logo
२०८१ मंसिर ८ शनिवार



लुरे मुखियाको कसुर (कथा)

कला |


लुरे मुखियाको कसुर (कथा)


भागवत खनाल

रातको बाह्र बजिसक्यो । माइलीलाई निद्रा लागेन । उसले झ्याल खोली । बाहिर साँघुरो पेटीमा बलेँसीको झरझर आवाज आइरहेको थियो । माइलीले मनमनै सोची, “यो पानी पनि कति परिरहेको होला । पापी पानी हामीमाथि नै कहर भएर वर्षने कस्तो भाग्य हो । पहाडमा भएको थोरै बारी पनि पहिरोले बगाउने त होला नि ।” माइलीका पति जगबहादुर सारु र छोरी मस्त निद्रामा थिए । माइलीले तकियामुनि राखेको डायरी निकालेर ओल्टाइपल्टाई हेरिरही । कालो गाता भएको डायरीको बाहिर सेतो अक्षरमा लेखिएको थियो “विशेष प्रहरी विभाग” ।
जगबहादुर चाउचाउ कारखानामा काम गर्छ । माइली टोलका चार घरमा भाँडा माझ्ने र भुइँ पुछ्ने काम गर्छे । काठमाडौँमा बसियो भने छोरी लुजिमालाई राम्रोसँग शिक्षादीक्षा दिन सकिएला भनेर यता आएर बसेका हुन् उनीहरू । लुजिमा एउटा बोर्डिङमा पाँच कक्षामा पढ्छे । सधैँ क्लास टप गर्ने हुँदा फुल फी तिर्नु पर्दैन । खर्च चलेकै छ ।
माइलीले विस्तारै जगु जगु भनेर बोलाई । जगबहादुर उठेर बस्यो । जगुले भन्यो, “किन नसुतेको ? के भयो ?”
माइली – “यो हेर्नुस् त डायरी  !”
जगु – “हो त नि डायरी हो ! अनि कहाँबाट ल्यायौ यो थोत्रो डायरी ?”
माइली – “यसको गातामा हेर्नुस त !”
जगु – “विशेष प्रहरी विभाग लेखेको छ । के हो यो विशेष प्रहरी भनेको ? प्रहरी त पुलिसलाई भन्छन् । विशेष भनेको के हो मलाई थाहा छैन ।”
माइली – “मेरो बालाई लागेको यहीँ हो । म सानै हुँदा बाको जागिर खोसियो । सबैले लुरेलाई विशेष प्रहरी लाग्यो, लुरेको जागिर खोसियो भनेको सुनेकी थिएँ । बाले यसबारे कहिल्यै केही भन्नु भएन । मैले सोध्ने आँट पनि गरिन । मेरो बिहा गरिदिएपछि बा बित्नुभयो । सबै बिर्सेर बसेकी थिएँ । फेरि आज यो डायरीले गर्दा बाको सम्झना आयो । मलाई यसभित्र के लेखेको होला भन्ने खुल्दुली भयो जगु । खोलेर हेर्न पनि डर लाग्छ ।”
आजै दिउँसोको कुरा त हो । माइली विश्रान्तको घरमा काम गर्न गएकी थिई । आज त्यहाँ घर सफा गर्ने कार्यक्रम रहेछ । विश्रान्त र उसकी पत्नी पुराना कवाडी सामान पोको पार्दै फाल्दै गरिरहेका थिए । सामान पोको पार्दै जाँदा विश्रान्तले भनेको थियो– पख पख प्रसुना ! यो त बाको डायरी हो । बाले ‘यसभित्र मेरा संस्मरणहरू छन् । यसलाई जतन गरेर राख्नु र प्रकाशित पनि गरिदिनु’ भन्नुभएको थियो ।
प्रसुना – “तिमीले पढ्यौ त यो डायरी ?”
