्वीकृतिका आधारको भ्रमण हुन सक्नेमा आशङ्का गरेका छन् । होई मात्र नभई उनका सहयोगी सरकारी अधिकारीको भ्रमणको पूर्व स्वीकृति हुनसक्ने कुरामा शङ्का गर्न सकिन्छ ।
स्मिथले पछि सोही वर्षको अक्टोबरमा भने काठमाडौंबाट स्वीकृति लिएर नेपालको तराईमा खोजी गर्न गएका थिए । तर उनको यस पटकको भ्रमणको थालनी पनि पेप्पेको बर्दपुर हाउसबाट नै भएको थियो । बर्दपुर हाउस अर्थात् पेप्पेको घरलाई उनी अध्ययनको केन्द्र बनाउने गरेको र अरूलाई पनि त्यसै अनुसार अध्ययन गर्न निर्देशन दिने गरेको देखिन्छ । यस भ्रमणमा पनि उनले पेप्पेलाई पिप्रहवा कोटको उत्खनन कसरी गर्ने भन्नेबारे सल्लाह दिएका थिए ।
स्मिथको पहिलेदेखिको खोजी श्रावस्तीको थियो, त्यो पनि अरूले पत्ता लगाइदेला कि भन्ने चिन्ता उनमा देखिन्छ । त्यसैले उनले हतारहतार भ्रमण गर्नु परेको थियो । त्यसक्रमा उनले तौलिहवा क्षेत्रको भ्रमण गरे तर केही कुरा पत्ता लगाउन सकेनन् । त्यसको दोष नेपाली जनतालाई दिए । उनले भनेका थिए – ‘नेपाली जनता युरोपेलीलाई जानकारी दिन ज्यादै डरपोक छन् ।’ तर चाल्र्स एलेनले भने स्मिथले डिस्कभरी अफ श्रावस्ती शीर्षकमा लेख लेखे पनि स्वीकार्य नभएको उल्लेख गरेका छन् । उनले कुशिनगर पनि नेपालको पहाडतिर पर्ने अनुमान गरेका थिए ।
पिप्रहवा उत्खननमा स्मिथको निर्देशनप्रति फुहररको असहमति थियो । गोटिहवा नेपालबाट फर्केपछि १८९८ फेब्रुअरी २६ मा उनी सोझै बर्दपुर हाउस पुगेर पेप्पेलाई भेटेका थिए । त्यहाँ उनले स्मिथको निर्देशन बमोजिम उत्खनन गरेको पाएका थिए ।
(लुम्बिनी कपिलवस्तु दिवस डिसेम्बर १ को अवसर पारेर मंगलवार सार्वजनिक गर्ने तय गरिएको केदार वाशिष्ठको अनुसन्धानात्मक कृति नेपाल विद्या : सिद्धान्त र प्रयोगबाट पुस्तककाे अंश)