शिवा तामाङ
काठमाडौँ, फागुन १५ गते । ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक बहस कार्यक्रममा सहभागी वक्ताले अभिव्यक्ति स्वतन्त्रतामै सिर्जना मौलाउने बताएका छन् ।
नेपाल कार्टुनिस्ट क्लबद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले राजनीतिक दलले सत्ताको लक्ष्य हासिल गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने र लक्ष्य पूरा हुने बित्तिकै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाउने वातावरण तयार गर्ने कतिपय प्रवृत्ति ठीक नभएको बताएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष शिव गाउँलेले स्वतन्त्र प्रेस र आलोचनात्मक कार्टुनको माध्यमबाट सञ्चारक्षेत्रले खबरदारी गर्नुपर्ने बताउनुभयो । सञ्चारमाध्यमले विसङ्गतिमाथि खबरदारी गर्दा सार्वजनिक महत्वको विषय हुनुपर्ने, बदनियत नराखी जनतालाई सुसूचित गर्न आलोचनात्मक हुँदा कानुनको बन्धनमा पार्न नहुने उहाँको तर्क छ ।
नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले अभिव्यक्ति स्वतन्त्रताको प्रभावकारी प्रयोगले गणतन्त्र फस्टाउने बताउनुभयो । कार्टुनिस्ट क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले सूचनाको बलियो पाटो कार्टुन बनाएर छाप्ने बेला सम्पादकले कार्टुन छापेकै आधारमा कारबाहीमा परिन्छ कि भन्ने डरका कारण व्यापक छलफलपछि मात्र छापिने अवस्थामा कार्टुनिस्टले काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले अभिव्यक्ति स्वतन्त्रताको हनन हुँदा कार्टुनिस्ट पहिलो निशानामा पर्ने गरेको अनुभव सुनाउनुभयो । नेपाल कार्टुनिस्ट क्लबका अध्यक्ष बासु क्षितिजले विगतमा पत्रिकामा मात्र छापिने कार्टुनलाई अहिले एफएम रेडियोहरूले पनि पढ्ने गरेको चर्चा गर्दै कार्टुनको महत्व व्यापक बन्दै गएको बताउनुभयो ।