विश्रान्त – “पढेको त छैन ।”
प्रसुना – “बा स्वर्गे भएको पन्ध्र वर्ष भयो । आजसम्म पढेका छैनौ । काम लाग्ने कुरा भए त पढिसक्थ्यौ । अब यो डायरी साङ्लाको घर मात्र हो ।”
हुत्याएर फालेको डायरी भ्यात्त गर्दै फर्समा पछारियो । सामान उठाउने क्रममा माइलीले डायरी पनि टिपी । डायरीको गातामा छापिएको “विशेष प्रहरी विभाग” ले उसलाई आकर्षित ग¥यो । शैलनाथ तत्कालीन श्री ५ को सरकारको सचिवसम्म भए । सेवाबाट अवकाश भएको तीन चार वर्षपछि २०६२ सालतिर उनको मृत्यु भएको थियो । शैलनाथले उपसचिव हुँदा करिब चार वर्ष विशेष प्रहरी विभागमा काम गरेका थिए । सज्जन र धर्मकर्ममा विश्वास गर्ने शैलनाथ इमानदार कर्मचारी थिए । उनी सहकर्मीहरूसँग कुरा गर्दा भन्ने गर्थे, “कर्तव्यपालनको सिलसिलामा इमानदारीसाथ काम गर्दा पनि कहिलेकाहीँ कानुनको पालना गर्नु कि धर्म र विवेकको भन्ने समस्या पर्ने रहेछ । त्यसैले म भगवान्सँग प्रार्थना गर्दै कानुनको पालना गर्दा हुन जाने पापका लागि क्षमा याचना गर्ने गरेको छु ।”
विशेष प्रहरी विभाग । श्री ५ को सरकारले स्थापना गरेको यस विभागको काम मध्यम र निम्न स्तरका कर्मचारीबाट हुने भ्रष्टाचार निर्मूल गर्नु थियो । नाम सुन्दै डर लाग्ने यस विभागमा प्रहरी र निजामतीतर्फको दरबन्दी थियो । प्रहरीतर्फका कतिपय अफिसरहरू “भ्रष्टाचारीको दोहोलो काढ्ने”मा नाम कमाएका थिए ।
विभाग सिंहदरबार परिसरको पुतली बगैँचामा थियो । विभागभित्र पस्नेबित्तिकै एउटा कोरिडोर हुँदै भित्रसम्म जाने बाटो थियो । जिरो वाटको पिलपिले बत्तीको रोशनीमा पर्याप्त उज्यालो नपुग्ने हुँदा पहिलोपल्ट आउने प्रत्येक व्यक्तिलाई त्यहाँ रहेको छ इन्च अग्लो सँघारमा ठेस लाग्थ्यो । पहिलो प्रवेशमै यसरी स्वागत हुन्थ्यो विभागमा ।
शैलनाथ एउटा शाखाको प्रमुख थिए । प्रशस्त काम हुने त्यस विभागमा धेरै शाखा थिए । भ्रष्टाचारसम्बन्धी निवेदन र उजुरीको चाङमा राजपत्राङ्कित विशिष्ट श्रेणीका ‘चिफ’को तोक लाग्थ्यो । उजुरीमा कुनै ‘म्यानुपुलेसन’ हुन नपाओस् भनेर क्रमशः शाखा नम्बर तोक लाउने परम्परा थियो । यति हुँदा पनि कुनै कर्मचारीलाई अमुक उजुरी आफ्नो शाखामा पार्न या नपार्न मन लागेमा चिफको अनुपस्थितिमा निवेदन तलमाथि पारेर राखिदिने सम्भावना रहन्थ्यो ।
विजया दशमीको बिदा हुन चार पाँच दिन बाँकी थियो । चिफको बैठकमा शाखा प्रमुखहरूको ‘मिटिङ’ बस्यो । चिफले भने, अखबारमा ‘विशेष प्रहरी सुस्त’ भन्ने खबर छापिएको छ । अहिले चाडबाडको बखत छ । यही बेलामा हो घुसपेसको बिगबिगी हुने । भोलि सबै शाखाबाट विभिन्न कार्यालयमा छापा हान्न पठाउनुहोस् । रङ्गेहात समातेपछि सुस्ताएको विभाग तातेको देखिन्छ । नाजायज लेनदेन गर्ने सुर कसेकाहरूको सातो पनि जान्छ ।
