श्रीओम श्रेष्ठ ‘रोदन’
‘विगत र बाडुली’ साहित्यकार भारती गौतमको हालै प्रकाशनमा आएको संस्मरण सङ्ग्रह हो । ‘स्मृतिमा भिमू’ संस्मरण र ‘अमेरिकामा आमा’ संस्मरणात्मक उपन्यासबाट उहाँले आफूलाई संस्मरणमा स्थापित गरिसक्नुभएको छ । त्यसपूर्व उहाँको ‘आकाशमाथिको सहर’ कविता सङ्ग्रह प्रकाशित भइसकेको भए पनि संस्मरण लेखन नै उहाँको परिचायक विधा बनेको देखिन्छ ।
साहित्यमा संस्मरण लेख्नु सरल हुँदैन । संस्मरणमा लेखकले आफूलाई केन्द्रमा राखेर लेख्नुपर्ने भएकाले यसलाई चुनौतीको लेखन पनि मानिन्छ । तुलनात्मक रूपमा संस्मरण लेखनमा महिला हस्ताक्षरको सङ्ख्या निकै नै न्यून रहेको छ । तर केही समयदेखि आत्मवृत्तान्त वा संस्मरण लेखनको नाममा आत्मप्रशंसा गर्ने गराउने कार्य फस्टाएको देखिन्छ । इमानदारी नभएको संस्मरण कृत्रिम र पाठकप्रतिको बेइमानी मात्र हुन्छ । विदेशमा बसेर स्वदेशी पात्र र प्रसङ्गलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको ‘विगत र बाडुली’ को प्रकाशन समकालीन साहित्य प्रतिष्ठान, बेलायतले गरेको हो । तीन सय छपन्न पृष्ठमा छब्बीस वटा सुन्दर संस्मरण यसमा समेटिएका छन् । सङ्ग्रहभित्रका संस्मरणमध्ये पारिवारिक सम्बन्धका धेरै संस्मरण छन् । केही साहित्यकार केन्द्रित र केही यात्रानुभूति गराउने संस्मरणले गर्दा विविधताको अनुभव हुन्छ ।
‘बा मेरो सर्वस्व’, ‘सम्झनामा साहिँला काका’,
‘आफ्नै दन्त्यकथा’, ‘उघ्रिएका झ्याल’, ‘पल्लाघरका ठूलमामा’, ‘सारीको पीङ’, ‘कुसमयको घण्टी’, ‘गाडीको समय’, ‘मनको खत’ संस्मरण पारिवारिक तथा घरायसी विषयवस्तुमा आधारित छन् । पारिवारिक सन्दर्भका भए पनि पाठकलाई नजिक बनाएर बाँधिराख्न सक्षम छन् । लेखक गौतमले आफ्नो पिताजीप्रति अगाध श्रद्धा अर्पण गर्दै पिताजीको प्राज्ञिक क्षमतालाई पनि प्रकाश पार्नुभएको छ । पिताजी विद्वताले मात्र नभएर व्यवहारले पनि निकै असल हुनुभएको वर्णन गर्नुभएको छ ।
‘जुन विषयमा जुन समयमा जस्तो प्रश्न गरे पनि विस्तृत र भरपर्दो विश्लेषणसहित सही उत्तर दिने बा इन्साइक्लोपिडिया र अनि निपूण शिक्षक हुनुहुन्थ्यो । उहाँ कुनै अत्तरको बारेमा कुरा गर्नासाथ दुई दर्जन अत्तरकोे नाम लिन बाले दुई पटक सास पनि फेर्न पर्दैनथ्यो । कुनै देशको नाम सुन्नेवित्तिकै त्यो मुलुकको भौगोलिक, सामाजिक अनि ऐतिहासिक भ्रमण गराउन बाका अगाडि केही निमेष भए पुग्थ्यो । धर्म, पुराण, दर्शन, भाषा, व्याकरण र भौतिक अध्यात्मको मनन, विश्लेषण र ज्ञानमा अतुलनीय भए पनि र फिल्मी अनि लोकलयमा गाउन बालाई कसैले कर गर्नु परेन । सिङ्गो सानो कदमा बा एउटा मनचिन्ते झोला हुनुहुन्थ्यो ।’ यसरी पिता हेमचन्द्र पोखरेलसँगका अनेक संस्मरणलाई लेखकले उतार्नु भएको छ ।