चाउचाउ कारखाना बन्द भएकाले जगुको छुट्टी थियो । जगुले सचिव शैलनाथको डायरी खोलेर हे¥यो । पाना पल्टाउँदै जाँदा एक ठाउँमा पुगेपछि ऊ टक्क अडियो  । त्यहाँ रातो मसीले लेखिएको थियो, “लुरे मुखियाको बोका ।” डायरीमा यस्तो लेखिएको थियो ः
छापा हान्न गएका सिपाहीहरूले एउटा ‘रङ्गेहात घुस्याहा’लाई पक्राउ गरी हतकडी लाएर ल्याए । संयोगले त्यस घुसखोरको मुद्दा मेरो शाखामा आयो । एउटा दुब्लो पातलो ख्याउटे मानिसलाई मेरो अगाडि ल्याएर खडा गराइयो । त्यो मानिस सुँक्क सुँक्क रोइरहेको थियो । हातमा हतकडी थियो । हातले पुछ्न नमिले आँसु गाला र नाकको टुप्पो हुँदै छातीमा पुगेर कमिज भिजाइरहेको थियो । एकजना सिपाहीले भन्यो । ‘अझ रुन्छस् ? मगरको छोरो सरकारी जागिरमा के आयो, दुवै हातले घुस खायो ।’
मैले हतकडी खोल्न लगाएँ । हतकडी खोल्नेबित्तिकै अभियुक्तले गालाको आँसु पुछ्यो । पातलो जुँगा र पन्ध्र बीसवटा लामा लामा दारी, कालो भादगाउँले टोपी, चिम्सा आँखा, नीलो प्यान्ट र बाक्लो चप्पल । अभियुक्तले भन्यो, ‘हजुर पिसाब लाग्यो ।’
पियनले पिसाब गर्ने ठाउँतिर लग्यो । अभियुक्त खोच्याउँदै गयो । विभागमा ट्वाइलेटको पर्याप्त व्यवस्था नभएको हुँदा अभियुक्तहरूलाई बाहिर चोकतर्फ सिस्नाघारीमा लगेर पिसाब गराउने चलन थियो । अभियुक्त आएर ठिङ्ग उभियो । उसको दाहिने खुट्टाको बूढीऔँलाको नङ फ्याक्क आधा उक्किएको थियो । घाउबाट रगत बगिरहेको । मैले सोधेँ, “खुट्टामा कसरी घाउ लाग्यो ?”
अभियुक्त– “सँघारमा ठेस लाग्यो हजुर !”
साँझ परिसकेको हुँदा अभियुक्तलाई थुनामा पठाइयो ।
भोलिपल्ट बिहान एघार बजे अभियुक्त हाजिर भयो । दसैँको चटारोले गर्दा धेरैजसो कर्मचारी भइपरी आउने बिदा लिएर हिँडिसकेका थिए । आएका पनि हाजिर गरेर निस्के । मेरो शाखाका नायब सुब्बाले भने, ‘सर ! आज यसको बयान गराएर सकिँदैन  । सबुत प्रमाणसाथ समातिएको हुँदा यसलाई तारिख दिन मिल्ने कुरा पनि भएन । यसलाई थुनामा पठाइदिएर हामी पनि निस्कनु पर्ला ।’
मैले भने– “तपाईं जानुस्, जे जे गर्नु पर्ने हो मै गरौँला ।”
शाखामा कोही थिएन । मलाई यो अभूतपूर्व अभियुक्तप्रति धेरै नै जिज्ञासा लागिरहेको थियो । मैले उसलाई एउटा मेचमा बस्न लगाएँ । मैले भनेँ– “तपाईंको औपचारिक बयान बिदापछि मात्र लिइने छ । आजका लागि हामी अनौपचारिक कुरा मात्र गर्छौं ।”
मलाई थाहा थियो, एउटा विशेष प्रहरी अधिकृतले कुनै पनि अभियुक्तसँग अनौपचारिक कुरा गर्नु दण्डनीय हुन्छ । किन्तु मेरो अन्तरात्माले सरकारी नियमको उल्लङ्घन गर्न उक्साइरहेको थियो । मेरो अन्तष्करण यस मानिसलाई बेइमान घुसखोर मान्न तयार थिएन । मैले उसलाई सोधेँ– “तपाईंको नाम र पद के हो ? घर कहाँ हो ?”
अभियुक्त– “मेरो नाम लालबहादुर पुन हो । तर मलाई सबै लुरे मुखिया भन्छन् । पहिले पहिले मैले नसुन्ने गरी लुरे मुखिया भन्थे । मलाई लुरे शब्द मेरै लागि बनेको हो भन्ने महसुस भएपछि मैले नै आफैलाई लुरे मुखिया भनेर चिनाउन थालेँ । मलाई चिन्ने सबैले लुरे मुखिया भन्न थाले ।”
लुरे मुखियाको कुरा सुनेपछि मेरो दिलचस्पी झनै बढेर गयो । मैले भनेँ– “तपाईंको अफिसियल बयान त अरू स्टाफ समेतको उपस्तिथिमा लिनुपर्छ । तर तपाईंलाई आपत्ति छैन भने केके भएको हो ? कसरी समातिनुभयो ? सबै सुन्न चाहन्छु ।”
लुरे धर्धरी रुन थाल्यो । एक मनले भन्यो, बित्थामा भावुक हुँदै अभियुक्तको विपत्ति सुनेर किन चाडबाडको बेलामा दुःखी हुन चाहन्छस् शैलनाथ ? कानुनले लिन खान नहुने कुरा लिए खाएपछि दुब्लो पातलो, धनी गरिब र सानो ठूलोको भेद हुँदैन । जसले आगो खान्छ त्यसले अँगार हग्छ । तर अर्को मनले भन्यो यो कुनै हालतमा पनि खराब मनसाय भएको मानिस होइन । तैँले यसको कुरा सुन्नुपर्छ ।
लुरे भन्दै गयो– म गरिब परिवारमा जन्मेको मगर केटो हजुर ! हाम्रो जातमा गरिबका छोराछोरीका लागि सरकारी जागिर कल्पनाभन्दा बाहिरको कुरा हो । सक्ने हिन्दुस्थानतिर फौजमा भर्ती हुन जान्छन्, नसक्नेले बाहुनको हलो जोतेर खान्छन् । मेरो बा हस्तबहादुर एकजना बाहुनको हलो जोत्न जान्थे । आमा म जन्मनासाथ धेरै रगत बगेर मरिछन् । मलाई बाख्रीको दूध खुवाएर पालेको रे बाले । बाहुनको घरमा बाजेले केटाहरूलाई अक्षर चिनाएको परैबाट हेर्दा हेर्दै मैले अक्षर चिनेको हुँ । एक दिन बाले एउटा सानो कागजको टुक्रो लिएर आए । बाले त्यो टुक्रो पाते सुर्ती बेर्ने टालोमा बेर्दै थिए । मैले तानेर यसो हेरेँ । त्यसमा ‘जेदुनाथ पाध्यालाई अब रु पाँच सय तिर्न बाँकी’ भनेर लेखेको रहेछ । मैले ‘बाले बाहुनलाई पाँच सय तिर्न बाँकी रहेछ’ भनेँ । बाले भने– ‘तैँले कसरी था पाइस् ?’ मैले कागजमा लेखेको छ त भन्दा बा अचम्म परे । निरक्षर बाले मलाई स्कुल भर्ना गरिदिए ।
जेनतेन दस पास भइयो । मलाई अङ्ग्रेजी फुट्टी आउँदैनथ्यो । तीन पटक प्रयास गर्दा पनि मैले एसएलसी पास गर्न सिकिनँ । केही सीप नलागेपछि जाँचै दिन छाडिदिएँ । एक दिन जेदुनाथ बाजेले भने– ए लाले ! हाम्रो चैते के जाति खरदार हुन बटौली जानी भन्छ । दरखास्त खुली जाँच पास गरेर खरदार हुँदासम्म छ मैना लाग्च गरे । ‘छ मैनासम्म बटौलीमा के खाएर बाँच्चस् ?’ भन्दा घरबाटै सातु, झिलङ्गी र कोदाको पीठो लैजान्चु । पाथी चारेक चामल, एउटो भड्डु र तावा उतै किन्चु’ भन्च । तैँले तान्सिनसम्म बोरो बोक्न मद्दत गर्नु परो ।
एक दिन बिहान चैते (चित्रनाथ ढकाल) र म एकुन्टा धोक्रो बोकेर बाटो लाग्यौँ । बाटोमा मैले भनेँ– “चैते दाइ ! खरदार भनेको के हो ?”