‘गाडीको समय भयो’ मा बाआमाको निधन भइसकेपछि पनि जन्मघरमा उहाँहरू भएजस्तै अनुभूति गराउने संस्मरण निकै कलात्मक बनेको छ । ‘आफ्नै दन्त्यकथामा’ काकाप्रतिको श्रद्धाभाव प्रकट गर्दै उहाँसँगका स्मृति पनि जीवन्त छन् । ‘कुसमयको घण्टी’ मा आमाको मृत्युको खबरका लागि बजेको टेलिफोनको घण्टीको आवाजले अनेक सन्दर्भको संस्मरण गरिएको छ । ‘मनको खत’ मा बहिनीले आत्म हत्या गरेको घटनाको बारेमा अठार वर्षपछि आफ्ना छोराछोरीलाई सुनाउँदाका संस्मरण मार्मिक बनेको छ । ‘त्यसपछि कतिसम्म गाडी चढ्न सकिनँ’ मा छोरालाई स्कुल पु¥याएर फर्कंदा भएको दुर्घटनापछिको मनोदशालाई उतारिएको छ । ‘यो रात यस्तै लम्बिरहोस्’ मा छोरालाई अध्ययनका लागि होस्टेलमा छोडेर फर्कंदाको अनुभूति र उनीसँगको स्मृतिलाई प्रस्तुत गरिएको छ ।
यसै गरी ‘आरम्भको अन्तिम भेट’, ‘छिमेकी बहिनी झमक’, ‘ती फुल बेच्ने बाजे’, ‘सम्भावना बाहिरको संयोग’ शीर्षकीय संस्मरणहरू साहित्यिक व्यक्तित्वसँगका संस्मरण हुन् । यसअन्तर्गत मोटरसाइकल दुर्घटनामा दिवङ्गत हुनुभएकी साहित्यकार शारदा अधिकारी ढकाल, खुट्टाले लेखेर प्रसिद्धि कमाउने साहित्यकार झमककुमारी घिमिरे, आधुनिक कवि मोहन कोइराला र ऐतिहासिक उपन्यासकार डायमनशमशेर राणासँगका भेट हुँदाका संंस्मरण रहेका छन् ।
‘दो टिकट चाहिए’ र ‘दोलखा भीमसेन’ यात्रापरक संस्मरण भएका छन् । ‘आकास रोएको बिहानपछि’ सन् २००१ को सेप्टेम्बर ११ मा न्युयोर्कको ट्वीनटावरमा भएको विमान आक्रमणको कहालीलाग्दो संस्मरण हो । ‘सारीको पीङ’ सामान्य सन्दर्भको भए पनि लेखकले गरेको मनोवाद र परिकल्पना निकै कौतूहल बनेको छ । ‘बेरीतले दुखेको रीत’ ले अमेरिकामा हुर्केकी छोरीले पितृकार्यमा छोराजस्तै छोरीको पनि अधिकार हुनुपर्ने भनिएको छ । भाइबुहारीले गरिरहेको श्राद्धमा आफ्नी आमाको सहभागिताका लागि आवाज उठाइएको छ । लिङ्गको आधारमा परम्पराले गरेको विभेदप्रतिको असन्तुष्टिलाई लेखकले संस्मरणमा उतार्नुभएको छ ।
लेखक भारती गौतमले आफ्ना जीवनमा भोगिएका विभिन्न सन्दर्भलाई सूक्ष्म ढङ्गले संस्मरण गर्न सक्नुभएको छ । कुनै पनि सन्दर्भका स्मृतिलाई भावनात्मक रूपमा बुन्नसकने लेखक गौतमको विशेषता बनेको छ । कलात्मपरक शैलीमा आफ्ना पारिवारिक सम्बन्धलाई इमानदारीपूर्वक प्रस्तुत गरेको अनुभव हुन्छ । दुःखद घटनाहरूलाई पनि कलात्मक शैलीमा बुन्न लेखक गौतम सिपालु प्रमाणित हुनुभएको छ । उपमा र विम्बको प्रयोग अधिकांश संस्मरणमा रहेकाले संस्मरण आकर्षक बनेको छ । संस्मरणहरू जुनसुकै सन्दर्भका भए पनि चित्रजस्तो गरेर उतार्नसक्ने र पाठकलाई दृश्यको अनुभूति गराउन सक्ने भएकोले ‘विगत र बाडुली’ संस्मरण सङ्ग्रहणीय बनेको छ ।