चित्रनाथ– “सानो सानो सरखारी हाकिम हो ।”
म– “एसएलसी पास भएपछि खरदार हुन पाइन्छ ?”
चित्रनाथ– “जाँच पास गर्नुपर्छ । मैले पनि सुनेको त हो । बटौली नपुगी सबै कुरा थाहा हुन्न ।”
म– “दस पासले पनि नोकरी पाउँछ त ?”
चित्रनाथ– “दस पासले मुखियाको जाँच पास गर्नुपर्छ ।”
म– “म पनि मुखियाको जाँच दिन्छु ।”
चित्रनाथ– “पैसो राखेओछस् ? तान्सिनबाट बटौली जान आउन बाह्र रुपियाँ लाग्छ ।”
बटौलीमा मेरो मामा बीटीआई भन्ने अफिसमा चौकीदार थिएँ । मैले ‘मेरो मामा बटौलीमा बस्छन्’ भनेको सुनेर चित्रनाथ निकै खुसी भए । मसँग पन्ध्र रुपियाँ थियो । हामी बुटवल पुग्यौँ । त्यहीँ चित्रनाथले खरिदार र मैले मुखिया पदमा लोक सेवाको परीक्षा दियौँ । हामी दुवै पास भयौँ । चित्रनाथ अहिले यही विशेष प्रहरी विभागमा उपसचिव छन् । मलाई छापा मार्ने टीमको नेतृत्व उनैले गरेका थिए ।
चित्रनाथ हाम्रो विभागको जल्दोबल्दो उपसचिव हो । उसले माथिसम्म पहुँच बनाएको छ । बोलीचालीमा साह्रै नम्र छ । तर सबै भन्ने गर्छन्, ‘चित्रनाथको मनपेट पाउन कठिन छ ।’ चित्रनाथले काठमाडौँमा घर बनाइसक्यो । ठूलाबडालाई समेत टेलिफोन पाउन मुस्किल छ तर उसले थर्काएरै घरमा टेलिफोन राखेको छ । मलाई किन किन लुरेको माया लागिरह्यो । मैले चित्रनाथसँग फोनमा कुरा गरेंँ । उसले भन्यो, ‘हो हाम्रै हलीको छोरो हो । हाकिमले जो भेटिन्छ त्यसैलाई च्याप्प पारेर ल्याउनु भन्ने आदेश दिएको थियो । खोज्दै जाँदा त्यही अभागी लुरे भेटियो । त्यसलाई आफ्नो कर्मको फल भोग्न देऊ ।’ चित्रनाथले त्यसै साल पुसमा राजाबाट तक्मा पायो ।
लुरे भन्दै गयो, भैरहवातिर जागिर खान थालियो । बाले मेरा लागि जोडतोडले केटी खोज्न थालेछन् । हाम्रो जातमा धेरै जसो ठिटाठिटी आपसमा कुरा मिलाएर विवाह गर्छन् । मेरो न ज्यान राम्रो, न धन राम्रो न अनुहार । मसँग कसले पिरती लाउनु ? तै बाले एउटी केटी भेट्टाएछन् । हाम्रो विवाह त भयो तर बुझ्दै जाँदा अर्कैले बिगारिसकेको केटी परिछ । जे भयो भयो विवाह गरिहालियो । अब यसैसँग जीवन बिताउनुपर्छ भनेर मन बुझाएँ । बा पनि मरे ।
सँगै लोकसेवा पास गरेका साथीहरू माथिमाथि चढ्दै गए । हेर्दा हेर्दै सँगै बुटवल झरेर मेरै मामाको डेरामा बसी माइजुले पकाएको खाना खाएर लोकसेवा पास गरेका साथी चित्रनाथ उपसचिव भए, अझै केके हुनेहुन् । म भने आज उनैको छापामा परेर खोरमा थुनिएको छु । मेरो बाले भन्थे, “भाग्गेले मारेको मन्छे जिन्दगीभरि मरिरहन्छ । त्यस्तालाई त भगवान्ले पनि हेर्दैन झन् मारिरहन्छ ।” जन्मनेबित्तिकै आमा मरेदेखि नै मर्न थालेको हुँ म । पछि विवाह गर्दा मरियो, फेरि श्रीमतीको पाठेगर झर्दा मरियो, फेरि अन्धो छोरो जन्मिँदा मरियो, अहिले पुलिसको खोरमा जाकिएर मरियो । अरू मरणमा त मैले भाग्यको खेल भनेर चित्त बुझाएको थिएँ तर यो खोरको मरणबाट भने साह्रै गलियो सर । अब यो ज्यान त उठ्ला, यो मुखले खाला, बोल्ला तर आत्मा जाग्दैन । मभित्रको आत्मा मरिसक्यो  । अब मलाई जे सजाय दिए पनि फरक पर्दैन  । म मेरो सफाइमा केही भन्न चाहन्न हजुर । मलाई एउटा कुरामा सन्तोक लागेको छ । मलाई भैरहवादेखि लछारपछार गर्दै पानीसम्म खान नदिई बाटाभरि गाली गर्दै ल्याउँदा यस विभागमा मानवको अस्तित्व छैन जस्तो लागेको थियो । जे होस्, यहाँ तपाईंजस्तो मानव पनि बस्नुहुने रहेछ । मलाई अब मेरा बेथा सुनिदिने को पो छ र जस्तो लागेको थियो । तर तपाईंले सुनिदिनुभयो, धन्यवाद छ ।
विवाह गरेको दुई वर्षपछि लुरेको छोरो जन्म्यो । हर्षको सीमा रहेन । लुरेले भाडामा लिएको कोठाको एउटा छेउमा सुत्केरीलाई सुतायो, अर्को छेउमा खाना पकाउने ठाउँ बनायो । रात परेपछि सबै भाँडाकुँडा सुत्केरी सुत्ने गरेको खाटको मुन्तिर सारेर भुइँमा सुत्यो । उसले एक दिन बिराएर एक पाउ मासु किनेर सुत्केरीलाई खुवाउँथ्यो । एक दिन एक जना सहकर्मी महिलाले भनिन्, ‘ए लुरे दाइ ! सुत्केरीलाई तात्तातो जेरी र लालमोहन खुवाउनु पर्छ । मिस्रीको काढा, ज्वानोको झोल र कुरिलोको रस पनि खान दिनुपर्छ है ! फेरि एउटा छोरो पाएरै भाउजू बूढी हुनुहोला नि !”
ज्वानोको झोल र मिस्रीको काढा खुवाउन त उति खर्चिलो कुरा थिएन । तर दिनका दिन तात्तातो जेरी र लालमोहन खुवाउने क्षमता लुरेमा थिएन । तैपनि ऊ एक पल्ट त चखाउनु प¥यो भनेर मिठाई पसलमा गयो । मिठाई पसले लुरेको अफिसको पुरानो सेवाग्राही थियो । पसलेले भन्यो– “नमस्कार लुरे साहेब ! के सेवा गरूँ ?”
लुरे– “मलाई पचास ग्राम जेरी र दुई डल्ला लालमोहन दिनुहोस् ।”
पसले– “अरे हजुर ! एकछिन बस्नुस् । नास्तापानी गरिलिनुस् । अरू साहेबहरू त आउनुहुन्छ, सेवा गर्ने मौका पनि पर्छ । हजुर त कहिल्यै आउनुहुन्न । हामीसँग रिसाउनु त भएको छैन हजुर ?”
लुरे– “मलाई फुर्सद छैन र अहिले पैसा पनि छैन । मलाई छिटो मैले भनेको सामान् दिनुस् ।”
पसले– “त्यस्तो दुहुनो गाईजस्तो अफिसमा काम गर्नुहुन्छ । थोडा व्यावहारिक हुनुपर्छ हजुर । हामी जब तपाईंको अफिसमा जान्छौँ त तपाईंको साथीहरू एकान्तमा बोलाइहाल्छ । तपाईं भने आफ्नो सिटमा गुमसुम बसिरहनुहुन्छ । मेरो दुकानमा पहिलो दफा आउनु भएको छ त नास्ता गरेर जानुस् ! पैसा सैसा तिर्नु पर्दैन ।”
लुरे– “मैले अहिलेसम्म फोकटमा खाएको छैन र खान्न पनि ।”
लुरेको दुर्भाग्य ! हुर्कंदै जाँदा थाहा भयो, छोरो त दृष्टिविहीन पो रहेछ । डेढ वर्षपछि छोरी जन्मी । उसले छोरीको नाम लालुजा (माया गरेर बोलाउँदा माइली) राख्यो । जति नै दुःखी जीवन भए पनि उसले कहिल्यै कसैसँग दुःख देखाएन, पीडा पोखेन, सदा हँसिलो र ठट्यौलो रह्यो । लुरेले छोराको नाम ज्ञानचक्षु राखेको थियो । कसैले के नाम राखेको यस्तो ? भनेर सोध्यो भने ऊ भन्ने गथ्र्यो, ‘ज्ञान भनेको ज्ञान, चक्षु भनेको आँखा । मेरो छोराको आँखामा दृष्टि छैन । उसको दृष्टि भनेकै ज्ञान हो ।’ लुरेले छोरीको नाम लालुजा राख्नुको कारण सुनाउँदै भन्ने गथ्र्योे, ‘ला भनेको लाल बहादुर, लु भनेको लुरे र जा भनेको जन्मेकी ।’
लुरेको छोरो सात वर्षको भयो, छोरी झन्डै छ वर्ष । सुखमा पनि दुःखमा पनि समय त आफ्नो गतिमा चलिरहन्छ । कोही सारा भौतिक सुखका सामग्री पाएर पनि दुःखी नै रहन्छन्, कोही अभावको जिन्दगानी पनि हाँसेरै बिताउँछन् । लुरेको अफिसमा विभिन्न ठाउँका कर्मचारी थिए । करिब सबैका सहरमा आफ्नै घर थिए । किन्तु उनीहरूको दुःखको सीमा थिएन । आफ्ना समग्र दुःख, दर्द र अभाग्यलाई कछुवाले जस्तै समेटेर प्रफुल्ल र हँसिलो रहने लुरेलाई साथीहरूले यस जगतकै भाग्यमानी र सुखी मानिस सम्झन्थे ।
श्रीमतीलाई आङ खस्ने रोग लागेको छ, छोरो अन्धो छ, छोरीको स्वास्थ्य पनि राम्रो छैन, रुन्चे लागिरहन्छ । एउटै कोठाको डेरा । बैठक पनि त्यही, शयनकक्ष पनि त्यही, भान्सा पनि त्यही, गोदाम पनि त्यही र पाहुनापाछा आए सुताउने पाहुनाकोठा पनि त्यही । तथापि लुरेका लागि त्यही सानो संसार नै महल हो । उसको सानो फूलबारी, जहाँ उसको जीवन आफ्नै गतिमा गतिमान छ । त्यही संसार लुरेको भूस्वर्ग हो । लुरे खुसी छ, सुखी देखिन्छ ।
दसैँ आयो । बजारमा चहलपहल सुरु भयो । लुरेको घरबेटीले दसैँका लागि झक्कले बोका किनेर ल्याएको छ । पल्लो घरमा ज्ञानचक्षुको साथी छ । त्यहाँ पनि बोका आइसक्यो । दुवै घरमा समवेत ‘भो भो’ गर्दै कराउने बोकाहरूको आवाजले वातावरण नै दसैँमय बनेको छ । बोकाहरू कराएर जति नै हल्ला गरे पनि कसैलाई झिँजो लाग्दैन । ‘दसैँमा नकराएको बोका कहिले कराउँछ ?’ भनेर सबैले रमाइलो मानिरहेका छन् ।
साँझको समय । शरद ऋतुको सुरम्य शीतलमा लुरेको पूरै परिवार बाहिर आँगनमा बसिरहेको छ । अचानक ज्ञानचक्षुले भन्यो, “बा हामीले पनि एउटा बोका ल्याम् न !”
लुरे– “बोका ल्याएर कहाँ बाँध्ने नि छोरा ? बाँध्ने ठाउँ भएको भए म पनि ल्याइसक्ने थिएँ एउटा झक्कले बोका !” तर लुरेको चलाखीले काम गरेन । ज्ञानचक्षुले बोका बाँध्ने ठाउँको जुगाड गरिसकेको रहेछ । उसले भनेको थियो– “पल्लो घरको मेरो साथी स्वस्तिकको घरमा राख्न दिन्छु भनेको छ ।” लुरे चुप लागिरह्यो ।
भोलिपल्ट अफिसमा कामको चाप थिएन । फाट्टफुट्ट सेवाग्राही आइरहेका थिए । एकजना सेवाग्राही आएर लुरे बस्ने गरेको मेचको अगाडि राखेको बेन्चमा बस्यो । सेवाग्राहीले भन्यो, “लुरे साहेब ! तपाईंले हाम्रो धेरै काम गर्नु भएको छ तर आजसम्म एक कप चिया पनि खानु भएन । दसैँको बेला छ । मेरो सानो सेवा स्वीकार गर्नुहोस् ।” लुरेले अस्वीकार गरिरह्यो, सेवाग्राहीले पनि जिद्दी गरिरह्यो ।
सेवाग्राहीले भनेको थियो, यो मैले घुस खुवाउन खोजेको होइन लुरे सर ! घुस त त्यस्तालाई खुवाइन्छ जसले हुने काममा अडङ्गा झिक्छ र आफ्नो स्वार्थ पूरा भएमा नहुने कामसमेत गरिदिन्छ । म पनि तपाईंकै जिल्लाको हुँ, दाजुभाइ जस्तो हुँ । तपाईंको अवस्था मलाई थाहा छ । फेरि यो हेपेर दिन खोजेको पनि नसम्झनु होला ।
लुरेले दृष्टिविहीन छोरालाई सम्झ्यो । त्यो निर्दोष बालकलाई के थाहा कि उसको बाबुसँग घरबेटी र छिमेकीको जस्तो सिङ्गो बोका किन्ने औकात छैन । त्यो निष्कलङ्क मनलाई के थाहा कि यस जगतमा कोही मालामाल र कोही बेहाल छन् । त्यो निद्र्वन्द्व चेतनाको धनी निर्मल हृदयलाई के थाहा कि यहाँ पर्वले पनि हैसियत खोज्छ ।
आगन्तुक तीन थान सयका नोट हातमा लिएर अझै बसिरहेको छ । लुरेले थाहै नपाई उसको अचेतनले सोच्यो, ‘यसमा एक सय थप्ने हो भने त एउटा दस बाह्र किलोको बोका आउँछ । लुरेको दाहिने हात यन्त्रवत आगन्तुकतर्फ
बढ्यो । लिने र दिने हातहरू सँगै भए । त्यसै बखत विशेष पुलिसको हातले ती दुई हातलाई च्याप्प पारिहाल्यो ।  

मधुपर्क मङ्सिर २०७७

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?